काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेका उपकुलपति पदको नियुक्तिका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको छ।
मन्त्रालय अन्तर्गत गठित छनोट तथा सिफारिस समितिले आज एक सार्वजनिक सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन खुला गरेको हो।
समितिको मिति २०८३ साल वैशाख ३१ गते स्वीकृत भएको 'स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३' बमोजिम यो दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ।
सूचनामा उल्लेख भए अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०८३/०२/०४) ले १० (दश) दिनभित्र मन्त्रालयको आधिकारिक वेबसाइट www.mohp.gov.np मा दिइएको लिंकमा गएर आफ्नो आवेदन दर्ता गराउन सक्नेछन्।