नर्स रोशा जोशी हाल अमेरिकामा कार्यरत छिन्। नेपालमा नर्सिङ पढेर केही वर्ष काम गरेपछि रोशा जोशीले विदेश जाने निर्णय लिइन्- त्यो पनि योजनाबद्धभन्दा धेरै चुनौतीहरूले धकेल्दै। विद्यार्थीको रूपमा सुरु भएको नर्सिङ यात्रा आज अमेरिकाको प्रतिष्ठित स्वास्थ्य केन्द्रमा पुगेको छ।१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशाको नर्सिङ यात्रा, नेपाल र अमेरिकाबीचको काम, सम्मान, सीप र प्रणालीको फरक, यहाँसम्म कसरी पुगिन्, नेपालमा के कस्तो सहयोग गर्न चाहिन्छिन् लगायतका विषयमा केन्द्रित रहेर स्वास्थ्यखबरका लागि रोमीका न्यौपानेले गरेको कुराकानी:
सर्वप्रथम, नर्सिङ पढ्छु र यसैमा करियर बनाउँछु भन्ने प्रेरणा हजुरलाई कसरी मिल्यो?
सुरुमा मलाई नर्सिङ के हो भन्ने खासै थाहा थिएन। हाम्रो परिवारमा कोही नर्सिङ क्षेत्रमा थिएनन्। तर एउटा कुरा चाहिँ बाल्यकालमै मनमा बसेको थियो- सानोमा म कहिलेकाहीँ बिरामी हुँदा अस्पतालमा भर्ना हुनुपर्थ्यो। त्यतिबेला नर्स दिदीहरूले गरेको हेरचाह म अहिले पनि बिर्सिन सक्दिनँ। उनीहरूले सानै बच्चा भनेर कति माया गर्थे! जिस्क्याउँथे, स्याहार्थे, केहि खेल्नका लागी सामान ल्याइदिँथे।
त्यो हेरचाहको अनुभव, त्यो मिठो बोली, त्यो माया—त्यो चाहिँ मेरो लागि नर्सिङको पहिलो सकारात्मक अनुभव थियो। त्यो बेला म सानो थिएँ, त्यसैले त्यतिबेला म 'नर्स बन्छु' भनेर ठ्याक्कै सोचिनँ, तर पछि जब अवसर आयो, ती सम्झनाहरूले मलाई धकेल्दै नर्सिङतर्फ लगे।
एसएलसी सकेपछि म अलि कन्फ्युज थिएँ- के पढ्ने भनेर। त्यही बेला मेरो दिदीकी साथीले भनिन्, ‘मेरो बहिनी नर्स हो र ऊ धेरै इन्डिपेनडेन्ट छ। ऊ त अहिले नै आत्मनिर्भर भइसकेकी छ।‘
त्यो सुनेर मैले सोचें 'ल, म पनि नर्सिङ पढ्छु भन्ने लाग्यो। साँचो कुरा भन्नुपर्यो भने म पहिले देखि नै स्वतन्त्र हुन चाहन्थेँ। त्यसैले त्यो कुरा सुनेर मलाई लाग्यो नर्सिङले मलाई पनि त्यो स्वतन्त्रता दिन्छ। अनि म लागेँ, पढाइ सुरु गरेँ।
सुरुमा नर्सिङमा भर्ना भएपछि कस्ता चुनौतीहरू अनुभव गर्नुभयो?
सुरुमा दिदीहरू सँग मिलेर मैले नर्सिङ पढ्ने निर्णय गरेँ, तर मेरो बुबाले भने 'कानुन अथवा अलिक राम्रो विषय पढ्' भन्नुभयो। उहाँको सोच थियो- नर्सिङ त्यति प्रतिष्ठित पेशा होइन।
अनि मेरो मामा पर्नु हुन्थ्यो एकजना, उहाँले त सीधै भन्नुभयो, ‘दिदी डाक्टर बन्छे, त नर्स किन बन्ने? त्यो कुरा आजसम्म याद छ।
तर वास्तविक चुनौती त पढाइ सुरु भएपछि आयो। म भावनात्मक रूपमा अलिक अपरिपक्व थिएँ, अनि उमेरले पनि अलि सानै थिएँ। होस्टेलमा दिदीहरूको गाली खानु, बच्चा जस्तो व्यवहार गर्नु- त्यस्ता कुरा हुन्थे।
तर जब हस्पिटलमा गएँ, त्यहाँ सबै कुरा बदलियो। त्यहाँ म्याचुरिटी, व्यवहार, डिसिप्लिन सिकें।
हाम्रो बिष्णु म्यामको धेरै ठूलो प्रभाव रह्यो। पहिलो दिनमै उहाँले भन्नुभयो, ‘यो प्रोफेसनले तिमीहरूलाई उमेरभन्दा अघि नै माच्योर बनाउँछ। यदि तिमीहरू तयार छैनौ भने, आजै फर्क। तर बस्यौ भने आफ्नो बिहेभियर र डिसिप्लिन देखाऊ।‘
त्यसपछि हामीले बिहान, बेलुका, रातभरि सिफ्ट गरेर उभिएर काम गर्न सिक्यौं। कुर्सीमा बस्न पनि पाउँदैनथ्यौं। कहिलेकाहीँ सामान्य कुरा गर्दा पनि कारबाही हुने गर्थ्यो। अझ नाइट डयुटीको कुरा गर्ने हो भने पाटनमा त अलि टाउको झुकाएर यसो बस्ने त हुन्थ्यो होला, तर सुत्न भने पाइँदैनथ्यो। अझै स्टुडेन्ट हुँदा त झन् कसरी सुत्थ्यौँ र? एकचोटि चाहिँ म यति थाकेको थिएँ, दिउँसोको ड्युटीपछि शरीर एकदमै दुखेको थियो। त्यसबेला हाम्रो साथमा पूर्णिमा दिदी हुनुहुन्थ्यो- उहाँ यति माया गर्ने, यति केयरिङ र स्वीट हुनुहुन्थ्यो कि अहिले पनि उहाँको नाम याद छ। पाटन हस्पिटलकी पूर्णिमा घले। त्यो दिन म बस्दै गर्दा निदाएछु। दिदीले मलाई उठाउनुभएन। बिहान उठेपछि उहाँले मसँग भन्नुभयो, 'यसरी सुतिस भने त फेरि समस्या हुन्छ। यस्तो कहिल्यै नगर्नु। दिउँसो आराम गर्नुपर्छ, नत्र राति काम गर्न गाह्रो हुन्छ।‘
उहाँले मलाई गाली गर्नुभयो तर त्यो पनि आमाले गर्ने गाली जस्तै — माया मिसिएको गाली। मलाई लाग्थ्यो, उहाँ सबैलाई त्यस्तै माया गर्नुहुन्थ्यो। पूर्णिमा दिदी हाम्रा बीचमा एकदमै 'मदरली' व्यक्ति हुनुहुन्थ्यो- सबै विद्यार्थीमा लोकप्रिय, सबैको ख्याल राख्ने।
तर ती सबै कुरा आज सम्झिदा, त्यही कुराहरुले नै हामीलाई अत्यन्तै अनुशासित, आत्मनिर्भर र जिम्मेवार बनाएको हो।
नेपालमै पढ्नुभयो, काम पनि गर्नुभयो। अब नेपाल बाहिर जानुपर्छ- अझ अमेरिका नै जाने भन्ने सोच कहिले आयो? के कारणले यस्तो निर्णय लिनुभयो?
मेरो चाहिँ खासै सुरुमा विदेश जाने कुनै योजना थिएन। हाम्रो समयमा ए.डि.एन (एसोसिएट डिग्री इन नर्सिङ) सकेपछि तीन वर्ष काम गरेपछि मात्र बि.एन (ब्याचलर अफ नर्सिङ) पढ्न पाइन्थ्यो। त्यो समयमा मैले वीर हस्पिटलमा बिएन पढेँ, त्यसपछि काठमाडौँ मोडल हस्पिटलमा करिब छ महिना टिचिङ पनि गरेँ।
त्यो समयमा वरिपरिका सबै साथीहरूले विदेश जानको तयारी गर्न थाले। सुरुमा मैले पनि अस्ट्रेलिया जाने सोच गरेँ- एउटा एजेन्सीलाई ५ हजार रुपैयाँ बुझाएकी थिएँ। तर त्यसपछि केही साथीहरू अमेरिका गए। अनि मैले पनि सोचेँ- 'युएस नै जाने हो कि?'
त्यसपछि मैले इस्टुडेन्ट भिसालाई एपलाइ गरेँ अनि सि.जि.एफ.एन.एस (विदेशी नर्सिङ स्कूलहरूको स्नातक आयोग) र एनक्लेक्स तयारी सुरु गरेँ। छोटो समयमा तयारी गरेर परीक्षा दिएँ।
आएल्टसमा स्पीकिङ ६.५ आयो, तर ब्रिटिश काउन्सिलले स्कोर घटाएर दिएको जस्तो लागेर मैले विरोध गरेँ। त्यसपछि मैले आफ्नो अडियो रिभ्यु गर्न लन्डन पठाएँ, अनि पछि ७ स्कोर दिइयो। त्यो मेरो ठूलो संघर्ष थियो। त्यो बेला ब्रिटिश काउन्सिलले खासै सहयोग नगर्दा निकै निराश पनि भएकी थिएँ, तर पछि सफल भएँ।
त्यसपछि नै लाग्यो- अब त यो यात्रा अघि बढाउनुपर्छ। तर सुरुमा भने मेरो विदेश जाने योजना त्यति ठोस थिएन- सबैजना गर्दै छन्, मैले पनि ट्राइ गरौं न भन्ने सोचले मात्र सुरु गरेको थिएँ।

त्यहाँ पुगिसकेपछि त्यहिँ बस्ने र सेटल हुने विचार कसरी जन्मियो? नेपाल नफर्किनुको कारण के थियो?
साँचो कुरा भन्नुपर्दा त्यो निर्णय अनकन्सियस्ली नै आएको जस्तो लाग्छ। मेरो नर्सिङ पेशा प्रति धेरै माया छ, तर नेपालमा मैले काम सुरु गर्दा नै त्यहाँको प्रणाली र व्यवहारले निराश बनायो। मेरो पहिलो जागिर 'स्कुल नर्स'को रूपमा एउटा स्प्यानिस-आधारित प्रोजेक्टमा थियो, जहाँ मैले दुईवटा स्कुलमा फुल-टाइम काम गर्थें। गरिब बालबालिकालाई निःशुल्क सेवा दिने कार्यक्रम थियो। मैले धेरै मेहनत गरेँ, तर त्यसको उचित मूल्य र सम्मान पाइनँ। मैले पाएको तलब सरकारी न्यूनतम दरमै सीमित थियो।
बच्चाहरू र शिक्षकहरूले केही हदसम्म कदर गरे पनि, पेशागत सम्मान र कामको मूल्यांकन भने अनुभूति हुन सकेन। नर्सिङजस्तो प्राविधिक र जिम्मेवार पेशामा गरेको योगदानलाई जसरी मूल्यांकन हुनुपर्थ्यो, त्यो स्तरको कदर पाइनँ। सुरुदेखि नै मलाई यो कुरा मनमा लागिरह्यो 'हाम्रो पेशाको मूल्य र मेहनतको कदर कहिले होला?'
नेपालको कार्यसंस्कृति पनि कहिलेकाहीँ निकै 'टक्सिक' थियो। एकचोटि म काठमाडौँ मोडल नर्सिङ कलेजबाट विद्यार्थीहरूलाई लिएर म्याटरनिटी अस्पतालमा नाइट ड्युटीका लागि गएको थिएँ। त्यहाँका एक जना स्टाफले निकै डिसरेस्पेक्टफुल कुरा गर्नुभयो। म त्यतिबेला टिचरको भूमिकामा भए पनि, विद्यार्थीहरू माझमै यस्तो सुन्दा निकै अपमानित महसुस भयो। प्रोफेशनल रूपमा म मौन रहन बाध्य भएँ, त्यो मेरो नर्सिङ करियरको सबैभन्दा तीतो अनुभव रह्यो।
तर सबै अनुभव खराब थिएनन्। मैले बीएन पढ्ने क्रममा प्रमिला देवान म्यामले निकै माया र सहयोग गर्नुभयो। हामी पहिलो ब्याच थियौं र उहाँको मार्गदर्शन मेरो लागि अमूल्य रह्यो। अहिले पनि भेट हुँदा उहाँले सधैं आत्मीयता देखाउनुहुन्छ। त्यसैले, एकेडेमिक यात्रा सुखद रह्यो, तर कार्यक्षेत्रमा भने धेरै चुनौती थिए।
नेपालमा हस्पिटलको वातावरणमा विशेष गरी जुनियर नर्सहरूलाई बुलिङ गर्ने संस्कृतिले पनि धेरै पिडा दिएको छ। यो समस्या विश्वभर छ, तर नेपालमा अझ बढी गहिरो रूपमा महसुस हुन्छ।
अमेरिका जान्छु भन्ने निर्णय गर्दा परिवार, साथीभाइ वा आफन्तहरूले कस्तो प्रतिक्रिया जनाए? ‘एक्लै छोरी मान्छे त्यति टाढा जाने?’ भन्ने कुरा उठेन?
मेरो परिवारबाट त राम्रो समर्थन पाएको थिएँ। सुरुमा मैले विदेश जाने कुरा गर्दा मेरो मुख्य उद्देश्य पढाइ नै थियो — यहाँको भन्दा बाहिरको शिक्षा प्रणाली कस्तो हुन्छ, देश–विदेशमा स्वास्थ्य सेवा कसरी सञ्चालन हुन्छ भन्ने बुझ्ने इच्छा थियो।
म सधैं नयाँ कुरा सिक्न चाहने व्यक्ति हुँ। मलाई लर्निङप्रति निकै हङ्गर छ- नयाँ अनुभव, नयाँ ज्ञान, नयाँ वातावरण पाउने अवसरलाई म कहिल्यै गुमाउन चाहँदिनँ। सायद यही उत्सुकताले मलाई विदेश जान प्रेरित गर्यो।
मैले परिवारलाई पनि यही कुरा स्पष्टसँग बुझाएँ- म पढ्न र सिक्न जान लागेकी हुँ भनेपछि त उहाँहरूले पनि त्यसमा सहमति जनाउनुभयो।
मेरा बुबाले पनि सहयोग गर्नुभयो, 'यदि यसले भविष्य बनाउन सहयोग गर्छ भने जाउ' भन्नेर भन्नुभयो।
आमाले चाहिँ सुरुमा अलिकति हिचकिचाहट गर्नुभयो 'कहीँ नजा छोरी, टाढा नजा' भनेर भन्नुहुन्थ्यो। तर अन्ततः उहाँले पनि मेरो निर्णयलाई समर्थन गर्नुभयो।
त्यसैले, अमेरिका आउँदा खासै संघर्ष गर्नु परेन। मलाई आवश्यक सबै सहयोग परिवारबाट नै थियो।
अमेरिका एक्लै जानु भयो कि विवाह भइसकेको थियो?
म सिंगल नै थिएँ। म स्टुडेन्ट भिसा लिएर अमेरिका आएकी हुँ। यहाँ आएर ओक्लाहोमा विश्वविद्यालयमा मैले बिएसएन अध्ययन सुरु गरेँ।
उहाँहरूले मेरो नेपालमा प्राप्त डिग्री र ट्रान्सक्रिप्टहरू हेरेर सुरुमा भन्नुभएको थियो- 'तपाईंको केही क्रेडिटहरू ट्रान्सफर हुन सक्छ।‘ त्यसैले मलाई लागेको थियो कि यहाँ बिएसएन सकाउन अलिक कम समय लाग्ला। यहाँको शिक्षा प्रणाली र आधार राम्रोसँग बुझ्ने, त्यसपछि यहाँ नै काम सुरु गर्ने मेरो योजना थियो।
त्यसैबीच म एनक्लेक्स तयारी पनि गर्दै थिएँ —ब्याकअप प्लानको रूपमा, ताकि आवश्यक परे तुरुन्त लाइसेन्स प्रक्रिया अघि बढाउन सकूँ। तर पछि विश्वविद्यालयले औपचारिक रूपमा भन्यो — ‘तपाईंले १२० क्रेडिट घण्टा अनिवार्य रूपमा पूरा गर्नुपर्छ।‘
मैले ८० क्रेडिट घण्टा सोचेको थिए तर अब १२० पुराउन पुरै ४ वर्ष लाग्थ्यो। म पहिले नै प्रोफेसनल नर्स भइसकेकी थिएँ, त्यसैले चार वर्षको पाठ्यक्रम पुनः पूरा गर्नु आवश्यक छैन जस्तो लाग्यो। त्यसपछि मैले तुरुन्त एनक्लेक्स परीक्षा दिएँ।
त्यो बेला इमिग्रेशन स्टाटसको कारणले केही समय आवेदन दिन नमिल्ने अवस्था थियो, तर जब प्रणाली खुलेको थियो, मैले तयारी पुरा गरिसकेकी थिएँ। मैले सबै आवश्यक डकुमेन्ट, भिसा स्क्रिनिङ र तयारीहरू पहिले नै सकेकी थिएँ। त्यही तयारीकै कारण मेरो पहिलो दिनमै एउटा फोन कल आयो — एक एजेन्सीबाट। मैले आफ्नो रेजुमे 'क्यारियर निर्माण' साइटमा अपलोड गरेकी थिएँ र उनीहरूले मेरो योग्यता र अनुभव हेरेर सीधा जब अफर गर्नुभयो।
त्यो बेला म अझै स्टुडेन्ट भिसामै थिएँ, तर पछि त्यही एजेन्सीले मलाई स्पोन्सर गर्यो र कामको आधारमा अन्ततः ग्रीन कार्ड पनि प्राप्त भयो।
त्यतिबेला अमेरिका जाने प्रक्रिया कस्तो थियो?
म त स्टुडेन्ट भिसामा आएको हुँ। स्क्रिनिङको लागि आएल्टस चाहिन्थ्यो र स्पिकिङ्गमा ७ स्कोर र समग्रमा ६.५ स्कोर चाहिन्थ्यो। त्यो अहिले पनि चाहिन्छ। सिजिएफएनेएसको सर्टिफिकेट चाहिँ अमेरिकाको कुनै राज्यमा नचाहिए पनि कुनै कुनै राज्यमा अनिवार्य नै छ। त्यसपछि एकचोटि एनक्लेक्स पास गरेपछि सबै प्रक्रिया पूरा भइ सकेपछि ग्रीन कार्ड पनि पाएँ।
यदि नेपालबाटै प्रोसेस सुरु गर्नुभयो भने, सबै प्रक्रिया पुरा भएपछि वा ग्रीन कार्ड प्राप्त भएपछि वा हुनुभन्दा करिब एक महिना अगाडि मात्र त्यहाँ जान पाइन्छ। त्यो इबी-३ क्याटेगोरी अन्तर्गत पर्ने इम्प्लोइमेन्ट–बेस्ड भिसा हो, जसमा नर्सहरू पर्छन्। मैले पनि त्यही क्याटेगोरी बाट प्रक्रिया गरेको थिएँ।
तर यहाँ अमेरिका भित्र बाट गर्दा फरक के हुन्छ भने — तपाईंले आफ्नो स्टाटस परिवर्तन गर्न छुट्टै आवेदन दिनुपर्छ। ग्रीन कार्डको आवेदन दिएको दुई–तीन महिनाभित्र वर्क पर्मिट आउँछ। त्यसपछि काम गर्न पाइन्छ, तर ग्रीन कार्डको प्रोसेस भने जारी रहन्छ।
मलाई चाहिँ करिब पाँच वर्ष लाग्यो, किनभने त्यतिबेला धेरै ब्याकलग थियो। तर केहीलाई चाहिँ छ महिनामै पनि मिल्थ्यो। अहिलेको अवस्थामा कहिलेकाहीँ अझ बढी समय लाग्छ, कहिलेकाहीँ प्रोसेस नै बन्द हुन्छ।
म आउँदा पनि बन्द भएको थियो। कहिलेकाहीँ ब्याकलगका कारण वर्षौँसम्म नखुल्ने पनि हुन्छ। यो स्टाटस परिवर्तनको कुरा एकदमै अनिश्चित हुन्छ। त्यही भएर, अमेरिका आउनु भन्दा अगाडि एकदम स्पष्ट योजना बनाएर, तयारी गरेर, ब्याकअप प्लान राखेर, र सबै समय सीमा र स्टाटस बुझेर मात्र आउनु उत्तम हुन्छ। नभए, नेपालबाट प्रोसेस गर्दा धेरै सजिलो हुन्छ।

अमेरिकामा सुरुसुरुमा कस्ता चुनौतीहरूको सामना गर्नुपर्यो?
संस्कृति र वातावरणमा ढल्नु मेरो लागि खासै ठूलो कुरा भएन। अलि फरक हुने त अपेक्षित नै थियो, त्यसैले सांस्कृतिक अनुकूलन चाहिँ ठुलो चुनौती लागेन। तर जब मैले काम सुरु गरेँ, त्यसपछि भने वास्तविक चुनौतीहरू सुरु भए।
नेपालमा मैले विद्यार्थीको रूपमा केही क्लिनिकल अनुभव लिएको थिएँ, अनि ह्याम्स अस्पतालमा सात–आठ महिनासम्म स्टाफ नर्सको रूपमा काम गरेको थिएँ। त्यसबाहेक मैले गाउँमा—नुवाकोटतिर—एक परियोजनामा काम गरेकी थिएँ र पछि अध्यापनमा पनि संलग्न थिएँ। त्यसैले मेरो अनुभव विद्यार्थीको रुपमा र शिक्षणमा बढी थियो।
त्यसैले अमेरिकामा जब म अस्पतालमा काम गर्न थालें, सुरुमा प्राविधिक सीपका हिसाबले भन्दा पनि प्रणालीगत रूपमा केही नयाँ कुरा सिक्नुपर्यो। आइ.भी स्किल्स त हामी विद्यार्थी हुँदा नै राम्ररी सिकिसकेका थियौं, त्यसमा समस्या भएन। तर त्यहाँका प्रणाली र कुनै कामहरु भन्ने सुरुमा बुझ्न गाह्रो भयो। उदाहरणका लागि, मुटु फेइलर भएका बिरामीलाई डिस्चार्ज गर्नुअघि के–कस्ता प्रक्रिया पूरा गर्नुपर्छ भन्ने प्रणाली त्यतिबेला मलाई थाहा थिएन।
मेरो पहिलो नाइट ड्युटी नै मेरो लागि सबैभन्दा ठूलो चुनौती थियो। दिनभर सुत्नु, राति काम गर्नु, अनि १२ घण्टाको लामो शिफ्ट—शारीरिक र मानसिक रूपमा निकै थकाउने काम थियो। सुरुमा त साँच्चिकै धेरै नै कठिन लाग्यो, किनभने मैले त्यस किसिमको काम कहिल्यै गरेकी थिइनँ।
म फ्लोरिडाको एउटा सानो सहरको अस्पतालमा काम गर्थें। मेडिकल-सर्जीकल युनिटमा नाइट शिफ्टमा हामीलाई एकजना नर्सलाई करिब आठजना बिरामीको जिम्मेवारी दिइन्थ्यो। ती सबै बिरामीहरूको पूर्ण हेरचाहको जिम्मा एक्लै लिनु पर्ने हुन्थ्यो। सुरुका दिनमा त्यो जिम्मेवारी साँच्चिकै भारी लाग्थ्यो।
पहिलो वर्ष मेरो लागि निकै कठिन रह्यो — नयाँ प्रणाली, लामो शिफ्ट, भाषा र कार्यभार सबै कुरा फरक थियो। तर विस्तारै म त्यसमा ढल्दै गएँ। सहकर्मीहरूसँग मित्रता बढ्दै गयो, काममा सहजता आयो, अनि आत्मविश्वास पनि बढ्यो। त्यसपछि अर्को युनिटमा सर्ने अवसर पनि पाएँ, जहाँ वातावरण अझ सहयोगी र सहज भयो।
फर्केर हेर्दा, त्यो पहिलो वर्ष मेरो जीवनकै सबैभन्दा चुनौतीपूर्ण तर सिकाइपूर्ण समय थियो। सुरुमा कति गाह्रो लागे पनि, त्यही अनुभवहरूले मलाई आजको अवस्थामा ल्यायो।
अमेरिका पुगेपछि अस्पतालमा अन्य नेपाली साथीहरू भेट्नु भयो?
भेटिएन। सुरुमा म काम गर्न गएको बेला अस्पतालमा म मात्रै नेपाली थिएँ। वास्तवमा त्यो सहरभरि नै म एक्लै नेपाली थिएँ भन्न सकिन्छ। सुरुमा मलाई के -फोर्स भन्ने एजेन्सीले ल्याएको थियो र त्यो एजेन्सी साँच्चै सहयोगी थियो। उनीहरूले हामीजस्ता अन्तर्राष्ट्रिय नर्सहरुका लागि करिब एक महिनाको प्रशिक्षण कार्यक्रम सञ्चालन गरे। त्यस अवधिमा सर्टिफिकेसनहरू गराइदिए र अस्पतालमा एक हप्ता जति अभिमुखीकरण पनि गराए। त्यस प्रशिक्षणमा केही भारतीय र अफ्रिकी नर्सहरू थिए तर नेपाली भने म बाहेक कोही पनि थिएनन्।
जब म अस्पतालमा काम गर्न थालें, त्यहाँ पनि म एक्लो नै थिएँ। त्यसबेला मेरो विवाह भइसकेको थियो, तर मेरो श्रीमान् बोस्टनमा हुनुहुन्थ्यो, म भने फ्लोरिडामा। हामीबीचको दूरीका कारण सुरुमा निकै गाह्रो भयो। म एक्लै थिएँ—न परिवार, न नेपाली साथी।
कामको वातावरणमा भने विस्तारै केही साथी बने। केही सहकर्मीहरू निकै सहयोगी र माया गर्ने थिए, कहिलेकाहीँ त उनीहरूले घरमा निम्त्याएर खुवाउने पनि गर्थे। त्यसले केही आत्मीयता महसुस हुन थाल्यो।
पछि म ओर्लान्डो, फ्लोरिडातिर बस्ने मेरो साथी सरस्वती सुभास, मिल्ने साथीहरु मध्य एक लगायत अरु नेपाली दाजुभाइ–बहिनीहरूसँग भेटें, जो अहिले पनि मेरा अत्यन्तै नजिकका साथीहरू हुन्। उनीहरू भेटिएपछि मात्र वास्तवमै सामाजिक रूपमा सहज भयो। साथीभाइ भेटेपछि जीवन रमाइलो भयो, किनभने त्यसअघि मेरो दिनचर्या केवल काम र बोस्टन जान–आउनमै सीमित थियो।
सुरुवाती संघर्ष सबैको हुन्छ, मेरो पनि भयो। तर ती अनुभवहरूले नै आत्मबल र सहनशीलता बढाइदिए।
नेपाल र अमेरिकामा तुलना गर्नु पर्दा सेवासुविधा, कामको अवधि, सम्मान, तलब र सीपका हिसाबले कस्तो फरक देख्नुभयो?
मेरो अनुभव राम्रै छ — आखिर यहाँ यत्रो वर्ष बिताइसकेको छु। थप अध्ययनसँगै आफ्नो ज्ञान र क्षमताको विस्तार गर्न अमेरिकामा निकै अवसरहरू छन्। नेपालको तुलनामा यहाँ नर्सिङ पेशामा विविधता धेरै छ।
नेपालमा नर्सिङ भन्नासाथ मुख्य रूपमा हस्पिटल वा कम्युनिटी क्षेत्रमै सीमित रहन्थ्यो। शिक्षणको विकल्प पनि सीमित थियो। तर अमेरिकामा भने नर्सको रूपमा धेरै प्रकारका क्षेत्रमा काम गर्न सकिन्छ — क्लिनिकल, रिसर्च, एजुकेशन, म्यानेजमेन्ट, वा एडमिनिस्ट्रेशन सबैमा अवसर हुन्छन्।
नेपालको शैक्षिक प्रणाली भने मलाई राम्रो लाग्छ, त्यसले नै हाम्रो आधार बलियो बनाएको हो। त्यसैले पनि नेपालबाट गएका नर्सहरू यहाँ आइपुग्दा अपेक्षाकृत सक्षम र दृढ हुन्छन्।
तर बेडसाइड नर्सिङ भने सधैं सजिलो हुँदैन। लामो समयसम्म त्यही क्षेत्रमा रहँदा शारीरिक र मानसिक चुनौतीहरू बढ्दै जान्छन्। सुरुका दिनहरूमा त झन् कठिन हुन्छ — विशेषगरी ठूला हस्पिटलमा काम गर्न थाल्दा।
मैले भने सानो कम्युनिटी हस्पिटलमा काम सुरु गरेकी थिएँ, जहाँ परिवारजस्तो वातावरण थियो। सबै जना एक–अर्कालाई चिन्दथे र सहयोगी वातावरण थियो। तर ठूला संस्थामा सिधै प्रवेश गर्दा भने धेरै चुनौतीहरू आइपर्छन्।
समयसँगै अमेरिकाको हेल्थकेयर सिस्टममा पनि धेरै परिवर्तन आएको छ। अहिले कामको बोझ बढ्दो छ, माग उच्च छ भने स्वास्थ्यकर्मीको अभाव पनि उत्तिकै छ। यसले गर्दा कतिपय अन्तर्राष्ट्रिय नर्सहरू काममा अनुकूल हुन नसक्दा निराश पनि भएका देखिन्छन्।
मैले अमेरिकामै नर्सिङ पढाउने अवसर पनि पाएकी छु। गत वर्षसम्म म यहाँका बिएसएन विद्यार्थीहरूलाई पढाउँथेँ। यहाँकै विद्यार्थीहरू — जो यहीँ जन्मेर हुर्केका छन् — तिनीहरूलाई पनि यो पेशा सजिलो छैन।
तर नेपालबाट आएका नर्सहरू केही अर्थमा अझ सक्षम हुन्छन्। उनीहरू जे कुरा पनि सामना गर्न सक्छन् र सीपयुक्त हुन्छन्। पहिले नै धेरै जिम्मेवारी बोक्ने बानी भएकाले यहाँको काममा पनि राम्रोसँग अनुकूल हुन्छन्।
नेपालमा त स्थिति फरक छ — जस्तै, आईसीयूमा 'वन-टु-वन' केयर (एक नर्स, एक बिरामी) सम्भव हुँदैन। सामान्य वार्डमा त एक नर्सले ३० देखि ३५ जना बिरामीको हेरचाह गर्नुपर्छ। अमेरिकामा भने यो अनुपात धेरै फरक छ।
नर्स प्राक्टिसनरहरूले डाक्टर सरह नै जिम्मेवारी वहन गर्छन्- बिरामीको मूल्यांकन, उपचार, औषधि लेख्ने, र आवश्यकता अनुसार निर्णय लिने काम गर्छन्। राज्यअनुसार उनीहरूलाई स्वतन्त्र रूपमा प्राक्टिस गर्न अनुमति पनि हुन्छ। रिसर्च क्षेत्रमा पनि नर्सहरूलाई प्रयोग गरिन्छ- रिसर्च कोअर्डिनेटरका रूपमा अध्ययन, डेटा संकलन र अनुसन्धानात्मक उपचारहरूमा उनीहरूको भूमिका महत्वपूर्ण हुन्छ।
तपाईंको दृष्टिमा प्रविधिमा नेपालको अवस्था के छ? र अमेरिकामा गएपछि प्रविधिले गर्दा तपाईंलाई कति सहज भयो?
अवश्य नै, यहाँको सबैभन्दा ठूलो फरक भनेको इलेक्ट्रोनिक प्रणाली नै हो। नेपालमा हामी अझै पनि कागजमा नै डकुमेन्टेसन गर्छौं। काम त त्यही हो- बिरामीको हेरचाह र लेखाजोखा। तर यहाँ त्यो सबै प्रक्रिया निकै विस्तृत र डिटेलमा गर्नुपर्छ। यहाँ डकुमेन्टेसन अत्यन्तै महत्वपूर्ण हुन्छ। कहिलेकाहीँ त हाम्रो सिफ्टको आधा समय नै रेकर्डिङ र डकुमेन्टेसनमै बित्छ। त्यसको साथै बिरामीको प्रत्यक्ष हेरचाह पनि गर्नुपर्ने भएकाले टाइम म्यानेजमेन्टमा कहिलेकाहीँ चुनौती आउँछ।
अर्को कुरा, अमेरिकामा मेडिकल टेक्नोलोजी पनि निकै अग्रसर छ। म पहिले नर्स प्राक्टिसनरका रूपमा काम गर्दा 'आर्टिफिसियल हार्ट इम्प्लान्ट' हुने केन्द्रमा काम गर्थें। त्यहाँ यस्ता बिरामीहरू हुन्छन् जसको मुटु पूर्ण रूपमा असफल भइसकेको हुन्छ। त्यस्ता बिरामीलाई सर्जरी गरेर ‘आर्टिफिसियल हार्ट पम्प’ राखेर बचाइन्छ। ती यन्त्रहरूको पनि आफ्नै आयु हुन्छ, तर कतिपय बिरामीले त्यसलाई ‘ब्रिज’को रूपमा प्रयोग गरेर पछि मुटु ट्रान्सप्लान्टसमेत गरेर आफ्नो जीवन २०–३० वर्षसम्म विस्तार गरेका छन्। यो देख्दा प्रविधिले कति ठूलो परिवर्तन ल्याएको छ भन्ने स्पष्ट हुन्छ।
डकुमेन्टेसन र इलेक्ट्रोनिक प्रणालीका हिसाबले पनि यहाँ अत्यन्तै प्रगतिशील प्रणाली छ, जसले काम गर्न सजिलो बनाउँछ- तर चुनौतीपूर्ण पनि हुन्छ। किनभने यहाँ हामीले बिरामीलाई हेरचाह दिएपछि तुरुन्तै सबै कुरा इलेक्ट्रोनिक रूपमा लेख्नुपर्छ। कहिलेकाहीँ तुरुन्तै गर्न सम्भव नहुँदा ‘कोचिङ इमेल’ आउँछ, जसमा सुधार गर्न भनिन्छ। तर ढिला गरेर वा गलत डकुमेन्टेसन गर्न मिल्दैन, किनभने सबै रेकर्डहरू इलेक्ट्रोनिक रूपमा स्ट्याम्प हुने भएकाले पछि गएर परिवर्तन गर्न पनि सम्भव हुँदैन।
कहिलेकाहीँ अनजानमा अर्को बिरामीको रेकर्डमा चार्टिङ हुनेजस्ता त्रुटिहरू पनि हुन सक्छन्, त्यसैले अत्यन्तै सचेत भएर काम गर्नुपर्छ। अहिले प्रयोग हुने 'एपिक' प्रणालीमा केही सानो सुधार चाहिँ निश्चित समय (जस्तै दुई घण्टा भित्र) भित्र गर्न मिल्छ, त्यसपछि भने त्यो स्थायी हुन्छ।
त्यसैले, यहाँको प्रविधिले नर्सिङ कार्यलाई एकातिर सहज बनाएको छ भने अर्कोतर्फ धेरै जिम्मेवारीपूर्ण र सचेत बनाएको छ।
नेपालमा त प्रायः नर्सिङ भनेको सुई हाल्ने, प्रेसर लिने, भाइटल लिने — यति मात्र भन्ने धेरैको बुझाइ हुन्छ। तर बेडसाइड केयर बाहेक नर्सिङको अरू थुप्रै क्षेत्रहरु पनि छन्। अमेरिकामा नर्सिङको क्षेत्र र दायरामा के–के पर्छ?
यहाँ नर्सिङका सम्भावनाहरू अनन्त छन्। म यहाँ लगभग उन्नाइस वर्षदेखि छु, र हरेक वर्ष स्वास्थ्य सेवाको दायरा अझै बढ्दै गएको देख्छु। खासगरी, नर्सहरू विभिन्न भूमिकामा व्यापक रूपमा प्रयोग भइरहेका छन्।
बेडसाइड नर्सिङ त एउटा भाग मात्र हो। त्यही भित्र पनि विभिन्न जिम्मेवारीहरू हुन्छन्। जस्तै, केस म्यानेजमेन्ट, एडमिटिङ नर्स, र चार्ज नर्सका भूमिका। त्यसपछि म्यानेजमेन्टतिर जाँदा नर्स म्यानेजरहरू हुन्छन्।
त्यसपछि क्लिनिकल एजुकेटर भन्ने पद हुन्छ, जसले नर्सहरूको कन्टिन्युअस मेडिकल एजुकेसन र सर्टिफिकेसन अपडेटको जिम्मेवारी लिन्छ। केस म्यानेजर भनेको बिरामी घर फर्किएपछि उनीहरूको कन्टिन्युटी अफ केयर सुनिश्चित गर्ने व्यक्ति हो- जसले बिरामीका सामाजिक, मनोवैज्ञानिक र स्वास्थ्य पक्षहरू हेर्छ।
त्यसपछि एनेस्थेटिक नर्स, आउटपेसन्ट कोअर्डिनेटर, रिसर्च नर्स, क्लिनिकल नर्स स्पेसलिस्ट, नर्स प्राक्टिसनर, र फ्याकल्टी नर्स जस्ता भूमिका पनि छन्।
नर्स प्राक्टिसनरहरूले डाक्टर सरह नै जिम्मेवारी वहन गर्छन्- बिरामीको मूल्यांकन, उपचार, औषधि लेख्ने, र आवश्यकता अनुसार निर्णय लिने काम गर्छन्। राज्यअनुसार उनीहरूलाई स्वतन्त्र रूपमा प्राक्टिस गर्न अनुमति पनि हुन्छ।
रिसर्च क्षेत्रमा पनि नर्सहरूलाई प्रयोग गरिन्छ- रिसर्च कोअर्डिनेटरका रूपमा अध्ययन, डेटा संकलन र अनुसन्धानात्मक उपचारहरूमा उनीहरूको भूमिका महत्वपूर्ण हुन्छ।
त्यसैगरी, मास्टर्स वा डाक्टरेट अध्ययनपछि नर्सहरू क्लिनिकल नर्स एनेस्थेसियामा विशेषज्ञता लिन सक्छन्, जसले एनेस्थेटिक रूपमा काम गर्छन् — यो क्षेत्र अत्यधिक प्रतिस्पर्धी र राम्रो तलब भएको मानिन्छ।
हालका वर्षहरूमा क्वालिटी म्यानेजमेन्ट र क्वालिटी कन्ट्रोलमा पनि नर्सहरूको भूमिका उल्लेखनीय रूपमा बढेको छ।
अहिले म काम गर्दै आएको मुख्य क्षेत्र 'भर्चुअल केयर' हो- म अहिले नर्स प्राक्टिसनर र एजुकेटर दुबै रूपमा कार्यरत छु। भर्चुअल केयरमा बिरामीहरू आफ्नै घरमा बसेर उपचार सेवा पाउँछन्। हामीले रिमोट पेसन्ट मोनिटरिङ मार्फत हृदयघात, उच्च रक्तचाप र मधुमेह भएका बिरामीहरूको निगरानी गर्छौं। बिरामीहरूले घरबाटै आफ्नो ब्लड प्रेसर, तौल आदि पठाउँछन्, जुन आरएनहरूले नियमित रूपमा हेर्छन्।
त्यो आधारमा हामी अपोइन्टमेन्ट तय गर्छौं, औषधि रिभ्यु गर्छौं र चिकित्सकलाई सिफारिस वा प्रत्यक्ष परिवर्तन पनि गर्न सक्छौं- यो निर्भर गर्छ कुन स्पेसलिटीमा काम गरिएको हो भन्नेमा।
यसअघि म अर्जेन्ट केयर सेवामा पनि कार्यरत थिएँ, जहाँ दीर्घरोग भएका वृद्ध बिरामीहरूको सिम्प्टम म्यानेजमेन्ट गर्थ्यौं- जस्तै, चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने आदि समस्यामा टेलिफोन वा भिडियोका माध्यमबाट सल्लाह दिने गर्थ्यौं।
कहिलेकाहीँ त केवल टेक्स्ट मेसेजकै भरमा पनि केयर प्रदान गर्न सकिन्छ- कहिले जानकारी दिनुपर्ने हुन्छ, कहिले मूल्यांकन गर्नुपर्ने हुन्छ, कहिले उपचार निर्णय लिनुपर्ने हुन्छ। आरएनहरूले पनि ट्रायाज गर्छन् — बिरामीलाई इमर्जेन्सीमा पठाउने कि डाक्टर/नर्सकोमा पठाउने भनेर निर्णय गर्छन्।
यदि बिरामीलाई प्रत्यक्ष मूल्यांकन आवश्यक भएमा, हामी भिडियोमार्फत असिस्टेन्टलाई निर्देशन दिइरहेका हुन्छौं- 'यहाँ पालपेट गर', 'यो भाग हेरेर रिपोर्ट गर' जस्ता निर्देशनहरू दिँदै। यसरी पनि उपचार प्रक्रिया चलाइन्छ।
त्यसैले भन्नुपर्दा, नर्सिङको स्कोप यहाँ असीमित छ- चाहे इन–पर्सन केयर होस् वा भर्चुअल केयर, नर्सहरूको भूमिका स्वास्थ्य सेवाको प्रत्येक तहमा महत्वपूर्ण र परिवर्तनकारी बनेको छ।
नेपालमा अहिले नर्सहरूले फेरि आन्दोलन गरिरहेका छन्। यो पहिलो पटक होइन, तर पटक–पटक विरोध हुँदा पनि सुनुवाइ भइरहेको छैन। सरकारका निर्णयहरू पनि कार्यान्वयनमा आएका छैनन्। तपाईंहरूले बाहिरबाट यो अवस्थालाई कसरी हेर्नुहुन्छ?
म त वास्तवमा नेपालमै थिएँ- भर्खरै मात्र फर्किएकी हुँ, गत महिना। त्यही बेला मैले मेरा साथी नर्सहरूलाई पनि भेटेँ, र उनीहरूलाई यो आन्दोलनमा संलग्न हुन प्रोत्साहित पनि गरेँ। त्यो बेला विरोध मणिपालमा मात्र भइरहेको थियो, मैले अरुहरुलाई पनि भनेँ — ‘तिमीहरूले पनि आफ्ना ठाउँमा आवाज उठाओ, यो त ठूलो अन्याय हो।‘
यो केवल नेपालको होइन, ग्लोबल अन्याय हो, किनभने नर्सिङ प्राय महिलाको पेशा हो। हामी महिलाहरू घरभित्र र बाहिर दुवै ठाउँमा निरन्तर डोमिनेसनको सामना गर्छौं। म यो कुरा नारीवादी दृष्टिले होइन, यथार्थका रूपमा भन्न चाहन्छु- नर्सिङ पेशामा समस्या गहिरो रूपमा महिला-प्रधान संरचनासँग पनि गाँसिएको छ।
नेपालमा त अवस्था झनै गम्भीर छ — पाँच वर्षसम्म नर्सहरूलाई नि:शुल्क श्रम गर्न बाध्य पार्नु, त्यो सुन्दा नै मन दुख्छ। मेरो समयमा त कमसेकम केही पारिश्रमिक पाइन्थ्यो। सेभ द चिल्ड्रेनसँग काम गर्दा म महिनाको १५ हजार रूपैयाँ कमाउँथेँ। अहिले नर्सहरू त्यही रकमका लागि लडिरहेका छन्, यो सुन्दा म स्तब्ध भएँ। मलाई थाहा थिएन कि अवस्था यति बिग्रिसकेको छ।
वास्तवमा, नर्स एड्भोकेसी मेरो विशेष क्षेत्र हो। म टेक्सास नर्सेस असोसिएसनको नर्स एड्भोकेसी समितिमा एक वर्ष कार्यरत थिएँ। मेरो पि.एच.डी को डिसर्टेसन पनि ‘सेल्फ कियर एमोंग कृटिकल कियर नर्ससेस’ मा आधारित थियो, जसमा नर्सहरूको मानसिक, शारीरिक र व्यावसायिक स्वास्थ्य सुधारका उपायहरूमा ध्यान दिएको छु। त्यसैले जब नेपालका नर्सहरूको अवस्था देख्छु, मलाई अझै दुख लाग्छ।
अहिले नर्सिङ पेशामा सबभन्दा ठूलो आवश्यकता भनेकै हाम्रो आफ्नै लिडरहरूबाट निरन्तर समर्थन र आवाज हो।
यदि नर्सहरू मानसिक, शारीरिक र आर्थिक रूपमा थकित छन् भने, उनीहरूबाट गुणस्तरीय सेवा अपेक्षा गर्न सकिँदैन। हाम्रो पेशा स्वभावैले तनावपूर्ण छ; त्यसमा आर्थिक संघर्ष थपिँदा अवस्था असह्य बन्छ।
साँच्चै भन्नुपर्दा, म पनि पढाइ सकेर नेपाल फर्कने सोचमा थिएँ। अझै पनि त्यो सोच छ- बच्चा सानो छ, केही वर्षपछि फर्केर केही योगदान गर्न मन छ। तर अहिलेको यो अवस्था हेर्दा सोच्न बाध्य हुन्छु। नेपालमा नर्सहरूलाई फर्किने वातावरण पनि छैन, विदेश जाने विकल्प पनि सहज छैन। यो स्थिति देख्दा मलाई व्यक्तिगत रूपमा धेरै दुख लाग्छ।
हामीसँग ग्लोबल समर्थन छ, र हामी अन्तर्राष्ट्रिय समुदायसँग सम्पर्क गरेर आवश्यक सहयोग लिन तयार छौं। नेपालमै अध्ययन गरेर काम गरेर देशको स्वास्थ्य प्रणाली बुझ्ने र अनुभव गर्ने धेरै नर्सहरू विदेशमा पनि छन्। तिनीहरूलाई जोडेर र नेतृत्व गर्दै एडभोकेसी गर्नुपर्छ। यो काम हुनै पर्छ र अब धेरै अघि बढ्नु आवश्यक छ।
अमेरिकामा पनि प्रोटेस्टहरू हुन्छन्, र म आफैं एडभोकेसी कमिटीमा रहेर विभिन्न अवसरमा नर्सिङको अधिकार र सम्मानको लागि आवाज उठाइसकेको छु। तर नेपालमा स्थिति अझै चरम र अत्यन्त चुनौतीपूर्ण छ।
हामीले केवल पारिश्रमिक मात्र नभई, सम्मान, विश्वास र सुरक्षा पनि पाउनै पर्छ। अन्य स्वास्थ्य पेशाकर्मी, जस्तै डाक्टरहरू, जस्तो सम्मान र विश्वास नर्सिङले पाएको छैन। कोभिड–१९ को समयमा मास्क, प्रोटेक्टिभ गियर नदिइ नर्सहरूलाई काममा पठाउने जस्ता अवस्था हुँदा हामी केवल खर्च योग्य सामान जस्ता व्यवहारमा परेका थियौं।
यो न केवल पेशागत रूपमा अन्याय हो, तर मानवीय दृष्टिले पनि अस्वीकार्य छ। नर्सहरूले योग्य पारिश्रमिक पाउनैपर्छ, जिबिको पार्जन गर्न सक्ने तलब पाउनैपर्छ। यस्तो अन्याय र अपमानपूर्ण व्यवहार सुन्दा मलाई व्यक्तिगत रूपमा धेरै दुख लाग्छ।
मेरो विचारमा विदेशमा रहेका नेपाली नर्सहरूले नेपालका नर्सहरू र स्वास्थ्य प्रणालीलाई सहयोग गर्न धेरै तरिकाले सक्छन्। सबैभन्दा पहिला, नैतिक समर्थन महत्वपूर्ण हुन्छ। जब नेपालका नर्सहरुले देख्छन् कि संसारभरिका नर्सहरूले उनीहरुलाई समर्थन गरिरहेका छन् भने उनीहरुमा आत्मविश्वास र हिम्मत आउँछ।
एनक्लेक्स पास गरेर अहिले धेरै नर्सहरू रेट्रोग्रेशनका कारण पर्खाइमा हुनुहुन्छ। त्यस्तो अवस्थामा भएका नर्सहरूलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ?
यसमा खासै सुझाव दिन मिल्दैन, किनभने यो सरकारी नीतिसँग सम्बन्धित कुरा हो। यो सरकारी नीति भएकाले हामीले त्यसमा कुनै परिवर्तन गर्न सक्दैनौं।
तर मेरो व्यक्तिगत सुझाव चाहिँ यो हो- म पनि यस्तै अवस्थाबाट गुज्रिएकी थिएँ। मैले धेरै लामो समय पर्खनु परेन, तर म पूर्ण तयारीसहित बसिरहेकी थिएँ।
जो नर्सहरू यहाँ अमेरिका आउन चाहनुहुन्छ, उहाँहरूले तयारी गरेर चाहिँ बस्नुपर्छ। कुनै कागजात वा प्रमाणपत्रको म्याद सकिएको छ भने समयमै नवीकरण गर्नुपर्छ।
अनि सबैभन्दा जरुरी कुरा के हो भने — संयुक्त राज्य अमेरिका नागरिकता र आप्रवासन सेवाहरूको वेबसाइट नियमित रूपमा हेर्नुपर्छ, किनभने अहिले परिस्थिति एक रातमै फेरिन्छ।
राजनीतिक परिवर्तनहरू पनि छिट्टै हुन्छन्, त्यसैले आफू अपडेट र अलर्ट रहनु नै सबैभन्दा महत्त्वपूर्ण हो।
तर कुरा यत्तिमै सीमित छैन- जबसम्म अवसर मिल्दैन, तबसम्म पनि यो संसारको अन्त्य होइन। तपाईंले केही गुमाइरहनुभएको छैन। आखिर, जहाँ भए पनि काम गर्नै त हो नि।
नेपालमै पनि काम गर्न सक्नुहुन्छ, अनुभव थप्न सक्नुहुन्छ, र अझ इनोभेटिभ भएर सोच्न सक्नुहुन्छ। किनभने अमेरिका आउनु नै मात्र समाधान होइन।
मलाई गलत नबुज्नु- मैले कसैलाई डिस्करेज गर्न खोजेकी होइन। म पारदर्शी हुन चाहन्छु, किनभने यहाँ आएका सबैको कथा सफलतामात्र पनि हुँदैन। कतिपयले यहाँ आएर फेरि सुरुबाटै संघर्ष गर्नुपर्छ।
त्यसैले नेपालमै रहेर पनि केही नयाँ, सकारात्मक र परिवर्तनकारी काम गर्न सकिन्छ। नर्सिङ र हेल्थकेयर क्षेत्रमा अझै धेरै इनोभेसन र एड्भोकेसी गर्न सकिन्छ। त्यसैले म भन्न चाहन्छु — अलर्ट रहनुहोस्, अपडेट रहनुहोस् र पर्खाइलाई सकारात्मक रूपमा लिनुहोस्।
विदेशमा रहेका नेपाली नर्सहरूले नेपालमा रहेका नर्स र स्वास्थ्य प्रणालीलाई कसरी सहयोग वा योगदान दिन सक्छन्?
मेरो विचारमा विदेशमा रहेका नेपाली नर्सहरूले नेपालका नर्सहरू र स्वास्थ्य प्रणालीलाई सहयोग गर्न धेरै तरिकाले सक्छन्। सबैभन्दा पहिला, नैतिक समर्थन महत्वपूर्ण हुन्छ। जब नेपालका नर्सहरुले देख्छन् कि संसारभरिका नर्सहरूले उनीहरुलाई समर्थन गरिरहेका छन् भने उनीहरुमा आत्मविश्वास र हिम्मत आउँछ।
त्यसैगरी, आर्थिक सहयोग पनि एक माध्यम हो। नेपालमा कुनै आन्दोलन, आन्दोलनजस्ता गतिविधि वा संगठनात्मक मीटिङहरू सञ्चालन गर्न सानो रकमले पनि ठूलो फरक पार्न सक्छ। व्यक्तिगत स्तरमा, थोरै थोरै सहयोगले पनि धेरै प्रभाव पार्न सक्छ।
अर्को महत्वपूर्ण कुरा भनेको सहकार्य र संगठनात्मक संलग्नता हो। विदेशमा रहेका नर्सहरूले आफ्नो अनुभव, विशेषज्ञता र साना साना कामहरू मार्फत योगदान दिन सक्छन्। उदाहरणका लागि, चार-पाँचजना मिलेर कुनै विशेष कार्यक्रम, प्रशिक्षण वा सल्लाह दिने समूह बनाउन सकिन्छ। यसमा मुख्य कुरा के हो भने, अन्तर्राष्ट्रिय सहयोगबाट कस्तो प्रकारको समर्थन आवश्यक छ र के गर्दा प्रभावकारी हुन्छ भन्ने स्पष्ट हुनुपर्छ।
मैले पनि आफ्नो एडभोकेसी कमिटीमा काम गरेको अनुभवबाट देखेकी छु कि यसले नीति निर्माणमा कसरी प्रभाव पार्न सक्छ भन्ने कुरा बुझ्न सजिलो बनाउँछ। विदेशमा रहेका अनुभवी नर्सहरू आफ्ना साना अनुभवहरू सेयर गरेर नेपालमा भइरहेको प्रयासहरूलाई बलियो बनाउन सक्छन्। यसले केवल सहयोग मात्र गर्दैन, नर्सिङ नेतृत्व र पेशागत क्षमतामा पनि मजबुती ल्याउँछ।
सारांशमा भन्नुपर्दा, विदेशमा रहेका नेपाली नर्सहरूले नेपालको नर्सिङ पेशा र स्वास्थ्य प्रणालीलाई सहयोग गर्न सक्छन्- नैतिक समर्थन, आर्थिक सहयोग, विशेषज्ञता र अनुभवको साझेदारी मार्फत। यसले नर्सहरूलाई हिम्मत दिन्छ, नीति निर्माणमा योगदान पुर्याउँछ र समग्र रूपमा पेशागत स्तरलाई उन्नत बनाउँछ।
तपाईं अमेरिका बसेको १९ वर्ष भइसक्यो। अब नेपाल फर्किएर नीति निर्माण, नर्सिङ नेतृत्व वा नीति विकास जस्ता भूमिकामा तपाईंहरूलाई बोलाइयो भने के त्यस्तो भूमिकामा सहभागी हुने योजना छ?
म त एकदमै तयार छु। मेरो बच्चा अहिले १५ वर्षको छ र हाइस्कुल सकेपछि म अझ स्वतन्त्र हुनेछु। त्यसैले, नेपालका नीति निर्माण वा नेतृत्व भूमिकामा योगदान गर्नुपरेमा म तयार नै छु।
आजको विश्वमा अनिवार्य रूपमा सबै कुरा छोडेर एकैचोटि नेपालमै गएर बस्नैपर्छ भन्ने छैन। धेरै भूमिका त भर्चुअल रूपमा, भोलिन्टरी, फर्मल, वा अस्थायी कन्ट्र्याक्ट मार्फत पनि पूरा गर्न सकिन्छ। त्यसैले, जस्तोसुकै स्वरूपमा भए पनि जहाँबाट सकिन्छ म योगदान दिन इच्छुक छु।
नर्सिङ त जहाँ भएपछि पनि नर्सिङ नै हो। अमेरिका होस् वा नेपाल मेरो पेशागत पहिचान एउटै हो। त्यसैले मैले शिक्षा लिएको देश र म जन्मिएको ठाउँका लागि केही गर्ने चाहना भने सधैं मनमा छ।
मैले यता पनि केही सम्भावनाहरू खोज्ने प्रयास गरेको छु, के के माध्यमबाट नेपाललाई सहयोग गर्न सकिन्छ भनेर। बीचमा काम र परिवारको जिम्मेवारीले अलिकति व्यस्त बनायो, तर मनभित्र चाहना भने कहिल्यै हराएन। मलाई लाग्छ, सबैले आफ्नो क्षमताले भ्याउने ठाउँबाट योगदान गर्न सक्छन् र म पनि त्यसका लागि सधैं तयार छु।
नर्सिङ नेतृत्व वा नीति निर्माणको भूमिकामा तपाईंको पहिलो कदम र प्राथमिकता के हुने छ?
यदि मलाई नेपालमा नीति निर्माण वा नेतृत्वको भूमिकामा बोलाइयो भने मेरो पहिलो कदम भनेको स्थानीय विशेषज्ञहरूसँग समन्वय गरेर अहिले हालको अवस्थाको स्पष्ट बुझाइ प्राप्त गर्नु हुनेछ।
नेपालमा धेरै अनुभवी नर्सिङ शिक्षक, प्र्याक्टिसनर र साथीहरू वर्षौँदेखि नै मेहनत गरिरहनुभएको छ। उनीहरूकै विशेषज्ञता, अनुभव र ग्राउन्ड–रियलिटीलाई एकसाथ ल्याएर कनभर्सेसन सुरु गर्ने, के–के परिवर्तन भइसकेका छन् भनेर बुझ्ने र अहिलेको वास्तविक आवश्यकताहरू पहिचान गर्ने काम प्राथमिकतामा पर्छ।
हामी विदेशबाट फर्केर नेपाल मा 'आमूल परिवर्तन' ल्याउन सम्भव हुँदैन। सुरुमा गर्नुपर्ने कुरा भनेको त्यही स्थानीय विशेषज्ञता र सिस्टमलाई सपोर्ट गर्ने, अनि सहकार्य गर्दै अघि बढ्ने नै हो।
यदि म स्थायी रूपमा नेपाल फर्किएर केही वर्ष काम गर्न पुगेँ भने, मेरो पहिलो लक्ष्य 'आवश्यकता मूल्याङ्कन' नै हुनेछ। नर्सहरूको आवश्यकता, उनीहरूको विचार, र सिस्टम भित्रका ग्यापहरू पहिचान गर्ने।
नेपालमा नर्सिङ शिक्षा त एकदमै उच्चस्तरको छ, अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली नर्सहरू उत्कृष्ट छन्। समस्या भनेको त्यो ज्ञान र सीपको देशभित्र उपयोग नहुनु र नर्सहरूलाई पर्याप्त मूल्य नदिइनु हो।
त्यसैले नीति निर्माणमा जाँदा मेरो प्राथमिकता:
नर्सिङ पोजिसनहरू नयाँ–नयाँ रूपमा क्रिएट गर्ने,
नर्सहरूको स्कोप अफ प्र्याक्टिस ब्रोडेन गर्ने,
उनीहरूको सीपअनुसार बाच्न सकिने इनकम र समान अवसर सुनिश्चित गर्ने,
र नर्सहरूको क्षमता उपयोग हुने गरी स्ट्रक्चर्ड सिस्टम निर्माणमा योगदान गर्ने
नेपालमा 'स्कुल नर्स' जस्तै पद सृजनाबाट पनि ठूलो असर परेको धेरै उदाहरण छन्- एक जना नर्स बस्दा नै गाउँको स्वास्थ्य स्थिति र सरसफाइमा ठूला परिवर्तन आएको देखिन्छ।
यसैले नर्सिङको वास्तविक मूल्यलाई देखाउने, अन्य क्षेत्रका निर्णय–कर्तालाई अवगत गराउने, र निरन्तर एडभोकेसी गर्ने काम अत्यन्त आवश्यक छ। यी सबै मिलेर जान थालेपछि परिवर्तन आफैँ आइहाल्छ।
आगामी दिनहरूमा तपाईंको योजना के छ? साथै, नेपाली नर्सहरूका लागि के सन्देश दिन चाहनुहुन्छ?
मेरो आगामी दिनहरूको योजना भनेको बिस्तारै नेपालमै ट्रान्जिसन गर्ने हो। सबै कुरा एकैचोटि सम्भव नहुन सक्छ—केही महिनाको योगदान पनि भए राम्रो, तर आफ्नो फिल्डमा नेपालका लागि केही योगदान त अवश्य गर्नुपर्छ।
मेरो एउटा मुख्य उद्देश्य भनेको नयाँ पुस्ताका नर्सहरूलाई मेन्टरिङ गर्नु हो। अहिलेसम्म जसले पनि मलाई सम्पर्क गर्नु भएको छ, उहाँहरुलाई थाहा छ कि म सधैँ उपलब्ध छु—जानकारी दिन, आवश्यक सहयोग गर्न, र मार्गदर्शन दिन।
यो काम मेरो ठूलो प्यासन हो- नर्सहरूलाई प्रोत्साहित गर्नु, उनीहरूको क्षमता वृद्धी गर्नु र सबैलाई एकसाथ अगाडि बढाउन सहयोग गर्नु।
साथै, मेरो अर्को उद्देश्य नर्सिङ पेशालाई माथि उठाउनु हो। यो केवल नेपालमा होइन, ग्लोबल स्तरमा पनि जरुरी छ। त्यसका लागि म आफ्नो तर्फबाट सकेसम्म योगदान दिन सधैँ तयार छु।
नेपाली नर्सहरूका लागि मेरो सन्देश:
आफ्नो काम लगातार गर्नुहोस् र आफ्नो मूल्य र सम्मानलाई पहिचान गर्नुहोस्।
तपाईंहरू स्वास्थ्य क्षेत्रका अत्यन्तै महत्वपूर्ण सदस्य हुनुहुन्छ—नर्सहरूबिना स्वास्थ्य सेवा सम्भव छैन।
आफूलाई भ्यालु गर्नुहोस्, निरन्तर एडभोकेसी गर्नुहोस्, र आफ्नो हेरचाहमा ध्यान दिनुहोस्।
आफ्नो परिवार, समाज र अन्य पेशागत समूहहरूलाई आवश्यक जानकारी र सचेतना प्रदान गर्नुहोस्।
यदि सहयोग वा समर्थन आवश्यक पर्छ भने हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्।