काठमाडौं- मृत घोषणा गरी आफन्तहरुले अन्तिम संस्कारका लागि गुम्बामा लगेका सिन्धुपाल्चोकका बाबुलाल मोक्तान आइसियू उपचारपश्चात् निको भएका छन्।
काठमाडौं नेशनल मेडिकल कलेज, घट्टेकुलोमा करिब दस दिनको उपचारपछि उनी निको भएका उपचारमा संलग्न काठमाडौं नेशनल मेडिकल कलेजका डा नूर आलम अन्सारी बताउँछन्।
गुम्बामा राखिएको अवस्थामा अचानक खुट्टा चलाएपछि आफ्ना भान्जाले अस्पताल ल्याएका मोक्तानले बताए। भावुक हुँदैं मोक्तानले भने-‘दुई दिनअघि म मरेको मान्छे, आज तपाईंहरूसामु बसिरहेको छु,’।डा अन्सारीका अनुसार बिरामीलाई अत्यन्तै जटिल स्वास्थ्य समस्यासहित अचेत अवस्थामा अस्पताल ल्याइको थियो।
उपचारमा संलग्न डा अन्सारले भने -‘उहाँ डिकम्पेन्सेटेड लिभर सिरोसिस, ग्रेड-३ हेपाटिक एन्सेफ्यालोप्याथी तथा अनियन्त्रित मधुमेहका कारण गम्भीर अवस्थामा हुनुहुन्थ्यो’।
उनलाई ५ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको डा अन्सारीले जानकारी दिए। उपचारको दोस्रो दिनमा होस फर्किएको र त्यसपछि औषधि तथा आवश्यक प्रक्रिया पुरा गरी उनलाई बचाइएको अस्पतालले जनाएको छ।
स्वास्थ्यमा सुधारसँगै फलोअप आउनेगरी मोक्तानलाई घर पठाइएको थियो। मृत ठानी गुम्बामा राखिएको घटनाबारे मोक्तानले अस्पताल प्रशासनलाई सुनाएपछि उक्त घटनाले आश्चर्यचकित बनाएको छ। हाल मोक्तानको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।