संगिता महर्जन अहिले अमेरिकामा बसेर नर्सिङ पेशामा सक्रिय छिन्। नेपालमै नर्सिङ पढ्दै–काम गर्दै अघि बढेकी उनले परिवार, पढाइ, आर्थिक जिम्मेवारी र जीवनका अनेकौँ मोडहरू पार गर्दै विदेश जाने निर्णय लिइन्, तर त्यो यात्रा बिल्कुलै सजिलो थिएन। एउटा प्रेरणाले तान्यो, अर्को चुनौतीहरूले धकेल्यो, तर उनी कहिल्यै रोकिइनन्। सरकारी विद्यालयदेखि अमेरिकाको पेशागत मान्यतासम्मको यात्रामा भाषा, संस्कृति र कार्यस्थलका गम्भीर परिस्थितिसम्म उनले धेरै सिकाइ र अनुभव हासिल गरिन्। आज तिनै अनुभवहरू उनका आत्मविश्वास र दृढताको आधार बनेका छन्।
अमेरिकाको स्वास्थ्य प्रणालीमा १७ वर्ष र नेपालको स्वास्थ्य प्रणालीमा ७ वर्ष गरेर २४ वर्षको अनुभव बटुलेकी संगिताले अमेरिका र नेपाल दुवैको नर्सिङ प्रणाली—गुणस्तर, सीप, सहयोग, अवसर र भविष्य—बारे आफ्ना दृष्टिकोण साझा गरेकी छन्। नर्स महर्जनसँग स्वास्थ्यखबरका लागि रोमीका न्यौपानेले गरेको कुराकानी:
सर्वप्रथम, नर्सिङ पढ्छु र यसमा नै करियर बनाउँछु भन्ने प्रेरणा हजुरलाई कसरी मिल्यो?
मेरो त्यो कुराचाहिँ अलि फनी (हाँस-उठ्दो) छ। सुरुमा नर्सिङ के हो भन्ने नै थाहा थिएन। तर एउटा घटना अहिले पनि दिमागमा ताजा छ- एकचोटि म आमासँग वीर अस्पताल गएको थिएँ। त्यहाँ हाम्रो छिमेकी फुपु हुनुहुन्थ्यो, जो नर्स हुनुहुन्थ्यो। उहाँलाई नर्सिङको सेतो ड्रेस, क्याप, अनि सारीमा देख्दा म एकदमै आकर्षित भएँ। त्यो अनुशासन, त्यो पोशाक, त्यो गरिमा देख्दा मनमै सोचें- ‘म पनि नर्स बन्छु।'
त्यो समयमा मलाई न त पढाइ कति गर्नुपर्छ भन्ने थाहा थियो, न त यो पेशा कस्तो हो भन्ने बुझाइ। तर त्यो ड्रेसले, त्यो लुक्सले नै आकर्षित गर्यो। अहिले सम्झिँदा लाग्छ- म एकदम इनोसेन्ट मोटिभेसनले प्रेरित भएकी रहेछु। सेवा गर्ने कुरा त पछि बुझें, सुरुमा त ड्रेसको आकर्षणले नै तानेको थियो।
अहिले पनि त्यो क्षण मेरो दिमागमा ताजै छ। उहाँको त्यो नर्सिङ ड्रेसमा देखिएको आत्मविश्वासले नै मलाई भित्रभित्रै सोच्न बाध्य बनायो- ‘यो पेशा मेरो लागि हो।‘
सुरुमा नर्सिङमा भर्ना भएपछि कस्ता चुनौतीहरू अनुभव गर्नुभयो?
सुरुमा त मैले जब मेरो परिवारलाई भनें, ‘म नर्सिङ पढ्छु,’ उहाँहरू त खुशी नै हुनुभयो। किनभने उहाँहरूकै सोच थियो- हाम्रो परिवारमा अब एउटा नर्स चाहिन्छ । तर, अरू आफन्तहरूले भने अर्कै कुरा गर्थे। भन्थे, ‘छोरा बिग्रियो भने पुलिस हुन्छ रे, छोरी बिग्रियो भने नर्स हुन्छ।' त्यसरी कुरा गर्ने चलन थियो नि।
अध्ययनको पहिलो वर्ष हामीलाई नाइट ड्युटी गर्नुपर्थ्यो। अनि केहीले भनेका थिए, ‘नाइट ड्युटी गर्नुपर्ने त गेट पाले होला।' यस्तो सोचाइ सामना गर्नु पर्यो।

म सरकारी विद्यालयमा पढेकी थिएँ, अनि नर्सिङको कोर्स पूरा इङ्ग्लिसमा थियो। त्यसैले भाषाको कारणले सुरुमा अलि गाह्रो भयो। त्यसपछि आर्थिक चुनौती पनि थियो। वर्षको करिब ५००० रुपैयाँ तिर्नुपर्थ्यो, जुन त्यो समयमा धेरै गाह्रो हुन्थ्यो।
अर्को ठूलो चुनौती भनेको, म पहिले कहिल्यै घरबाट टाढा भएकी थिइनँ। होस्टेलमा बस्नुपर्ने भयो, अनि एकदमै होमसिक पनि भएँ। शुक्रबार मात्र घर जान पाइन्थ्यो। बिहानै जिन्समाथि साडी लगाएर घर जाने तयारी गर्थें, त्यसरी नै बस्ने गर्थें। एकचोटि त मलाई होमसिक भएर घर फर्कनै खोजेँ। मेरो बुबा पनि लिन आउनुभयो। तर बिष्णु म्यामले मलाई दुई घण्टा काउन्सेलिङ गर्नुभयो, अनि अन्ततः म त्यहीँ बसें। त्यो नै मेरो सबैभन्दा ठूलो च्यालेन्ज थियो।
ती सबैले मलाई आत्मबल दियो। सुरुमा कठिन लागे पनि त्यसैले म आजको म बनेकी छु।
नेपालमै पढ्नुभयो, काम पनि गर्नुभयो। कहिले कुन अवस्थामा अब म विदेश जान्छु, अझ अमेरिका नै जान्छु भन्ने सोच आयो?
मेरो त सुरुमा यस्तो सोचै थिएन - म विदेश जाने मान्छे होइन। म त होमसिक हुने मान्छे, पाँच मिनेट टाढा गए पनि घर सम्झिने। तर त्यो बेला एउटा नियम थियो - बिएन पढ्नुअघि दुईवर्ष काम गर्नै पर्ने। त्यस अवधिमा भारतबाट आएका केही मान्छेहरूले अमेरिकाको सी.जी.एफ.एन.एस (विदेशी नर्सिङ स्कूलहरूको स्नातक आयोग) टेस्टको तयारी क्लासको अफर ल्याए। म आफैंले त्यो जोइन गर्दा विदेश जाने सोचले होइन, बिएन इन्ट्रान्स टेस्टको तयारीको लागि भनेर गएकी थिएँ। तर त्यस क्लासमा गएपछि पढाइ रमाइलो लाग्यो। त्यसपछि सबैले भने, ‘अब एकचोटि एक्जाम त दिऔं न।'
म पनि दिन गएँ। तयारी गर्दा धेरै खर्च भयो- लगभग सत्तरी हजार रुपैयाँ खर्च भएको थियो, जुन बेला त्यो धेरै नै ठूलो रकम थियो। त्यसपछि मलाई लाग्यो, ‘अब मैले यो पास गर्नैपर्छ।'
मैले धेरै मेहनत गरेँ। हामी २१ जना थियौं, जसमा तीन जना मात्र पास भयौं। त्यो बेला हाम्रो नाम फोटोसहित गोरखापत्रमा छापियो - ‘बधाइ छ’ भन्दै। त्यसपछि त नेपालमा हल्ला नै भयो। त्यो बेलादेखि लाग्यो, ‘अब त नाक बचाउन भए पनि जानैपर्छ।'
त्यसपछि मैले आईएलटीएस दिँदा ६.५ आयो, तर स्पपिकिङमा चाहिँ ७ चाहिन्थ्यो, जुन निकै चुनौतीपूर्ण थियो। त्यसलाई पनि सकेर पास गरेँ। त्यो तयारीको क्रममा मैले नर्सिङ कलेजमा कहिल्यै नपढेका धेरै नयाँ कुरा सिकें। मलाई ‘हंगर फर लर्निङ’ महसुस भयो। अनि अर्को कुरा- मैले आफ्नो परिवारलाई राम्रो जीवन दिनुपर्छ भन्ने जिम्मेवारी पनि थियो।
तीनै दुई कारणले, सिक्ने चाहना र परिवारको जिम्मेवारीले मलाई अमेरिका जान प्रोत्साहित गर्यो।
अमेरिका पुगिसकेपछि त्यहिँ बस्ने र सेटल हुने विचार कसरी जन्मियो?
मलाई वास्तवमै थाहा थिएन के फरक पर्ला भनेर। जब म यहाँ आएँ र महसुस गरें त्यसपछि मात्रै के फरक छ भन्ने बुझें। मलाई थाहा थिएन नेपालमा भन्दा अमेरिकामा बढी पढ्ने अवसर पाइन्छ भन्ने। मैले पाटनमा काम गर्दा बी.ए. र एम.ए. पनि गरिरहेको थिएँ अनि त्यो बेलामा नेतृत्वबाट शैक्षिक सहयोग पनि थिएन। हामीलाई त ‘एम.ए./बी.ए. गरेर के गर्छौ?’ भन्नेर भन्नुहुन्थ्यो।
त्यतिबेला मैले एम.ए.मा थेसिस लेख्न छुट्टी नपाएपछि जागरिबाट राजीनामा दिएर थेसिस लेखेको थिएँ। त्यसपछि पाटन जान मन नलागेर केएमसीमा एक वर्ष काम गरेर मात्र अमेरिका आएकी हुँ।
अमेरिकामा कमाइ त पक्कै पनि राम्रै हुन्छ थाहा थियो तर अझै राम्रो अवसरहरु जस्तै लर्निङ, अन्तर्राष्ट्रिय स्तरको ट्रेनिङ र राम्रो सपोर्ट पाउने आशा थियो। मलाई लाग्छ, त्यो आशा यहाँ आएर पूरा पनि भयो। यहाँ आएर मैले थप अध्ययनको अवसर पाएँ र आफ्नो नर्सिङस्तर पनि अपग्रेड गर्न सकें।

एउटा घटना चाहिँ आजसम्म मेरो दिमागमा ताजा छ। म पाटन अस्पतालको इमर्जेन्सी विभागमा काम गर्दथेँ। एकजना बिरामीलाई एमआइ (हार्ट अट्याक) भएर ल्याइएको थियो। डाक्टरले दिइएको आदेशअनुसार मैले इन्जेक्सन दिएकी थिएँ, तर केही बेरमै बिरामीको मृत्यु भयो। त्यसपछि बिरामीका आफन्तहरूले मलाई दोष दिए र शारीरिक रूपमा समेत आक्रमण गर्न खोजे। त्यो क्षण अत्यन्तै डरलाग्दो र ट्रमाटिक थियो। म अहिले पनि त्यो सम्झँदा तर्सिन्छु।
यस्ता घटनाहरूले मलाई अझ स्पष्ट बनायो- नेपालमा नर्सहरूलाई अझैसम्म पर्याप्त सुरक्षा, सम्मान र कानुनी सहयोग प्राप्त छैन। विदेशमा पनि कहिलेकाहीँ समस्या आउँछ, तर त्यहाँ कानुनी र संस्थागत समर्थन प्रणाली हुन्छ। नेपालमा त सीधै फिजिकल थ्रेट पनि हुन सक्छ।
त्यसैले, अन्ततः मैले महसुस गरेँ- सायद मैले सोचेको भन्दा पनि ती सबै कुराहरूले मलाई नजानिदो तरिकाले विदेशतर्फ धकेल्यो।
अमेरिका जान्छु भन्ने निर्णय गर्दा परिवार, साथीभाइ वा आफन्तहरूले कस्तो प्रतिक्रिया जनाए? ‘एक्लै छोरी मान्छे त्यति टाढा जाने?’ भन्ने कुरा उठेन?
त्यस्तो कुरा त नभएको होइन। धेरैले भने- ‘छोरी मान्छेलाई नेपालबाट त्यति टाढा पठाउने?’ भनेर। कसैले त पैसाको लागि हो भनेर पनि बुझ्ने प्रयास गरे। तर मेरो आमाबुबा चाहिँ धेरैसहयोगी हुनुहुन्थ्यो। उहाँहरूले सधैं ममाथि विश्वास गर्नुभयो, ’हाम्रो छोरीले नराम्रो काम गर्दैन, उसले आफ्नो जीवन राम्रो बनाउँछ’ भनेर। त्यो विश्वासले मलाई हिम्मत दियो। अरूले जे भने पनि म आफ्नो लक्ष्यमा केन्द्रित रहेँ। म आफैंसँग प्रतिवद्ध थिएँ- मैले केही गर्नुपर्छ, केही गरेर देखाउनुपर्छ भन्ने। त्यसैले वरिपरिका भनाइहरूले मलाई खासै असर गरेन।
नेपालमा नर्भिक अस्पतालमा काम गर्नुअघि म झापामा पनि काम गर्थें- ‘कम्युनिटी हेल्थ एजुकेटर’को रूपमा। त्यहाँ एक हप्ता शैक्षिक कार्यक्रम चलाएर पढाउने काम गरेकी थिएँ। मलाई त्यो काम निकै मन पर्यो। तर त्यही समयमा एउटा गम्भीर घटना भयो- स्थानीय स्तरमा मेरो विरुद्धमा निकै गलत व्यवहार भयो र त्यसको कारणले पुलिस केससम्म भयो।
त्यो घटना मेरो लागि अत्यन्तै आघातपूर्ण रह्यो। त्यसपछि म धेरै डराएको थिएँ र भ्याली बाहिर जाने हिम्मत पनि हरायो। त्यस समय म निकै डिप्रेस्ड पनि भएकी थिएँ। त्यो सबै घटनापछि मैले सोचेँ- विदेशमा गएर काम गर्दा कम्तीमा त्यस्तो असुरक्षित वातावरण त नहोला। त्यहाँ कानुनी र सामाजिक संरचना बलियो छ भन्ने विश्वासले मन ढुक्क भएको थियो।
जस्तोसुकै भएपनि, परिवारको साथ र सपोर्ट मेरो सबैभन्दा ठूलो शक्ति बन्यो। बाहिरका आफन्त वा साथीहरूको कुरा मैले खासै मनमा राखिनँ, किनभने मेरो ध्यान सधैं आफ्नो लक्ष्यमा थियो।

अमेरिका एक्लै जानु भयो कि विवाह भइसकेको थियो?
म सिंगल नै थिएँ। नेपालबाटै रोजगारी भिसाको माध्यमबाट आएको हुँ। मलाई एभिडेन्स–बेस्ड प्रणालीमा रोजगारीका लागि अवसर मिलेपछि आवश्यक सबै प्रक्रिया पूरा गरेर ग्रिन कार्ड नै भएर आएकी हुँ।
अमेरिकामा ग्रिन कार्डको प्रक्रिया पूरा गर्न नेपाल हुँदै गर्दा सजिलो हुन्छ कि अमेरिकामा पुगेपछि सजिलो हुन्छ?
नेपालमा के हुन्छ भने हामीसँग घर हुन्छ, परिवार हुन्छ, खान बस्नको चिन्ता हुँदैन। तर मैले कुर्नपर्यो। म २००५ मै एलिजिबल थिएँ, तर त्योबेला ओबामाको पालामा भिसा रेट्रोग्रेसनमा पर्यो। त्यसैले मलाई तीन वर्ष पर्खनु पर्यो। तर नेपालबाटै गर्दा सहज हुन्छ।
तीन वर्षसम्म म पर्खाईमै थिएँ। त्यस बेला पाटन अस्पतालमा ड्युटी जान्थेँ। बिहानै सबैले मजाक गर्थे- ‘तिमी त अमेरिका पुग्यौ सोचेको, अझै यहाँ रैछौ!’ भन्थे। तर म बिस्तारै त्यो सब सहँदै गइरहेँ। अहिले सम्झँदा हाँसो लाग्छ।
रेट्रोग्रेसन थियो जुन अहिले पनि छ, कहिले खुल्छ, कहिले बन्द हुन्छ, त्यो स्टाटसमा निर्भर गर्छ। त्यसैले तयारी राम्रो गर्नुपर्छ।
अमेरिका पुग्दा सुरुवाती अनुभव कस्तो रह्यो?
अमेरिका पुगेपछि सुरुका दिनहरू निकै चुनौतीपूर्ण थिए। मेरो कार्यस्थल टेक्सासको दक्षिण भागमा रहेको म्याकएलेन भन्ने ठाउँमा थियो, जुन मेक्सिकोको सिमानासँग जोडिएको क्षेत्र हो। त्यहाँ नेपाली समुदायको त झन् नामो-निशानै थिएन, मानिसहरूलाई नेपाल कहाँ हो भन्ने पनि थाहा थिएन।
एजेन्सीका प्रतिनिधिहरू पनि त्यहाँ थिएनन्, त्यसैले उनीहरूले मलाई पहिलो चार हप्ता होटलमै बसालिदिए। सोसल सेक्युरिटी नम्बर नआउँदासम्म म होटलमै रहेँ। त्यसबीचमा पैदलै हिँडेर अपार्टमेन्ट खोज्ने, नयाँ ठाउँ बुझ्ने—सबै काम आफैं गर्नुपर्यो। गाडी थिएन, ड्राइभिङ गर्न आउँदैनथ्यो, त्यसैले हरेक काम निकै कठिन भयो।
भाषाको समस्याले पनि धेरै असर गर्यो। मैले सोचेजस्तो सबैले इंग्लिश बोल्दा रहेनछन्। त्यहाँका धेरै मानिसहरू स्प्यानिस बोल्थे। उल्टै, कहिलेकाहिँ मलाई लाग्थ्यो- मेरो अंग्रेजी त उनीहरूको भन्दा राम्रो रहेछ! तर जब म काम गर्ने ठाउँमा पुगेँ, त्यहाँ प्रायः फिलिपिनो, भारतीय र स्प्यानिस कर्मचारीहरु थिए। उनीहरू आपसमा आफ्नै भाषामा कुरा गर्थे, जसले मलाई अझ एक्लो बनायो।
म शाकाहारी भएकोले ग्रोसरी गर्न जानु पनि मेरो लागि एकदमै नौलो अनुभव भयो । एक पटक म ग्रोसरी स्टोरमा गएँ र अनजानमा जनावरको खानाको सेक्सन मात्र घुमेको घुम्यै भएँ।
काममा पनि सुरुवाती अनुभव सजिलो थिएन। म कार्डियक युनिटमा काम गर्थें, तर त्यहाँको वातावरण निकै प्रतिस्पर्धात्मक थियो। मलाई सात महिनासम्म निरन्तर बुलिङको सामना गर्नुपर्यो। अन्ततः म त्यहाँबाट राजीनामा दिएँ र अर्को अस्पतालमा गएँ। त्यसपछि मात्रै मलाई बिस्तारै सहज हुँदै गयो।
समग्रमा भन्नुपर्दा सुरुवात निकै चुनौतीपूर्ण थियो — भाषा, संस्कृति, खानपान र परिवेश सबै कुरा फरक। तर ती अनुभवहरूले नै मलाई सबल बनायो र आजको अवस्थामा ल्यायो।

नेपाल र अमेरिकाको अस्पताल प्रणालीमा के फरक अनुभव गर्नुभयो?
कामको हिसाबले म नेपालमै हुँदा सिपालु नै थिएँ। त्यसैले सुरुवातमै ठूला प्राविधिक समस्या भने आएनन्। तर अमेरिकामा दस्तावेज प्रणाली र एच.आर प्रक्रिया भने नेपालभन्दा निकै फरक रहेछ। ती सबैकुरा सिक्न सुरुमा केही समय लाग्यो, तर मैले छिट्टै बुझें र काम गर्ने वातावरण अनुकूल हुँदै गयो।
तर ठूला फरक भने उपकरण र प्रविधिमा रहेछन्। नेपालमा धेरै कामहरू म्यानुअल रूपमा गर्नुपर्थ्यो- जस्तै, ब्लड प्रेशर मापन गर्ने, ब्ल्याडर स्क्यान गर्ने आदि। तर अमेरिकामा त्यस्ता कामहरू सबै स्वचालित यन्त्रहरूबाट हुने रहेछन्, जस्तै डाइनाम्याप जस्ता उपकरण प्रयोग गरेर।
अमेरिका पुगेपछि अस्पतालमा अन्य नेपाली साथीहरू भेट्नु भयो?
मैले काम गरेको साउथ टेक्सस क्षेत्रमा सुरुमा त एक जना पनि नेपाली भेटिनँ। म पुगेको ठाउँमा नेपाली समुदाय नै थिएन भन्दा हुन्छ। पछि भने अलि–अलि साथीहरू भेटिन थाले।
एउटा अपार्टमेन्टमा बस्ने एकजना साथी भेटिन्, त्यसपछि अर्को दुई जना भेटियो। उनीहरू पनि नर्स नै थिए, तर हामी एउटै अस्पतालमा काम गर्ने होइनौँ। त्यसपछि फेरि एकजना दिदि भेटिनुभयो, उहाँ पहिले नै अमेरिकनसँग विवाह गरेर यहाँ बस्नुभएको रहेछ।
त्यो सहरमा हामी जम्मा चारजना मात्र नेपाली थियौँ। सबैजना आ–आफ्नो ठाउँमा काम गर्थ्यौँ, तर कहिलेकाहीँ भेटघाट गर्थ्यौँ, रमाइलो गर्थ्यौँ। त्यसबाहेक, त्यहाँ नेपाली समुदाय भन्ने जस्तो केही थिएन। हाम्रो त्यो सानो समूहले नै एउटा परिवारजस्तो महसुस गराएको थियो।
नेपाल र अमेरिकामा तुलना गर्नु पर्दा सेवासुविधा, कामको अवधि, सम्मान, तलब, र सीपका हिसाबले कस्तो फरक देख्नुभयो?
म अमेरिका आएको करिब पच्चिस वर्ष भइसक्यो। त्यसैले अहिलेको अवस्थासँग सिधा तुलना गर्न त सक्दिनँ, तर अघिल्लो अनुभवका आधारमा भने धेरै फरक देखेकी छु। यहाँ हामीले पूर्ण रूपमा बिरामीको हेरचाह गर्नुपर्छ। हाम्रा निश्चित संख्या भएका बिरामी हुन्छन् र हामी तिनका लागि पूर्ण रूपमा जिम्मेवार हुन्छौँ — जस्तो कि ‘गेटकिपर’को भूमिकामा हुन्छौँ। अमेरिकामा भने नर्सिङ पेशा अत्यन्तै सम्मानित र मूल्यवान् पेशा मानिन्छ। लगातार २३ वर्षसम्म नर्सहरू ‘सबैभन्दा बढी विश्वास गर्न सकिने पेशा’को रूपमा छनोट भएका छन्।
तलब र अन्य सुविधाको कुरा गर्दा पनि ठूलो अन्तर छ। यहाँ नर्सको तलब उसको सीप, अनुभव र शैक्षिक पृष्ठभूमिका आधारमा निर्धारण हुन्छ। हरेक वर्ष ‘एनुअल अप्रेजल’ हुन्छ जसका आधारमा तलब पुनर्मूल्यांकन गरिन्छ।
अर्को ठूलोकुरा भनेको शैक्षिक सहयोग हो। यहाँ नर्सहरूलाई उच्च शिक्षा हासिल गर्न निकै प्रोत्साहित गरिन्छ- जस्तै मास्टर्स पढ्नका लागि। संस्था स्वयंले पढाइका लागि आर्थिक सहयोग गर्छ, आवश्यक छुट्टी मिलाइदिन्छ र कतिपय अवस्थामा पढाइको खर्चसमेत बेहोर्छ। केही संस्थाले त पढ्दादेखि कामसम्मको तलब पनि दिइरहेका हुन्छन्।
मैले पनि मेरो बीएसएन र एमएसएन दुवै पढाइ कामकै क्रममा सकेकी हुँ। मैले काम गरेको संस्थाले निकै लचिलो र सहयोगी वातावरण दिएको थियो। पूरै छुट्टी त पाइँदैन, तर पढाइ र काम सँगसँगै व्यवस्थापन गर्न सकिन्छ।

यहाँको सबैभन्दा मनपर्ने कुरा भनेको प्रणालीमा हुने काम नै हो। जस्तै औषधि वितरण गर्दा मानवीय त्रुटि घटाउनका लागि ‘इलेक्ट्रोनिक मेडिकेसन एडमिनिस्ट्रेसन’ प्रणाली प्रयोग गरिन्छ- जसमा औषधि स्क्यान गरेर मात्र बिरामीलाई दिइन्छ। यसले गर्दा नर्सिङ अभ्यास गर्दा सुरक्षाको अनुभूति हुन्छ।
त्यस्तै, यहाँ ‘एरर कल्चर’ पनि सकारात्मक छ। कुनै गल्ती भयो भने खुलेर भन्न सकिन्छ, त्यसका लागि डर मान्नु पर्दैन। गल्तीलाई सिकाइको अवसरको रूपमा लिने संस्कार यहाँ बसेको छ। यसले गर्दा म यहाँ नर्सिङ गर्न पाउँदा निकै सुरक्षित र सन्तुष्ट महसुस गर्छु।
बिरामी-नर्स अनुपातको कुरा गर्नुपर्दा नर्सिङ होममा नर्स–बिरामी अनुपात उच्च हुन्छ- एक नर्सले करिब ४०–५० बिरामी हेर्नुपर्ने पनि हुन सक्छ। तर हस्पिटलमा भने बिरामीको अवस्था अनुसार फरक पर्छ- साधारणतया एक नर्सले ४ देखि ७ जना बिरामीको हेरचाह गर्नु पर्छ। रिह्याब वार्डमा करिब ८ जना बिरामी हुन्छन्।
मैले अहिले काम गर्ने संस्था 'इनपेशेन्ट रिह्याब अस्पताल' हो, जहाँ एक नर्सले अधिकतम ६ देखि ७ जना बिरामी हेर्नु पर्छ। मैले अहिले सम्म आईसीयूमा काम त गरेको छैन तर मैले थाहा पाए अनुसार आईसीयूमा भने १:१ अर्थात् एक नर्सले एकै जना बिरामीको मात्र हेरचाह गर्नुपर्छ।
समग्रमा भन्नुपर्दा, यहाँको प्रणाली, सहयोगी वातावरण, सिक्ने अवसर र सुरक्षाका कारण अमेरिकामा नर्सिङ अभ्यास गर्न पाउनुमा मलाई गर्व र खुशी दुवै लाग्छ।

तपाईंको दृष्टिमा प्रविधिमा नेपालको अवस्था कस्तो छ? र, अमेरिकामा गएपछि प्रविधिले गर्दा तपाईंलाई कति सहज भयो?
मलाई त बिल्कुल फरक लाग्यो, किनभने नेपालमा हुँदा नर्सिङ क्षेत्रमा कम्प्युटरको प्रयोग नै थिएन। म त कम्प्युटर चलाउन पनि खासै जान्दिनथेँ। हाम्रो कार्यक्षेत्रमा त सबै कुरा म्यानुअली गर्नुपर्थ्यो।
यहाँ आएपछि चाहिँ सुरुदेखि नै सबै कुरा इलेक्ट्रोनिक रहेछ। हस्पिटल छिर्नासाथ इलेक्ट्रोनिक ‘पन्च इन’ गर्नुपर्छ, साइन इन गर्नुपर्छ- सबै प्रणाली कम्प्युटरमा आधारित हुन्छ। सुरुमा त एकैचोटि नयाँ लागेर रोमाञ्चक पनि लाग्यो, तर अलि स्ट्रेसफुल पनि भयो।
यहाँ त साना–साना कुरासमेत कम्प्युटरमा गर्नुपर्छ। नेपालमा अझै पनि धेरै ठाउँमा कागजमा नै लेख्ने चलन होला। तर यहाँ त चार्टिङ निकै डिटेलमा गर्नुपर्छ। प्रत्येक सिफ्टमा कम्प्रिहेन्सिभ एसेसमेन्ट गर्नैपर्छ। यहाँ त एउटा भनाइ छ ‘इफ इट्स नट चार्टएड, इट्स नट डन’ अर्थात्, लेखिएको छैन भने त्यो काम गरेको मानिँदैन। त्यसैले हामीले गरेका प्रत्येक साना कुरासमेत डकुमेन्ट गर्नुपर्छ- औषधि वितरणदेखि औषधि दिने, आँखा धुने वा सानो केयरसम्म पनि सबै इलेक्ट्रोनिक रूपमा रेकर्ड हुन्छ।
मलाई त कहिल्यै पेन प्रयोग गरेको पनि याद छैन, यद्यपि बानीले गर्दा पकेटमा सधैं एउटा पेन राखेकी त हुन्छु तर अहिलेसम्म कहिल्यै प्रयोग भएको छैन। अहिले म काम गर्ने अस्पतालमा यस्तै प्रविधिमा आधारित प्रणाली छ।
अमेरिकामा आएपछि नर्सिङको क्षेत्र निकै रहेछ भन्ने थाहा भयो भन्नु भयो। बेडसाइड केयर बाहेक नर्सिङको अरू के–के क्षेत्र रहेछन्?
नेपालमा नर्सिङलाई अझै पनि मुख्यतः बेडसाइड केयरमा सीमित गरेर बुझिन्छ- सुई हाल्ने, प्रेसर लिने, औषधि दिने जस्ता काममा मात्र। तर अमेरिकामा आउँदा नर्सिङको स्कोप निकै फराकिलो रहेछ भन्ने कुरा मैले आफैँले अनुभव गरेँ।
म अहिले बेडसाइड केयर बाहेकका क्षेत्रमा पनि संलग्न छु। मैले ‘एजुकेटर’को रूपमा काम गरेकी छु- नयाँ स्टाफ र विद्यार्थी नर्सहरूलाई तालिम र मार्गदर्शन दिने गर्छु। त्यसबाहेक यहाँ ‘केस म्यानेजमेन्ट’ भन्ने छुट्टै भूमिका पनि हुन्छ, जसले बिरामीको उपचार प्रक्रियालाई समन्वय गर्छ।
अर्को चाहिँ ‘एडमिटिङ नर्स’ भन्ने भूमिका पनि छ, जसले नयाँ बिरामीलाई अस्पतालमा भर्ना गर्दा प्रारम्भिक मूल्यांकन र डकुमेन्टेसनको जिम्मेवारी लिन्छ। ‘वेलनेस अफिसर’ भन्ने पद पनि हुन्छ, जसले बिरामीको समग्र स्वास्थ्य सुधार र दीर्घकालीन हेरचाहमा काम गर्छ।
त्यस्तै, ‘इन्फर्मेटिक नर्स’ पनि हुन्छ - जसले इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणाली, डेटा व्यवस्थापन र प्रविधि–सम्बन्धी नर्सिङ कार्यमा विशेषज्ञता देखाउँछ।
त्यसैगरी ‘नर्स प्राक्टिसनर’ भन्ने भूमिका पनि छ, जसले बिरामीको निदान, उपचार र औषधि लेख्ने अधिकार समेत पाउँछ। अर्थात्, अमेरिकामा नर्सिङ केवल बेडसाइडमा सीमित छैन- यहाँ नर्सहरूले नेतृत्व, शिक्षण, अनुसन्धान, प्रविधि, नीति निर्माणदेखि क्लिनिकल निर्णयसम्मका विविध भूमिकामा योगदान दिइरहेका हुन्छन्।

नेपालमा अहिले नर्सहरूले फेरि आन्दोलन गरिरहेका छन्। यो पहिलो पटक होइन, तर पटक–पटक विरोध हुँदा पनि सुनुवाइ भइरहेको छैन। सरकारका निर्णयहरू पनि कार्यान्वयनमा आएका छैनन्। तपाईंहरूले बाहिरबाट यो अवस्थालाई कसरी हेर्नुहुन्छ?
मलाई त यस्तो आन्दोलन हुनु आवश्यक नै लाग्छ। किनभने हामीले आफ्नो आवाज नउठाएसम्म कसैले सुन्दैन। अब हाम्रो एकता नै चाहिन्छ- नर्सिङ सेवा बिना त उपचार सम्भव नै हुँदैन।
तर यदि नर्सहरूलाई नै मानसिक र शारीरिक रूपमा थकाइ, निराशा, र अन्यायले घेरिरहेको छ भने उनीहरूबाट गुणस्तरीय सेवा कसरी अपेक्षा गर्न सकिन्छ? नर्सहरू केवल श्रमिक होइनन्, उनीहरू अत्यन्तै दक्ष, सीपयुक्त जनशक्ति हुन्। नर्सिङ विज्ञानमा आधारित पेशा हो। तर अहिले पनि नर्सहरूलाई त्यही पुरानै तलबमा काम गर्न बाध्य पारिएको देख्दा अन्याय महसुस हुन्छ।
२०–२५ वर्षअघि जुन पारिश्रमिक पाइन्थ्यो, अहिले पनि उस्तै दरमा सीमित हुनु दुखद कुरा हो। म नेपाल गएको बेला सामान्य किराना किनमेलमै चार–पाँच हजार रुपैयाँ सजिलै खर्च भयो। त्यस्तो महँगीमा अहिले पनि नर्सहरू दश–पन्ध्र हजारको तलबमा कति कठिन जीवन बिताइरहेका होलान् भनेर सोच्दा मन दुख्छ।
मलाई लाग्छ, अब यो अन्यायको अन्त्य हुनैपर्छ। नर्सहरूको आवाज अब सुन्ने समय आएको छ र म पूर्ण रूपमा उनीहरूको पक्षमा छु।
अमेरिकामा काम गर्ने वातावरण र पारिश्रमिकको प्रणाली कस्तो छ?
यहाँको कुरा गर्नुपर्दा चाहिँ यदि कार्यस्थलमा कुनै समस्या पर्छ भने हामीले पहिले आफ्नै स्तरबाट त्यसलाई एड्रेस गर्छौं। त्यसपछि उनीहरूले वान–टु–वान काउन्सलिङ वा छलफल गरेर समस्या बुझ्छन्। यदि सुपरभाइजर वा म्यानेजरले सुनेन भने, त्यसपछि ‘चेन अफ कमाण्ड’ अनुसार माथिल्लो तहमा कुरा लैजान सकिन्छ।
मेरो आफ्नै अनुभवमा, जब मेरो बच्चा भए पछि फुल–टाइम काम गर्न सकिनँ, मैले यहाँको पि.आर.एन (चाहिएको बेला मात्र काम गर्ने) स्टाटस लिएँ। सामान्यतया पि.आर.एन नर्सहरूले महिनामा एक–दुई दिन मात्र काम गर्छन्, तर म भने हप्तामा दुई दिन, हरेक सप्ताहन्तमा काम गर्थेँ, जुन कुरा मलाई मन परेन। मैले सुपरभाइजरलाई भनें , तर केही परिवर्तन भएन।
पछि वार्षिक मूल्याङ्कन हुँदा मैले त्यो कुरा लेखें- ‘मलाई केवल पि.आर.एन भनेर होइन, मैले कति घण्टा काम गरेँ, मेरो अनुभव र प्रदर्शनका आधारमा मूल्यांकन हुनुपर्छ।‘ त्यसपछि मात्रै मेरो कुरा सुने र सुधार गरियो। अहिले म थप काम गर्छु थप तलब पनि पाउँछु।
यहाँको प्रणाली निकै स्पष्ट छ- हरेक नर्सलाई घण्टाअनुसार तलब दिइन्छ। नेपालमा अझै पनि मासिक तलब प्रणाली बढी चलनमा छ, तर यहाँ एक मिनेट बढी काम गरे पनि त्यसको पैसा पाइन्छ।
तलब केवल नर्स भएको आधारमा समान हुँदैन; अनुभव, शैक्षिक पृष्ठभूमि, पर्फर्मेन्स र कति वर्षदेखि काम गर्दै आएको हो- ती सबै कुराले दर फरक पार्छ। त्यसोमात्र होइन, यहाँ ‘बजार मूल्य’ पनि विचार गरिन्छ। बजार दर बढेमा हस्पिटलहरूले पनि तलब बढाउँछन्, किनभने यहाँ धेरै प्रतिस्पर्धा छ। हरेक हस्पिटलले राम्रो स्टाफ राख्न चाहन्छ, त्यसैले उनीहरूले योग्य कर्मचारीलाई आकर्षित गर्न प्रतिस्पर्धात्मक तलब दिनुपर्छ।
म सुरुमा आएको बेला प्रतिघण्टा २१ डलरबाट सुरु गरेँ, अनि एक वर्षपछि बढेर २७ डलर भयो। मैले नेपालमा सात वर्ष काम गरेकी थिएँ, तर यहाँले त्यसको आधा मात्र (साढे तीन वर्ष)को अनुभव मान्यता दिए। त्यस अनुसार मेरो तलब निर्धारण भयो।
एजेन्सीमार्फत् आएको भएकाले सुरुमा अलि कम तलब थियो, किनभने उनीहरूले मेरो इमिग्रेसनदेखि यात्रा सबै खर्च बेहोरेका थिए। तर दुई वर्षको कन्ट्र्याक्ट सकिएपछि, म फ्री भएपछि अरू नर्सहरूसरह बराबर तलब पाउन थालेँ।
तलब ठाउँ अनुसार पनि फरक पर्छ। जस्तै, क्यालिफोर्नियामा टेक्ससभन्दा तलब बढी हुन्छ, किनभने त्यहाँ ‘जीवन लागत बढी छ’। ग्रामीण क्षेत्रमा कहिलेकाहीँ अझ बढी तलब दिन्छन्, किनभने त्यहाँ नर्सको कमी हुन्छ।
सन् २०१४ देखि म सर्टिफाइड रिह्याब नर्स पनि भएकी छु, त्यसको लागि पनि थप तलब पाउँछु।
मलाई यहाँको प्रणाली निकै न्यायपूर्ण लाग्छ। कार्यदक्षता, योग्यता, अनुभव र सर्टिफिकेसनका आधारमा मूल्यांकन हुन्छ।
मलाई लाग्छ, नेपालमा पनि यस्तै पारदर्शी र कार्यदक्षता–आधारित प्रणाली लागू हुन सके राम्रो हुन्थ्यो।

एनक्लेक्स पास गरेर अहिले धेरै नर्सहरू रेट्रोग्रेशनका कारण पर्खाइमा हुनुहुन्छ। त्यस्तो अवस्थामा भएका नर्सहरूलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ?
जसको यही सपना छ र आफ्नो पेशामा पूर्ण रूपमा रुचि राख्नुहुन्छ उनीहरूले त्यसलाई फलो गर्नु नै पर्छ। तर त्यसका लागि सतर्क रहनु पर्छ र अझ बढी चुनौतीका लागि तयार हुनु पर्छ। यहाँ संघर्षहरू आउँछन्, र जब एउटा समस्या समाधान हुन्छ, अर्को चुनौती सुरु हुन्छ। त्यसैले आफूलाई ज्ञानवान, सक्षम र अपडेट राख्नु सबैभन्दा जरुरी हुन्छ।
मेरो आफ्नै अनुभवको कुरा गर्दा जब म तीन वर्षसम्म पर्खिरहेँ, त्यतिबेला मैले मेरो मास्टर्स डिग्री पूरा गरेँ र स्प्यानिस भाषा पनि सिकेँ। त्यतिबेला म भिसाको लागि एलिजिबल थिइनँ, तर मैले लरनिङ कहिल्यै रोकिनँ। नर्सिङ भनेको जीवनभर सिकिरहनुपर्ने पेशा हो। सिकाइले मलाई यहाँ ट्रान्जिसन गर्न सजिलो बनायो। आजकल त इन्टरनेटले धेरै कुरा सजिलो बनाएको छ, तर पहिले हामीलाई लाइब्रेरीमा गएर पढ्नुपर्थ्यो। अहिले चाहिँ मलाई केही लाग्दैन, काममा जानु आउनु भनेको मलाई त सास फेर्नु, दाल भात तरकारी खानु जस्तो भइसक्यो।
म के भन्न चाहन्छु भने, वेटिङ समय अनिश्चित छ भने पनि त्यसकारण समय बर्बाद नगर्नुहोस्। नेपालमै रहँदा पनि आफ्नो ज्ञान, अनुभव, र स्किल बढाउन सकिन्छ। तपाईंले नयाँ कुरा सिक्न सक्नुहुन्छ, अझै इनोभेटिभ हुन सक्नुहुन्छ र आफ्नो पेशालाई उच्च स्तरमा लैजान सक्नुहुन्छ।
अमेरिका आउँदा सबै कुरा सजिलो हुँदैन। सबै सफलताको कथा मात्र हुँदैन, यहाँ पनि संघर्ष, प्रतिस्पर्धा र चुनौतीहरू छन्। केही मानिसहरू फ्रस्ट्रेट भएर काम नगरी बसेको अवस्था पनि छ। नर्सिङ केवल जागिर होइन, यसलाई प्रेम गर्नुपर्छ, तपाईंले रमाइलो गर्नुपर्छ, र जुन काम गर्नुहुन्छ त्यसमा लगाव हुनुपर्छ।
म अहिले ड्यालस, टेक्सासमा छु र मलाई गर्व लाग्छ कि यहाँ धेरै नेपाली नर्सहरू छन्। अमेरिकामा आएका धेरै नर्सहरु अहिले निकै राम्रो र ठूलो पदमा पुगेका छन्। यहाँ अवसरहरू धेरै छन्, तर त्यसका लागि धैर्य, तयारी, साहस र रेजिलिएन्स चाहिन्छ। यहाँको वातावरण धेरै चुनौतीपूर्ण छ- अधिक डिमाण्ड, टक्सिसिटी र उच्च जिम्मेवारीहरू छन्। तर त्यसमा पनि सफलता सम्भव छ।
मेरो विचारमा, आफ्नो जीवनको आधा समय केवल वेटिङमा बर्बाद नगर्नुहोस्। नेपालमै रहँदा पनि आफ्नो स्किल र ज्ञान बढाउने काम गर्नुहोस्। सिक्ने कुरा कहिले सकिदैन। अमेरिका आउँदा मात्र होइन, नर्सिङ पेशामा उच्च स्तरमा पुग्नको लागि आफ्नो स्किल र ज्ञान निरन्तर सुधार गर्नुहोस्।
मेरो सन्देश अन्ततः यही हो- सतर्क रहनुहोस्, तयारी गर्नुहोस्, चुनौतीहरू स्वीकार्नुहोस्, नयाँ कुरा सिक्न कहिल्यै नरोक्नुहोस् र आफ्नो समय र अनुभवलाई सदुपयोग गर्नुहोस्। सफलता त्यहीँ सम्भव हुन्छ जहाँ तपाईं निरन्तर सिक्दै र अघि बढ्दै जानुहुन्छ, चाहे त्यो नेपाल होस् वा अमेरिका।
विदेशमा रहेका नेपाली नर्सहरूले नेपालमा रहेका नर्स र स्वास्थ्य प्रणालीलाई कसरी सहयोग वा योगदान दिन सक्छन्?
अहिले म जहाँ काम गर्छु, त्यहाँ पनि नेपाली नर्सहरू छन्। हामीबीच प्रायः नेपालमा नर्सिङको अवस्थाबारे कुरा हुन्छ- कसरी सुधार गर्न सकिन्छ, के गर्न सकिन्छ भन्ने विषयमा। हामी सधैं ‘कसरी सपोर्ट गर्न सकिन्छ’ भन्ने अवसरहरू खोज्ने गर्छौं।
म व्यक्तिगत रूपमा पनि औपचारिक वा अनौपचारिक रूपमा सहयोग गर्न प्रयास गर्छु। कहिलेकाहीँ कसैलाई सल्लाह गर्न परेमा वा कुनै जानकारी चाहियो भने धेरैजसो साथीहरूले मलाई सम्पर्क गर्नुहुन्छ। म पनि सकेसम्म जानकारी दिने गर्छु- जस्तै अवसर, प्रक्रिया, वा अन्य उपयोगी कुरा।
त्यसबाहेक, म अनौपचारिक रूपमा पनि सहयोगको प्रस्ताव राखिरहेकी हुन्छु। जस्तो, कसैलाई कुनै सहायता चाहियो भने म सधैँ तयार हुन्छु। अहिले म यसै विषयमा अरू साथीहरूसँग पनि छलफल गरिरहेको छु- यदि कसैलाई समूहगत रूपमा सहयोग आवश्यक पर्यो भने हामी सधैँ तयार छौँ।
यहाँ तपाईंहरूले बस्नु हुने ठाउँमा नेपाली नर्सहरूको औपचारिक संगठन छ कि छैन? छ भने, त्यसको सदस्यता लिनुभएको छ?
डलासमा म व्यक्तिगत रूपमा कुनै संगठनको सदस्य छैन। तर यहाँ एउटा नेपाली नर्सेस एसोसिएसन चाहिँ छ। त्यसैगरी, न्युयोर्कमा नान भन्ने एकदमै सक्रिय एसोसिएसन छ। यो संस्था धेरै स्थापित छ र विशेषगरी अन्तर्राष्ट्रिय नर्सहरूलाई सहयोग गर्नेमा केन्द्रित छ। म पनि त्यसको आजीवन सदस्य छु।
ह्युस्टन लगायतका ठाउँमा पनि विभिन्न नेपाली संगठनहरू छन्। केवल नर्सिङमै सीमित हुनुपर्छ भन्ने छैन- यी नेपाली संगठनहरू मार्फत पनि धेरै काम सुरु गर्न सकिन्छ। उहाँहरूले नेपालमा पनि योगदान गर्नुभएको छ। विशेषगरी केही घटना वा आपतकालीन परिस्थितिमा। कोभिड–१९ को समयमा पनि उहाँहरूले सहयोग गर्नुभयो, त्यो मलाई याद छ।
तपाई अमेरिका बसेको १७ वर्ष भइसक्यो। अब नेपाल फर्किएर नीति निर्माण, नर्सिङ नेतृत्व वा नीति विकास जस्ता भूमिकामा तपाईंहरूलाई बोलाइयो भने—के त्यस्तो भूमिकामा सहभागी हुने योजना छ?
अहिले तत्काल नेपाल फर्कने मेरो योजना छैन, किनभने मेरो सानो छोरा भर्खरै २१ महिनाको भएको छ। अहिलेको प्राथमिकता परिवार र बच्चालाई नै समय दिने हो। तर भविष्यमा बच्चाहरू सेटल भएपछि नेपाल फर्कने सोच चाहिँ छ।
यदि नीति निर्माण वा नेतृत्व भूमिकामा बोलाइयो भने, मेरो पहिलो ध्यान नर्सिङको स्ट्यान्डर्ड र प्रणाली सुधारमै हुने छ। नर्सहरूको विशेषज्ञता, शिक्षा, अनुभव र लोकेसनअनुसार फेयर इभ्यालुएसन र न्यूनतम तलब मापदण्ड आवश्यक छ।
नेपालको स्वास्थ्य सेवा प्रणाली सुरक्षित र गुणस्तरीय बनाउन नर्सहरूलाई सशक्त बनाउने, शिक्षा र क्षमता विकासका अवसर बढाउने, अनि हस्पिटलहरूले निश्चित कोटा वा नीति बनाएर थप अध्ययनमा पठाउने व्यवस्था गर्नुपर्ने हुन्छ।
नर्सहरूले आफैँ आफ्नो राम्रो हेरचाह गर्न सकेनन् भने उनीहरूले सुरक्षित र गुणस्तरीय सेवा दिन सक्दैनन्। त्यसैले, नर्सहरूको व्यावसायिक विकाससँगै उनीहरूको ‘आफ्नो हेरचाह'लाई पनि प्राथमिकता दिनुपर्ने हुन्छ। भविष्यमा म यही क्षेत्रमा योगदान गर्न चाहन्छु जस्तो लाग्छ।

आगामी दिनहरूमा तपाईंको योजना के छ? साथै, नेपाली नर्सहरूका लागि अन्तिम सन्देश के दिन चाहनुहुन्छ?
मेरो व्यक्तिगत योजना भनेको डाक्टरेट पूरा गर्नु हो। अहिले मेरो बच्चा भएकोले गर्न सकिन। भविष्यमा सकिएमा डाक्टरेट पनि गर्ने इच्छा छ- यो मेरो बकेट लिस्टको भाग हो।
नेपाल फर्कने विषयमा, मैले योजना बनाएको छैन कि तुरुन्तै ठूला नेतृत्व पदमा आउँछु। तर, चाहे नेपालमा आएर हुन्छ वा यहिँ बसेर हुन्छ, म सधैं उपलब्ध छु—जहाँबाट सकिन्छ त्यहाँबाट सहयोग गर्न र ज्ञान र अनुभव साझा गर्न। भोलिन्टियरिङ वा अस्थायी योगदानमार्फत पनि म योगदान दिन तयार छु। मेरो मनमा सधैं एउटा कुरा छ- मेरो देशको लागि केहि योगदान गर्नुपर्छ।
यसै सन्दर्भमा, मैले अनुभव गरेको कुरा: निरन्तर प्रयास, धैर्य र एक–एक कदमले ठूलो उपलब्धि सम्भव हुन्छ। नेपालमा धेरै अनुभवी र वरिष्ठ नर्सहरू हुनुहुन्छ, जसले पहिले नै योगदान दिइरहनुभएको छ। त्यसैले हामीले तुरुन्तै ठूला परिवर्तन ल्याउन खोज्नु भन्दा, उहाँहरूको कामलाई समर्थन गर्ने र सहकार्य मार्फत योगदान गर्नु उत्तम हुन्छ।
नेपाली नर्सहरूका लागि मेरो सन्देश:
आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्।
एकता नै शक्ति हो: अरूले गरेको राम्रो कामको समर्थन गर्नुहोस्।
आफूले नसकेका कुरा भएपनि अरूले गरेको उपलब्धिलाई प्रोत्साहित गर्नुहोस्।
आवश्यक परेमा सहयोग माग्न हिचकिचाउनु हुँदैन, हामी यहाँ उपलब्ध छौँ।

