काठमाडौँ- क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही इन्टरनेसनल सोसाइटी अफ जेरियाट्रिक अन्कोलोजी (सिओग) को नेपालका लागि राष्ट्रिय प्रतिनिधिमा नियुक्त भएका छन्। सिओगको आधिकारिक वेबसाइटमा उनको नाम र प्रोफाइल नेपाल प्रतिनिधिका रूपमा समावेश गरिएको छ।
इन्टरनेसनल सोसाइटी अफ जेरियाट्रिक अन्कोलोजी (सिओग) स्विट्जरल्यान्डको जेनेभामा मुख्यालय रहेको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय बहुविधागत संस्था हो। सन् २००० मा स्थापना भएको यस संस्थाले विशेषगरी ज्येष्ठ नागरिकमा हुने क्यान्सरको उपचार, अनुसन्धान र शिक्षाको क्षेत्रमा विश्वव्यापी नेतृत्व गर्दै आएको छ।

यस संस्थामा क्यान्सर रोग विशेषज्ञ, ज्येष्ठ नागरिक विशेषज्ञ तथा स्वास्थ्य अनुसन्धानकर्ताहरू आवद्ध छन्। यसको मुख्य उद्देश्य वृद्धवृद्धामा हुने क्यान्सरको विशेष प्रकृति बुझ्दै उनीहरूलाई गुणस्तरीय र सुरक्षित उपचार सेवा उपलब्ध गराउनु हो।
नेपालको क्यान्सर उपचार तथा जनस्वास्थ्य क्षेत्रमा परिचित नाम डा. अरुण शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा मेडिकल ओन्कोलोजी विभागका असिस्टेन्ट प्रोफेसर तथा सिनियर कन्सल्टेन्टका रूपमा कार्यरत छन्।
उनले बङ्गलादेशको प्रतिष्ठित बङ्गबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटीबाट मेडिकल ओन्कोलोजीमा एमडी र नोर्थ साउथ युनिभर्सिटीबाट जनस्वास्थ्यमा एमपीएच गरेका हुन्। उहाँ युरोपियन सर्टिफाइड मेडिकल अन्कोलोजिस्ट समेत हुन्।
क्यान्सरसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धान तथा पुस्तकहरूमा योगदान दिइसकेका डा. शाही अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को) र युरोपियन सोसाइटी अफ मेडिकल ओन्कोलोजी (ईस्मो) जस्ता प्रतिष्ठित संस्थासँग पनि आबद्ध छन्। हालै उनी एस्को लिडरसिप डेभलपमेन्ट प्रोगाम २०२६–२०२७का लागि चयन भएर अमेरिका पुगेका छन्।
सिओगको राष्ट्रिय प्रतिनिधि समिति संस्थाभित्रको रणनीतिक निकाय मानिन्छ, जसले विश्वभरका विशेषज्ञ, स्वास्थ्य संस्था र सदस्यहरूबीच सहकार्य र नेटवर्क विस्तार गर्ने काम गर्छ।
नयाँ जिम्मेवारीअनुसार डा. शाहीले नेपालमा जेरियाट्रिक अन्कोलोजी (वृद्धवृद्धामा हुने क्यान्सर उपचार) को विकास, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई विस्तार गर्ने भूमिका निर्वाह गर्ने बताएका छन्।
क्यान्सर विशेषज्ञ, ज्येष्ठ नागरिक विशेषज्ञ तथा अन्य स्वास्थ्यकर्मीबीच समन्वय बढाउँदै वृद्ध क्यान्सर बिरामीहरूको उपचार सेवा अझ प्रभावकारी बनाउन सहयोग पुग्ने उनले बताएका छन्।
'नेपालका स्वास्थ्य चुनौती र उपलब्धिहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै नीतिगत सुधार र जनशक्ति विकासमा समेत यसले सहयोग पुग्ने विश्वास लिएको छु,' उनले भने।
ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको वर्तमान अवस्थामा उनीहरूको स्वास्थ्य व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रतिवेदनहरूले पनि औंल्याएका छन्।