काठमाडौं- नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरले निःशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ। साम्बाले आफ्नो घुँडाको पुनः शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल गरेलगत्तै ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रुद्र मरासिनीले यस्तो प्रतिबद्धता जनाएका हुन्।
उनले साम्बाको उपचारका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा र सचिव डा विकास देवकोटासँग यस विषयमा कुराकानी गरेपछि निशुल्क उपचारको प्रस्ताव गरेका हुन्।
‘पैसा खोज्दै विदेश जानु पर्दैन’ डा. मरासिनीले सञ्चार माध्यममा आएका समाचारप्रति स्वास्थ्य मन्त्री र सचिवको समेत ध्यानाकर्षण भएको जनाउँदै साम्बाको उपचार स्वदेशमै सम्भव रहेको जानकारी दिए।
'घुँडाको लिगामेन्ट (ACL/PCL लगायत) को अपरेशन राष्ट्रिय ट्रमा सेन्टरमा नियमित र निकै सस्तो मूल्यमा हुँदै आएको छ,' उनले भने, 'हामीले थुप्रै खेलाडीहरूको सफल अपरेशन गरिसकेका छौँ। यसका लागि पैसा खोज्दै विदेश जानु पर्दैन।'
प्रमुख मेसु डा. मरासिनीले साम्बाले विश्वास गरेमा सेन्टरले उत्कृष्ट परिणामसहित पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गर्न तयार रहेको जानकारी दिए।
यसअघि सोमबार साम्बाले एक सार्वजनिक सूचना जारी गर्दै आफू गम्भीर चोटका कारण सात हप्तादेखि मैदानबाहिर रहेको र पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था आएको जानकारी दिएकी थिइन्। उनका अनुसार अघिल्लो पटक गरिएको एसीएल शल्यक्रियाको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ।
अघिल्लो पटक अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपचारमा सहयोग गरे पनि यसपटक भने प्रतिबद्धता अनुसारको सहयोग नपाएको उनको गुनासो छ। उपचार खर्चिलो हुने भएपछि बाध्य भएर आर्थिक सहयोगका लागि अपिल गर्नुपरेको साम्बाले उल्लेख गरेकी छिन्।
यसअघि उनको उपचार कतारस्थित एक अस्पतालमा गरिएको थियो। चोट गम्भीर रहेकाले पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा रहेको उनले बताएकी छन्। क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने तयारी गरे पनि शल्यक्रिया र ७–८ महिनाको पुनर्स्थापनाका लागि आवश्यक करिब ८० हजार अमेरिकी डलर खर्च अपुग हुने देखिएको छ।
हाल न्युजिल्यान्ड र अष्ट्रेलियामा क्लब फुटबल खेल्दै आएकी भण्डारीले देशका लागि सधैं शतप्रतिशत दिएको र आगामी दिनमा पनि नेपालको जर्सी लगाएर फर्कने दृढता व्यक्त गरेकी छन्। उनले नेपाल तथा विदेशमा रहेका समर्थकलाई बैंक, क्यूआर कोड तथा अनलाइन लिंकमार्फत सहयोग गर्न आग्रह गरेकी छन्।