काठमाडौं- अस्पतालहरूमा क्यान्सरको किमोथेरापीमा प्रयोग हुने 'कार्बोप्लाटिन' र 'सिस्प्लाटिन' औषधिको आपूर्ति सहज हुने भएको छ। आयातकर्ताले आज र भोलिसम्ममा सहज रुपमा औषधि उपलब्ध गराउने भएका हुन्।
नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यका अनुसार बिरामीलाई मार पर्न नदिनका लागि संघले अस्पतालहरूमा यी औषधिहरू आज र भोलिसम्म आपूर्ति गरिसक्नेछ।
क्यान्सरको उपचारका लागि अत्यावश्यक मानिने यी दुई प्रकारका औषधिको अभाव हुँदा केही समययता बिरामीहरूको उपचार प्रभावित भएको छ। किमोथेरापीका क्रममा प्रयोग हुने उक्त औषधिको अभाव हुँदा यस क्षेत्रका चिकित्सकहरूले बिरामीको ज्यान जोखिममा नपार्न सरकारसमक्ष अपिल समेत गरेका थिए। क्यान्सरका ६० प्रतिशतभन्दा बढी बिरामीहरूलाई आवश्यक पर्ने उक्त औषधिको अभावमा बिरामीको स्वास्थ्य जोखिममा पर्न सक्ने चिकित्सकहरूको दाबी छ।
यसै साता औषधिको मूल्य समायोजन हुन्छ: निमित्त महानिर्देशक खड्गी
औषधि अभावको समस्या समाधानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग नियमित छलफल भइरहेको औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीले बताइन्। तत्कालको समस्या समाधानका लागि केही कार्यविधि समेत बनाइएको उनले जानकारी दिइन्। औषधि परामर्श समितिको बैठकमा मूल्य समायोजनका लागि बनाइएको कार्यविधिको मस्यौदा प्रस्तुत गरी यसै साता औषधिको मूल्य समायोजन गरिने उनले स्पष्ट पारिन्।
यो औषधिको अभाव नेपालमा मात्र नभई बंगलादेश, भारतलगायत विश्वभर नै रहेको संघका अध्यक्ष आचार्य बताउँछन्।
'३–४ दिन औषधि अभाव भयो। मूल्य समायोजन नभए पनि बिरामीले औषधि पाउनुपर्छ भन्दै हामीले पहल गरिरहेका थियौँ,' अध्यक्ष आचार्यले भने, 'हाम्रो अनुरोध अनुसार कार्बोप्लाटिन ४५० एमजीको १४ सयभन्दा बढी भाइल र सिस्प्लाटिनसहित गरी करिब ३५ सय भाइल औषधि आएको छ।'
त्यसैगरी, अर्को १ हजार भाइल औषधि पनि आउने क्रममा रहेको र यसले अत्यधिक माग भए पनि आगामी २ महिनासम्म धान्न सक्ने उनको दाबी छ। औषधिमा 'स्वचालित मूल्य प्रणाली' अपनाउन संघले सरकारलाई अनुरोध गर्दै आएकोमा औषधि व्यवस्था विभाग तथा स्वास्थ्य मन्त्रालयले यस विषयमा काम भइरहेको जानकारी दिएको उनी बताउँछन्। सरकारले यस विषयमा ध्यान केन्द्रित गरी उचित मूल्य समायोजन गर्नेमा आफूहरू विश्वस्त रहेको उनले उल्लेख गरे।
अन्तर्राष्ट्रिय बजारमा औषधिको कच्चा पदार्थको मूल्य बढ्नु, वि.सं. २०७२ सालदेखि नेपालमा औषधिको मूल्य समायोजन नहुनु, पश्चिमा मुलुकहरूमा जारी युद्ध, डलरको भाउ बढ्नु र सिस्प्लाटिन तथा कार्बोप्लाटिन औषधि बनाउन प्रयोग हुने 'प्लाटिनम' धातुको मूल्य उच्च हुनु लगायतका कारणले औषधिको आपूर्तिमा विश्वव्यापी समस्या देखिएको आयातकर्ताहरूको भनाइ छ। विगत ११ वर्षदेखि औषधिको मूल्य समायोजन नहुँदा आयातकर्ताहरू मारमा परेको दाबी समेत संघले गरेको छ।