जेन–जी विद्रोहपछि देश चुनावमय बनेको छ। जनता फेरि पनि आशा र भरोसाका साथ निर्वाचनमा सहभागी हुँदैछन्। भौतिक विकास जति आवश्यक छ, त्यत्तिकै स्वास्थ्य र शिक्षा प्रणालीको सुधार र विकास पनि अनिवार्य छ। तर स्वास्थ्य प्रणाली कस्तो हुनुपर्छ र कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा अपेक्षाकृत कम बहस हुने गरेको देखिन्छ। आउनुहोस्, विभिन्न देशका अनुभवसँगै नेपालको स्वास्थ्य प्रणालीबारे चर्चा गरौँ।
म अध्ययनका लागि रूस जाँदै गर्दा नेपालमा “रूसको एमबीबीएस” लाई उच्च मूल्यांकन गरिँदैनथ्यो। तर भाग्यले जुरेपछि कसले रोक्न सक्छ र? सन् २००८ तिर, अरू पाँच जना साथीहरूसहित अनेक जिज्ञासा बोकेर म रूस पुगेँ। त्यहाँ अध्ययन गर्दै जाँदा मुटु प्रत्यारोपण, जटिल शल्यक्रिया, क्यान्सर उपचार, न्युरोसर्जरी लगायत धेरै क्षेत्रमा रूस अग्रस्थानमा रहेको थाहा पाएँ। त्यतिबेलै मैले नेपालमा सुनिने सबै कुरा सहजै विश्वास गर्न नहुने पाठ सिकेँ।
अब स्वास्थ्य प्रणालीको कुरा गरौँ।
रूसको अनुभव
रूसमा सबै नागरिकका लागि अनिवार्य स्वास्थ्य बीमा (Compulsory Medical Insurance) हुन्छ। यही बीमामार्फत सरकारी अस्पतालमा अधिकांश उपचार निःशुल्क हुन्छ। नागरिकले तिरेको कर स्वास्थ्यमा लगानी गरिएकाले यो सम्भव भएको हो। जटिल रोग लागेमा कहाँ लैजाने र कसरी उपचार गर्ने भन्ने चिन्ता नागरिकले लिनु पर्दैन। शिक्षा निःशुल्क छँदैछ, स्वास्थ्य पनि लगभग निःशुल्क हुँदा सामान्य आम्दानीमै जीवनयापन सहज हुन्छ।
रूसले वार्षिक बजेटको करिब ८–१० प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गर्छ। प्रत्येक १००० नागरिकका लागि करिब ४–५ जना डाक्टर कार्यरत छन्, जुन उच्च मानिन्छ। आपतकालीन एम्बुलेन्स सेवाका लागि मोबाइलबाट ०३ वा ल्याण्डलाइनबाट १०३ डायल गर्दा औसत १५–२० मिनेटमा सेवा पुग्छ। ९० प्रतिशतभन्दा बढी अस्पताल सरकारी छन्, र धेरैजसो अवस्थामा सरकारी अस्पताल नै सेवा र सुविधामा निजीभन्दा राम्रो देखिन्छ। बिरामी अभिलेख धेरैजसो विद्युतीय प्रणालीमा भए पनि पूर्ण रूपमा डिजिटल प्रणाली लागू भइसकेको छैन, हाम्रो जस्तै हस्तलिखित रेकर्ड पनि भेटिन्छन्।
क्यानाडाको अनुभव
स्वास्थ्य सेवा एउटा निरन्तर विकासमान क्षेत्र हो। यसलाई अझ प्रभावकारी र वैज्ञानिक कसरी बनाउने भन्ने विषयमा निरन्तर अनुसन्धान भइरहेका हुन्छन्। सरकारले यसमा ठूलो लगानी गर्छ।
क्यानाडाको सबैभन्दा ठूलो अनुसन्धान संस्थान (UHN) मा अनुसन्धानकर्ता भएर काम गर्दा विकसित देशहरूले स्वास्थ्यलाई कति प्राथमिकता दिन्छन् भन्ने प्रत्यक्ष देख्न पाइयो। उनीहरू २५–५० वर्षपछि देखिन सक्ने समस्यासमेत अध्ययन गर्छन्। उपचारभन्दा गुणस्तर, र उपचारभन्दा पनि रोग रोकथामलाई किन र कत्तिको महत्व दिइन्छ भन्ने कुरा त्यहाँ बुझ्न पाइयो।
टोरोन्टोको अग्लो भवनको निलो सिसाबाट बाहिर हेर्दै म बेला–बेला नेपाल सम्झिन्थेँ, हामीलाई त स्वास्थ्यको आधारभूत संरचना नै मजबुत बनाउन बाँकी छ, सुधार गर्न सकिने ठाउँहरू असंख्य छन्।
अमेरिकाको अनुभव
जिन्दगीको यात्राले अमेरिकासम्म ल्याएपछि यहाँको स्वास्थ्य प्रणालीलाई नजिकबाट नियाल्ने अवसर मिल्यो। धेरै कुरामा यो क्यानाडासँग मिल्दोजुल्दो भए पनि केही महत्वपूर्ण फरक छन्।
अमेरिकामा अधिकांश नागरिकको स्वास्थ्य बीमा रोजगारदातामार्फत हुन्छ। बीमाले धेरै खर्च बेहोर्छ, तर क्यानाडाजस्तो पूर्ण रूपमा होइन—केही रकम बिरामीले आफैं तिर्नुपर्छ। उच्च आम्दानी भएका व्यक्तिलाई समस्या कम भए पनि धेरै नागरिकलाई खर्चको चिन्ता रहिरहन्छ।
सरकारले Medicare मार्फत ६५ वर्षभन्दा माथिका र केही रोगीको उपचार खर्च बेहोर्छ भने Medicaid मार्फत न्यून आम्दानी भएका नागरिक र गर्भवती महिलालाई सहयोग गर्छ। त्यसैले बीमा नभए उपचारै नपाउने अवस्था सामान्यतया हुँदैन। आपतकालीन अवस्थामा बीमा भए–नभए पनि अस्पतालले उपचार गर्नैपर्छ; तर खर्चको बिल पछि बिरामीको ठेगानामा पठाइन्छ।
पैसा तिर्न सक्ने व्यक्तिले अमेरिकामा क्यानाडाभन्दा छिटो सेवा पाउँछन्, त्यसैले केही क्यानाडेली नागरिक उपचारका लागि अमेरिका जाने गर्छन्। अमेरिकामा प्रत्येक १००० नागरिकमा करिब २.६ डाक्टर छन् र करिब ८० प्रतिशत अस्पताल निजी छन् (तर धेरै नाफामुखी होइनन्)। स्वास्थ्य क्षेत्रमा कुल खर्च जीडीपीको करिब १७–१८ प्रतिशत पुग्छ।
नेपालको अवस्था
स्वास्थ्य प्रणालीबारे विस्तृत लेख्दा किताबै बन्न सक्छ। तर अहिले चुनावी माहोल हुँदा पनि स्वास्थ्यबारे पर्याप्त बहस नहुनु चिन्ताजनक छ।
नेपालमा १००० नागरिकमा एक जना डाक्टरसमेत छैन। बजेटको करिब ५ प्रतिशत मात्रै स्वास्थ्यमा छुट्याइन्छ। सेवाको गुणस्तर कसरी नियमन गर्ने भन्ने स्पष्टता छैन। धेरै नियुक्ति अझै पनि क्षमता भन्दा राजनीतिक भागबण्डामा आधारित हुन्छन्। स्वास्थ्य बीमाको प्रक्रिया धेरैलाई सुविधाभन्दा झन्झटजस्तो लाग्छ। अनुसन्धान न्यून छ, स्वास्थ्यकर्मी र बिरामीबीच विश्वासको संकट छ।
कम सेवा–सुविधा, असुरक्षा र अवसर अभावका कारण धेरै डाक्टर–नर्स विदेशिन बाध्य छन्। स्वास्थ्यकर्मीको मनोबल घटिरहेको छ। प्रश्न यही हो—यो सबै सुधार्ने कसले, कसरी र कहिले?
यो विषयमा व्यापक बहस होस् भन्ने अपेक्षासहित आफ्ना अनुभव र धारणा राख्दै छु।
(स्वास्थ्य सेवा र प्रणाली सम्बन्धी शोधकर्ता)