चितवन- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरले जनरल अस्पताल र क्यान्सर अस्पतालमा आउने क्यान्सरका बिरामीमा देखिने आकस्मिक जटिलता व्यवस्थापन सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न गरेको छ। फागुन ११ देखि १३ गतेसम्म चलेको 'फाउण्डेशन कोर्ष टु: एक्युट अंकोलोजी सर्भिस' नाम दिइएको उक्त तालिममा सातै प्रदेशका ३४ जना नर्सहरूको सहभागिता रहेको थियो।
तालिममा सहभागी नर्सलाई तीन प्रकारको उपचार पद्धतिबारे तालिम दिएको हो। नर्सहरुलाई क्यान्सर पहिचान हुँदा बित्तिकै, क्यान्सरको उपचारको क्रममा र क्यान्सरको उपचार सकिएपछि पुनः देखिएको अवस्थामा बिरामीको कसरी उपचार र हेरचाह गर्ने भन्ने बारेमा तालिम दिइएको हो।
तालिम संयोजक एवं मेडिकल अंकोलोजिष्ट डा. गुरुशरण साहका अनुसार क्यान्सरका बिरामीले केमोथेरापी वा रेडिएसन थेरापी लिएपछि घर जाँदा ज्वरो आउने, बान्ता हुने वा रगतको मात्रा घट्ने जस्ता गम्भीर समस्या देखिन सक्छन्। यस्तो अवस्थामा बिरामी सुरुमा आफ्नो नजिकैको 'जनरल अस्पताल' पुग्ने गर्छन्। र त्यस्तो अवस्थामा क्यान्सरका बिरामीको उचित उपचार होस् भन्ने उद्देश्यले तालिम दिइएको हो।
'अहिलेको अवस्थामा जनरल अस्पतालहरूले क्यान्सरको बिरामी देख्नेबित्तिकै 'हामी जान्दैनौँ, पुरानै अस्पताल जानुहोस्' भनेर फर्काउने चलन छ,' डा. साहले भने, 'यो तालिमको मुख्य उद्देश्य नै स्थानीय स्तरका अस्पतालहरूमा पनि क्यान्सरका आकस्मिक जटिलताको उपचार गर्ने वातावरण मिलाउनु हो।'
उनका अनुसार स्थानीय अस्पतालमै उपचार सम्भव भएमा बिरामीको समय बचत हुने र अकालमा हुने मृत्युलाई रोक्न सकिनेछ।
सन् २०२२ देखि दुई वर्षसम्म संयुक्त अधिराज्यबाट अनलाइनमार्फत विशेष प्रशिक्षण प्राप्त गरेका अस्पतालका चिकित्सक र नर्सहरूले यस कार्यक्रममा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
डा. साहले क्यान्सर वा यसको उपचारका कारण आउन सक्ने आकस्मिक समस्याहरूको पूर्वतयारी र औषधि व्यवस्थापनबारे स्वास्थ्यकर्मीहरूलाई दक्ष बनाउनु नै यो कार्यक्रमको उपलब्धि रहेको जानकारी दिए।