काठमाडौं - सामान्यतया महिनावारी सुक्ने प्रक्रियालाई मेनोपज अर्थात् रजनोवृत्ति भनिन्छ। यो एक सामान्य र प्राकृतिक प्रक्रिया हो। यद्यपि यस समयमा कतिपय महिलाहरुमा असामान्य प्रकारका लक्षणहरु देखा पर्छन्।
अझै पनि महिलाहरु यस समयमा आउने परिवर्तनका बारेमा जानकार छैनन्। मेनोपज के हो ? मेनोपज हुँदा महिलाहरुमा देखिन सक्ने स्वास्थ्य समस्याहरु के के छन् ? मेनोपजलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? लगायत विषयमा केन्द्रित भएर स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले स्त्री तथा प्रसूती रोग विशेषज्ञ प्राडा पदमराज पन्तसँग गरेको कुराकानी :
महिनावारी कस्तो प्रक्रिया हो ? सामान्यतया यो कुन उमेरदेखि सुरु हुन्छ ?
महिनावारी सुरु हुनु भनेको किशोरीहरुको इन्डोक्राइन ग्रन्थीहरु परिपक्व हुनु वा उक्त ग्रन्थीले हर्माेन निकाल्नु हो। उक्त प्रक्रिया मस्तिष्कभित्र रहेको मास्टर अर्थात् पिट्युटरी ग्रन्थीबाट हर्माेन निकालेपछि नै सुरु हुन्छ। त्यो भन्दा माथिल्लो भागमा रहेको हाइपोथालमसमा रहेको हर्माेनहरुले अण्डाशयमा काम थाल्छन्।
फलस्वरुप अण्डाशयबाट विशेषगरी एस्ट्रोजेन र प्रोजेस्ट्रोन गरी २ प्रकारका हर्माेनहरु उत्पादनको सुरुवात हुन्छ। यी हर्माेनहरु उत्पादनसँगै पाठेघरको भित्रि तहमा उनीहरुले प्रक्रिया देखाउन थाल्छन्,जसले पाठेघरको भित्रि तह पलाउने तथा झर्ने गर्छ। उक्त तह झर्ने समयमा महिनावारी हुन्छ।
औसतमा नेपालीहरुको महिनावारी सुरुवातको अवस्था १२ वर्षको उमेरको हाराहारीमा हुनपर्छ। आजभोलि स्तरीय जीवनशैली, खानामा पोषणको मात्रा पर्याप्त हुनुले महिनावारी छिटो हुने गरेको पाइएको छ। धेरै छिटो अर्थात् ७, ८ वर्षमा नै महिनावारी सुरु भएमा त्यसको कारण खोज्ने तथा चिकित्सकलाई समेत भेट्नुपर्ने हुनसक्छ।
मेनोपज अर्थात् रजनोवृत्ति कस्तो प्रक्रिया हो ?
एस्ट्रोजेन र प्रोजेस्ट्रोन हर्माेनको मात्रा शरीरमा कम हुँदै जाँदा मेनोपज अर्थात् रजनोवृत्तिको अवस्था आउँछ। विशेषगरी एस्ट्रोजेन हर्माेनको मात्रा कम हुँदा पाठेघरको भित्रि तह पलाउने तथा झर्ने क्रम रोकिन्छ। जसकारण महिनावारी हुँदैन। एक वर्षसम्म लगातार महिनावारी भएन भने त्यस्तो अवस्थालाई मेनोपज भनिन्छ।
यसको उमेर, देश, व्यक्ति र परिवेश अनुसार फरक–फरक हुन सक्छ। नेपालमा मेनोपज एक उमेरमा नै हुन सक्छ। विकसित मुलुकका महिलाहरुमा भने केही ढिलो उमेरमा महिनावारी रोकिन सक्छ। बेलायतका महिलाहरुमा ५१ वर्षको उमेरमा रजनोवृत्ति हुन्छ। नेपालका महिलाहरुमा भने औसमतमा ४९ वर्षमा रजनोवृत्ति हुन्छ। विकसित मुलुकका महिलाहरुको रहन सहन तथा पोषणयुक्त खानेकुराका कारण उनीहरु महिनावारी कम विकसित मुलुकका महिलाको दाँजोमा ढिलो हुने गरेको हो।
प्रि–म्याचुयर मेनोपज भनेको के हो ?
सामान्यतया समयभन्दा पहिला नै महिनावारी सुक्नुलाई प्रि–म्याचुयर मेनोपज भनिन्छ। विगतमा ४० वर्ष भन्दा कम उमेरमा नै महिनावारी सुकेमा त्यसलाई प्रिम्याचुयर मेनोपज भन्ने गरिन्थ्यो। अहिले ४५ वर्षभन्दा कम उमेरमा महिनावारी सुकेमा त्यसलाई प्रि–म्याचुयर मेनोपज भनिन्छ। महिनावारी सुकेपछि महिलाहरुको शरीरलाई विभिन्न प्रकारका असरहरु पर्न सक्छन्। यसले छालादेखि मस्तिष्कसम्म नै असर गर्न सक्छ। अझै समयभन्दा कम उमेरमा नै महिनावारी सुकेमा समयभन्दा पहिले नै हड्डी खिइने समस्या समयभन्दा पहिले नै देखिन थाल्छन्।
मेनोपजका समयमा महिलाहरुमा के कस्ता स्वास्थ्य समस्याहरु देखिन सक्छन् ?
मेनोपजका समयमा हर्माेनको कमी भए पनि सबै महिलाहरुमा लक्षण नदेखिन पनि सक्छ। यद्यपि कसैलाई मेनोपजको समयमा आत्महत्या गर्न सक्ने सम्म बनाउन सक्छ। जसलाई भासोमोटो सिम्टम पनि भनिन्छ। यस्तो समयमा शरीर तात्ने, चिडचिड पसिना आउने, राती निन्द्रा कम पर्ने, मान्छेको आवाजले झर्काे लाग्ने, मनमा धेरै कुराहरु खेल्ने लगायतका लक्षणहरु महिलामा देखिन सक्छन्। यूरोजेनेटल सिम्टममा प्रजनन् अंग तथा पिसाब सम्बन्धि समस्याहरु देखिन सक्छन्। जसमा योनी सुख्खा हुनु, यौन इच्छा नहुनु, पिसाब छिटो–छिटो लाग्नु, पाठेघरको तन्तु खुल्ला हुनु जस्ता समस्याहरु देखिन सक्छन्। जसको असर हड्डीमा समेत पर्न सक्छ।
मेनोपज व्यवस्थापनका लागि कति बेला चिकित्सक कहाँ जाने ?
हड्डी खिइने समस्या रोक्नका लागि मेनोपज हुनु अगाडि नै उपचार गर्न सके त्यसलाई रोक्न सकिन्छ। कतिपय महिलाहरु धेरै पसिना आउन सक्छन्। कोही कोही त साइक्याट्रिक्स चिकित्सक कहाँ उपचारका लागि पुग्ने गर्छन्। कतिपय महिलाहरु आत्महत्याको प्रयास समेत गर्ने गरेको पाइएको छ। त्यस्तो अवस्थामा तुरुन्तै चिकित्सकलाई भेट्नुपर्छ। महिनावारी सुक्नुभन्दा १० वर्ष पहिले नै कति महिलाहरुलाई यस्तो लक्षण देखिन सक्छ।
के मेनोपज जीवनशैली र खानपानसँग सम्बन्धित छ ?
यो जीवनशैली र खानपानसँग सम्बन्धित छ। भटमास, तोफू, गुन्द्रुक, हरियो सागसब्जी, फलफूल बढी खाने महिलाहरुमा मेनोपज ढिलो हुने गरेको पाइएको छ। त्यस्तो पदार्थको कमी भएको खानेकुराको सेवन गर्नेहरुमा महिलाहरुमा चाँडै महिनावारी सुक्ने गरेको पाइएको छ।
मेनोपजपछिको जीवनशैली कस्तो हुनुपर्छ ?
अस्वभाविक लक्षण देखिएमा तत्कालै चिकित्सकको परामर्शमा काम गर्नुपर्छ। लक्षण देखिएको छैन भने पनि खानपानमा भने विशेष ख्याल गर्नुपर्छ। मेनोपज पछि भटमास, तोफु, फलफूल जस्ता खानेकुराको सेवन बढी गर्नुपर्छ। यदि मेनोपज पश्चात् पनि महिनावारी हुन्छ भने त्यो असामान्य अवस्था हो । त्यो नराम्रो रोगको लक्षण पनि हो। यस्तो अवस्थामा तत्कालै चिकित्सकको परामर्शमा जान आवश्यक हुन्छ।
मेनोपजको समय भएका तथा भइसकेका महिलाहरुलाई के सल्लाह दिनुहुन्छ ?
मेनोपजका समयमा देखिने लक्षणहरुको जोखिमबाट जोगिनका लागि यो समय अगाडि नै खानेकुरामा विशेष ख्याल गर्न आवश्यक छ। नियमित व्यायाम गर्नुपर्छ । मेनोपज रोग नभई सामान्य प्राकृतिक प्रक्रिया सम्झनका लागि म सल्लाह दिन्छु । यसका कारण समस्या भएमा उपचार सम्भव छ। त्यसकारण मेनोपजका कारण देखिएका लक्षणहरुबाट नआतिन पनि मेरो सल्लाह छ।