काठमाडौं - धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सञ्चालक समिति अध्यक्षमा इञ्जिनियर दीपक कुँवर चौँथो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्। बिहीबार सम्पन्न अस्पतालको १४औँ वार्षिक साधारणसभाले कुँवरलाई आगामी चार वर्षका लागि पुनः नेतृत्वको जिम्मेवारी सुम्पेको हो। अस्पताल स्थापना भएदेखि नै नेतृत्व सम्हाल्दै आएका कुँवरको यो निरन्तर चौँथो कार्यकाल हो।
नयाँ कार्यकालका लागि चुनिएलगत्तै अध्यक्ष कुँवरले ग्राण्डीलाई विश्वस्तरीय उपचारको भरपर्दो गन्तव्यका रूपमा स्थापित गर्ने अठोट व्यक्त गरे। उनले विगतका चुनौतीहरूलाई चिर्दै अस्पताल अब आर्थिक रूपमा सुदृढ अवस्थामा पुगेको जानकारी दिए। 'हामी यसै आर्थिक वर्षभित्र संस्थागत ऋणमुक्त हुने लक्ष्यमा छौँ,' अध्यक्ष कुँवरले भने, 'अबको प्राथमिकता शेयर सदस्यहरूको लगानीको सुरक्षा र उचित मुनाफा सुनिश्चित गर्नु हुनेछ।'
साधारणसभाले कुँवरको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत चयन गरेको छ। समितिका सदस्यहरूमा इञ्जिनियर विजय राजभण्डारी, डा. सुनिलराम बैद्य, सुरुची ज्योति, फुर्पा दोर्जे लामा र निता शाही निर्वाचित भएका छन्।
वि.सं. २०६९ मा टोखा नगरपालिका वडा नं. ८, धापासीमा स्थापना भएको ग्राण्डी अस्पतालले नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। २८ रोपनी क्षेत्रफलमा फैलिएको यस अस्पतालले हाल २०० शैयामार्फत बिरामीलाई सेवा दिइरहेको छ। अस्पतालमा झण्डै एक हजारको संख्यामा चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीहरू कार्यरत छन्।