कथा आजभन्दा दश वर्ष पुरानो हो, तर यो कथा अझै पनि बेलाबखत देख्न र भोग्न पाइन्छ। त्यो बेलाको 'सलामी पानी' (सलाइन) को कथा आज 'होल बडी चेकअप' को आग्रहमा हरेक दिन देख्न पाइन्छ।
दश वर्षअगाडिको म:
मनको अशान्ति अनुहारका कुनाकाप्चामा देखिने गरी मलिनता छाएको छ। बेखुसी व्याप्त देखिन्छ। हिँडाइमा सुस्तपन छ। अनुहार मात्रै देखाउन हो कि भन्ने गरी टाउको र दुवै कुमलाई पछ्यौराले सजाएर कुर्सीमै बस्छिन्, एक अन्दाजी ३० वर्षीया महिला। पटुकाले पूरै पेट बेरेको छ। श्वास फेर्नै गाह्रो भएजस्तो गरी लामो सुस्केरा पनि सुनिन्छ। त्यही सुस्केरामा उनको 'सलामी पानी' को आशा लुकेको छ।
'डाक्टर बाबु! हाडज्वरो आउँछ, गरम हुन्छ। केही गरी शीतल गर्नुपर्यो,' उनी आफ्नो व्यथा पोख्छिन्। "पोहोर साल यही बेला सलामी चढाएर शीतल भएको। शरीरबाट पानी सकिएछ, सलामी चढाउनुपर्छ भन्थे डाक्टरले।"
यस्तो कथा सुन्ने बानी परेको त पत्तै भएनछ मलाई। पहिले जस्तो प्रतिक्रिया नै आउन छाडिसकेछ। फेरि अर्को सलाइनको गहिरो विश्वास बोकेको बिरामी आयो भनेर जाँगर नलगाई फर्किएर उनको नाडी छाम्छु। आफ्ना शब्दहरू खर्चिन मन लाग्दैन मलाई। खै किन हो, जाँगर नै लोप भइसकेछ। पहिले यस्ता कथा सुन्दासुन्दा र सल्लाह दिँदादिँदा जाँगर भन्ने कुरा लोपोन्मुख थियो, अब पूरै लोप भएछ- मलाई आश्चर्य लागेन। आफ्नै बसाइ पनि त्यति सहज नभएकोमा सलामीको शीतलताको कथा सुनेर बेलाबखत सोचमग्न हुने गर्छु म।
पुरानो काठको कुर्सी छ। अढेस लाग्दा ढाडमा बिझाउँछ, बस्दाबस्दा पुठाहरू दुख्छन्। हात राख्दा कुर्सीको घेराबारामा ठोक्किन्छ। बिरामी टुलमा बस्छन्। यसो फर्किएर जाँच्न लाग्दा शरीर नै बाङ्गो हुन्छ। अनि 'घार्रयाक्क' पारेर लतार्छु र मोड्छु कुर्सीलाई। के गर्नु? घुम्ने कुर्सी त सुविधामा पर्दो रहेनछ। किनकि कसैले ठट्टा गरेर हो कि साँचै हो, बत्तीस दाँत ङिच्च देखाउँदै भनेका थिए- "डाक्सा'ब निदाउनुहुन्छ कि भनेर तपाईंलाई घुम्ने कुर्सीभन्दा काठको कुर्सी बेस हुन्छ भनेर त्यस्तो राखेको हो।" यस पटक भने मैले कुर्सी मोडिनँ। टाउको मात्र घुमाएर कुरो सुनेजस्तो गरेँ। काठकै कुर्सीमा पनि हाई आउन लाग्यो।
यो कुरा मनमा खेल्दै गर्दा सलामीको महिमा सुनाउँदै गरेकी महिलातिर ध्यान मोडिन्छ। कति कुरा त छुटिसकेछन्। '...हरेक वर्ष शरीरबाट पानी सकिन्छ, फेरि रिचार्ज गर्नुपर्छ। भित्री ज्वरो पनि शीतल हुन्छ। सलामी चढाएपछि तागत लाग्छ, शरीर तङ्ग्रिन्छ, जाँगर बढ्छ...।' त्यो महिमा सुन्दै गर्दा कमी थियो त केवल शेष नागको मात्र!
'शरीरबाट पानी सकिन त पखाला, बान्ता वा धपेडी आदि हुनुपर्यो। पानी कम पिएर हो। सलामीभन्दा पानी पिउनु राम्रो हो। प्रेसर र नाडीको गति सबै राम्रो छ...।' यति वचन बोली फुट्नै आँटेको थियो, बीचमै रोकियो। विगतका अनुभवहरू स्मृतिमा आउन लागे। त्यो भन्यो भने त बेखुसी अनुहारमा कताकता बाँकी रहेको कान्ति पनि उडेर गएको धेरै पटक देखेको छु। नैराश्य छाएको देखेको छु।
असन्तुष्ट सेवाग्राहीको सङ्ख्या बढ्दै गएर संस्थामा उपचार गर्न आउनै छाडेको अनुभव गरेको छु। 'कस्तो डाक्टर आएछन्, पहिलेकोले त चढाइदिन्थ्यो। कस्तो गतिला थिए तिनी, हामीसँग पैसा पनि खोज्दैनथे...।' आदि जस्ता प्रतिक्रिया स्मरणमा तुफानसरी आउँछन्। आफ्नै इज्जत राख्न सकिने सलामीको आग्रहलाई नकारेर लामो समयदेखि आफू जनसमाजको आँखाको तारो भएको भान हुन थाल्यो। गाउँमा त सबैलाई सलामी चढाइदिए चुनाव पनि जितिन्छ कि जस्तो लाग्यो।
मेरा सहकर्मी साथी भर्खरै नियुक्ति भएर गाउँतिर धकेलिन आइपुगेका छन्। उनी र म सँगै बिरामी हेर्छौँ। अरू बेला धेरै शब्द बक्ने मैले ती महिलाको सन्दर्भमा 'मितव्ययिता' अपनाएको देखेर उनी छक्क पर्छन्। उनलाई पनि बिरामीको यो सलामीको आग्रह चित्त नबुझेको प्रस्ट देखिन्छ। उनी त्यस्तो आग्रहलाई अनेक तरिकाले बुझाउने जमर्कोमा हुन्छन्। यस्तो मानसिकता परिवर्तन नै गर्छु भन्ने जोस छ उसमा। कुन दिन जोस सेलाएर म जस्तै प्रतिक्रियाशून्य हुने हो, एकिन छैन। कुनै बेला यो असफल प्रयास नगर्ने सुझाव दिन मन लाग्छ, तर आफैँले निचोड निकालेको अझै राम्रो होला भनेर रोक्दिनँ। नगरपालिकामा पोस्टिङ परेछ भनेर खुसीले बत्तिँदै आएको केही दिनमै दुर्गम नगरपालिका भोगेर उनी निराश भएका थिए।
जुनाकिरीजस्तो झिपझिप बत्ती, खोलामा नित्य शावर, र डाँडामा उक्लेपछि मात्रै तङ्ग्रिने नेटवर्क भोगेर निराश मेरा साथी बिरामीको उपचारमा पनि निराश हुन्छन् कि भन्ने गहिरो पिर छ मलाई।
धेरै समय सलामीको बिरामीमा नअल्मलिने निधो गरेर पर्चामा सलामी चढाउने आग्रहलाई उतारी सलामीका लागि मेरा अर्का कर्मचारी साथीलाई भनेँ। त्यति सुन्नासाथ उनको अनुहारमा निभ्नै लागेको कान्ति फेरि जागेर आयो। अनुहारमा खुसीका रेखाहरू दौडिन लागे। ओठले दबिएको मुस्कान फिजार्यो। जाँगर बढेर होला, टुलमा अलि चनाखो भएर बसिन्। अनि जुरुक्क उठेर सलामी चढाउने इमर्जेन्सी कोठातिर लागिन्। सायद सलामीले गर्दा म उनको आँखाको नानी भएँ। आहा! कहिलेकाहीँ त सही सल्लाह नदिएर नै प्यारो भइने!
शायद चुनाव जित्ने दाउ पनि यस्तै-यस्तै हुँदो हो भन्ने लाग्छ।
आजको मैदानमा म:
आजको कथा पनि सलामी पानीको कथासँग मिल्दोजुल्दो छ- 'होल बडी चेकअप'। यो यति व्याप्त छ कि यसको जरो हल्लाउन सानोतिनो प्रयासले हुँदैन। एक जना भद्र भलाद्मी ओपिडीको कुर्सीमा टुसुक्क बस्नुहुन्छ। हेर्दा पढे-लेखेको, जान्ने-बुझ्ने देखिनुहुन्छ। भन्नुहुन्छ- 'होल बडी चेक अप गर्नुपऱ्यो।'
सुरु-सुरुमा यस्तो आग्रह मलाई ठीक लाग्दैनथ्यो, किनभने समस्या केलाएर मात्रै अगाडि बढ्ने बानी विकास भएको थियो। त्यसैले समस्याको जरो बुझ्न खोजी गर्थेँ। तर बारम्बार एउटै आग्रह दोहोरिन्छ- होल बडी चेक अप। सो क्रममा धैर्यको बाँध टुटेर चर्काचर्की पनि पर्ने रहेछ। कहिलेकाहीँ लाग्छ, 'यहाँ लक्षण र रोग सबै गौण हुन्, केवल रिपोर्ट सर्वोपरि हुन्।'
उहाँले भनेजस्तै सबै जाँचहरू लेख्नेबित्तिकै अनुहारमा रौनक आउँछ, खुसी छाउँछ। तर यसलाई म स्वास्थ्य बिमाको चरम दुरुपयोग मान्छु। उदाहरणका लागि, टाउको दुखेको कारण पत्ता लगाउन बिरामीले 'होल बडी चेकअप' को आदेश दिन्छन्। त्यो टाउको दुखाइको प्रकृति र रोगको निदान गर्न चिकित्सकले सोध्नुपर्ने ८-१० वटा प्रश्नहरू सुन्ने र उत्तर दिने धैर्य समेत उनीहरूमा हुँदैन। सबैलाई छिटोभन्दा छिटो रगत जाँच र टाउकोको सिटी स्क्यान गर्नुपर्ने दबाब हुन्छ।
आत्तिने समस्या, चिन्तारोग, डिप्रेसन आदिका बिरामीहरू पनि प्रश्न र समस्याको विस्तार भन्न अधैर्य हुन्छन्। सोध्ने क्रममा 'होल बडी चेक अप' को डिमान्ड तीन-चार पटक आउने गर्छ। कुरा बुझाउन गाह्रो हुन्छ, उनीहरू सुन्न तयार हुँदैनन्। मनको रोग त मनोरोग चिकित्सकलाई भेट्नुपर्ने हुन्छ, त्यो ल्याब रिपोर्टमा त देखिँदैन नि!
कुनै अर्को पेसाको व्यक्तिलाई "आफैँ यस्तो गर्ने र उस्तो गर्ने" भनेर अगाडि नै भन्यो भने उसलाई झिँझो लाग्ला कि नलाग्ला? सबैलाई आफ्नो समस्या र उपचारबारे बुझ्ने अधिकार हुन्छ। तर, पहिले नै दिमागमा सबै टेस्ट गराउने भनेर योजना बुनेर आउँदा वास्तविक समस्याको चुरोमा नपुगिने हुन सक्छ। लक्षण र उमेरअनुसार गर्नुपर्ने जाँचहरू फरक हुन्छन्। स्वास्थ्य स्थिति थाहा पाउन गरिने नियमित जाँचहरू पनि हुन्छन्। तर यो ख्यातिप्राप्त 'होल बडी चेकअप' को कुनै दायरा नै छैन। दायरा नै नभएको कुराले कसरी सम्पूर्ण शरीरको अवस्था थाहा पाउन सकिन्छ र?
सेवाग्राहीले शरीर सबै चेक गर्ने 'आदेश' दिन्छन्। त्यो आदेशजस्तै नै हुन्छ किनभने कसैले प्रश्नहरू सुन्न धैर्य नै गर्दैनन्, केवल ल्याब टेस्टहरूको रटान हुन्छ। सायद चिकित्सकले (मैले) ती घरबाट निस्किने समयमा दिमागमा पूर्व-निर्धारित गरेका टेस्टहरू नगरी पठाइदिन्छन् कि भन्ने चिन्ता हुँदो हो।
कुनै तर्क दिएर ल्याब टेस्टहरू परिवर्तन गरियो भने नाक खुम्चाएर बाहिर जान्छन्- अर्को 'सहज र गतिला' चिकित्सक खोज्दै। सबै भनेजस्तै औषधि लेखिदिने र टेस्ट पनि भनेजस्तै सारिदिने प्रिय चिकित्सक खोज्दै हिँड्ने गर्छन्।
जे होस्, कसैलाई बेखुसी नगरेमा आफैँलाई चयन (शान्ति) हुन्छ। जसले जे-जस्तो जाँच गर्ने आदेश दिन्छन्, त्यस्तै जाँच लेखिदिएमा सबैको 'प्रिय डाक्टर' भइन्छ। असल डाक्टर बनिन्छ, विशिष्ट डाक्टर बन्न सकिन्छ। म सहकर्मी साथीहरूलाई पनि यो दिव्य ज्ञान अवलम्बन गर्न सुझाव दिन्छु। यसो गरेमा जीवन मधुवन बन्छ।
यदि 'होल बडी चेकअप' गर्ने जनताको मौलिक अधिकार बिमाले सुरक्षित गरेको हो भने त्यसमा धेरै चिकित्सकीय नियम-विनियम वा निर्देशिका लागू गर्नु ठीक नहुने देख्छु! सायद अब म पनि सबैको प्रिय डाक्टर बन्छु।
स्वास्थ्य बिमा धराशायी हुनुमा अनावश्यक टेस्ट गर्नु र अनावश्यक औषधि निकाल्नु मुख्य कारण हुनुपर्छ। भिटामिन 'डी' र 'बी-१२' लाई बिमाको सुविधाबाट हटाए केही फरक पर्दैनथ्यो। मृगौला रोगीबाहेक अरूलाई वर्षको एक पटकभन्दा बढी किड्नी जाँच गर्ने सुविधा नदिए पनि हुन्थ्यो। यसो गर्दा हरेक तीन महिनामा सबै टेस्टहरू दोहोर्याउने बानी बस्दैनथ्यो होला। स्वास्थ्य बिमामा पैसा बाँकी छ र सबै असुल्नुपर्छ भन्ने सोचले गरिने जाँचहरूलाई नियन्त्रण गर्नुपर्ने हुन्छ।
सही योजना विकास गर्न नसकेका कारण आज स्वास्थ्य बिमाजस्तो अपरिहार्य कुरा कमजोर बन्दै गएको छ। बिमाको योजना बनाउनुपर्नेले बनाउँदै गरुन्, म चाहिँ आज पनि 'होल बडी चेकअप' को आग्रहलाई नकार्न सक्दिनँ। किनभने मलाई कार्यस्थल शान्त भएको मन पर्छ। मलाई पनि लोकप्रिय हुन मन लाग्छ नि त!