काठमाडौं - दन्त स्वास्थ्यप्रति हामी कमै मात्र ध्यान दिन्छौ। दन्त समस्याले जबसम्म हाम्रो दैनिकीलाई असर पुर्याउँदैन, तबसम्म हामी अस्पताल जान खोज्दैनौ।
यद्यपि पहिलाको तुलनामा दन्त स्वास्थ्यप्रतिको सहजता केही बढ्दै गएको छ। दाँतमा किरा लाग्ने, गिजाबाट रगत आउने, दाँत बांगोटिगो लगायत समस्या बढी देखिने गरेको चिकित्सकहरु बताउँछन्।
नेपालीहरुमा दन्त स्वास्थ्य सम्बन्धी रहेको चेतना अवस्था, बालबालिकाको दाँतमा बढी आउने समस्या र त्यसको निदान लगायतका विषयमा हामीले अर्थाेडोन्टिक विशेषज्ञ डा संजय प्रसाद गुप्तासँग कुराकानी गरेका छौँ। डा गुप्तासँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :
नेपालीहरु दन्त स्वास्थ्यमा कति सचेत पाउनु भएको छ ?
पहिलाको तुलनामा दन्त स्वास्थ्यमा नेपालीहरु सजग भएको पाईन्छ। हाल नेपालीहरुको शैक्षिकस्तर पनि बढेको तथा दन्त उपचारमा संलग्न विज्ञ जनशक्ति पनि बढ्दै गएकोले दन्त स्वास्थ्यमा पछिल्लो समय सजगता बढ्दै गएको पाईन्छ।
अस्पतालसम्म आइपुग्ने बिरामीमा दाँतमा किरा लागेको, गिजाबाट रगत आउने, दाँत बांगोटिगो लगायतका समस्या बढी मात्रामा देखिएको छ। दाँत सफा नराखेमा दन्त लेउको मात्रामा बढ्दै जान्छ, जसले डेन्टल केरिज्को सम्भावना बढाउन सक्छ। जसले गिजाको इन्फेक्सन हुन्छ र गिजामा अन्य समस्या पनि आउन सक्छ।
के दाँत सम्बन्धी समस्या उमेर अनुसार पनि फरक फरक प्रकारका हुन्छन् ?
सामान्यतया बालबालिकाहरुमा डेन्टल केरिज्को समस्या बढी हुने गरेको पाइएको छ। उमेर ढल्कदै गएपछि भने दाँत हल्लने समस्या बढी हुन्छ। त्यस्तै वयस्क मानिसहरुमा डेन्टल केरिज्, बांगोटिंगो दाँतको समस्या, गिजाको समस्या हुने गर्छ। दाँत राम्रोसँग सफा नराख्दा दन्तलेउले विभिन्न प्रकारका ब्याक्टेरिया उत्पादन गरी लामो समय पश्चात् दाँतमा किरा लाग्ने समस्या हुन सक्छ। नियमित रुपमा दन्त चिकित्सक कहाँ परीक्षणमा जाँदा दाँतमा किरा लाग्नु अगाडि नै थाहा पाउन सकिन्छ। दाँतमा किरा लागिसकेपछि सुरुवातमा उक्त दाँतलाई भरिन्छ। नशाको नजिक भएको त्यो बढी संवेदनशील हुन सक्छ। यदि पल्भमा नै छोइसकेको अवस्था हो भने रुट क्यानल ट्रिटमेन्ट गरिन्छ।
किरा लागेको दाँतलाई उपचार गर्नुभन्दा निकालेर फाल्नु नै उचित भन्ने आम बुझाई छ, के यो सही हो ?
किरा लागेका दाँतलाई निकाल्ने फाल्नु सही होइन। किरा लागेको दाँतलाई उपचार गरेर बचाउनेतर्फ लाग्नु उचित हो। दाँत किराले खाएको सुरुवाती अवस्था हो भने भरेमा उक्त दाँतलाई बचाउन सकिन्छ। यदि नशासम्म पुगेको तथा दुखेको अवस्थामा पनि रुट क्यानल ट्रिटमेन्ट गरेर दाँतलाई जोगाउन सकिन्छ। दाँत निकालिसकेपछि नयाँ दाँत राख्नु महँगो पनि हुन्छ।
बालबालिकाले चकलेट जस्त गुलियो खानेकुराहरु धेरै खान्छन्। यसले दाँत बिग्रनमा कस्तो भूमिका खेल्छ ?
कतिपय बच्चाहरुलाई रातीमा दूधमा चिनी मिसाएर खुवाउने र सुताउने गरिन्छ। यसले कार्बाेहाइड्रेटलाई अम्लमा परिवर्तन गर्छ। बच्चाहरुलाई राती यसरी दूध खुवाउने तथा चक्लेट खाइसकेपछि कुल्ला मात्रै गराएमा दाँत सम्बन्धि धेरै समस्या आउनबाट जोगाउन सकिन्छ।
बच्चाको दाँत जोगाउनका लागि यसको अलावा राम्रोसँग ब्रस गर्नु तथा गुलियो खानेकुरा खाइसकेपछि कुल्ला गर्नु अत्यावश्यक छ। सकेसम्म रोकथामका उपायमा ध्यान दिनु राम्रो मानिन्छ। दाँत जोगाउनका लागि दाँत माझ्ने सही तरिका हुन्छ। दाँतलाई ब्रसले ४५ डिग्रीको एंगलमा राखेर कम्तीमा पनि २ मिनेट ब्रस गर्नुपर्ने हुन्छ। जसले दाँतको लेउ निस्किनुका साथै ब्याक्टेरियाहरु पनि निकाल्ने सहयोग पुग्छ। बालबालिकाका लागि सामान्यतया फ्लोराइड भएको टुथपेस्टको प्रयोग राम्रो हुँदैन। कम्तीमा पनि २ वर्षसम्म बच्चालाई फ्लोराइड नभएको टुथपेस्टका प्रयोग गराउनुपर्छ।
दाँतमा समस्या आउँदा कुन अवस्थामा निकालेर फाल्ने गरिन्छ ? र, त्यसका लागि के कस्ता होसियारी अपनाउन आवश्यक छ ?
दाँत किराले खाइसकेपछि नशालाई समेत असर गरेको अवस्थामा यसलाई निकालेर फाल्ने गरिन्छ। यद्यपि कोही कसैलाई दीर्घकालीन रुपमा स्वास्थ्य समस्या भएमा अझै बढी सावधानी अपनाएर दाँत निकाल्ने गरिन्छ। बांगोटिगो दाँतलाई सफा गर्न कठिन हुन्छ। जसकारण दाँतमा किरा लाग्ने तथा गिजाको समस्या पनि बढी हुन्छ। त्यसकारण बांगोटिगो दाँत सुन्दरताका हिसाबले मात्र नभई रोग लाग्न नदिनका लागि पनि मिलाउन आवश्यक छ।
दाँत मिलाउनका लागि विभिन्न प्रकारका प्रविधिहरुको प्रयोग हुँदै आइरहेको छ। बच्चाहरुमा दाँत मात्रै बिग्रिएको अवस्थामा १२–१४ वर्षको उमेरमा मिलाउनु राम्रो हो। यद्यपि वयस्क अवस्थामा पनि गर्न सकिन्छ। दाँत वरिपरिको बनावट राम्रो भएमा जुनसुकै उमेरमा पनि नमिलेको दाँतलाई मिलाउन सकिन्छ। दाँत मिलाउनका लागि समस्याका आधारमा समय लाग्छ।
दाँतमा समस्या आउनै नदिनका लागि कस्तो हेरचाह आवश्यक छ ?
समस्या आएर दाँतको उपचार गराउनुभन्दा रोकथामले नै राम्रो गर्छ। दाँतमा समस्या आउन नदिनका लागि गुलियो खानेकुरा कम खानुपर्छ। फ्लोराइडयुक्त टुथपेष्टले दिनको २ पटक सम्म सही तरिकाले ब्रस गर्ने, खाना दाँतमा अड्किएमा डेन्टल फ्ल्सको प्रयोग गर्ने तथा खाना खाइसकेपछि कुल्ला गर्ने बानी बसाल्नुपर्छ। धुम्रपान तथा मद्यपानले पनि दाँत बिगारिरहेको हुन्छ। त्यसकारण सकेसम्म यस्ता पदार्थको सेवन गर्नुराम्रो मानिदैन। दाँतमा कुनै समस्या आएमा दन्त चिकित्सकको सल्लाहमा मात्रै काम गर्नुपर्छ।
दाँतको उपचारमा प्रयोग गरिने अर्थाेडोन्टिक प्रविधि के हो ?
अर्थाेडोन्टिक विशेषज्ञ भएको १५ वर्ष भइसकेको छ। त्रिवि शिक्षण अस्पतालमा सेवा दिन लागेकै झन्डै एक दशक भइसकेको छ। दाँतको मात्रै नभई अनुहारका कुनै भागमा भएको हड्डीको समस्यालाई समाधान गर्नु पनि अर्थाेडोन्टिकको कार्य हो। दाँत खप्टेको तथा बीचमा खाली ठाउँ भएमा, हड्डीभित्र दाँत भएको अवस्थामा, तल र माथिको दाँत मिलेको छैन भने अर्थाेडोन्टिक विशेषज्ञलाई भेट्न मेरो सल्लाह छ। बिरामी हामी कहाँ आएपछि विभिन्न परीषण गरिसकेपछि अर्थाेडोन्टिक उपचार आवश्यक भए नभएको यकिन गरिन्छ।