जलवायु परिवर्तन आज विश्वव्यापी संकटको रूपमा देखा परेको छ। तापक्रम वृद्धि, अनियमित वर्षा, बाढी, पहिरो, खडेरी र डढेलोजस्ता प्राकृतिक विपद्हरूको आवृत्ति बढ्दै गएको छ। यी परिवर्तनहरूले वातावरण मात्र होइन, मानव स्वास्थ्य (विशेषगरी प्रजनन् स्वास्थ्य) र समाजका सीमान्तकृत समूहहरू जस्तै महिला, गर्भवती महिला, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा गरिब समुदाय)मा गहिरो असर पारिरहेका छन्।
सबैभन्दा पहिले, जलवायु परिवर्तनले सामान्य स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। बढ्दो तापक्रमले हीट स्ट्रोक, डिहाइड्रेसन तथा हृदयसम्बन्धी रोगहरूको जोखिम बढाउँछ। अनियमित वर्षा र बाढीका कारण डेंगु, मलेरिया, झाडापखाला र हैजाजस्ता सरुवा रोगहरू फैलिने सम्भावना बढ्छ। खानेपानीका स्रोत दूषित हुँदा बालबालिका र वृद्धहरू बढी प्रभावित हुन्छन्। साथै, बाढी, पहिरो र डढेलोले घर, स्वास्थ्य संस्था तथा सडक संरचना नष्ट गर्दा उपचार सेवामा पहुँच कठिन हुन्छ, जसले मृत्युदर र रोगभार दुवै बढाउँछ।
जलवायु परिवर्तनको असर प्रजनन् स्वास्थ्यमा झन् संवेदनशील हुन्छ। विपद्का समयमा महिलाहरूले सुरक्षित मातृत्व सेवा, परिवार नियोजन, सुरक्षित गर्भपतन तथा महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी सेवा पाउन कठिनाइ भोग्छन्। गर्भवती महिलामा कुपोषण, मानसिक तनाव र संक्रमणको जोखिम बढ्छ। सुत्केरी सेवा ढिला हुँदा आमा र नवजात शिशुको जीवन जोखिममा पर्न सक्छ। किशोरीहरूमा महिनावारी स्वच्छता सामग्रीको अभाव, विद्यालय बन्द र पारिवारिक आर्थिक संकटका कारण बालविवाह र श्रम शोषणको सम्भावना पनि बढ्छ।
सीमान्तकृत समूहहरू जलवायु परिवर्तनका प्रभावबाट सबैभन्दा बढी प्रभावित हुन्छन्। गरिब, दलित, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूलाई विपद्का बेला सुरक्षित आश्रय, स्वास्थ्य सेवा र पोषणयुक्त खाना पाउन कठिन हुन्छ। अपाङ्गता भएका व्यक्तिहरूले उद्धार तथा उपचारमा प्राथमिकता नपाउँदा जोखिम अझ बढ्छ। महिलाहरूले पानी, दाउरा र खाना खोज्न टाढा जानुपर्दा शारीरिक तथा मानसिक बोझ बढ्छ, साथै लैंगिक हिंसा र असुरक्षाको जोखिम पनि उच्च हुन्छ।
यी चुनौतीहरूको सामना गर्न जलवायु–उत्थानशील (Climate-Resilient) स्वास्थ्य प्रणाली निर्माण अत्यावश्यक छ। जलवायु–उत्थानशील स्वास्थ्य प्रणाली भनेको यस्तो प्रणाली हो, जसले बदलिँदो वातावरणीय अवस्थामा पनि निरन्तर, सुरक्षित र समावेशी सेवा प्रदान गर्न सक्छ। यसको लागि बाढी र पहिरो प्रतिरोधी स्वास्थ्य संस्था निर्माण, आपतकालीन औषधि तथा सामग्रीको भण्डारण र स्वास्थ्यकर्मीलाई विपद् व्यवस्थापनसम्बन्धी तालिम दिनु जरुरी छ। साथै, महिला, किशोरी र अपाङ्गता भएका व्यक्तिमैत्री सेवा विस्तार तथा समुदायमा पोषण, प्रजनन् स्वास्थ्य र विपद् तयारीसम्बन्धी चेतना अभिवृद्धि गर्नु पनि महत्त्वपूर्ण हुन्छ।
अन्ततः, जलवायु परिवर्तन केवल वातावरणीय समस्या होइन; यो गम्भीर स्वास्थ्य र सामाजिक न्यायको विषय पनि हो। यसको असर सबैमा पर्छ, तर सीमान्तकृत समुदायमा अझ बढी पर्छ। त्यसैले दिगो, समावेशी र जलवायु–उत्थानशील स्वास्थ्य प्रणालीमार्फत मात्र हामी सबै नागरिकको स्वास्थ्य, प्रजनन् अधिकार र सम्मानजनक जीवन सुनिश्चित गर्न सक्छौँ।
(जनस्वास्थ्यकर्मी आदर्श अधिकारी प्रजनन् स्वास्थ्य तथा जलवायु–उत्थानशील स्वास्थ्य प्रणाली क्षेत्रमा कार्यरत छन्)