तेहरान– इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधनको खबर त्यहाँको सरकारी टेलिभिजनले सार्वजनिक गरेको छ।
यसअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए ।
तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
खामेनीको निधनको औपचारिक जानकारीसँगै इरान सरकारले देशभर ४० दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।
यस शोक अवधिको अवधिमा इरानमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ भने देशभर विभिन्न शोक कार्यक्रमहरू आयोजना गरिनेछन्।
८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा शक्तिशाली पदमा थिए। उनको निधनको खबर सार्वजनिक भएसँगै इरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने समर्थकहरू सडकमा निस्किएर शोक व्यक्त गरिरहेका छन्। उनी इजरायल र अमेरिकाको संयुक्त कारबाहीमा मारिएका हुन् ।
हमलामा सर्वोच्च नेता आयतुल्लाह अली खामेनीकी छोरी, ज्वाइँ र नातिको मृत्यु भएको जनाएको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग सम्बन्धित फार्स समाचार एजेन्सीले उल्लेख गरेको छ कि यी आक्रमणमा खामेनीका परिवारका सदस्यहरू मारिएका हुन्।
फार्सले थप उल्लेख गरेको छ, “यी हमलामा खामेनीकी एक बुहारीको पनि मृत्यु भएको बताइँदैछ।”
यसअघि केही समाचारमा उनकी बुहारी र ज्वाइँको मृत्यु भएको दाबी गरिएको थियो, तर पछि त्यसलाई अस्वीकार गरिएको थियो।