काठमाडौं - सहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र नर्समाथि बिरामीका आफन्तले हातपात गरेका छन्।
आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर, स्टाफ नर्स र सुरक्षा गार्डमाथि कार्यकक्षमै बिरामीका आफन्तले बिहिबार दिउँसो हातपात गरेका हुन्।
सिन्धुपाल्चोकबाट उपचारका लागि आएकी ८३ वर्षीया वृद्धाकी आफन्तले उनको मृत्यु भएको भन्दै चिकित्सकमाथि हातपात गरेको अस्पतालले जनाएको छ। यद्यपि बिरामी भने सकुशल रहेको अस्पतालका निर्देशक डा रवि मल्लले जानकारी दिए।
बिरामीका आफन्तले चिकित्सक तथा नर्समाथि हातपात गर्नुका साथै तोडफोड समेत गरेका छन्। उनीहरुलाई हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक निसंखु ६ का हरिबहादुर गुरुङ र सुरज गुरुङ रहेका छन्।