लक्ष्मी पोखरेल हाल अस्ट्रेलियामा नर्सिङ पेशामा सक्रिय छिन्। नेपालमै नर्सिङ पढेर काम सुरु गरेकी उनले सीमित अवसर, बढ्दो कामको दबाब र जीवनका जिम्मेवारीबीच अघि बढ्दै विदेश जाने निर्णय गरिन्। गोर्खाबाट काठमाडौँ हुँदै अस्ट्रेलियासम्म आइपुग्दा उनले भाषा, संस्कृति र कार्यस्थलका धेरै चुनौतीहरुको सामना गरिन्। आरएन बन्ने यात्रादेखि नेतृत्वको भूमिकासम्म आइपुग्दा उनले निरन्तर सिकाइ, धैर्यता र मेहनतलाई आफ्नो बलियो आधार बनाइन्। आज उनी क्लिनिकल अभ्याससँगै व्यवस्थापन भूमिकामा पनि कार्यरत छिन्।
नेपाल र अस्ट्रेलिया दुवैको स्वास्थ्य प्रणालीमा लामो अनुभव बटुलेकी लक्ष्मीले नर्सिङ पेशाका वास्तविक चुनौती, अवसर र भविष्यबारे आफ्नो अनुभव खुलेर साझा गरेकी छिन्। अस्ट्रेलियामा बसेर पनि नेपाल र नेपाली नर्सिङप्रति गहिरो चासो राख्ने लक्ष्मीसँग स्वास्थ्यखबरका लागि रोमीका न्यौपानेले गरेको कुराकानी:
तपाईंको नर्सिङको यात्रा कसरी सुरुवात भयो?
नर्सिङ रोज्ने निर्णय वास्तवमा कुनै एकदिन अचानक गरिएको निर्णय थिएन। त्यो चाहना त बिस्तारै, थाहा नै नपाइ, बाल्यकालमै बसिसकेको रहेछ। गाउँमा एसएलसी सकेर काठमाडौँ आएपछि मात्रै ‘अब के पढ्ने?’ भन्ने ठूलो प्रश्न अगाडि उभिनुपर्यो। तर मनभित्र चाहिँ नर्सिङप्रतिको झुकाव पहिले नै पलाइसकेको रहेछ।
म गोरखाको आपपिपलमा हुर्किएकी हुँ। हाम्रो घरमै ठूलो प्रेरणा भनेको हाम्रो हजुरबुवा हुनुहुन्थ्यो। उहाँ आयुर्वेदिक वैद्य र ज्योतिषी दुवै हुनुहुन्थ्यो। गाउँमा बिरामी परेका धेरैजसो मानिसहरू अस्पतालबाट निको नभएर पनि उहाँकहाँ आउँथे। उहाँले घरआँगनमै उपलब्ध जडीबुटीहरू मिसाएर उपचार गर्नुहुन्थ्यो र धेरैजसो बिरामी बिस्तारै ठिक हुँदै जान्थे। सानो उमेरमा त्यस्तो परिवर्तन नजिकबाट देख्दा स्वास्थ्य सेवा भन्ने कुरा कति अर्थपूर्ण रहेछ भन्ने बुझ्दै गएँ।
त्यतिबेला आँपपिपलमै युनाइटेड मिसन टु नेपालले सञ्चालन गरेको अस्पताल थियो। आमा वा हजुरआमासँग कहिले काहीं अस्पताल जाँदा नर्सहरूको व्यवहार, मुस्कान, सहयोगी स्वभाव र सेतो, सफा युनिफर्मले मलाई अत्यन्तै प्रभावित पार्थ्यो। यी सबै कुराहरुले मेरो दिमागमा भित्रभित्रै नर्सिङको बीउ बिस्तारै रोपिसकेको रहेछ।
तर वास्तविकरूपमा निर्णय भने काठमाडौँ आएपछि मात्र भयो। एक दिन टिचिङ अस्पतालको ओपीडीमा लाइनमा बसिरहेकी थिएँ। त्यतिबेला १५–२० जना नर्सिङ विद्यार्थीहरू पूरा सेतो युनिफर्म र सेतो क्यापसहित ठूलो समूहमा प्राक्टिकलका लागि हिँडिरहेका थिए। उनीहरूलाई हेर्दा नर्सिङको अनुशासन, कामप्रतिको गर्व र एक किसिमको गरिमा झल्किएको थियो। त्यो क्षण मैले आफैँलाई सोधेँ ‘किन म नर्स हुन सक्दिन र?’
त्यसपछि मैले ढुक्क भएर नर्सिङमा आवेदन दिएँ र महाराजगञ्जमै पढ्न थालेँ। पछाडि फर्केर हेर्दा लाग्छ १८ वर्षको उमेरमा नर्सिङको गहिरो परिभाषा नबुझ्दा पनि भित्रैबाट आएको चाहना र आफू वरपरको वातावरणले नै मलाई बिस्तारै नर्सिङतर्फ धकेल्दै लग्यो।

नर्सिङ अध्ययनमा भर्ना हुने प्रक्रिया त्यतिबेला कस्तो थियो?
त्यतिबेला त अहिले जस्तो डाइरेक्ट बीएससी नर्सिङ बाट प्रवेश पाईदैन थियो। पहिले पीसीएल नर्सिङ गर्नु नै पर्थ्यो र पढाइ सकिएपछि स्टाफ नर्सको पदमा काम गर्न पाइन्थ्यो। एसएलसी सकेपछि सोझै जान पाइने व्यवस्था केही वर्षअघिसम्म रहेछ, तर मेरो वर्षदेखि भने इन्ट्रान्स परीक्षा अनिवार्य भयो।
सयमले हेर्दा, यदि पुरानो तरिका जस्तै एसएलसीको स्कोरिङबाटै सेलेक्शन हुने भएको भए म महाराजगञ्जमा पढ्न पाउँदिन थिएँ होला। तर इन्ट्रान्स सुरू भएको साल परेकोले, मैले परीक्षामा राम्रो गरेर प्रतिस्पर्धाबाटै सेलेक्ट हुन पाएँ।
त्यसपछि महाराजगञ्जमा पढ्ने मौका मिल्यो। म सामाखुसी बस्ने भएकोले आवतजावत पनि सहज भयो। फर्केर हेर्दा लाग्छ, त्यो समयमा इन्ट्रान्स प्रणाली लागू नभएको भए, मेरो नर्सिङ पढ्ने योग्यता नै नपुग्ने रहेछ। सायद मेरो करियर अर्कै दिशातर्फ गइसकेको हुन्थ्यो।
गाउँबाट काठमाडौँ आएर महाराजगञ्ज जस्तो ठुलो कलेजमा पढ्न पाउनु भयो। त्यतिबेला कस्तो अनुभव भयो?
गाउँबाट भर्खर काठमाडौँ आइपुगेकी, अनि महाराजगञ्ज नर्सिङ कलेज जुन देशकै टप कलेजमा नाम निस्किन्छ कि निस्किन्न भनेर निकै डर लागेको थियो। महाराजगञ्ज त त्यतिबेलै मात्र होइन, अहिले पनि सबैले ‘टप कलेज’ भनेर मान्ने कलेज हो। त्यसैले नतिजा नआउँदासम्म मनमा उथलपुथल भइरहेको थियो।
तर रोचक कुरा के भने, मैले नर्सिङ मात्र होइन, इन्जिनियरिङको इन्ट्रान्स पनि दिएको थिएँ। पुल्चोक कलेजमा पढ्ने अवसर पनि आयो, त्यहाँ पनि नाम निस्क्यो, यहाँ पनि नाम निस्क्यो। अचानक दुवै ढोका खुल्दा, ‘अब के पढ्ने?’ भन्ने ठूलो निर्णय लिनु परेको थियो।
त्यसपछि घरमा पनि गम्भीर रूपमा सल्लाह भयो। बुवाको मनमा त पहिलेदेखि नै एउटा सपना रहेछ, एक छोरालाई डाक्टर, अर्को छोरालाई इन्जिनियर, र छोरीलाई नर्स बनाउने। बुवाले पनि नर्सिङ पढ्न प्रोत्साहन गर्नुभयो, र मलाई पनि बाल्यकालदेखि नै नर्सिङतर्फ नै रुचि थियो। दुईवटै अवसर खुल्दा, अन्ततः मनले भनेको कुरा नै सुनेँ ‘म नर्स नै बन्न चाहन्छु।‘
नर्सिङ पढ्दा र सुरुवाती करिअरमा हजुरले कस्ता-कस्ता चुनौतीहरू सामना गर्नुभयो?
गाउँबाट एसएलसी सकेर सिधै नर्सिङ कलेजमा आएपछि सुरुका दिनहरू निकै चुनौतीपूर्ण थिए। नर्सिङका विषयहरू त हामीले त्यसअघि एसएलसी सम्म कहिल्यै पढेकै थिएनौँ।
त्यस समय आजभन्दा करिब ३० वर्षअघिको कुरा हो। समाजमा नर्सिङप्रति सोच पनि आज जस्तो सकारात्मक थिएन। कसैले‘नर्सिङ पढ्न गएकी छोरी बिग्रिन्छे’भनेर भन्ने कसैले ‘ए फलानाको छोरी नर्सिङ पढ्न गइछे’ भनेर नाक खुम्च्याएर भन्ने। सुरुमा त आफूले सही निर्णय लिएनछु भनेर तनाव भएको थियो।
अर्को ठूलो चुनौती भाषा थियो। म गोरखाको सरकारी विद्यालयबाट पढेर आएको, सबै विषय नेपालीमै पढेको। तर नर्सिङको पूरा पाठ्यक्रम भने अंग्रेजीमा। सिक्न निकै गाह्रो भयो। तर त्यतिबेलाका शिक्षकहरूले अंग्रेजी र नेपाली मिसाएर पढाउनुहुन्थ्यो, असाइनमेन्ट पनि नेपालीमा गर्न दिनुहुन्थ्यो। त्यो कुराले सहज रूपमा अघि बढ्न मद्दत गर्यो।
हाम्रो समयमा होस्टेल अनिवार्य थियो। सुरुमा होस्टेलको वातावरण, खाना, अनि सबैभन्दा ठूलो कुरा रुम पार्टनर नै नपरेर म एक्लै बस्नुपरेको थियो। यी सबै कुराहरुले अलिकति होमसिक (घरको याद आउने) बनाउँथ्यो। रातिराति एक्लै बसेर गाउँ सम्झिँदै रुन मन लाग्थ्यो।
क्लिनिकल प्राक्टिकल त झनै गाह्रो थियो। नाइट ड्युटी १२ घण्टाको हुन्थ्यो, बेलुकी ८ बजेदेखि बिहान ८ बजेसम्म। त्यो उमेरमा, १७–१८ वर्षमै, यस्तो जिम्मेवारीलाई बहन गर्नुपर्दा मानसिक र शारीरिक दुवै तरिकाले गाह्रो हुन्थ्यो। तर बिस्तारै युज्ड–टु हुँदै गएपछि, त्यही नै ‘ब्रेड एण्ड बटर’ जस्तै हुन थाल्यो।
त्यतिबेलाको कार्य संस्कृति पनि फरक थियो। विद्यार्थी नर्स, स्टाफ नर्स, जुनियर सिनियरबीचको भेदभाव स्पष्टै देखिन्थ्यो। कतैकतै कुरा नबुझेर, नबोलीकनै, हल्का प्रकारको बुलिङ वा दबाबको वातावरण महसुस हुन्थ्यो। अहिले फर्केर हेर्दा त्यही अनुभव साइलेन्ट बुलिङजस्तो लाग्छ।
फेरि त्यो उमेरमा एक्कासि ‘प्रोफेशनल’ बन्नुपर्ने दबाब पनि ठूलो थियो। बिरामीको अगाडि परिपक्वता देखाउनुपर्ने, व्यवहार मिलाउनुपर्ने, डिसिप्लिन कडाइका साथ पालना गर्नुपर्ने। अपरिपक्व उमेरमा यी सबै एकैचोटि सिक्नुपर्यो, जसले सुरुमा निकै चुनौती दियो।
अनि एउटा रमाइलो तर कठिन चुनौती युनिफर्म। सुरुमा साडी लगाउनै नजान्ने उमेर। पहिलो दोश्रो दिन दिदीहरूले लगाइदिए, तर त्यसपछि आफैँ लगाउनै पर्यो। म भने अलिकति स्वतन्त्र स्वभावकी थिएँ‘आफैँ गर्नुपर्छ’ भन्नें। त्यसैले अभ्यास गर्दैगर्दै आफैँ ठीकसँग लगाउन थालेँ। युनिफर्म सफा,दाग नलागेको, प्रेस गरिएको हुनुपर्छ, किनकि नर्सको ‘अपियरन्स’ पनि महत्त्वपूर्ण हुन्छ। त्यो पनि सुरुका दिनमा धेरै चुनौतीपूर्ण रह्यो।
तर यी सबै कठिनाइहरू भाषा, समाज, प्राक्टिकल, नाइट ड्युटी, होस्टेल, अनुशासन सबैलाई बिस्तारै सिक्दै, एट्जस्ट गर्दै, स्वीकार गर्दै अगाडि बढेँ। अहिले फर्केर हेर्दा बुझिन्छ यिनै चुनौतीहरूले नै आज म जहाँ छु, त्यहाँसम्म ल्याइदिए।
पहिलो पटक सुई लगाउँदा र क्यानुला हाल्दा तपाईंलाई कस्तो महसुस भयो?
पहिलो पटक सुई लगाउँदा, पहिलो पटक क्यानुला हाल्दा कस्तो भयो भन्ने याद नै छ। सधैँ नर्भस नै हुन्थ्यो, पेटभित्रै बटरफ्लाइ उडेजस्तो। सुरुसुरुमा अलिकति मात्र प्राक्टिकल गरियो होला, त्यो पनि कहिलेकाहीँ डमीमा। तर त्यतिबेला अहिले जस्तो डमीमा धेरै अभ्यास गर्ने चलन पनि खासै थिएन जस्तो लाग्छ। धेरैजसो त टिचरले हात समाएरै गराइदिनुहुन्थ्यो।
पहिला पहिला त सारै हात काम्थ्यो। त्यसपछि आइभी एन्टिबायोटिक घोल्दा अलिकति हावा छिर्यो भने पनि, एक ड्रप मात्रै औषधि बाँकी भयो भने पनि, टिचरले तुरुन्तै ‘यसरी होइन, यसरी गर्नुपर्छ’ भनेर सिकाउनुहुन्थ्यो। त्यतिबेला त ‘ओ माई गड, मैले त कस्तो ठूलो गल्ती गरेँ’ जस्तो लाग्थ्यो। तर अहिले सोच्दा त्यही फिडब्याक नै सिकाइ रहेछ। त्यो टिचिङ नै लर्निङ थियो।
-1767679044.png)
सबै ठीकै चलिरहेको भए पनि, मनभित्र कताकता ‘मैले ठीकसँग गरेँ कि गरिनँ?’ भन्ने डर, नर्भसनेस सधैँ हुन्थ्यो। तर मलाई लाग्छ, नर्सिङ पढ्ने सबैजना यस्ता चुनौतीबाटै जान्छन्। सिकाइ त्यही प्रक्रियाबाटै नै हुन्छ।
गोर्खाबाट काठमाडौँ आएर पढाइ सकेपछि नेपालमै काम गर्दै गर्दा अस्ट्रेलिया जाने सोच कसरी आयो?
नर्सिङको पढाइ सकेपछि मेरो जीवनको अर्को चरण सुरु भयो। तीन वर्षको पढाइ पूरा गरेपछि मैले बिहे गरेँ र चाबहिलमा बस्न थालेँ। त्यही समयमा नेपाल मेडिकल कलेज, जोरपाटी नयाँ खुलेको थियो। चाबहिलबाट नजिक पर्ने भएकाले मैले त्यहाँ जागिर सुरु गरेँ र मेटर्निटी वार्डमा काम गर्थेँ।
पढाइ सकिएलगत्तै, रिजल्ट आउनेबित्तिकै मैले टिचिङमा पनि आवेदन दिएको थिएँ। तर मैले आफैँ पढेको संस्थामै अवसर पाइनँ। त्यतिबेला पहुँच र सोर्सफोर्सले धेरै काम गर्थ्यो भन्ने अनुभूति भयो। बाहिरबाट पढेर आएका साथीहरूले टिचिङमा काम गरे अनि आफू त्यहीँ पढेको मान्छे भएर पनि काम गर्न नपाउँदा मन खिन्न भएको थियो।
पछि कान्ति अस्पतालमा काम गर्ने अवसर आयो। तर त्यहाँ ‘भर्खर पढेर आएको’ भनेर मलाई हाफ स्यालरीमा काम गर्न प्रस्ताव गरियो। त्यतिबेला फुल स्यालरी ४,००० रुपैयाँ थियो, तर मलाई करिब २,२०० रुपैयाँ मात्र दिइन्थ्यो। त्यो मेरो करियरको सुरुवाती समय थियो, र सन् २००० तिरको कुरा हो। पहिलो तलब अस्पतालकै जिम्मेवार अधिकारीले आएर हातमै दिनु भएको कुरा आज पनि याद छ।
यस्ता अनुभवहरू क्रमश: जोडिँदै गए। आफूले पढेको ठाउँमै अवसर नपाउनु, कम तलबमा काम गर्नपर्नु, र पेशागत सम्मानको कमी, यी सबैले गर्दा कामप्रतिको सन्तुष्टि घट्दै गयो।
त्यसमाथि, त्यो समय नेपाल राजनीतिक रूपमा निकै अस्थिर थियो। माओवादी आन्दोलन सुरु भइसकेको थियो, वातावरण त्रसित थियो। भविष्य सुरक्षित छ कि छैन भन्ने डर सबैमा थियो। ‘अब के गर्ने? कहाँ गएर राम्रो भविष्य हुन्छ?’ भन्ने प्रश्न स्वाभाविक रूपमा मनमा आउन थाल्यो।
मेरो श्रीमान् इन्जिनियर हुनुहुन्थ्यो। उहाँले स्किल माइग्रेसनमार्फत अस्ट्रेलियाका लागि आवेदन दिनुभयो। त्यो प्रक्रिया पूरा हुन करिब दुई वर्ष लाग्यो। हामीले नेपालमै रहँदा पर्मानेन्ट रेसिडेन्स भिसा पायौँ र त्यसपछि मात्र अस्ट्रेलिया आयौँ। त्यसैले मेरो माइग्रेसन यात्रा स्टुडेन्ट भिसाको भन्दा फरक रह्यो।
समग्रमा भन्नुपर्दा, नेपालमा नर्सिङ पेशामा काम गर्दा तलब, कामको दबाब, शारीरिक र मानसिक थकान, र पेशागत सम्मानको अभाव ठूलो चुनौती थियो। बिरामी र भिजिटरसँगको व्यवहारदेखि लिएर कार्यस्थलको तनावसम्म, यी कुराहरूले निरन्तर मानसिक तनाब सिर्जना गर्थे। अहिले पनि म सामाजिक सञ्जाल र समाचारमा नर्सहरूले यस्तै समस्याहरू भोगिरहेको देख्छु।
यिनै अनुभव, असन्तुष्टि, र भविष्यप्रतिको चिन्ताले गर्दा अन्तत हामीले अस्ट्रेलिया जाने निर्णय गर्यौँ।
अहिले धेरै नर्सहरू विदेश जाने सोचमा छन्। तपाईंको बेलामा अस्ट्रेलियाको प्रक्रिया कस्तो थियो? तपाईं कसरी जानुभयो, र त्यहाँ नर्सको रूपमा दर्ता हुन के-के प्रक्रिया पूरा गर्नुपर्यो?
मेरो सन्दर्भमा कुरा गर्दा, म स्टुडेन्ट भिसामा होइन, नेपालमै रहँदा पर्मानेन्ट रेसिडेन्सी (पि.आर ) पाएर अस्ट्रेलिया आएकी हुँ। त्यसैले भिसाको समस्या भएन। तर अस्ट्रेलिया आएपछि मेरो मुख्य चुनौती भनेको नेपालबाट लिएको नर्सिङ योग्यतालाई यहाँ कसरी मान्यता दिलाउने र दर्ता (रजिस्ट्रेसन) कसरी गर्ने थियो।
त्यतिबेला अस्ट्रेलियामा प्रत्येक राज्यको छुट्टै नर्सिङ बोर्ड हुन्थ्यो। म भिक्टोरिया राज्यको मेलबर्नमा बस्ने भएकाले भिक्टोरियाको नर्सिङ बोर्डमा आवेदन दिएँ। अहिले जस्तो अस्ट्रेलियाभर एउटै बोर्ड (अस्ट्रेलियामा स्वास्थ्यकर्मीहरूको दर्ता र नियमन गर्ने निकाय) त्यतिबेला थिएन।
जब मैले दर्ताका लागि आवेदन दिएँ, बोर्डले मेरो केसलाई अलि फरक र नयाँ भने। किनभने त्यतिबेलासम्म नेपालबाट नर्सिङ पढेर, पर्मानेन्ट रेसिडेन्सी लिएर सिधै दर्ताका लागि आवेदन दिने उदाहरण उनीहरूसँग थिएन। धेरैजसो नर्सहरू या त स्टुडेन्ट भिसामा आएर पढ्ने, वा अर्को राज्यबाट दर्ता लिएर भिक्टोरिया सर्ने गरेका थिए।
त्यसैले बोर्डले सिधै निर्णय गर्न नसक्ने बतायो। त्यसपछि उनीहरूले मसँग नेपालमा पढेको पहिलो, दोस्रो र तेस्रो वर्षको सम्पूर्ण पाठ्यक्रम (करिकुलम) मागे। कुन विषय पढेको, कति घण्टा थ्योरी र कति घण्टा प्राक्टिकल सबै विवरण आवश्यक भयो।
त्यतिखेर महाराजगञ्जको क्याम्पस चिफ गिता पाण्डे म्याडम हुनुहुन्थ्यो, उहाँलाई सबै कुरा भनें अनि करिकुलम मगाएँ। त्यतिबेला गीता पाण्डे म्याडमले धेरै सहयोग गर्नुभयो। सबै कागजात तयार पारेर अस्ट्रेलियाको बोर्डमा बुझाइयो। बोर्डका प्रतिनिधिले ती सबै अध्ययन गरेर भने,’नेपालको करिकुलम धेरै हदसम्म यहाँको मापदण्डसँग मिल्दोजुल्दो छ, तर नेपाल नर्सिङ काउन्सिलबाट आधिकारिक प्रमाणीकरण (भेरिफिकेसन) पत्र चाहिन्छ’।
त्यो पत्रमा मैले मान्यताप्राप्त कलेजबाट नर्सिङ पढेको, दर्ता लिएको, काम गरेको, कुनै आपराधिक गतिविधि नगरेको, र दर्ता निलम्बन हुने खालका कुनै गतिविधि नभएको स्पष्ट उल्लेख हुनुपर्ने थियो।
समस्या के थियो भने, नेपाल नर्सिङ काउन्सिल त्यतिबेला नयाँनयाँ भएकाले अस्ट्रेलियामा यस्तो प्रमाणीकरण पठाउने अनुभव नै थिएन। सुरुमा कुरा बुझ्न र बुझाउन पनि गाह्रो भयो। पछि अस्ट्रेलियाको बोर्डका प्रतिनिधिले सिंगापुरमा भएको अन्तर्राष्ट्रिय नर्स सम्मेलनमा नेपाल नर्सिङ काउन्सिलकी डाइरेक्टर मनोधरा म्याडमसँग प्रत्यक्ष भेटेर कुरा गरेपछि प्रक्रिया स्पष्ट भयो। त्यसपछि नेपालबाट आवश्यक प्रमाणीकरण पत्र आयो।
त्यो आएपछि मलाई फेरि बोर्डले मेलबर्नमा बोलाएर लामो छलफल गर्यो। त्यसपछि उनीहरूले भने मेरो योग्यता स्वीकार्य छ, तर ओभरसिज नर्सहरूका लागि हुने प्रारम्भिक दर्ता तालिम (आइरन कोर्स- इनिसियल रजिस्ट्रेसन फर ओभरसिज नर्सेस) गर्नुपर्ने हुन्छ।
आइरन कोर्स सुरु गर्नुअघि अंग्रेजी भाषाको योग्यता चाहिन्थ्यो। त्यतिबेला दुई विकल्प थिए- आईएलटीएस वा ओइटी। नेपालमा बस्दा मैले आईएलटीएस दिएको थिएँ, तर दर्ताका लागि चाहिने न्यूनतम अंक पुगेको थिएन। त्यसैले अस्ट्रेलिया आएपछि मैले ओइटी रोजेँ।
ओइटी दिनुअघि मैले आरएमआइटी विश्वविद्यालयमा तीन महिनाको अंग्रेजी तालिम लिएँ, जुन ओभरसिज नर्सहरूका लागि डिजाइन गरिएको थियो। त्यसपछि ओइटी पास गरेँ।
त्यसपछि मेलबर्नको डिकिन विश्वविद्यालयमा तीन महिनाको आइरन कोर्स गरेँ। पहिलो छ हप्ता थ्योरी पढाइ भयो, यहाँको नीतिनियम, व्यावसायिक आचारसंहिता, कानुनी दायित्वहरू। अर्को छ हप्ता प्राक्टिकल तालिम भयो। तीन वर्षको नर्सिङ पढाइलाई छोटो समयमा दोहोर्याएर सिक्नुपर्थ्यो, जसले कोर्स निकै चुनौतीपूर्ण बनाएको थियो।
यो सम्पूर्ण प्रक्रिया पूरा गरेपछि मात्र म अस्ट्रेलियामा नर्सको रुपमा दर्ता (आरएन) भएँ। अस्ट्रेलिया आएपछि दर्ता पाउन करिब एक वर्ष जति समय लाग्यो। प्रक्रिया सजिलो थिएन, तर धैर्यता, सही जानकारी र निरन्तर प्रयासले यसलाई सम्भव बनायो।

अस्ट्रेलिया पुगेपछि सुरुको एक वर्ष निकै चुनौतीपूर्ण भयो भन्नुभयो। रजिस्ट्रेसनपछि तपाईंले कुन अस्पतालबाट काम सुरु गर्नुभयो? नेपाल र अस्ट्रेलियाको काम गर्ने तरिकामा के फरक अनुभव गर्नुभयो, र सुरुमा तपाईंले कस्ता चुनौतीहरू सामना गर्नुभयो?
अस्ट्रेलिया आएपछि रजिस्ट्रेसन प्रक्रिया पूरा गर्न नै करिब एक वर्षजति लाग्यो, जुन समय आफैँमा निकै चुनौतीपूर्ण थियो। रजिस्ट्रेसन पाएपछि मैले घर नजिकैको एउटा सानो निजी अस्पतालबाट काम सुरु गरेँ। सुरुमा इन्टरभ्यू दिन जाँदा पनि मेरो अंग्रेजी भाषा अझै राम्रो चाहिँ भएको थिएन। तर त्यतिबेला नर्सहरूको अभाव पनि भएकाले, र म नेपालबाट भर्खर आएको हुँ भन्ने कुरा उनीहरूले बुझेकाले, अवसर पाएँ।
सुरुका दिनहरूमा सबैभन्दा ठूलो चुनौती भाषा नै थियो। अंग्रेजी आउँथ्यो, तर यहाँका मानिसहरू छिटो बोल्ने, उच्चारण फरक हुने भएकाले बुझ्न र प्रतिक्रिया दिन समय लाग्थ्यो। हाम्रो मातृभाषाको टोन र उच्चारण पूर्ण रूपमा हट्दैन, त्यो आज पनि कहिलेकाहीँ चुनौती नै हुन्छ। सुरुमा यसले अलिकति हिचकिचाहट, नर्भसनेस र आत्मविश्वासको कमी महसुस गरायो।
तर अस्ट्रेलिया एउटा बहुसांस्कृतिक देश भएकाले, काम गर्दै जाँदा थाहा भयो, म मात्रै होइन, अरू धेरै नर्सहरू पनि फरक-फरक देशबाट आएका रहेछन्। कसैको भारतीय उच्चारण थियो, कसैको आयरिस, कसैको अरू देशको। यसले गर्दा विस्तारै ‘म मात्रै कमजोर हुँ’ भन्ने भावना हट्दै गयो, र भाषामा बिस्तारै सहजता आउन थाल्यो।
अर्को ठूलो चुनौती भनेको सांस्कृति फरक थियो। नेपालमा काम गर्दा प्रायः सबै नेपाली हुन्थे, भाषा र संस्कृतिमा धेरै फरक पर्दैनथ्यो। तर अस्ट्रेलियामा काम गर्दा विभिन्न संस्कृति, धर्म, विश्वास र जीवनशैली भएका बिरामीहरूसँग काम गर्नुपर्थ्यो। त्यसैले यहाँ होलिस्टिक र सांस्कृतिक रूपमा संवेदनशील हेरचाह गर्नुपर्ने हुन्छ।
बिरामीको खानपान, लुगा, धार्मिक विश्वास, गोपनीयता, बेडसाइडमा कति एक्सपोजर गर्न मिल्छ, यी सबै कुरा ध्यानमा राखेर काम गर्नुपर्थ्यो, जुन सुरुमा अलि गाह्रो लाग्यो।
त्यसपछि अर्को फरक भनेको काम गर्ने तरिका नै थियो। नेपालमा पढ्दा बेडसाइड नर्सिङको सैद्धान्तिक ज्ञान त थियो, तर व्यवहारमा एउटा नर्सले २०–२५ जना बिरामी हेर्नुपर्थ्यो। हाम्रो काम मुख्यतया ब्लड प्रेसर नाप्ने, सुई हाल्ने, औषधि दिने जस्ता कार्यमा सीमित हुन्थ्यो। बिरामीलाई सम्पूर्ण रूपमा हेर्ने अवधारणा व्यवहारमा धेरै प्रयोग हुँदैनथ्यो।
तर अस्ट्रेलियामा नर्स-बिरामी अनुपात स्पष्ट हुन्छ। प्राय एउटा नर्सले ४-५ जना बिरामी मात्र हेर्छ। त्यसैले बिरामीको ए देखि जेडसम्मको सम्पूर्ण जिम्मेवारी नर्सकै हुन्छ, हाइजिन, बेडसाइड केयर, प्याड परिवर्तनदेखि लिएर मानसिक सहयोगसम्म। यसमा अभ्यस्त हुन अलिकति समय लाग्यो।
अर्को चुनौती भनेको बिरामीलाई जानकारी र शिक्षा दिनुपर्ने संस्कार थियो। यहाँ नर्सले हरेक औषधि, प्रक्रिया र उपचारबारे बिरामीलाई स्पष्ट रूपमा बुझाउनुपर्छ। नेपालमा भने, खासगरी मेरो समयतिर, डाक्टरको अर्डरअनुसार काम गरिन्थ्यो र धेरै विस्तृत व्याख्या गर्ने चलन थिएन। त्यसैले बिरामी र उनीहरूका परिवारलाई निरन्तर जानकारी दिनु, शिक्षा दिनु,यसमा पनि अभ्यस्त हुन समय लाग्यो।
अन्तिम ठूलो फरक भनेको प्रविधि (टेक्नोलोजी) थियो। अस्ट्रेलियामा सबै कुरा डिजिटल प्रणालीमा आधारित हुन्छ, इलेक्ट्रोनिक मेडिकल रेकर्ड, कम्प्युटरमार्फत डकुमेन्टेसन। नेपालमा भने हामीले धेरैजसो कागजमै हातले लेखेर काम गर्थ्यौँ। सुरुमा कम्प्युटर सिस्टम, डकुमेन्टेसन र टेक्नोलोजी प्रयोग गर्न सिक्नु पनि चुनौतीपूर्ण नै भयो।
समग्रमा भन्नुपर्दा, भाषा, संस्कृति, काम गर्ने शैली, जिम्मेवारीको दायरा र प्रविधि, यी सबै कुराले गर्दा सुरुको समय निकै चुनौतीपूर्ण रह्यो। तर बिस्तारै सिक्दै, अपनाउँदै गएपछि काम सहज हुँदै गयो।
अस्ट्रेलिया जाने भने पछि परिवारबाट दबाब वा चिन्ता कस्तो थियो?
मेरो विवाह भइसकेको कारण विदेश जाने भन्दा त्यस्तो किसिमको कडा दबाब घरबाट खासै आएन। मेरो श्रीमान् को परिवारको आधा सदस्यहरू पहिल्यै अस्ट्रेलियामा हुनुहुन्थ्यो, दाजुभाइ र उहाँहरूको परिवार। त्यसकारण उहाँहरूको पक्षबाट त झन् त्यस्तो केही थिएन।
तर मेरो आफ्नै परिवारतर्फ हेर्दा अवस्था अलिकति फरक थियो। मेरो दाइ र भाइ दुवै नेपालमै पढ्दै हुनुहुन्थ्यो, उमेरले पनि साना नै हुनुहुन्थ्यो। म चाहिँ बीचकी छोरी, भर्खर बिहे भएको दुई वर्षमै विदेश जाने कुरा गर्दा बुबाआमालाई स्वाभाविक रूपमा चिन्ता लाग्यो।
‘त्यहाँको अवस्था कस्तो होला?’, ‘छोरी त्यहाँ सेटल हुन सक्छ कि सक्दैन?’, “नर्सिङ पेशा त्यहाँ चल्छ कि चल्दैन?’ यस्ता धेरै प्रश्नहरू थिए। विशेषगरी गाउँको परिवेशबाट आउनु भएका मेरा बुबालाई छोरीले फरक देशमा, फरक भाषामा काम गर्न सक्छ कि सक्दैन भन्ने डर र चिन्ता हुनु स्वाभाविक थियो। तर चिन्तासँगै साथ पनि थियो। ‘च्यालेन्ज त हुन्छ, तर राम्रोसँग मेहनत गर्यौ भने भविष्य राम्रो हुन्छ’ भन्ने हौसला परिवारबाट पाइरहेँ।
मेरो मनमा पनि एउटा सकारात्मक सोच थियो, यदि म अस्ट्रेलियामा सेटल हुन सकेँ भने, पछि मेरा दाजुभाइलाई र परिवारलाई सहयोग गर्न सक्छु। यही आत्मविश्वास र जिम्मेवारीको भावनाले म अगाडि बढेँ।
अस्ट्रेलिया जानुको एउटा मुख्य कारण नेपालमा कामप्रतिको सन्तुष्टि नहुनु पनि थियो। अस्ट्रेलिया पुगेपछि तपाईंले कत्तिको काममा सन्तुष्टि पाउनुभयो? तलब, सुविधा, सुरक्षा र करियरका हिसाबले तपाईंको अनुभव कस्तो रह्यो?
हो, अस्ट्रेलिया जाने निर्णयको मुख्य कारणमध्ये पहिलो नै नेपालमा कामप्रतिको सन्तुष्टि नहुनु थियो। त्यसपछि स्वाभाविक रूपमा तलब, सुविधा र पेशागत सुरक्षाको पक्ष पनि जोडिन्छ। अस्ट्रेलिया आएपछि सुरुमा चुनौती त आयो, मैले अघि पनि भनेजस्तै। तर एकपटक बानी परेपछि यहाँको नर्सिङ पेशा अत्यन्तै सन्तोषजनक लाग्यो।
यहाँ नर्सिङ पेशालाई धेरै सम्मानित र भरोसायोग्य पेशाका रूपमा हेरिन्छ। नर्सलाई केवल कर्मचारी होइन, स्वास्थ्य प्रणालीको महत्वपूर्ण हिस्सा मानिन्छ। कार्यस्थलमा शारीरिक, मानसिक र कानुनी सबै हिसाबले सुरक्षित वातावरण हुन्छ, जसले काम गर्ने आत्मविश्वास दिन्छ।
आर्थिक सुरक्षाको कुरा गर्दा, अस्ट्रेलियामा नर्सिङ राम्रो तलब पाउने पेशामध्ये पर्छ। यहाँको शिक्षा प्रणालीअनुसार स्कुलपछि कलेज र त्यसपछि तीन वर्षको नर्सिङ पढेपछि आरएन बन्न सकिन्छ। त्यसपछि थप नपढेपनि, नियमित रूपमा सीप अपडेट गर्दै काम गरियो भने एउटा साधारण आरएनले वार्षिक करिब १ लाख अस्ट्रेलियन डलर कमाउन सक्छ।
यदि कसैले बढी घण्टा काम गर्छ, विशेष क्षेत्रमा काम गर्छ, वा उच्च योग्यता हासिल गर्छ भने वार्षिक करिब २ लाख अस्ट्रेलियन डलरसम्म कमाउने सम्भावना पनि हुन्छ। त्यसैले यहाँ मेहनत अनुसार आम्दानी बढाउने विकल्पहरू धेरै छन्।
यहाँको अर्को महत्वपूर्ण पक्ष भनेको काम गर्ने समय अत्यन्तै लचिलो हुनु हो। कुन दिन, कुन सिफ्ट, कुन समयमा र कहाँ काम गर्ने भन्ने कुरा धेरै हदसम्म नर्सले आफैँ छान्न सक्छ। यसले काम र पारिवारिक जीवनबीच सन्तुलन मिलाउन सहज बनाउँछ। नेपालमा मेरो समयमा यस्तो लचकता खासै थिएन, फुल टाइम काम गर्ने वा नगर्ने भन्ने विकल्प मात्र हुन्थ्यो।
करियर विकासका अवसरहरू अस्ट्रेलियामा निकै राम्रो छन्। काम सुरु गरेपछि, स्थायी वा पार्ट टाइम जागिरमै रहँदा पनि संस्थाले आफ्नै आवश्यकता र नर्सको चाहनाअनुसार थप अध्ययन, तालिम र सीप विकासका अवसरहरू दिन्छ। स्टडी लिभ, पेड लिभ, स्किल डेभलपमेन्ट तालिमजस्ता सुविधा नियमित रूपमा उपलब्ध हुन्छन्। यहाँ सिक्दै अघि बढ्न सकिने वातावरण छ।
हरेक वर्ष स्टाफको व्यावसायिक विकास योजना (पिडीपी) र मूल्यांकन गरिन्छ। म्यानेजर र स्टाफ बसेर अघिल्लो वर्षको काम, सिकाइ, अवसर र आगामी वर्षको लक्ष्यबारे खुलेर छलफल हुन्छ। आफू कुन क्षेत्रमा अघि बढ्न चाहन्छु, पढ्न चाहन्छु कि तालिममार्फत अगाडि बढ्न चाहन्छु, यी सबै कुरा योजना बनाएर अघि बढ्न सकिन्छ। यसले करियरलाई स्पष्ट दिशा दिन्छ।
कोभिडपछिको एउटा महत्वपूर्ण उदाहरण दिनुपर्दा, अस्ट्रेलिया सरकारले नर्सिङ शिक्षालाई प्रोत्साहन गर्न ठूलो कदम चाल्यो। सन् २०२१, २०२२ र २०२३ मा नर्सिङको तीन वर्षे ब्याचलर कार्यक्रम पूर्ण रूपमा निःशुल्क गराइयो। सामान्य अवस्थामा पर्मानेन्ट रेसिडेन्टले पनि २५-३० हजार अस्ट्रेलियन डलर तिर्नुपर्ने कोर्स, अन्तर्राष्ट्रिय विद्यार्थी जस्तै नेपालका लागि त १-२ लाख डलरसम्म पर्ने कोर्स सरकारकै पहलमा निःशुल्क बनाइयो। यसले नर्सिङ पेशाप्रति यहाँको राज्यको दृष्टिकोण स्पष्ट देखाउँछ।
यहाँ पढ्दै फुल टाइम काम गर्न पनि सकिन्छ। कामले स्टडी लिभ दिन्छ, सिफ्टहरू मिलाइदिन्छ, जसले काम र व्यक्तिगत जीवनको सन्तुलन सहज बनाउँछ।
कार्यस्थलमा कुनै समस्या आएमा स्पष्ट ‘चेन अफ कमान्ड’ प्रणाली छ। आफ्नो कुरा पहिले म्यानेजरसँग राख्न सकिन्छ, आवश्यक परे माथिल्लो व्यवस्थापन तहसम्म पनि खुलेर कुरा गर्न पाइन्छ। यहाँ स्टाफको कुरा सुन्ने र समाधान खोज्ने चलन राम्रो छ।
गल्ती नै गरे तापनि यहाँको दृष्टिकोण सकारात्मक छ। गल्ती भयो भने दोष लगाउने वा डर देखाउने होइन कि किन गल्ती भयो, सिस्टमको कमजोरी के थियो, वातावरणीय कारण के थिए, यी सबै कुराको विश्लेषण गरिन्छ। जोखिम व्यवस्थापन प्रणालीमार्फत रिपोर्ट गरिन्छ, त्यसपछि तालिम, सुधार र फिडब्याक दिइन्छ। त्यसैले गल्ती भयो भनेर डराउनुपर्ने अवस्था हुँदैन, न त शारीरिक वा मानसिक दबाब नै आउँछ।
यी सबै कारणले गर्दा म आज आत्मविश्वासका साथ भन्न सक्छु, अस्ट्रेलिया आएर नर्सिङ पेशामा लाग्नु मेरो जीवनको सही निर्णय थियो। कामप्रतिको सन्तुष्टि, सम्मान, सुरक्षा र करियर वृद्धिका अवसरले मलाई नर्स भएकोमा गर्व महसुस गराएको छ।
नेपालमा सानो घटना भए पनि नर्सहरूले आफू असुरक्षित भएको महसुस गर्नुपर्ने अवस्था देखिन्छ। अस्ट्रेलियाको कुरा गर्नु पर्दा काम गर्दा यदि कुनै घटना वा गल्ती भयो भने त्यसलाई कसरी हेरिन्छ र व्यवस्थापन गरिन्छ? त्यहाँ नर्सहरूको सुरक्षा र कानुनी संरक्षण कत्तिको बलियो छ?
नेपालको सन्दर्भमा हेर्दा, कहिलेकाहीँ सानो घटना भए पनि बिरामीका आफन्तहरूबाट दुर्व्यवहार हुने, ज्यानको धम्की आउने हुन्छ। तर अस्ट्रेलियामा यस्ता घटनालाई व्यवस्थित, सुरक्षित र प्रणालीगत तरिकाले हेरिन्छ।
यहाँ कामका क्रममा कुनै गल्ती वा घटना भयो भने, सबैभन्दा पहिले जोखिम व्यवस्थापन प्रणाली मार्फत कम्प्युटरमा घटनाको विवरण इन्ट्री गर्नुपर्छ। त्यो इन्ट्री भएपछि स्वचालित रूपमा सूचना सम्बन्धित सबै तहसम्म पुग्छ, मेरो म्यानेजर, एजुकेटर म्यानेजर, क्वालिटी म्यानेजर, डाइरेक्टर अफ नर्सिङ र अस्पतालको व्यवस्थापन तहसम्म। त्यसपछि सबैले घटनाको समीक्षा गर्छन्, किन घटना भयो?, कसरी भयो? र कुन कारणले भयो?
यदि गल्ती नर्सको ज्ञान, सीप वा तालिमको कमीका कारण भएको देखियो भने, त्यसलाई सजायको विषय बनाइँदैन। बरु आवश्यक फिडब्याक, तालिम र थप सिकाइको व्यवस्था गरिन्छ। यदि घटना सिस्टमको कमजोरी, वातावरणीय कारण वा बिरामीको अवस्थाका कारण भएको हो भने, त्यसलाई कसरी सुधार गर्ने भन्ने समाधान खोजिन्छ।
यहाँ शारीरिक धम्की, त्रास देखाउने वा बिरामीका आफन्तबाट हुने आक्रमणलाई कदापि स्वीकार गरिँदैन। त्यस प्रकारको व्यवहारलाई अस्पताल र कानुनी प्रणालीले गम्भीर रूपमा लिन्छ।
यदि दुर्भाग्यवश कुनै गम्भीर घटना भयो र बिरामीलाई ठूला क्षति पुग्यो भने पनि, नर्सहरू एक्ला हुँदैनन्। अस्ट्रेलियामा हामी नर्सेस युनियन/प्रोफेसनल बडी (जस्तै अष्ट्रेलियाली नर्सिङ महासंघ) का सदस्य हुन्छौँ। हामीले वार्षिक करिब ५०० डलर शुल्क तिरेर सदस्यता लिएका हुन्छौँ, जसले हामीलाई इन्सुरेन्स र कानुनी सुरक्षा प्रदान गर्छ। त्यस्तो अवस्थामा युनियनले कानुनी सल्लाह दिन्छ र आवश्यक परे वकिल उपलब्ध गराउँछ, यसले गर्दा ‘गल्ती भयो भने मेरो करियर सकियो’ भन्ने डर हुँदैन।
यहाँ गल्तीलाई लुकाउने कुरा हुँदैन, किनभने सिस्टम नै गल्तीबाट सिक्नेमा आधारित छ। त्यसैले नर्सहरू मानसिक रूपमा सुरक्षित महसुस गर्छन्, डर, धम्की वा शारीरिक-मानसिक हिंसाको चिन्ता बिना आफ्नो काम गर्न सक्छन्।
यस कारणले म भन्छु, अस्ट्रेलियामा नर्सका रूपमा काम गर्दा पेशागत सुरक्षा र समर्थन प्रणाली अत्यन्तै बलियो छ, र यही कुराले कामप्रतिको आत्मविश्वास र सन्तुष्टि बढाउँछ।

अस्ट्रेलिया गएर पनि तपाईं नर्सिङको नेतृत्व तहसम्म पुग्नु भएको छ। त्यहाँ गएपछि तपाईंले थप पढाइ गर्नुभयो कि भएन? अहिले तपाईं कुन भूमिकामा कार्यरत हुनुहुन्छ?
अस्ट्रेलिया आएपछि सुरुमा मैले आइरन कोर्स पूरा गरेपछि निजी अस्पतालमै निरन्तर काम गर्न थालेँ। यही क्रममा मेरा दुई सन्तान जन्मिए, तर त्यससँगै मैले आफ्नो पेशागत यात्रा पनि निरन्तर अघि बढाइरहेँ।
आरएनको रूपमा काम गर्दा विभिन्न तालिमहरु लिएँ र काम गर्दै जाँदा अनुभव पनि बढ्दै गयो। म अहिले एसोसिएट नर्स युनिट म्यानेजरको भूमिकामा छु। पछिल्ला करिब २० वर्षदेखि म यही पदमा कार्यरत छु।
मेरो कार्यरत वार्ड करिब ५० बेडको छ, जहाँ झण्डै ४५ जना स्टाफ कार्यरत छन्। नर्स युनिट म्यानेजर एक जना हुनुहुन्छ भने हामी पाँच जना एसोसिएट नर्स युनिट म्यानेजर छौँ। म्यानेजर बिदामा भएको बेला मैले नर्स युनिट म्यानेजरको भूमिका पनि निभाएकी छु, जसले मलाई नेतृत्वको थप अनुभव दियो।
यद्यपि नर्स युनिट म्यानेजरको भूमिका बढी तनावपूर्ण र समयको हिसाबले चुनौतीपूर्ण हुने भएकाले, त्यो पदमा स्थायी रूपमा काम गर्नु भन्दा टिम लिडरको भूमिकामा, अर्थात् एसोसिएट लेभलमै काम गर्दा म आफूलाई बढी सहज र सन्तुष्ट महसुस गर्छु।
पेशागत रूपमा अझै अघि बढ्ने चाहनाले मैले हालै मात्र डायबेटिज नर्स एजुकेटरको तालिम पनि पूरा गरेकी छु। अहिले म यही क्षेत्रमा पार्ट टाइम काम खोज्ने प्रक्रियामा छु।
यहाँ चाहिँ एउटा ठाउँमा मात्र सीमित भएर काम गर्नुपर्दैन। चाहियो भने एउटै समयमा दुईतीन ठाउँमा पार्ट टाइम काम गर्न पाइन्छ। म आफैँले पनि जीवनका विभिन्न चरणमा कहिलेकाहीँ तीनवटासम्म काम गरेको छु, कुनै ठाउँमा एक दिन, अर्कोमा दुई दिन, अर्कोमा तीन दिन गरेर समय मिलाउन सकिन्छ।
अहिले पनि म दुई ठाउँमा काम गरिरहेकी छु, एक ठाउँमा चार दिन, अर्को ठाउँमा एक दिन। यसबाहेक, म अहिले डायबेटिज नर्सको रूपमा पनि हप्तामा एक दिन काम गर्ने अवसर खोज्दै छु।
यहाँ कुन ठाउँमा काम गर्ने, कति घण्टा गर्ने, कुन दिन काम गर्ने, यी सबै कुरा धेरै हदसम्म आफ्नै हातमा हुन्छन्। नेपालमा जस्तो एउटै संस्थामा मात्र काम गर्नुपर्ने, अर्को ठाउँमा काम गर्दा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुन्छ कि हुँदैन भन्ने झन्झट यहाँ छैन।
यदि मेरो सम्पूर्ण यात्रालाई हेर्ने हो भने, गोर्खाबाट काठमाडौँ, त्यसपछि अस्ट्रेलिया आएर आरएन बन्ने, नेतृत्व तहसम्म पुग्ने, र अब विशेषज्ञ नर्सको रूपमा अघि बढ्ने, यो यात्रा आफैँमा गर्व गर्न लायक लाग्छ।
हाल म पब्लिक र प्राइभेट दुवै अस्पतालमा काम गर्छु, जसले मलाई दुवै प्रणाली बुझ्ने अवसर दिएको छ। घर, बालबालिकाको जिम्मेवारी सम्हाल्दै, फुल टाइम काम गर्दै, नेतृत्व तहको भूमिकामा रहन सक्नु, यसले मलाई आफ्नो यात्राप्रति गर्व र सन्तुष्टि दुवै महसुस गराएको छ।
नेपालमा नर्सिङको अवसरहरू सीमित भएको महसुस हुने गर्छ। अस्ट्रेलियामा भने नर्सको रूपमा करियरको दायरा कत्तिको फराकिलो छ? यहाँ नर्सहरूले कस्ता-कस्ता भूमिकामा काम गर्न सक्छन्?
नेपालको सन्दर्भमा हेर्दा, धेरैजसो नर्सहरूले चाहे पिसीएल गरे पनि, बिएससि नर्सिङ गरे पनि वा मास्टर गरे पनि, अन्तत काम गर्ने विकल्प सीमित नै देखिन्छ। केहीले क्लिनिकल काम गर्नुहुन्छ, केहीले मास्टरपछि टिचिङतिर जानुहुन्छ। त्यसबाहेक धेरै स्कोप देखिंदैन।
तर अस्ट्रेलियामा नर्सिङको स्कोप एकदमै फराकिलो छ। यहाँ नर्सिङ भनेको केवल अस्पतालमा बेडसाइड नर्सिङ मात्र होइन। यदि अस्पतालमै काम गर्न चाहनु भयो भने पनि, बेडसाइड बाहेक मिडल लेभलदेखि हायर लेभल म्यानेजमेन्टसम्म सबै भूमिका नर्सहरूले नै सम्हाल्छन्।
हस्पिटल म्यानेजमेन्ट, क्वालिटी कन्ट्रोल, नेसनल स्ट्यान्डर्ड्स मेन्टेन गर्ने, आउटपेसन्ट सेवा, यी सबै क्षेत्रमा नर्सहरूको भूमिका हुन्छ। क्लिनिकल क्षेत्रमा पनि बेडसाइड बाहेक धेरै विकल्प छन्। जस्तै क्लिनिकल नर्स विशेषज्ञ हुन्छन्, जसले स्टुडेन्ट र स्टाफलाई सुपरभाइज गर्ने, तालिम दिने र क्लिनिकल सपोर्ट गर्ने काम गर्छन्।
त्यसैगरी नर्स प्रशिक्षकको भूमिका हुन्छ, जसले स्टाफलाई केकस्तो तालिम चाहिन्छ भनेर इन सर्भिस सेसन र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्छन्। अपरेसन थिएटर, आइसीयु, इमर्जेन्सी जस्ता क्षेत्र त नेपालमै पनि छन्। तर त्यसबाहेक अस्ट्रेलियामा कम्युनिटी नर्सिङको भूमिका अत्यन्तै ठूलो छ। यहाँ हरेक स्कुलमा स्कूल नर्स हुन्छ। ठूला उद्योग र कम्पनीहरूमा कर्मचारीको स्वास्थ्य र वेलबिइङ हेर्न औद्योगिक नर्स राखिएको हुन्छ। कम्युनिटीमै काम गर्दा मातृ तथा बाल स्वास्थ्य नर्स, शरणार्थी स्वास्थ्य नर्स जस्ता भूमिकाहरू पनि छन्, किनभने अस्ट्रेलिया बहुसांस्कृतिक देश हो। त्यस्तै निजी नर्सिङ, घरमै गएर सेवा दिने नर्सिङ, राष्ट्रिय अपाङ्गता बीमा योजना अन्तर्गत अपाङ्गता सेवा केस व्यवस्थापक, खोप सेवा नर्स, प्राथमिक उपचार नर्स र अझ अगाडि गएर नर्स प्र्याक्टिसनर बन्ने अवसर पनि छ। युनिभर्सिटी क्षेत्रमा गएर शिक्षण र अनुसन्धान नर्सको रूपमा पनि काम गर्न सकिन्छ। त्यसैगरी सरकारी तहमा, स्वास्थ्य मन्त्रालय, नियमन निकाय, नीति निर्माण, मापदण्ड निर्धारण र अनुगमन गर्ने भूमिकामा पनि नर्सहरूको ठूलो उपस्थिति हुन्छ।
यसरी हेर्दा, अस्ट्रेलियामा नर्सिङको स्कोप अस्पतालभित्र मात्र सीमित छैन। क्लिनिकल, कम्युनिटी, शिक्षा, अनुसन्धान, व्यवस्थापन र नीति निर्माण, सबै क्षेत्रमा नर्सहरूको भूमिका छ। त्यही भएर म भन्छु, अस्ट्रेलियामा नर्सिङ पेशाको दायरा एकदमै फराकिलो र विविध छ, र यही कारणले धेरै नर्सहरू यहाँ आफ्नो करियरप्रति सन्तुष्ट देखिन्छन्।
नेपालमा प्राय डाक्टरहरुले उपचार सम्बन्धी अर्डर (आदेश) दिने र नर्सले त्यसलाई कार्यान्वयन गर्ने प्रचलन छ। अस्ट्रेलियामा नर्सहरू कत्तिको स्वतन्त्र हुन्छन्? के उनीहरू डाक्टरको अर्डरमा मात्र काम गर्छन्, कि आफ्नै निर्णयमा पनि सेवा दिन सक्छन्?
यहाँ चाहिँ नर्सहरूको अभ्यासको दायरा अलि फराकिलो छ। यदि आरएनको कुरा गर्ने हो भने, औषधिको सन्दर्भमा धेरैजसो अवस्थामा डाक्टरको अर्डरअनुसार नै काम गर्नुपर्छ। तर त्यससँगै यहाँ नर्स इनिसिएटेड केयर भन्ने अवधारणा पनि छ। यस अन्तर्गत केही सामान्य औषधि र उपचार जस्तै पेन रिलीफ (प्यानाडोल), कब्जियत व्यवस्थापन, युरिनरी अल्कलाइजरजस्ता आधारभूत उपचार नर्सले आफैँ सुरु गर्न सक्छन्।
यहाँ औषधिहरू अनुसूची ४, अनुसूची ८, अनुसूची १० जस्ता वर्गमा वर्गीकृत हुन्छन्। कुन औषधि नर्सले दिन पाउने, कुन डाक्टरले मात्र दिन पाउने, र कुन औषधि दुई जना नर्सले क्रस-चेक गर्नुपर्ने, यी सबै कुरा स्पष्ट नियममा आधारित हुन्छन्। यसले नर्सलाई सुरक्षित दायरा भित्र राख्छ।
यसैभन्दा एक कदम अगाडि रहेको भूमिका भनेको नर्स प्र्याक्टिसनर हो। यो अवधारणा अस्ट्रेलियामा तुलनात्मक रूपमा नयाँ हो, करिब १५-२० वर्षअघिदेखि मात्र विस्तार हुँदै आएको। यो भूमिका पहिला अमेरिका र युरोपमा बढी प्रचलित थियो।
नर्स प्र्याक्टिसनर बन्नका लागि आरएन भएपछि पनि थप ४ वर्ष जति अध्ययन र तालिम आवश्यक पर्छ। प्रक्रिया कठिन भएकाले अस्ट्रेलियामा नर्स प्र्याक्टिसनरहरूको संख्या तुलनात्मक रूपमा कम छ, र नेपाली नर्सहरू यस भूमिकामा अझै थोरै मात्र छन्।
तर नर्स प्र्याक्टिसनरहरुलाई अझै बडी स्वतन्त्रता हुन्छ। उनीहरूले बिरामीको अवस्था मूल्यांकन गर्न, रोग पहिचान गर्न, आवश्यक मेडिकल जाँचहरू सिफारिस गर्न, औषधि प्रेस्क्राइब गर्न, आफ्नै क्लिनिकल अभ्यास सञ्चालन गर्न सम्म पाउँछन्। यही कारणले यो भूमिका उच्च तलब र उच्च जिम्मेवारी भएको मानिन्छ। नर्स प्र्याक्टिसनरहरू विशेष गरी डाक्टरको अभाव भएका ठाउँहरू, जस्तै दुर्गम क्षेत्र, अत्यधिक व्यस्त (इमर्जेन्सी सेवा), सीमित चिकित्सक उपलब्ध भएका समुदायमा अत्यन्तै महत्वपूर्ण हुन्छन्। यस्ता ठाउँमा उनीहरूले स्वास्थ्य प्रणालीको बोझ कम गर्न ठूलो भूमिका खेल्छन्। तर सबै अस्पताल वा सबै क्षेत्रमा यो भूमिका उपलब्ध हुन्छ भन्ने छैन, आवश्यकता अनुसार सीमित स्थानमा मात्र प्रयोग हुन्छ।
समग्रमा भन्नुपर्दा, अस्ट्रेलियामा नर्सहरू केवल ‘डाक्टरको आदेश पालना गर्ने’ भूमिकामा सीमित छैनन्।
अहिले अमेरिका जान चाहने नर्सहरूका लागि एनक्लेक्स र रेट्रोग्रेसन ठूलो विषय बनेको छ। अस्ट्रेलियामा पनि अहिले एनक्लेक्स आवश्यक भएको छ। यस सन्दर्भमा अस्ट्रेलियाको अवस्था कस्तो छ? के त्यहाँ पनि रेट्रोग्रेसन जस्तो समस्या देखिन थालेको छ?
यो विषय अलिकति जटिल छ, मेरो बुझाइ र अनुभवको आधारमा कुरा गर्दा, पहिले अस्ट्रेलियामा एनक्लेक्स आवश्यक थिएन, तर अहिले सिस्टम केही परिवर्तन भएको छ र एनक्लेक्स लागू गरिएको छ।
अमेरिकामा अहिले देखिएको जस्तो गम्भीर रेट्रोग्रेसन अस्ट्रेलियामा भने त्यही स्तरमा छैन, तर केही हदसम्म ढिलाइ भने देखिन्छ। यसको मुख्य कारण नर्सहरूको परीक्षा होइन, देशको समग्र रोजगार नीति र योजना प्रणाली हो।
अस्ट्रेलियाले ओभरसिज नर्सहरू लिँदा केवल ‘नर्स चाहियो’ भन्ने आधारमा मात्र निर्णय गर्दैन। उनीहरूले पहिला यो हेर्छन्,त्यस क्षेत्रमा अष्ट्रेलियाली नागरिक र स्थायी बासिन्दाहरू कत्तिको बेरोजगार छन्, आफ्नै देशका नर्सहरूलाई कति अवसर दिन सकिन्छ, बाहिरबाट नर्स ल्याउँदा स्थानीय रोजगारीमा कस्तो असर पर्छ। यस कारणले अस्ट्रेलियाले डिमान्ड र सप्लाइबीच सन्तुलन कायम गर्न खोज्छ। यदि कुनै वर्ष कुनै क्षेत्रमा स्थानीय नर्सहरू पर्याप्त छन् भने, त्यस वर्ष ओभरसिज इन्टेक कम गरिन्छ। अर्को वर्ष आवश्यकता बढेमा फेरि इन्टेक बढ्न सक्छ। त्यसैले हरेक वर्ष इन्टेक संख्या एउटै हुँदैन।

यहाँको इमिग्रेसन विभाग, स्वास्थ्य विभाग, अस्पतालहरू र स्थानीय स्वास्थ्य संस्थाहरूले हरेक आर्थिक वर्षमा योजना बनाउँछन्- आगामी वर्ष कति नर्स आवश्यक पर्छन्, कति कर्मचारी रिटायर हुन सक्छन्, कति स्थान खाली हुन सक्छन्, कुन क्षेत्रमा अभाव हुन सक्छ। यसको आधारमा मात्र ओभरसिज नर्सहरूलाई स्पोन्सर गर्ने वा भित्र्याउने निर्णय गरिन्छ। त्यसैले कहिलेकाहीँ इन्टेक कम हुँदा आवेदनहरू ब्याकलगमा पर्न सक्छन्, निर्णय ढिलो हुन सक्छ, र कतिपयले स्वीकृति नपाउन पनि सक्छन्। यही कारणले लामो प्रतीक्षा अवधि र क्यान्सिलेसनजस्ता अवस्था देखिन सक्छन्।
नेपालमा बसेर हेर्दा यी सबै नीतिगत प्रक्रिया प्राय स्पष्ट हुँदैनन्। हामीले बाहिरबाट ‘अमेरिका जान मिल्छ’, ‘अस्ट्रेलिया खुल्यो’ भन्ने कुरा सुनेर आवेदन गर्छौँ। तर यदि त्यो समयमा इन्टेक घटिसकेको छ भने, स्वाभाविक रूपमा अवसर कम हुन्छ।
अर्को पक्ष भनेको परीक्षा र अन्य आवश्यकताहरू हो। एनक्लेक्स पास गरेपछि पनि अंग्रेजी भाषा परीक्षा, अन्य प्रोसेसिङ र प्रमाणीकरणहरू समयमै सञ्चालन हुन सकेन भने, त्यो पनि प्रतीक्षा अवधि लम्बिनुको कारण बन्छ। एउटा सिस्टम ढिलो भयो भने अर्को सिस्टममा पनि असर पर्छ, र त्यसले सम्पूर्ण प्रक्रियालाई सुस्त बनाउँछ।
मेरो बुझाइमा, अहिले देखिएको ढिलाइको मुख्य कारण नीतिगत योजना, इन्टेक व्यवस्थापन र सिस्टमको क्षमता हो, केवल परीक्षा वा नर्सहरूको योग्यता मात्र होइन।
अस्ट्रेलियामा धेरै नेपाली नर्सहरू कार्यरत छन्। के त्यहाँ नेपाली नर्सहरूको कुनै संगठित समूह छ? र अस्ट्रेलियामा रहेका नेपाली नर्सहरूले डायस्पोराको रूपमा नेपाल तथा नेपाली नर्सिङ क्षेत्रलाई कसरी सहयोग गर्न सक्छन्?
अस्ट्रेलियामा नेपाली नर्सहरू त धेरै हुनुहुन्छ। औपचारिक रूपमा हेर्दा ‘नेपलीज अस्ट्रेलियन नर्सेस एसोसिएसन’ भन्ने एउटा समूह रहेको जानकारी छ। म सामाजिक सञ्जालमा त्यसको समूह देख्छु पनि। त्यहाँ सामान्यतया आपसमा सूचना साटासाट गर्ने, अनुभव सेयर गर्ने, ‘यो भइरहेको छ, त्यो भइरहेको छ’ भन्ने खालका छलफलहरू हुने गरेको देखिन्छ।
तर साँच्चै भन्नुपर्दा, त्यो समूहले अहिलेको अवस्थामा नेपालमै केन्द्रित भएर ठोस काम गरिरहेको जस्तो चाहिँ मलाई खासै महसुस भएको छैन। सायद यही कारणले म आफैँ पनि त्यो समूहमा सक्रिय छैन।
तर यसबाहेक, म बसेको राज्य भिक्टोरियाको सन्दर्भमा कुरा गर्दा, यहाँ'दिदीबहिनी समाज अफ भिक्टोरिया’भन्ने समुदायगत संस्था छ। यो औपचारिक रूपमा नर्सिङ संस्था होइन, तर यसमा संलग्न धेरैजसो सदस्यहरू नर्सहरू नै हुनुहुन्छ। वास्तवमा, सुरुमा यो समुदाय स्थापना गर्दा पनि हामी नर्सहरूकै भूमिका ठूलो थियो।
यस संस्थामार्फत हामीले समुदायस्तरमा धेरै काम गरिरहेका छौँ, नेपालबाट आएका आमाहरू वा भिजिटरहरूका लागि आवश्यक स्वास्थ्य जानकारी दिने, निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम गर्ने, ब्रेस्ट एक्जामिनेसन, प्याप स्मियरजस्ता आधारभूत जाँचहरूमा सहयोग गर्ने।
मेरो बुझाइमा, अहिलेको समयमा यो काम गर्न भौगोलिक रूपमा नेपालमै जानैपर्छ भन्ने छैन। प्रविधिले संसार धेरै सानो बनाइदिएको छ। ज्ञान, सीप र अनुभव आदानप्रदान गर्न अब दूरी बाधा रहेन।
अस्ट्रेलियामा नेपाली नर्सहरू धेरै क्षेत्रका विशेषज्ञ हुनुहुन्छ-डायबेटिज, कार्डियाक, रेस्पिरेटरी, म्याटर्नल हेल्थ, एज्ड केयर, म्यानेजमेन्ट, पोलिसी, रिसर्च, युनिभर्सिटी टिचिङसम्म। यस्ता विशेषज्ञ नेपाली नर्सहरू नेपालका अस्पताल, नर्सिङ कलेज वा स्वास्थ्य संस्थासँग अनलाइन माध्यम (जुम, भर्चुअल मिटिङ) मार्फत जोडिन सक्छन्। उदाहरणका लागि, नेपालका अस्पताल वा स्वास्थ्य संस्थाले आफ्ना आवश्यकता पहिचान गर्न सक्छन्, कुन क्षेत्रमा तालिम चाहियो, कुन सीप कमजोर छ भनेर। त्यसपछि सोही क्षेत्रमा काम गरिरहेका विदेशस्थित नेपाली नर्ससँग सम्पर्क गरेर नियमित अनलाइन सेसन राख्न सकिन्छ।
म्यानेजर वा वार्ड इन्चार्जहरूले सिकेको ज्ञान आफ्नै स्टाफमा ट्रान्सफर गर्न सक्छन्। मेरो आफ्नै सन्दर्भमा पनि, यदि कसैले ‘महिनामा एक पटक दुई घण्टा तपाईंको विशेषज्ञतामा हाम्रो टिमसँग सेसन लिनुहोस्’ भने, म खुशीका साथ आफ्नो ज्ञान र अनुभव सेयर गर्न तयार हुन्छु। अर्को सम्भावना भनेको भिजिटिङ एक्सपर्टको अवधारणा हो। अस्ट्रेलियामा युनिभर्सिटीमा पढाउने, रिसर्च गर्ने नेपाली नर्सहरूलाई वर्षमा एक पटक छोटो समयका लागि नेपाल बोलाएर आधुनिक नर्सिङ अभ्यास प्रविधि, टिचिङ मेथड, एभिडेन्स-बेस्ड प्राक्टिस जस्ता विषयमा सेसन गराउन सकिन्छ। यसले नर्सिङ शिक्षामा पनि सकारात्मक परिवर्तन ल्याउन सक्छ।
त्यसैगरी, अस्ट्रेलियामा प्रचलित एज्ड केयर (नर्सिङ होम)को अवधारणा, गुणस्तरीय हेरचाह, बिरामी सन्तुष्टि, परिवार संलग्नता जस्ता सबै कुराको नेपालमा पनि भविष्यमा झन् महत्वपूर्ण हुनेछन्। ती मोडेलहरूबारे ज्ञान आदान-प्रदान गर्नु पनि ठूलो योगदान हुन सक्छ।
अस्ट्रेलियाको सन्दर्भमा कुरा गर्दा, म आफैँ करिब २५ वर्षअघि यहाँ आएको सुरुवाती पुस्ताकी नर्स हुँ। त्यो बेला हामी थोरै थियौँ, तर आज स्थिति फरक छ। अहिले अस्ट्रेलियामा हजारौँ नेपाली नर्सहरू छन्, आरएन देखि लिएर विभिन्न तह र विशेषज्ञतासम्म। संख्या हेर्ने हो भने, अनुमानित रूपमा २५-३० हजारको हाराहारीमा नेपाली नर्सहरू अस्ट्रेलियामा कार्यरत छन्।
यति ठूलो जनशक्ति हुँदाहुँदै पनि, हामीले अझै एउटा बलियो, औपचारिक नर्सिङ डायस्पोरा प्लेटफर्म निर्माण गर्न सकेका छैनौँ भन्ने कुरा सही हो। सानासाना समुदायगत प्रयासहरू भने छन्, जस्तै दिदीबहिनी समाज, सिड्नीको ‘नारी निकुञ्ज अस्ट्रेलिया’ जस्ता संस्थाहरूले आफ्नो क्षमताअनुसार नेपालमा सहयोग गरिरहेका छन्। तर यी सबै नर्सिङ पेशामै केन्द्रित, एकीकृत संरचना भने होइनन्।
मलाई लाग्छ, अब यो विषय गम्भीर रूपमा उठाउनुपर्ने समय आएको छ। हामी नर्सहरूले पनि संगठित एसोसिएसन बनाउने, च्यारिटी र भोलुन्टरी कामलाई संस्थागत बनाउने, नेपालका दुर्गम क्षेत्र, नर्सिङ शिक्षा, र कम्युनिटी हेल्थमा योगदान गर्ने जस्ता सबै कुरा गर्न सक्छौँ र गर्नुपर्छ। म यो विषयलाई यहाँको नेपाली नर्स समुदायमा आवाज उठाएर अघि बढाउने प्रतिबद्धता राख्छु। किनकि हामीसँग अब ज्ञान, अनुभव, क्षमता र संख्या सबै छ। अब आवश्यक कुरा भनेको इच्छा र समन्वय हो।
यदि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय वा नर्सिङ क्षेत्रले तपाईंलाई नेतृत्व वा नीति तहमा आएर योगदान गर्न आग्रह गर्यो भने, तपाईंका मुख्य प्राथमिकताहरू के-के हुनेछन्? नेपाल फर्किने योजना छ कि छैन?
साच्चै भन्नुपर्दा, म नेपाल छोडेको करिब २५ वर्ष भइसक्यो। त्यसैले अहिलेको नेपालको ग्राउन्ड रियालिटी के छ कस्तो छ मलाई राम्ररी थाहा छैन। तर मिडिया, सामाजिक सञ्जाल र आफ्नो अनुभवको आधारमा हेर्दा, नेपालमा नर्सहरू अझै पनि कम तलब, अत्यधिक कामको बोझ र कम सम्मानको अवस्थामा छन् जस्तो लाग्छ।
मैले आफैँ नेपालमा काम गर्दा एक जना नर्सले २५-३० जना बिरामी हेर्नुपर्थ्यो। अहिले पनि त्यो अवस्था धेरै ठाउँमा उस्तै छ भन्ने सुन्छु। अस्ट्रेलियामा भने नर्स-बिरामी अनुपातलाई धेरै गम्भीर रूपमा लिइन्छ। यहाँ एक नर्सले यति धेरै बिरामी हेर्नु पर्छ भन्ने कुरा त कल्पनै गर्न गाह्रो हुन्छ।
यदि म कहिल्यै नीति तहमा काम गर्न पाउने अवस्थामा पुगेँ भने, मेरो पहिलो प्राथमिकता नर्स-बिरामी अनुपात सुधार गर्नु नै हुनेछ। एकैचोटि सबै परिवर्तन सम्भव नहुन सक्छ। दोस्रो प्राथमिकता भनेको नर्सहरूको पारिश्रमिक र समानता हो। नर्सहरूको तलब उनीहरूको योग्यता, अनुभव, कामको जोखिम र काम गर्ने क्षेत्रअनुसार न्यायोचित हुनुपर्छ। अहिले नेपालमा देखिएको असन्तुष्टि, आन्दोलन र निराशाको जड यही अन्याय हो भन्ने मलाई लाग्छ।
नेपाल फर्किने सवालमा भने, अहिले तत्काल फर्किने योजना छैन। यसको कारण पारिवारिक अवस्था हो, बच्चाहरू अझै आत्मनिर्भर छैनन् र परिवार सबै यहीँ हुनुहुन्छ र अर्को भनेको सामाजिक सन्दर्भमा हेर्दा, नेपालकै धेरै नर्सहरू कहिले कहाँ जाने भन्ने अन्योलमै देखिन्छन्। हामी भने यहाँ धेरै अगाडी देखी काम गरेर सेटल भइसकेका छौँ, त्यसैले अहिले नै सबै छोडेर ‘म नेपालमै आएर केही गर्छु’ भनेर ठूलो निर्णय लिने अवस्था छैन। तर देशको राजनीति क्रमश सुधार हुँदै गयो र अवस्था स्थिर बन्दै गयो भने, भविष्यमा करिब १०-१२ वर्षपछि यहाँबाट अवकाश लिएर, छोराछोरी आत्मनिर्भर भएपछि नेपाल फर्किएर केही न केही योगदान गर्ने चाहना भने अवश्य छ। आफ्नो गाउँठाउँ वा समुदायमा आफूले सिकेको ज्ञान र अनुभव बाँड्ने इच्छा छ। त्यो कहिले हुन्छ भन्ने कुरा समय र परिस्थितिले नै तय गर्ला।
अस्ट्रेलिया जान चाहने वा विदेशमा करियर बनाउने सोचमा रहेका युवा नर्सहरूलाई तपाईंको सल्लाह के हुन्छ?
पहिलो कुरा त, नर्स बन्ने निर्णय आफैँले सोचेर, मनदेखि गर्नुपर्छ। एक पटक नर्स बन्ने निर्णय गरिसकेपछि, आफ्नो पेशालाई इमानदारी, नैतिकता र जिम्मेवारीका साथ अगाडि बढाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ। बिरामीलाई गुणस्तरीय र सम्मानजनक सेवा दिनु नै हाम्रो मूल धर्म हो, र यसले अन्तत आत्मसन्तुष्टि पनि दिन्छ। साथै, आफ्नो स्वास्थ्य र परिवारको ख्याल राख्न पनि उत्तिकै जरुरी छ। काम र व्यक्तिगत जीवनबीच सन्तुलन मिलाउन सिक्नुपर्छ।
यदि अस्ट्रेलिया वा अन्य देश जाने सोचमा हुनुहुन्छ भने, ‘फलानो गयो, उसले यस्तो गर्यो’ भन्ने कुरा सुनेर मात्र निर्णय नगर्नुस्। सूचना लिनु ठीक हो, तर विश्वसनीय स्रोत, आधिकारिक वेबसाइट र सही व्यक्तिबाट जानकारी लिनु अत्यन्तै आवश्यक छ। आजकल गलत सूचना र झुटा आश्वासन धेरै छन्, त्यसमा सजग हुनुपर्छ।
आफैँले राम्रोसँग रिसर्च गर्नुस्, प्रक्रिया के हो, कति समय लाग्छ, चुनौती केके हुन सक्छन्। साथै, सधैँ ब्याकअप प्लान पनि राख्नुस्। कहिलेकाहीँ प्रक्रिया ढिलो हुन सक्छ, नतिजा अपेक्षाअनुसार नआउन सक्छ। सबैको यात्रा एउटै हुँदैन, ‘वान साइज डज नट फिट अल’ (एउटै साइज सबैलाई मिल्दैन)। धैर्य राख्नुस्, हतार नगर्नुस्। सफलताका कथाहरू मात्र होइन, असफलता र संघर्षका कथाहरू पनि हुन्छन्। त्यो बुझेर अगाडि बढ्नु नै परिपक्वता हो।
यदि कसैलाई जानकारी वा सामान्य मार्गदर्शन चाहियो भने, म सकेसम्म सहयोग गर्न तयार छु। मलाई [email protected] मा पनि इमेल गर्न सक्नु हुन्छ। म आफूलाई विशेषज्ञ भन्दिनँ, तर आफ्नो अनुभवबाट सिकेको कुरा सेयर गर्न मलाई सधैँ खुशी लाग्छ। आखिर, हामी नर्सहरूमा अरूलाई सहयोग गर्ने भावना नै सबैभन्दा ठूलो शक्ति हो।