हालैका सर्वेक्षणहरू र विश्लेषणहरूले हाम्रो समाज गलत जानकारी, विशेषगरी स्वास्थ्यसम्बन्धी गलत सूचना, सोसल मिडिया मार्फत् सजिलै ग्रहण गर्न सक्ने दर्शाएका छन्। यस्तो अवस्थामा, स्वास्थ्य जानकारीको स्रोत विश्वासनीय छ वा छैन भनेर हामीले कसरी छुट्टाउन सक्छौं? साथै, गलत स्वास्थ्य सल्लाहबाट जोगिन के गर्न सकिन्छ?
आजको डिजिटल युगमा, सूचना निकै छिटो फैलिन्छ, जसमा समाचार माध्यम र सामाजिक सञ्जालको ठूलो भूमिका छ। यसले स्वास्थ्य सम्बन्धी जानकारी हाम्रो औंलाको टुप्पोमै ल्याएको छ, तर गलत जानकारीलाई पनि चाँडै फैलाउने सम्भावना बढाएको छ।
यसकारण, हामी सजिलै गलत स्वास्थ्य जानकारीको शिकार बन्न सक्छौं, जसमा सूचना गलत रूपमा प्रस्तुत गरिएको, गलत व्याख्या गरिएको, वा असत्य हुन सक्छ।
२०२४ मा हेल्थलाइनद्वारा गरिएको उपभोक्ता सर्वेक्षण अनुसार, अमेरिकाका आधाभन्दा बढी सहभागीहरू सामाजिक सञ्जालबाट स्वास्थ्य जानकारी संकलन गर्छन्, भने ३२ प्रतिशतले आफ्ना परिवार, साथीभाइ वा सहकर्मीहरूबाट स्वास्थ्य सल्लाह लिने गरेको बताएका छन्। तर, यद्यपि सामाजिक सञ्जाललाई जानकारीको स्रोतका रूपमा प्रयोग गर्नेहरू धेरै छन्, अधिकांशले ती स्रोतहरू पूर्ण रूपमा विश्वास गर्न नसकिने भनेर पनि बताएका छन्। संयुक्त अधिराज्य यूकेमा २०२४ मा एलन ट्युरिङ संस्थानद्वारा गरिएको सर्वेक्षण अनुसार, ९४ प्रतिशत जनसंख्याले सामाजिक सञ्जालमा गलत जानकारी देखेको बताएका छन्।
संयुक्त अधिराज्यको ब्रिस्टोल विश्वविद्यालयको स्कूल अफ साइकोलोजिकल साइन्सको अनुसन्धानकर्ता डन होलफोर्डका अनुसार- हामी किन स्वास्थ्यसम्बन्धी गलत सूचनामा विश्वास गर्छौं? स्वास्थ्यसम्बन्धी सल्लाह र सहयोग खोज्ने क्रममा हामी किन गलत सूचनामा फस्छौं ? भन्ने बुझ्नका लागि, हाम्रो मानसिक धारणालाई हेर्न आवश्यक छ, भनी डन होलफोर्ड बताउँछिन्। मानसिक धारणा (एटिट्युट रुट्स) भन्ने अवधारणा मनोवैज्ञानिक म्याथ्यु होर्न्सीले विकसित गरेका हुन्। यसले हाम्रो बाल्यकालदेखि निर्माण भएका विश्वास, धारणाहरू र विचारधाराहरूलाई जनाउँछ। ‘मानसिक धारणा हाम्रो मनोविज्ञानको हिस्सा हो। यसमा विश्वास, दृष्टिकोण, भावना आदि समावेश छन्। यी तत्वहरूले हामीले सूचनालाई कसरी बुझ्छौं र ग्रहण गर्छौं भन्ने निर्धारण गर्छन्,’ होलफोर्ड भन्छिन्।
यी धारणाले कुनै चीजप्रति हुने डर, चिन्ता, वा अविश्वासलाई समेट्न सक्छन्। जस्तै:
• जटिल चिकित्सा परीक्षण,
• औषधिहरू,
• खोपहरूबारे अनिश्चितता।
होलफोर्ड र उनको टोलीले खोपसम्बन्धी गलत धारणा उत्पन्न गर्ने ११ विभिन्न ‘मानसिक धारणा’को अध्ययन गरेका छन्। तीमध्ये केही कारणहरू यस्ता छन्:
• औषधिको नकारात्मक प्रभावप्रति डर,
• धार्मिक आस्था,
• अरूले के गर्न भन्यो भने त्यसको प्रतिरोध गर्ने स्वभाव
जब हामीले कुनै सूचना प्राप्त गर्छौं, जुन हाम्रा पहिल्यै रहेका विचार वा भावनासँग मेल खान्छ, हामी त्यसलाई सहजै स्वीकार्छौं। किनकि त्यो हाम्रो अवचेतन सोचसँग मिल्छ। होलफोर्डले थप बताउँछिन् कि डाक्टरसँग जाने वा मेडिकल परीक्षण गर्ने डर नै गलत जानकारीमा फस्ने मुख्य कारण हुन सक्छ। हाम्रो मस्तिष्क यस्तो तरिकाले काम गर्छ कि हामी पहिल्यै रहेका विश्वासलाई समर्थन गर्ने प्रमाण मात्र खोज्छौं। यो प्रवृत्तिलाई ‘कन्फरमेसन बाएस’ भनिन्छ। त्यसैले, यदि हामी कुनै कुरा गलत ठानिरहेका छौँ भने, हामी त्यसलाई स्वीकार गर्ने प्रमाणहरु मात्र खोज्ने गर्छौं। तर, ‘मानसिक धारणा’ न त राम्रो हुन्छ, न नराम्रो। यो केवल हाम्रो अनुभव र सोच्ने तरिकाबाट प्रभावित हुन्छ, र गलत सूचनाले त्यसलाई झन् बलियो बनाइदिन सक्छ।
कसलाई गलत जानकारीको प्रभाव धेरै पर्छ?
स्वास्थ्यसम्बन्धी गलत सूचना कसले चाँडै विश्वास गर्छन्। यस विषयमा अनुसन्धान गरिरहेकी डन होलफोर्ड, पीएचडीका अनुसार, ‘मानिसहरूले त्यस्ता जानकारी बढी विश्वास गर्छन्, जुन उनीहरूको विचारधारासँग मेल खान्छ।’ तर, उनले थप स्पष्ट पार्दै भनिन्, 'केही मनोवैज्ञानिक विशेषताहरूले मानिसलाई गलत जानकारी स्वीकार्न कम वा बढी सम्भावित बनाउन सक्छ।' उदाहरणका लागि, होलफोर्डका अनुसार सक्रिय रूपमा खुला सोचाइ (एक्टिभली ओपन-मैन्डेड थिंगकिङ्ग) मानसिकता भएको व्यक्तिहरू गलत सूचनामा कम विश्वास गर्छन्।
उनको निष्कर्षमा कसले कुन प्रकारको गलत जानकारीलाई बढी विश्वास गर्छ भन्ने कुरा त्यस्तो जानकारी कसरी प्रस्तुत गरिएको छ भन्नेमा भर पर्छ। यदि कुनै गलत सूचना कुनै समूहको विश्वाससँग मेल खाने गरी तयार पारिएको छ भने, त्यस्ता समूहका मानिसहरू त्यसमा सजिलै विश्वास गर्न सक्छन्।
किन मानिसहरू आधिकारिक स्रोतहरूको स्वास्थ्य जानकारीलाई अविश्वास गर्न सक्छन्?
डन होलफोर्डका अनुसार, केही डर र चिन्ताहरूले मानिसहरूलाई गलत जानकारी वा गलत उद्देश्यले फैलाइएका झूटा जानकारीमा विश्वास गर्न बाध्य बनाउँछ। उनले बताएअनुसार, स्वास्थ्य प्रणालीमा आफुले भोगेका नकारात्मक अनुभवहरूले नै मानिसहरूलाई आधिकारिक जानकारी प्रति अविश्वास गर्न प्रेरित गर्ने प्रमुख कारण हो।
उदाहरणका लागि: विदेशबाट खोप आफ्नो देशमा आएर खोप कार्यक्रम हुँदा, यो खाली परीक्षणलाई लिएर आएको हो र यो हानीकारक हुन्छन् भन्ने गलत जानकारीमा विश्वास गर्ने सम्भावना बढी हुन सक्छ। स्वास्थ्य सेवामा जातीय भेदभावको सामना गर्नु, लैंगिक भेदभावका कारण समयमा उपचार नपाउनु, वा संस्थागत संरचनाभित्र खराब अनुभवहरू हुनु जस्ता कुराले आधिकारिक स्वास्थ्य जानकारीप्रति शंका बढाउन सक्छ। होलफोर्ड भन्छिन्, ‘यदि कसैलाई प्राकृतिक जीवनशैली मन पर्छ भने, तिनलाई 'प्राकृतिक उपचार नै सबैभन्दा राम्रो हो' भन्ने गलत जानकारीमा विश्वास गर्ने सम्भावना बढी हुन्छ। तर, ‘यदि कसैलाई प्रकृतिसँग त्यस्तो गहिरो मोह छैन भने, सोही गलत जानकारी उनीहरूका लागि प्रभावकारी नहुन सक्छ।’ होलफोर्डका अनुसार, धेरैजसो गलत जानकारी विभिन्न समूहहरूलाई एकै साथ प्रभाव पार्ने गरी तयार गरिएका हुन्छन्।
स्वास्थ्य जानकारी सही छ कि छैन भनेर कसरी पुष्टि गर्ने?
होलफोर्डले स्वास्थ्य जानकारी वा कुनै पनि जानकारी सही छ कि छैन भनेर पुष्टि गर्ने केही उपायहरू पनि सुझाइन्।
उनले जानकारीको स्रोत राम्ररी जाँच्ने र दोहोर्याएर पुष्टि गर्ने महत्त्वलाई जोड दिइन्। ‘मूल रूपमा, यदि हामी कुनै वेबसाइट वा प्लेटफर्ममा स्वास्थ्य जानकारी भेट्टाउँछौं भने, त्यस जानकारीको विश्वसनीयता पत्ता लगाउन बाहिरी स्रोतहरू खोज्नुपर्छ। यसरी हामीले पढेको जानकारी अरु स्रोतहरूले पुष्टि गर्छ कि गर्दैन भन्ने हेर्न सक्छौँ। विशेष रूपमा, जब कुनै जानकारी हामीले सुन्न चाहेको कुरा जस्तै लाग्छ, त्यह बेला हामी गलत जानकारी पत्याउने सम्भावनामा सबैभन्दा बढी हुन्छौं, त्यसैले यस्तो अवस्थामा अझ बढी सतर्क हुनुपर्छ।’
सही र भरपर्दो स्वास्थ्य जानकारी कहाँ खोज्ने?
आजको समयमा, धेरै मानिसहरू सरकारी स्वास्थ्य संस्थाहरू प्रतिको विश्वास गुमाउँदैछन्, मुख्य प्रश्न उठ्छ: सबैभन्दा राम्रो र भरपर्दो स्वास्थ्य जानकारी पहुँचयोग्य रूपमा कहाँ पाइन्छ?
विश्वास नै सबै कुरा हो भन्नेमा होलफोर्डले जोड दिइन्। ‘विडम्बना के छ भने, सरकारी स्वास्थ्य संस्थाहरू प्रायः सबैभन्दा भरपर्दो जानकारी दिने ठाउँहरू हुन्, किनभने तिनीहरू नागरिक प्रति जवाफदेही हुन्छन्, अन्य सामग्री सिर्जना गर्नेहरूजस्तो होइन,’ उनले भनिन्, 'धेरै संस्थाहरूले जानकारीलाई सहज भाषामा प्रस्तुत गर्ने प्रयास पनि गर्छन्।’
स्वास्थ्य एक अत्यन्तै फराकिलो क्षेत्र भएकाले, सही जानकारी दिने र अरु संस्थाकै जानकारीहरु पनि जाँच गर्ने जिम्मेवारी प्रायः सरकारी संस्थाहरूको नै हुन्छ,’ होलफोर्डले थपिन्।
सरकारमाथि विश्वास नभए के गर्ने?
तर, उनले स्वीकारिन्, ‘कहिलेकाहीँ हामी आफ्नै सरकारमाथि विश्वास गर्न सक्दैनौं।' यस्तो अवस्थामा, स्थानीय स्रोतहरूबाट बाहिर, विश्वव्यापी रूपमा खोज्न उनले सुझाव दिइन्। विश्व स्वास्थ्य संगठन जस्ता अन्तर्राष्ट्रिय संस्था भरपर्दो स्रोत हुन सक्छ। त्यसै गरी अरु थुप्रै छन् जसले सही र सत्य जानकारी दिने गर्छन्।
होलफोर्डका अनुसार, ‘सबैभन्दा राम्रो तरिका भनेको विभिन्न भरपर्दो स्रोतहरूको बीचमा सहमति के छ भनेर हेर्ने हो।‘ सबैभन्दा अन्त्यमा, स्वास्थ्यसम्बन्धी प्रश्नहरूको सही जवाफ पाउन, भरपर्दो स्वास्थ्यकर्मी वा समुदाय स्वास्थ्य प्रतिनिधिसँग परामर्श गर्न उनले सिफारिस गरिन्।
(एजेन्सीहरुको सहयोगमा)