बेलायतमा कार्यरत नेपाली चिकित्सक डा. विश्वविख्यात कार्की अहिले कलेजो प्रत्यारोपणमा विशेषज्ञता हासिल गरिरहेका छन्। बेलायतमा आफूले सिकेको र सिक्दै गरेको ज्ञान र सीप नेपालमा पनि प्रदान गर्नुपर्छ भन्ने उनको मान्यता छ। त्यही मान्यतासहित उनले छुट्टीको समयमा आएर नीतिगत लबिङ गरे। सशस्त्र प्रहरी अस्पतालमा सर्जिकल स्किल्स कोर्स मार्फत उनले नेपाली मेडिकल विद्यार्थीहरूलाई सिमुलेसनमार्फत सर्जरी अभ्यास गराए।
सिमुलेसन शिक्षा आवश्यक किन?
डा. कार्कीका अनुसार सिमुलेसन एजुकेसन भनेको वास्तविक बिरामीमा सर्जरी गर्नुअघि मोडल, एनिमल टिस्यु वा सिलिकन मोडलमार्फत अभ्यास गर्नु हो। यसले विद्यार्थीमा आत्मविश्वास र दक्षता बढाउँछ।
'बेलायतमा मैले हरेक अपरेसन गर्नुअघि सिमुलेसन ल्याबमा गएर अभ्यास गर्थें। यसले मेरो सिप मात्र होइन, बिरामीको सुरक्षालाई पनि सुनिश्चित गर्छ। नेपालमा पनि यस्ता ल्याब र प्रशिक्षण जरुरी छन्। बिरामीमाथि प्रत्यक्ष अभ्यास गर्नु नै सिकाइ होइन, नैतिक दृष्टिले पनि त्यो ठीक होइन,' उनी भन्छन्।
बेलायतको अनुभव र नेपालमा सिकाइको अवस्था
डा. कार्की बेलायतमा रेजिडेन्सी गरिरहेका छन्। जहाँ सिमुलेसन कोर्सहरू करिकुलमकै अनिवार्य हिस्सा रहेको उनले पाए। उनले थपे, 'ल्याप्रोस्कोपिक वा रोबोटिक सर्जरीका विभिन्न तहका सिमुलेसन कोर्स नगरी रेजिडेन्सी पूरा गर्न पाइँदैन। हरेक अस्पतालमा सिमुलेसन ल्याब हुन्छ, जसमा डाक्टरले फुर्सदको समयमा गएर अभ्यास गर्न सक्छ।'
तर नेपालमा स्थिति फरक छ। उनले आफ्नो एमएसस्तरको अनुसन्धानमा नेपालका थोरै मेडिकल संस्थाबाहेक अन्यत्र सिमुलेसन शिक्षालाई पाठ्यक्रममै समावेश गरिएको पाएनन्। 'त्यो अभावले गर्दा विद्यार्थीहरूले सर्जरीका महत्त्वपूर्ण चरणहरू प्रत्यक्ष बिरामीमाथि नै गर्नुपर्ने अवस्था आउँछ, जुन जोखिमपूर्ण र अनैतिक दुवै हो,' उनले भने।
नेपालमा सिमुलेसनका लागि पहल
रोयल कलेज अफ सर्जन एडिनबर्गबाट सीपीडी मान्यता प्राप्त सिमुलेसन कोर्स नेपालको डा. कार्कीले सशस्त्र प्रहरी अस्पतालमा सञ्चालन गरेका छन्। विद्यार्थीहरूको प्रतिक्रिया अत्यन्त सकारात्मक रहेको उनी बताउँछन्।
विद्यार्थीहरूले पाठ्यपुस्तकमा पढेको कुरा जब मोडलमा ह्यान्ड्स-अन अभ्यास गर्न पाएर बुझाइ दोब्बर भएको उनलाई बताएका थिए। 'त्यसैले अब नेपालमा नीति नै बनाएर सिमुलेसन एजुकेसनलाई करिकुलममा समावेश गर्नुपर्छ,' उनको भनाइ छ।
उनले नेपालका विभिन्न अस्पतालका विभाग प्रमुखहरूसँग छलफल गरेका छन्। सबैले यो विषयमा चासो देखाएको बताउँदै उनले थपे, 'हामीले सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याएर नीति निर्माण गर्ने तयारीमा छौं। सम्भवतः एक वर्षभित्रै यस विषयमा नीतिगत सुझावपत्र तयार हुनेछ।'

कलेजो प्रत्यारोपणप्रतिको व्यक्तिगत प्रेरणा
डा. कार्कीलाई कलेजो प्रत्यारोपणतर्फ आकर्षित बनाउने व्यक्तिगत कथा पनि छ। 'म सेकेन्ड इयरमा थिएँ, जब मेरो हजुरबुवालाई कलेजो प्रत्यारोपणको आवश्यकता पर्यो। हामी दिल्ली गएका थियौं, सबै तयारी भइसकेको थियो, तर दुर्भाग्यवश उहाँको मृत्यु भयो। त्यसपछि मलाई महसुस भयो, यो उपचार विकसित देश मात्र होइन, नेपालजस्ता मुलुकमा पनि अत्यन्त आवश्यक छ,' उनी स्मरण गर्छन्। त्यस घटनापछि उनलाई कलेजो प्रत्यारोफणमा रुचि बढेको थियो। बेलायतमा कलेजो प्रत्यारोपणसम्बन्धी नै पढ्न पाउँदा आफू खुशी रहेको बताए।
नेपालमा सिमुलेसन शिक्षालाई पाठ्यक्रममा समावेश गर्दै र प्रत्यारोपण चिकित्सा प्रविधि विस्तार गर्दै अघि बढ्नुपर्ने डा. कार्की बताउँछन्। उनी भन्छन्, 'हामीले बिरामीलाई सुरक्षित उपचार दिन, दक्ष र नैतिक चिकित्सक उत्पादन गर्न चाहन्छौं। त्यसका लागि सिमुलेसन शिक्षाले ठूलो भूमिका खेल्नेछ।'