मुगु- मुगुको खत्याड गाउँपालिका-९, नर्खजी गाउँमा विगत एक सातादेखि फैलिएको भाइरल ज्वरोले चार सय भन्दा बढी बिरामी परेका छन्।
फागुन ७ गतेदेखि सुरु भएको भाइरल प्रकोपले बालबालिका, महिला र वृद्धवृद्धाहरू सबैभन्दा बढी प्रभावित छन्।
गाउँ नै बिरामीले थला परिरहेका बेला स्थानीय स्वास्थ्य चौकी भने 'रित्तो' अवस्थामा छ।
स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार अहिले त्यहाँ १० पत्ता सिटामोल मात्र बाँकी छ र उनी एक्लैले बिरामीको दर्तादेखि परीक्षणसम्मको भार थामिरहेका छन्। उपचारका लागि रातापानीबाट गएका डाक्टर विकास धितालको टोली समेत आफैँ ज्वरोको सिकार भएपछि फर्कनुपर्ने अवस्था आएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गाउँमा उम्मेदवारहरू 'स्वास्थ्य र शिक्षा'को आकर्षक नारा लिएर भोट माग्न त पुगिरहेका छन्, तर गाउँलेहरू औषधिको अभावमा छटपटाइरहँदा ठोस राहतका लागि कसैले पहल नगरेको स्थानीयको गुनासो छ।
गाउँपालिकाले नेपालगञ्जबाट औषधि ल्याउने तयारी गरिरहेको दाबी गरे पनि जिल्ला अस्पताल मुगुले भने 'औपचारिक माग' नाआएको जानकारी दिएको छ।
एकातिर प्रकोप छिमेकी बस्तीहरूमा तीव्र गतिमा फैलिने जोखिम बढ्दो छ भने अर्कोतिर दीर्घरोगीहरूका लागि यो ज्वरोले थप जटिलता निम्तयाउने खतरा छ।