काठमाडौं- नेपाल मेडिकल काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेज उत्कृष्ट बनेको छ। कलेजले ५८ परीक्षार्थीमध्ये ५४ जनालाई उत्तीर्ण गराउँदै ९३.१० प्रतिशत नतिजा हासिल गरेको हो।
काउन्सिलले जेठ १९ गते सार्वजनिक गरेको नतिजाअनुसार एमबीबीएसतर्फ समग्र उत्तीर्ण दर ७६.७९ प्रतिशत र बीडीएसतर्फ ८५.५० प्रतिशत रहेको छ।
चितवन मेडिकल कलेजका डेपुटी डाइरेक्टर डा अरुण कोइरालाका अनुसार विद्यार्थीलाई सुरुदेखि नै अध्ययनमा केन्द्रित गराउने अभ्यासका कारण उत्कृष्ट नतिजा हासिल गर्न सम्भव भएको हो।
उनका अनुसार एमबीबीएसको साढे चार वर्षे शैक्षिक कार्यक्रमलाई तीन चरणमा विभाजन गरेर अध्यापन गरिन्छ। पहिलो र दोस्रो वर्षमा आधारभूत विज्ञानका विषयहरू पढाइन्छ भने तेस्रो वर्षमा फरक प्रकृतिका विषयहरू समावेश हुन्छन्। चौथो तथा अन्तिम वर्षको अध्ययन पूरा गरेपछि मात्र विद्यार्थीहरू एक वर्षे इन्टर्नसिपमा प्रवेश गर्छन्।
'सुरुवाती चरणदेखि नै विद्यार्थीलाई नियमित मेहनत र अनुशासनमा राख्ने गरेका छौं। त्यसको प्रतिफल अहिलेको नतिजामा देखिएको छ,' डा कोइरालाले भने।
उनका अनुसार त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रमअनुसार पहिलो र दोस्रो वर्ष उत्तीर्ण नगरी तेस्रो वर्षमा प्रवेश गर्न पाइँदैन। यही व्यवस्थाका कारण विद्यार्थीहरू सुरुदेखि नै अध्ययनप्रति गम्भीर बन्ने र कलेजले पनि उनीहरूलाई आवश्यक मेहनत गराउने वातावरण तयार गर्ने गरेको उनले बताए।
कोइरालाले मेडिकल कलेजहरूको गुणस्तरका आधारमा वर्गीकरण गरिनुपर्ने धारणा पनि राखे। आगामी दिनमा चितवन मेडिकल कलेजले शैक्षिक कार्यक्रमहरू थप विस्तार गर्ने योजना बनाएको उनले जानकारी दिए।
हाल कलेजले स्नातक तहमा आठवटा शैक्षिक कार्यक्रम तथा स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।