काठमाडौं- काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई थप बिरामीमैत्री र प्रविधिमैत्री बनाउन १ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ।
अस्पतालमा आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई १ करोड ७० लाख १६ हजार ६७० रुपैयाँ बराबरका उपकरण हस्तान्तरण गरेकी हुन्।
महानगरले उपलब्ध गराएका उपकरणमा शुल्क भुक्तानी, रिपोर्ट प्रिन्ट तथा घरबाटै उपचारका लागि रकम जम्मा गर्न सकिने सुविधासहितका १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन रहेका छन्।
यस्तै, रिपोर्ट, परीक्षण तथा उपचारसँग सम्बन्धित सम्पूर्ण विवरण एकै स्थानबाट हेर्न सकिने ६५ वटा ‘अल इन वन’ डेस्कटप कम्प्युटर पनि प्रदान गरिएको छ। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सर्भर तथा र्यामको क्षमता समेत वृद्धि गरिएको छ।
उपकरण हस्तान्तरण कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले सरकारी अस्पतालमा सेवा लिन बिरामी र उनका आफन्तले लामो समय लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य गर्न प्रविधिको प्रयोग आवश्यक रहेको बताइन्।
'बिरामी र बिरामीका आफन्त पहिले नै पीडामा हुन्छन्। उपचारका क्रममा टिकट काट्न र शुल्क तिर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न प्रविधिमार्फत सहज सेवा दिन सकिन्छ,' उनले भनिन, 'हामीले उपलब्ध गराएको सहयोगबाट सर्वसाधारणलाई सेवा लिन थप सहज हुनेछ।'
उनले स्थानीय सरकारका रूपमा महानगरपालिका नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा संवेदनशील रहेको उल्लेख गर्दै अस्पतालसँग सहकार्य गरी भविष्यमा टेलिसेवा सञ्चालन गर्न सकिने सम्भावनासमेत औँल्याइन्।
अस्पतालका निर्देशक प्रा. डा. सुवास आचार्यले महानगरपालिकाबाट प्राप्त सहयोगले अस्पतालको सेवा व्यवस्थापनमा उल्लेखनीय परिवर्तन ल्याउन मद्दत पुगेको बताए। उपकरण तथा प्रणालीको प्रयोगबारे प्रस्तुतीकरण गर्दै उनले पहिलो चरणको सहयोगबाट नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सेवा सुधार गर्न सफल भएको उल्लेख गरे।
'दोस्रो चरणमा पनि सहयोगको अपेक्षा गरेका छौँ। यसपछि अस्पतालबाट प्रदान गरिने अधिकांश क्यान्सर उपचार सेवालाई पेपरलेस र फेसलेस प्रणालीमा रूपान्तरण गर्न सकिन्छ,' उनले भने।
कार्यक्रममा अस्पतालका उपनिर्देशक प्रा. डा. पवनराज चालिसे र प्रा. डा. गोपाल सेढाइँले महानगरपालिकाबाट प्राप्त सहयोगले अस्पतालको सेवा व्यवस्थापनमा सहजता थपिएको बताउँदै आगामी दिनमा पनि सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरे।
वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले वडा कार्यालयको पहलमा अस्पतालको पश्चिम क्षेत्रबाट पहुँच मार्ग खुलाउन सहयोग गरिएको जानकारी दिए।
महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट प्रवाह हुने विशेषज्ञ स्वास्थ्य सेवाका लागि अस्पतालसँग थप सहकार्य गर्ने योजना रहेको बताए।