गोरखा- सम्भव नेपालको आयोजनामा गोरखामा दुई दिने निःशुल्क मुटु जाँच शिविर सम्पन्न भएको छ। शनिबार र आइतबार प्रदेश अस्पताल गोरखा र सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजना गरिएको शिविरबाट एक हजारभन्दा बढीले सेवा लिएका छन्।
रोटरी क्लब अफ गोरखा र गोरखा नगरपालिकाको समन्वय तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र सेभ द हार्टको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरबाट सेवा लिएका एक हजार २१ जना सेवाग्राहीमध्ये करिब ५ सय जनाको इसिजी र २ सय ६९ जनाको इको गरिएको थियो।
जसमध्ये प्रदेश अस्पतालमा ७ सय ६२ र नयाँसाँघुमा २ सय ५९ जनाको मुटु परीक्षण गरिएको हो। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा सञ्चालन भएको स्वास्थ्य शिविरबाट २५ जनामा मुटुसम्बन्धी समस्या पहिचान भएको छ। उनीहरूलाई तत्काल एन्जियोग्राम गर्नुपर्ने भएकाले काठमाडौं रिफर गरिएको बताइएको छ।
शिविरमा बिरामीलाई आवश्यकताका आधारमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।
शिविरबाट गोरखामै विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा मुटुसम्बन्धी समस्या भएका बिरामी तथा मुटुको अवस्था परीक्षण गराउन चाहने नागरिक लाभान्वित भएका छन्।
सम्भव नेपालले केही महिनाअघि मात्रै शहीद लखन गाउँपालिकाको बुंकोटमा समेत दुई दिने निःशुल्क मुटु परीक्षण शिविर तथा आरुघाटमा स्त्रीरोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।