काठमाडौं- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितिमा मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै संरचनागत सुधार, सेवा विस्तार र रोग नियन्त्रणका विभिन्न कार्यक्रम समेटिएका छन्।
प्रदेश अस्पताल, सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न कानुनी व्यवस्था गर्ने घोषणा गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्दै प्रदेशभित्रका अस्पतालहरूको सेवा सुदृढीकरण गर्ने नीति लिइएको छ। साथै, सबै अस्पताललाई प्रदेश सरकारको नामबाट नामकरण गरी विशेषज्ञ चिकित्सकको दरबन्दी अनुसार स्तरोन्नति गर्ने योजना छ।
स्थानीय तहका भीडभाड हुने अस्पतालहरूलाई भौतिक पूर्वाधारसहित सहयोग गर्ने, र सबै स्वास्थ्य संस्थाको अभिलेख डिजिटलाइज गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।
प्रयोगशाला सेवाको सुदृढीकरण गर्दै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई रेफरल तथा अनुसन्धान केन्द्रका रूपमा विकास गरिनेछ। विद्यालयमा विद्यार्थी चापअनुसार स्वास्थ्य सेवा उपलब्ध गराउने र ‘लिटिल डाक्टर’ कार्यक्रममार्फत विद्यार्थीलाई स्वास्थ्य एम्बेसडरका रूपमा विकास गर्ने योजना पनि उल्लेख छ।
क्यान्सर, मुटु, मृगौला, अटिजम, सिकलसेल एनिमिया जस्ता दीर्घ रोगका बिरामीलाई उपचार सहयोग उपलब्ध गराउने नीति पनि समेटिएको छ। आकस्मिक स्वास्थ्य उपचार कोषलाई निरन्तरता दिइने र ट्रपिकल रोग नियन्त्रणका लागि विशेष पहल गरिने बताइएको छ।
नसर्ने रोगको पहिचानका लागि समुदायस्तरमै स्वास्थ्य परीक्षण गर्ने, तथा विभिन्न महिनालाई विशेष स्वास्थ्य अभियानका रूपमा सञ्चालन गर्ने कार्यक्रम पनि ल्याइएको छ। फागुनलाई नसर्ने रोग स्क्रिनिङ, वैशाखलाई खोप, जेठलाई पोषण तथा अन्य महिनालाई अनुशिक्षण र अनुगमनका रूपमा मनाइनेछ।
योग, ध्यान र मानसिक स्वास्थ्य प्रवर्द्धनमार्फत कर्णालीलाई आरोग्य पर्यटनको केन्द्र बनाउने लक्ष्यसमेत नीति तथा कार्यक्रममा राखिएको छ। प्रत्येक स्थानीय तहमा योग केन्द्र स्थापना गर्ने योजना पनि समावेश छ।
एक जिल्ला एक नमुना स्वास्थ्य स्थानीय तह अभियान सुरु गर्ने, सुरक्षित मातृत्व र संस्थागत सुत्केरीलाई अनिवार्य बनाउने, तथा ‘वन हेल्थ’ अवधारणा पूर्ण रूपमा लागू गर्ने नीति सरकारले अघि सारेको छ।
त्यसैगरी, विपन्न तथा ज्येष्ठ नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था, र कीटजन्य रोगहरूको निगरानी प्रणालीलाई सुदृढ बनाउने योजना पनि समेटिएको छ।
समग्रमा, स्वास्थ्य क्षेत्रलाई सेवा विस्तारदेखि रोकथाममुखी प्रणालीसम्म रूपान्तरण गर्ने उद्देश्यसहित कर्णाली प्रदेशले महत्वाकांक्षी नीति अघि सारेको छ।
स्वास्थ्यका विषय
१८. प्रदेश अस्पताल, सुखेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्न कानून तर्जुमा गरिने छ। स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरिने छ। प्रदेश अन्तर्गतका सबै अस्पतालहरूलाई प्रदेश सरकारको नामबाट नामाकरण गरी ती अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सकको व्यवस्था गरी स्तरोन्नति गरिने छ। स्थानीय तहबाट सञ्चालित विरामीको चाप भएका अस्पताललाई भौतिक पूर्वाधारसहित स्वास्थ्य सेवा सुदृढीकरणमा सहयोग गरिने छ। हरेक स्वास्थ्य संस्थाको अभिलेखलाई डिजिटलाइज गरिने छ।
१९. प्रादेशिक अस्पताल तथा आधारभूत अस्पतालको प्रयोगशाला सेवाको सुदृढीकरण गरिने छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई प्रेषण प्रयोगशालाका रूपमा सुदृढीकरण गर्दै स्वास्थ्य अनुसन्धान गर्ने व्यवस्था मिलाइने छ। विद्यार्थीको चाप बढी भएका विद्यालयमा निर्दिष्ट सेवा उपलब्ध गराइने छ। समुदाय स्वास्थ्य प्रवर्द्धन गर्न विद्यालयस्तरका विद्यार्थीहरूलाई हेल्थ एम्बेसडरको रूपमा विकास गर्न लिटिल डाक्टर कार्यक्रम सञ्चालन गरिने छ।
२०. क्यान्सर, मुटु, मृगौला, अलजाइमर, पार्किन्सन, एनिमिया, रिकेट्स, सिकलसले एनिमिया, स्पाइनल इन्जुरी र अटिजम जस्ता दीर्घ र जटिल रोगबाट प्रसित बिरामीको उपचारमा सहायता प्रदान गरिने छ। आकस्मिक स्वास्थ्य उपचार कोषको स्थापना तथा सञ्चालनलाई निरन्तरता दिईनेछ र प्रतिकार्यमा उक्त कोषको प्रयोग गरिने छ। ट्रिपिकल रोगको निवारणका लागि आवश्यक पहल गरिने छ।
२१. बढ्दो नसने रोगको पहिचान गर्न ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गहरूको समुदायस्तरमा स्वास्थ्य परीक्षण गरी रोगको पहिचान गर्ने व्यवस्था मिलाइने छ। फागुन महिनालाई नसने रोग स्क्रिनिङ, वैशाखलाई खोप महिना, जेठलाई पोषण महिना, मङ्सिर र चैत्रलाई स्थलगत अनुशिक्षण तथा अनुगमन महिनाको रूपमा कार्यान्वयन गरिने छ।
२२. योग, ध्यान, जीवनशैली परिवर्तन तथा मनोसामाजिक स्वास्थ्य प्रवर्द्धन प्याकेज तयार गरिने छ। कर्णालीलाई आरोग्य पर्यटनको हबको रूपमा विकास गर्न कर्णाली समग्र आरोग्यता अभियान सञ्चालन गरिने छ। स्थानीय तहमा योग केन्द्रको स्थापनाका लागि समन्वय गरिने छ।
२३. एक जिल्ला एक नमूना स्वास्थ्य स्थानीय तह अभियानको सुरुवात गरिने छ। पूर्ण संस्थागत सुत्केरी कार्यलाई अनिवार्य गर्दै प्रेषण प्रणालीलाई सुदृढ गरिने छ। एक स्वास्थ्य पद्धति (One Health Approach) को पूर्ण कार्यान्वयन गरिने छ। जलवायु परिवर्तनको असरले वृद्धि भइरहेका कीटजन्य रोगहरूको सक्रिय खोजपड्ताल (Surveillance) गरी रोकथामका आवश्यक कार्यहरू गरिने छ। प्रदेश अस्पतालसहित अस्पतालहरूमा उपचाररत विपन्न र ज्येष्ठ नागरिकलाई नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा निःशुल्क रूपमा रगत उपलब्ध गराउने व्यवस्था मिलाइने छ।
२४. लैङ्गिक समानता तथा समावेशीकरणका लागि सामाजिक सचेतिकरणका कार्यक्रम सञ्चालन गरिने छ। दलित, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र राउटेलगायत लोपोन्मुख तथा सीमान्तकृत वर्ग र समुदायको सशक्तीकरणको लागि लक्षित
कार्यक्रम सञ्चालन गरिने छ। महिला सशक्तीकरणका लागि सिपमूलक तथा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिने छ। लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको उद्धार, संरक्षण तथा पुनर्स्थापनाका लागि अल्पकालीन सेवा केन्द्रको सहयोगलाई निरन्तरता दिँदै दीर्घकालीन पुनर्स्थापनामा अनुदान उपलब्ध गराइने छ।
२५. अपाङ्गता रोकथाम तथा पुनर्स्थापनाका लागि अपाङ्गता साझेदारी कार्यक्रम सञ्चालन गरिने छ। मानव सेवा आश्रम, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र र वृद्धाश्रमलगायतका कल्याणकारी सामुदायिक संस्थाहरूको सञ्चालन तथा व्यवस्थापनमा आवश्यक सहयोग गरिने छ।