काठमाडौं- नेपाल आँखा अस्पतालले ‘विश्व जलविन्दु सप्ताह २०२६’ को अवसरमा साताव्यापी जनचेतनामूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। 'दृष्टि चोर्ने रोग'का रूपमा चिनिने जलविन्दुबारे सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले फागुन २४ देखि ३० गतेसम्म विभिन्न गतिविधिहरू सञ्चालन गरिएको हो।
सप्ताहभर अस्पतालले सेवाग्राही र सर्वसाधारणलाई लक्षित गरी विभिन्न कार्यक्रम गरेको थियो। अस्पताल परिसरमा जनचेतनामूलक ब्यानर प्रदर्शन, सूचना डेस्क स्थापना र डिजिटल बोर्डमार्फत रोगका लक्षण, कारण र बच्ने उपायबारे जानकारी दिइएको थियो। साथै, सामाजिक सञ्जाल फेसबुकमार्फत विशेषज्ञ चिकित्सकहरूको भिडियो सन्देश प्रसारण गरी व्यापक प्रचार–प्रसार गरिएको अस्पतालले जनाएको छ।
चेतना अभिवृद्धिका लागि फागुन २७ गते वसन्तपुरदेखि त्रिपुरेश्वरस्थित अस्पतालसम्म प्रभातफेरी (र्याली) को आयोजना गरिएको थियो। उक्त र्यालीमा चिकित्सक, स्वास्थ्यकर्मी, विद्यार्थी र कर्मचारीहरूको सहभागिता रहेको थियो, जसले नियमित आँखा परीक्षणको सन्देश प्रवाह गरेको थियो।
जलविन्दु विशेषज्ञहरूका अनुसार यो रोगले सुरुवाती चरणमा कुनै लक्षण नदेखाई बिस्तारै दृष्टि क्षति गराउँछ। आँखाभित्रको चाप बढ्दै जाँदा दृष्टि नसामा क्षति पुग्ने र अन्त्यमा स्थायी अन्धोपन हुन सक्ने जोखिम रहन्छ। चिकित्सकहरूले विशेषगरी ४० वर्ष नाघेका व्यक्ति, मधुमेह वा उच्च रक्तचाप भएका, लामो समय स्टेरोइड औषधि प्रयोग गर्ने र पारिवारिक इतिहासमा जलविन्दु भएकाहरूलाई अनिवार्य रूपमा नियमित आँखा जाँच गराउन सुझाव दिएका छन्।
नेपालको पहिलो आँखा अस्पतालका रूपमा स्थापित यस संस्थामा जलविन्दुको पहिचान र उपचारका लागि विशेष व्यवस्था छ। हाल अस्पतालमा ४ जना अनुभवी जलविन्दु विशेषज्ञहरूबाट हप्ताैभरि परामर्श, लेजर उपचार तथा शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको अस्पतालले जनाएको छ।