जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुृचओ) को जेनेभामा जारी विश्व स्वास्थ्य महासभाको साइडलाइनमा नेपाल र भ्याक्सिन अलायन्स- गाभीबीच भएको भेटवार्ता अत्यन्त फलदायी भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बताएकी छन्।
मन्त्री मेहताका अनुसार उक्त भेटवार्ताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य वित्तीय व्यवस्थापन तथा जीवनरक्षक स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने साझा लक्ष्यलाई थप मजबुत बनाएको छ।
'विश्व स्वास्थ्य महासभाका क्रममा गाभीसँग भएको हालैको साइड बैठक अत्यन्त उपलब्धिमूलक रह्यो। यसले स्वास्थ्य वित्तीय व्यवस्थापनमा हाम्रो साझा लक्ष्य र सहकार्यको मजबुतीलाई स्पष्ट रूपमा उजागर गरेको छ,' मन्त्री मेहताले भनिन्।
उनले नेपालको स्वास्थ्य तथा सामाजिक क्षेत्रका लागि निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै दुवै पक्षबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्।
'हामी भविष्यप्रति अत्यन्त आशावादी छौं र राष्ट्रिय स्वास्थ्य प्रणालीलाई थप बलियो बनाउन तथा जीवनरक्षक स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्न दुई दशकभन्दा लामो साझेदारीलाई अझ विस्तार गर्न उत्सुक छौं,' उनले भनिन्।
सन् २००० यता गाभी नेपालको राष्ट्रिय खोप कार्यक्रमको प्रमुख साझेदार रहँदै आएको छ। सन् २०२५ मा नेपालले हासिल गरेको रुबेला निवारण, एचपीभीलगायत विभिन्न जीवनरक्षक खोप कार्यक्रमको विस्तारमा गाभीले प्राविधिक तथा वित्तीय सहयोग गर्दै आएको छ।
नेपाल आगामी सन् २०२६ नोभेम्बरमा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने तयारीमा रहेकाले खोप खरिद तथा स्वास्थ्य वित्तीय व्यवस्थापनमा आन्तरिक लगानी बढाउनुपर्ने चुनौतीसमेत देखिएको छ। यही सन्दर्भमा संक्रमणकालीन वित्तीय व्यवस्थापनलाई सहज बनाउने तथा सहकार्यलाई निरन्तरता दिने विषयमा बैठकमा गहन छलफल भएको बताइएको छ।