काठमाडौं- व्यवस्थापकीय कमजोरी, सरकारको कम प्राथमिकता, ऐनको कमजोर कार्यान्वयन लगायतका कारणबाट ‘थला’ पर्न लागेको स्वास्थ्य बीमा कार्यक्रमलाई तत्कालका लागि राहत दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना २२ वटा विभिन्न कार्यक्रमको बजेट कटौती गरेको छ। मन्त्रालयले ती कार्यक्रमका लागि छुट्याइएको कुल ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरी स्वास्थ्य बीमा बोर्डलाई उपलब्ध गराएको हो।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक अस्पतालहरूलाई तिर्नुपर्ने बक्यौता रकम गत साउनयता मात्रै १० अर्ब रुपैयाँ नाघिसकेको छ। बजेट अभावका कारण ठूला सरकारी अस्पतालहरूले समेत बीमा सेवा बन्द गर्ने चेतावनी दिन थालेपछि सरकार दबाबमा परेको थियो।
बोर्डले यसअघि नै आफ्नो प्रिमियम संकलन र अर्थ मन्त्रालयबाट प्राप्त थप १ अर्ब गरी करिब १४ अर्ब रुपैयाँ पुरानो दायित्व भुक्तानीमा खर्च गरिसकेको छ। प्रधानमन्त्रीको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले कम प्रभाव पर्ने आफ्ना साना-ठूला कार्यक्रम रोकेर बीमालाई भरथेग गर्ने निर्णय गरेको हो।
मन्त्रालयले ५ लाख रुपैयाँका साना कार्यक्रमदेखि अस्पताल सञ्चालनका लागि राखिएको ५० करोड रुपैयाँसम्मको बजेट बीमा बोर्डतर्फ मोडिदिएको छ। जसमा वैदेशिक रोजगारीबाट फर्किएकाहरूको स्वास्थ्य परीक्षण, डिजिटल हेल्थ, सरसफाई र पाहुना सत्कार जस्ता बजेट शीर्षकहरू परेका छन्।
कुन शिर्षकबाट कति रकम?
१. निर्माण सम्पन्न आधारभूत अस्पताल सञ्चालन खर्च रु. ५० करोड
२. क्षयरोगमुक्त स्थानीय तह अभियान रु. १३ करोड २५ लाख
३. भरतपुर र गेटा अस्पतालमा एमबीबीएस कार्यक्रम सञ्चालन रु. ५ करोड
४. वैदेशिक रोजगारीमा जाने/फर्कने श्रमिकको स्वास्थ्य परीक्षण तथा टेलिमेडिसिन रु. १ करोड
५. डिजिटल हेल्थ कार्यक्रम रु. ९० लाख
६. दुर्गम जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर रु. ९० लाख
७. हेल्थ फाइनान्सिङ एण्ड प्लानिङ सम्बन्धी कार्यक्रम रु. ४८ लाख ३७ हजार
८. हेल्थ आईडी मापदण्ड, गाइडलाइन र ड्यासबोर्ड निर्माण रु. ३६ लाख
९. बहुक्षेत्रीय सरोकार (कृषि, वातावरण, पर्यटन आदि) बैठक र अनुगमन रु. ३२ लाख
१०. दुर्गममा विशेषज्ञ चिकित्सक सेवा विस्तार (प्रतिष्ठान र अस्पतालको सहकार्य) रु. ३० लाख
११. विदेशबाट फर्किने श्रमिकको पूँजी परिचालन रणनीति तयारी रु. २८ लाख ५० हजार
१२. सरकारी अस्पतालको मेडिकल इक्युपमेन्ट अडिट रु. २८ लाख १० हजार
१३. न्यूनतम सेवा मापदण्ड रु. २५ लाख
१४. जलवायु स्वास्थ्य सम्मेलन र कार्यक्रम रु. २० लाख
१५. स्वास्थ्य सूचना प्रणाली सुदृढीकरण (सफ्टवेयर निर्माण) रु. १५ लाख
१६. अस्पताल, प्रयोगशाला तथा आईभीएफ सेन्टर इजाजत/नवीकरण अनुगमन रु. १५ लाख
१७. जनसंख्या विकास सम्बन्धी कर्मचारी तालिम रु. १४ लाख
१८. आयुर्वेद तथा वैकल्पिक चिकित्सा संगठन संरचना र विधेयक तयारी रु. १४ लाख
१९. स्कोर कार्डका आधारमा स्वास्थ्य निकायलाई प्रोत्साहन रु. १३ लाख ५० हजार
२०. संघीय अस्पतालको एमआरआई सेवामा एआई प्रयोग अध्ययन रु. ९ लाख
२१. संघीय अस्पतालको फायर अडिट रु. ५ लाख
२२. विदेशी पाहुना तथा कुटनीतिक व्यक्तिहरूको स्वागत सत्कार रु. ५ लाख
कुल जम्मा रकमान्तर रकम रु. ७५ करोड ९ लाख १२ हजार