काठमाडौं- काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा ज्येष्ठ नागरिकलाई उपचार लगायतका सेवा प्रदान गर्न छुट्टै नेपाल जेरियाट्रिक्स सेन्टर सञ्चालनमा छ।
नेपालमा बढ्दो ज्येष्ठ नागरिक जनसंख्याको स्वास्थ्य सेवामा रूपान्तरण ल्याउने लक्ष्यले यो सेन्टर सञ्चालनमा ल्याइएको बताइएको छ।
किन छुट्टै जेरियाट्रिक्स सेन्टर भन्ने प्रश्नमा केन्द्रका निर्देशक डा जगदीश कुमार क्षेत्री भन्छन्, 'नेपालमा ज्येष्ठ नागरिकको संख्या निरन्तर बढ्दै गइरहेको अवस्थामा यस केन्द्रले लामो समयदेखि अभाव रहेको विशेष जेरियाट्रिक स्वास्थ्य सेवाको खाँचो पूरा गर्न छुट्टै केन्द्र सञ्चालनमा ल्याएका हौं।'
उनका अनुसार यस केन्द्र एसिया तथा विश्वभर स्वस्थ बुढ्यौली र दीर्घायुको अग्रणी केन्द्र बन्ने लक्ष्य राखेको छ। नेपालका ज्येष्ठ नागरिकलाई उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु मात्र नभई सेवा देशभर विस्तार गरी उनीहरूलाई सक्रिय, स्वतन्त्र र सम्मानजनक जीवन बिताउन सक्षम बनाउनु यसको उद्देश्य हो।
व्यक्तिहरूलाई उमेर बढ्दै जाँदा पनि सशक्त र आत्मनिर्भर रहन सक्षम बनाउने केन्द्रका निर्देशक डा जगदीश कुमार क्षेत्री बताउँछन् । ‘केन्द्रको नारा ६० मा बलियो, ८० मा सक्रिय र १०० मा आत्मनिर्भर जीवनका लागि तपाईंको सहयात्री’ रहेको उनले जानकारी दिए।
गत चैतमा औपचारिक रूपमा उद्घाटन भई सेवा सुरु गरेको यस केन्द्रमा उपचारका लागि आउने बिरामीको संख्या निरन्तर बढिरहेको उनले जानकारी दिए। केन्द्रमा आउने ज्येष्ठ नागरिकलाई एक घण्टा भन्दा बढी समय दिएर विस्तृत रुपमा सेवा प्रदान गर्दै आइरहेको उनले बताए।
'हामी बिरामीलाई पर्याप्त समय दिएर उहाँहरुका कुरा सुन्छौं। त्यसपछि बहुविषयगत विशेषज्ञ टोली मार्फत उपचार लगायतका प्रक्रिया अगाडि बढाउँछौं,' उनले भने।
नेपाल जेरियाट्रिक्स सेन्टरको विशेषता भनेको यसको ‘वन–स्टप’ समग्र र रोकथाममुखी दृष्टिकोण हो। यहाँ उन्नत चिकित्सकीय परीक्षण, जीवनशैली मूल्याङ्कन र प्रमाणमा आधारित रणनीतिहरू प्रयोग गरी रोगको जोखिम प्रारम्भिक अवस्थामै पहिचान गरिन्छ।
यसका प्रमुख सेवामध्ये ‘स्वस्थ बुढ्यौली तथा दीर्घायु स्वास्थ्य कार्यक्रम’ पर्दछ, जसमा शरीर संरचना विश्लेषण, मांसपेशी स्वास्थ्य तथा शारीरिक कार्यक्षमता मूल्याङ्कन, शारीरिक सन्तुलन र लड्ने जोखिमको मूल्याङ्कन, मानसिक तथा मस्तिष्कीय क्षमता परीक्षण, दृष्टि तथा श्रवण परीक्षण, न्युरोडिजेनेरेटिभ रोगहरूका लागि जेनेटिक परीक्षण , पोषण विश्लेषण, दीर्घरोग तथा औषधि व्यवस्थापन तथा एआई आधारित दीर्घरोग जोखिम पूर्वानुमान समावेश छन्। यस्ता सेवा प्रायः विकसित देशहरूमा मात्र उपलब्ध हुने गरेका छन्।
यस केन्द्रको अर्को प्रमुख विशेषता यसको बहुविषयगत विशेषज्ञ टोली हो। यहाँ अन्तर्राष्ट्रिय अनुभव प्राप्त जेरियाट्रिसियन, विशेषज्ञ फिजिसियन तथा फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन विशेषज्ञहरू कार्यरत छन्, जुन नेपालमा अझै दुर्लभ विशेषता मानिन्छ। साथै क्लिनिकल न्युट्रिसनिस्ट, जेरियाट्रिक नर्स तथा फार्मासिस्टहरूले समेत समन्वयात्मक रूपमा सेवा प्रदान गर्नेछन्।
यस प्रकारको व्यवस्थाले ज्येष्ठ नागरिकलाई स्वास्थ्य समस्या अनुसार फरक–फरक विशेषज्ञकहाँ धाउनुपर्ने समस्याको अन्त्य गर्नुका साथै अनावश्यक औषधि सेवनको सम्भावना पनि कम गर्नेछ।
डा क्षेत्रीका अनुसार स्वस्थ बुढ्यौली भनेको वृद्धावस्थामा पनि आफूलाई मन लागेका काम गर्न सक्ने क्षमता हो। उनी नेपालका थोरै जेरियाट्रिसियनमध्ये एक हुन् र जेरियाट्रिक मेडिसिनमा विद्यावारिधि गर्ने नेपालकै एक मात्र विशेषज्ञ हुन्। उनले एसिया, युरोप र अमेरिकाबाट विश्वस्तरीय अनुभव नेपाल ल्याएका छन्।
पुनर्स्थापना र आत्मनिर्भरतामा जोड
कार्यात्मक आत्मनिर्भरताको महत्वलाई ध्यानमा राख्दै केन्द्रले व्यक्तिगत ‘वन–टु–वन’ पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्नेछ। यसले चालचलन, शक्ति, सन्तुलन र स्मरणशक्ति सुधार गर्न सहयोग पुर्याउँदै ज्येष्ठ नागरिकलाई आत्मविश्वासी र आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ। केन्द्रमा आधुनिक प्रविधिमार्फत यस्ता सेवा प्रदान गरिनेछ।
हालको प्रणाली र यस केन्द्रबीचको मुख्य फरक
डा. क्षेत्रीका अनुसार हाल नेपालमा ज्येष्ठ नागरिकको उपचार प्रायः रोग देखिएपछि उपचार गर्नेमा आधारित छ, जहाँ विभिन्न विशेषज्ञकहाँ छुट्टाछुट्टै उपचार लिनुपर्छ। यसमा समग्र मूल्याङ्कन, रोकथाम र दीर्घकालीन योजना कम हुन्छ।
तर नेपाल जेरियाट्रिक्स सेन्टरले रोकथाममुखी र समग्र अपनाएको छ। यहाँ एउटै स्थानमा बहुविषयगत टोलीद्वारा सम्पूर्ण स्वास्थ्य मूल्याङ्कन, प्रारम्भिक जोखिम पहिचान, व्यक्तिगत उपचार योजना, पुनर्स्थापना तथा दीर्घकालीन स्वास्थ्य व्यवस्थापन गरिन्छ, जसले ज्येष्ठ नागरिकलाई स्वस्थ, सक्रिय र आत्मनिर्भर जीवनतर्फ मार्गदर्शन गर्छ।
कस्ता बिरामी यस केन्द्रमा आउने?
-बढ्दो उमेरसँगै नियमित थकान वा कमजोरी अनुभव गर्ने व्यक्तिहरू
-स्मरणशक्ति घट्दै गएको महसुस गर्ने व्यक्तिहरू
-बारम्बार लड्ने वा लड्ने डर भएका व्यक्तिहरू
-धेरै दीर्घरोग भएका तथा धेरै औषधि सेवन गरिरहेका व्यक्तिहरू
-पहिलेभन्दा कमजोरी बढेको वा शक्ति घटेको महसुस गर्ने व्यक्तिहरू
-उल्लेखनीय तौल घटेका व्यक्तिहरू
-भोक कम लाग्ने समस्या भएका व्यक्तिहरू
-एक्लोपन महसुस गर्ने व्यक्तिहरू
यसका साथै, डिमेन्सिया र पार्किन्सन रोगबाट पीडित व्यक्तिहरूका लागि विशेष ओपीडी सेवा पनि प्रदान गरिनेछ।
यो केन्द्र हप्तामा ६ दिन (शनिबार बाहेक) बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ। सेवा लिन चाहनेहरूले अपोइन्टमेन्ट बुक गर्न सक्नेछन्, जहाँ आवश्यकताअनुसार उपयुक्त स्वास्थ्य प्याकेज सिफारिस गरिनेछ।
आगामी योजना
नेपाल जेरियाट्रिक्स सेन्टरले निकट भविष्यमा ‘घरमै अस्पताल’ सेवा, घरमै जेरियाट्रिक चिकित्सक तथा नर्सिङ सेवा र हेरचाह सेवा विस्तार गर्ने योजना बनाएको छ। साथै अल्जाइमर, पार्किन्सन्स जस्ता उमेरसम्बन्धी रोगहरूको उन्नत उपचार पनि उपलब्ध गराउने तयारी छ।
डा. क्षेत्रीको दीर्घकालीन सपना भने देशमा जसरी बालबालिकाका लागि कान्ति बाल अस्पताल छ, त्यसैगरी ज्येष्ठ नागरिकका लागि अन्तर्राष्ट्रिय स्तरको जेरियाट्रिक्स अस्पताल स्थापना गर्नु हो, जहाँ सबै प्रकारका सुविधा उपलब्ध हुनेछन्।
स्वास्थ्य विज्ञहरूले यस केन्द्रको स्थापना समयसापेक्ष र अत्यन्त आवश्यक कदम भएको बताएका छन्। रोकथाम, प्रारम्भिक पहिचान र व्यक्तिगत उपचारमा जोड दिँदै यसले नेपालका ज्येष्ठ नागरिकहरूको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ।