मनुष्यको जीवन सबैको एउटै हुँदैन। तर जीवनको मूल्य, मान्यता र विचार प्रणालीले सिङ्गो समाजलाई दर्शाउने गर्छ। समाज कसरी सञ्चालन हुन्छ भन्ने कुरा समाजको विचार प्रणालीमा निकै निर्भर गर्छ। अझ सूक्ष्म रूपमा केलाउने हो भने, व्यक्तिको स्थापित बानी-व्यहोरामा समस्त समाजको आधारशिला तयार हुन्छ। के व्यापारिक युगमा लोककल्याणकारी भावनाले ओतप्रोत समाजको कल्पना गर्न सकिन्छ?
कैलालीको एउटा दुर्गम बस्तीकी किशोरीलाई ज्वरो आएपछि उनकी आमाले विभिन्न अस्पताल धाउँछिन्। सो क्रममा रोग त पत्ता लाग्दैन, तर मजदुरी गरेर कमाएको करिब एक लाख रुपैयाँ केही दिनमै सकिन्छ। कैलालीमा उपचार सम्भव नभएपछि उनीहरू काठमाडौँ आउँछन्। उनकी आमाले एक महिनासम्म चन्दा उठाएर बल्ल वीर अस्पतालसम्म आउने खर्च जुटाएकी रहिछन्, जुन कुरा सुन्दा नै मन विझ्छ। देशको एउटा यस्तो स्वास्थ्य संस्था, जहाँ विशेष उपचारका लागि प्रेषण (Refer) गरिएका विपन्न बिरामीलाई पैसाको आवश्यकता नपर्ने पद्धति किन बन्न नसकेको होला? हाम्रो समाजले एउटा मजबुत स्वास्थ्य बिमा प्रणालीको विकास कहिले गर्ला?
हुन त "विपन्न" भनेर दिइने एक लाख रुपैयाँको आर्थिक सहयोग पाउन नेपाली नागरिक भए पुग्छ। धन हुने र नहुने सबैको बराबर अधिकार हुन्छ। तर, हाम्रो स्वास्थ्य बिमा प्रणाली अझै पनि वास्तविक बिमाको सिद्धान्तमा चलेको देखिँदैन। हालै उदाएका नयाँ राजनीतिक दलहरूको एजेन्डामा यस्ता गम्भीर विषयमा बहस भइरहेको होला त?
एक महिनाको निरन्तर ज्वरोले ती किशोरीको शरीर थलिएको छ। किशोरावस्थामा हुने स्वाभाविक ऊर्जा र कान्ति रोगका कारण हराएको छ। उनले मनमा अनेक सपना बुनेकी थिइन् होला, तर अचानक देखिएको असाध्य रोगले ती सबै इच्छाहरू तुहिने अवस्थामा छन्। अस्पतालमा बल्लतल्ल उनको रोग पत्ता लाग्यो— मिर्गौलालाई विशेष असर गर्ने बाथको रोग, अर्थात् SLE (Systemic Lupus Erythematosus)। SLE को उपचार असामान्य अवस्थामा निकै कठिन हुन्छ। उनी अस्पताल भर्ना भएकै अर्को दिन उनको मोबाइल चोरी हुन्छ। उनी रुँदै भन्दै थिइन्, "मोबाइल पनि चोरी हुन्छ भन्ने त थाहै थिएन।" कस्तो निर्दोष सोच! त्यो मोबाइल चोर्ने मान्छेको नैतिकता कति गिरेको होला? ऊ पापी थियो कि ती किशोरीभन्दा पनि विपन्न? तर प्रश्न त उठ्छ नै— अस्पताल जस्तो ठाउँमा समेत चोरी गर्ने मानिसहरू यो समाजमा कसरी हुर्किन्छन्? के यो संस्कारको कमीले गर्दा भएको हो?
उनको उपचारमा अनेकौँ उल्झनहरू छन्। मिर्गौलाको समस्याका कारण डायलासिस गर्नुपर्ने हुन्छ। डायलासिस गर्दा बिरामीको कुरुवा बस्नु अर्को सास्ती हो। उनको यो रोगले ठुलो आर्थिक, भौतिक र मनोवैज्ञानिक समर्पण खोजेको छ, जसमा उनकी आमा एक्लै लडिरहेकी छन्। ती आमा सधैँ भक्कानिएर रोइरहन्छिन्।
जब उनी Echocardiography (Echo) गर्ने पालोमा आइपुगिन्, उनलाई बेडमा सुत्न र कोल्टो फेर्न समेत गाह्रो भइरहेको थियो। मैले 'इको' गर्दै गर्दा बिस्तारै सोध्न थालेँ। उनकी आमाले आफ्नो कथा भन्न थालिन्, "मेरी छोरी यस्तो थिइन। के रोग लाग्यो दैवले जानुन्! चन्दा उठाएर ल्याएकी हुँ। नेपालगन्जमै एक लाख सकियो, रोग पत्ता लागेन। यहाँ मोबाइल पनि चोरी भयो। सम्पत्तिको नाममा दुई कट्ठा जमिन छ, त्यो पनि अब बेच्नुपर्ने भो..." यति भन्दै गर्दा उनी डाँको छोडेर रोइन्। मेरा हात काँपे। केही समय म नि:शब्द भएँ। अरू प्रश्न सोध्ने आँट पलाएन। आफ्नै अहम्का कारण आँखाबाट आँसु त झर्न दिइनँ, तर मन भने निकै रोयो।
रोग लागेपछि एक लाख रुपैयाँ सकिन धेरै समय लाग्दैन। तर, विपन्नको सिफारिस दिने निकायले उनीहरूलाई स्वास्थ्य बिमा गर्ने सल्लाह दिन सक्दैनथ्यो र? त्यति धेरै चिकित्सक र स्वास्थ्यकर्मीसँग भेट हुँदा पनि त्यो परिवारलाई बिमाको बारेमा कसैले बुझाएन होला र?
यस्तै प्रश्नहरू मनमा उब्जिरहेका थिए। रिपोर्ट दिएर पठाउने बेला उनले सोधिन्, "मेरो छोरीको मुटु कस्तो छ?" बाथले मुटुमा पनि असर गरेको देखिन्थ्यो। मैले सान्त्वना दिँदै भनेँ, "तपाईँको मुटु बलियो भयो भने उनको मुटु पनि तङ्ग्रिन्छ।"
उनीहरूले पैसा तिरेको बिल त्यहीँ छुटेछ। 'इको' को त्यो बिलले मलाई गिज्याइरहेको झैँ लाग्यो। रकम खासै धेरै त थिएन, तर उनीहरूका लागि त्यही रकम पनि भारी थियो। मेरो सहयोगी नर्सले पनि यो पीडा महसुस गरिरहेकी थिइन्। बिलमा प्रशासनले गरेको २० प्रतिशत छुट देख्दा प्रशासनको विश्लेषण क्षमतामा प्रश्न गर्ने कि बाध्यतामा? लोकतन्त्रको अभ्यास भएको यतिका वर्षसम्म पनि आर्थिक प्रगति नहुनु र जनताको क्रयशक्ति कमजोर रहनु नै मुख्य समस्या हो कि?
उनको उपचारको खर्च त्यो परिवारले धान्न सक्ने देखिँदैन। रोग नियन्त्रणमा आओस् भन्ने कामना मात्र गर्न सकिन्छ, किनकि यो रोग जरैदेखि निको हुने प्रकृतिको छैन। रोगले जर्जर बनेको शरीरमा बाँच्ने इच्छा (जीजिविषा) कति रहला, त्यो अर्को प्रश्न हो। उनको परिवारले आगामी दिनमा धेरै आर्थिक, सामाजिक र मानसिक चुनौतीहरूको सामना गर्नुपर्ने निश्चित छ। आर्थिक अभावकै कारण बिचमै उपचार रोकिन सक्ने प्रबल सम्भावना छ। फेरि अर्को कथाको नमीठो अन्त्य देख्न नपरोस् भन्ने मेरो सदिच्छा छ।
हामी महान् छौँ भनेर मात्र कोही महान् हुँदैन। जन्मिँदैमा पनि कोही महान् हुँदैन। महान् हुनका लागि कार्य पनि महान् हुनुपर्छ। वर्तमान राजनीतिमा उदाउँदै गरेका पात्रहरूलाई बोली र वचनले भन्दा पनि कार्य क्षमताले 'महान्' भन्न पाइयोस्।