काठमाडौं- नेपाल मेडिसिटी अस्पतालले सरकारद्वारा तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको पाइएको छ। राजधानीस्थित नेपाल मेडिसिटी अस्पतालकी एक नर्सले आफूले न्यूनतम तलब नपाएको गुनासो गरेकी छन्।
अस्पतालमा कार्यरत ती नर्सका अनुसार सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकभन्दा कम तलब उपलब्ध गराउने गरिएको छ। वैशाखको तलब पनि त्यही अनुसार नै प्रदान गरिएको छ। उनका अनुसार अस्पतालबाट हाल मासिक २५ हजार रुपैयाँ तलब प्राप्त भइरहेको छ। उनले वैशाख महिनाको तलब स्टेमेन्ट समेत पठाएकी छिन्। जहाँ अस्पतालले २५ हजार भन्दा कम भुक्तानी गरेको देखिन्छ।
-1780483145.jpg)
नर्सले उपलब्ध गराएको नियुक्ति सम्झौता पत्रअनुसार उनको मासिक ग्रस तलब २५ हजार ३ सय ५० रुपैयाँ उल्लेख छ। तर सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा यो रकम ८ हजार न्युन हो।
'अस्पतालले नेपाल सरकारको नियमअनुसार स्वास्थ्यकर्मीका लागि निर्धारण गरिएको न्यूनतम तलबभन्दा कम पारिश्रमिक उपलब्ध गराएको छ। यस विषयमा छानबिन गरी श्रम कानुन तथा सरकारी नियमअनुसार आवश्यक कारबाही गरियोस्,' उनले स्वास्थ्य खबर उजुरीमा उल्लेख छ।
गत वर्ष देशव्यापी नर्स आन्दोलनपछि तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय)ले सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको न्यूनतम मासिक पारिश्रमिक ३४ हजार ७ सय ३० रुपैयाँ हुनुपर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनका लागि सरकारी तथा निजी सबै स्वास्थ्य संस्थालाई निर्देशन दिइएको थियो। नयाँ सरकार आएपछि पनि त्यसलाई कडाइका साथ पालना गर्न निर्देशन दिइको थियो।
यद्यपि नेपाल मेडिसिटीमा कार्यरत नर्सले भने उक्त व्यवस्था लागू नभएको दाबी गरेकी छन्। यस विषयमा अस्पताल प्रशासनसँग प्रतिक्रिया माग्दा आरोप अस्वीकार गर्दै आफूहरू कानुनी व्यवस्था अनुसार नै अघि बढिरहेको जनाएको छ।
अस्पताल प्रशासनले दिएको प्रतिक्रियामा भनिएको छ, 'नेपाल मेडिसिटीले सरकारका प्रचलित निर्देशिका तथा लागू श्रम नियमअनुसार सबै योग्य कर्मचारीको तलब संरचना पुनरावलोकन र समायोजन गरिसकेको छ। अस्पताल सबै कानुनी प्रावधानको पालना तथा पारदर्शी रोजगार अभ्यासप्रति प्रतिबद्ध छ।'
अस्पतालको दाबी र नर्सको गुनासोबीच भने स्पष्ट अन्तर देखिएको छ। एकातर्फ अस्पतालले सरकारी मापदण्डअनुसार तलब समायोजन गरिसकेको बताएको छ भने अर्कोतर्फ कार्यरत नर्सले सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा झण्डै ८ हजार रुपैयाँ कम तलब पाइरहेको प्रमाण समेत उपलब्ध गराएकी छन्।
राजधानीको प्रमुख निजी स्वास्थ्य संस्थामध्ये एक नेपाल मेडिसिटीले आफूलाई ‘विश्वस्तरीय क्वाटरनरी केयर सुविधा’ सहितको ७५० शय्याको सुपर स्पेसियालिटी अस्पतालका रूपमा प्रस्तुत गर्दै आएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष उपेन्द्र महतो अस्पतालका संस्थापक अध्यक्ष हुन्।
अत्याधुनिक पूर्वाधार, अन्तर्राष्ट्रियस्तरको सेवा र स्वास्थ्य क्षेत्रको उत्कृष्टताको दाबी गर्ने अस्पतालमै नर्सको न्यूनतम पारिश्रमिक कार्यान्वयनबारे प्रश्न उठेको छ।