काठमाडौं – नेपाल औषधि उत्पादक संघको आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा दशौं संस्करणको फर्मा एक्स्पो जारी छ।
‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त एक्स्पोको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले गरेकी हुन्।
तीन दिनसम्म चलेको यस एक्स्पोमा २०० भन्दा बढी स्टलहरूछन्। आयोजकका अनुसार यस पटक ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहेको नेपाल औषधि उत्पादक संघले जनाएको छ।
नेपालमै विश्वस्तरीय तथा गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास सर्वसाधारण तथा सरोकारवालालाई दिलाउनका लागि विगतदेखि नै एक्स्पोको आयोजना हुँदै आइरहेको छ।
उद्घाटन सत्रमा बोल्दै मन्त्री शर्माले औषधिको गुणस्तर कायम गर्न औषधि प्रयोगशालाको क्षमतासँगै भौतिक पूर्वाधार सुधार गर्नुपर्ने बताइन्। गुणस्तरीय औषधि उत्पादनका लागि त्यसमा प्रयोग हुने कच्चा पदार्थ पनि राम्रो हुनुपर्ने उनको धारणा थियो।
औषधि प्रयोगशाला अत्याधुनिक तथा सुदृढ बनाउन सके औषधिहरूलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सहज हुने मन्त्री शर्माले बताइन्। नेपालको औषधि क्षेत्रमा धेरै विकास भए पनि अझै गर्नुपर्ने कामहरू धेरै रहेको उनले उल्लेख गरिन्।नेपालमा औषधिका प्रयोगकर्ताहरू महँगो मूल्य तिर्न बाध्य छन् भने अर्कोतर्फ व्यवसायीहरूले औषधिको न्यूनतम मूल्य पनि नपाएको अवस्था रहेको मन्त्री शर्माले बताइन्।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले औषधि क्षेत्रमा विगतको तुलनामा धेरै नयाँ कामहरू भइसकेको बताए। धेरै लगानीमा थोरै प्रतिफल प्राप्त गरेर पनि नेपाली औषधि व्यवसायीहरूले काम गरिरहनु प्रशंसनीय भएको उनको धारणा थियो। स्वास्थ्य क्षेत्रमा औषधि एक महत्वपूर्ण तत्व भएकाले यसको क्षेत्र पनि व्यापक रहेको उनले बताए। कतिपय सर्वसाधारणमा स्वदेशी औषधि गुणस्तरीय हुँदैन भन्ने भ्रम रहेकोले त्यस्तो भ्रम हटाउन नेपाली औषधि उद्योगीहरूले अझै बढी गुणस्तरमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
कम्पनी प्रतिनिधिहरूको भनाइ
विगत २५ वर्षदेखि नेपालको एक अग्रणी फर्मास्यूटिकल कम्पनीका रूपमा क्वेष्ट फर्मास्यूटिकल रहेको कम्पनीकी आरएनडी डिपुटी म्यानेजर रोजी सर्राफ बताउँछिन्। विश्व औषधि बजारमा प्रतिस्पर्धा गर्न सक्ने बन्नका लागि नेपाल फार्मा एक्स्पोले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको विश्वास छ।
एक्स्पो सप्लायर्स, निर्माणकर्ता लगायत सम्पूर्ण सरोकारवालालाई एउटै स्थानमा भेट्न सकिने प्लेटफर्म भएकाले फार्मा एक्स्पो महत्वपूर्ण भएको उनको धारणा छ। एक्स्पोमा आउने आगन्तुकहरूले एकअर्कालाई राम्रोसँग चिन्न सक्ने अवसर पाउने उनले बताइन्।
क्वेष्ट फर्मास्यूटिकलले मुटु, डायबिटिज लगायत सामान्य तथा जटिल रोगमा प्रयोग हुने करिब २०० प्रकारका औषधि उत्पादन गर्दै आएकोले ती औषधिको उत्पादनदेखि बिक्री–वितरणसम्मको प्रक्रिया बुझ्नका लागि एक्स्पो महत्वपूर्ण भएको उनको जिकिर छ।
नेपालको औषधि बजारलाई अझै विकसित बनाउन सबै सरोकारवालाबीच सहकार्य हुनुपर्ने उनको धारणा छ। सरकारबाट सहयोग भए नेपालको औषधि बजार आत्मनिर्भर बन्न सक्ने उनले बताइन्।
स्वदेशी तथा विदेशी औषधि कम्पनीहरूसँगै नेपाल फर्मास्यूटिकल कम्पनीले पनि नेपालको औषधि क्षेत्रमा योगदान दिइरहेको जानकारी दिनका लागि आफ्नो कम्पनीले एक्स्पोमा स्टल राखेको कम्पनीकी एसोसिएट एन्ड जनरल म्यानेजर निश्मा बज्राचार्य बताउँछिन्।
करिब चार दशकदेखि नेपालको औषधि उत्पादन क्षेत्रमा आफ्नो कम्पनीले दिएको योगदान देखाउन एक्स्पो महत्वपूर्ण प्लेटफर्म भएको उनको जिकिर छ। नेपालमा गुणस्तरीय औषधि उत्पादन तथा बिक्री–वितरण भइरहेको जानकारी दिनु पनि आफ्नो कम्पनीको उद्देश्य रहेको उनले बताइन्।
एक्स्पोमा आगन्तुकहरूले दैनिक प्रयोग हुने औषधि उत्पादन गर्दा कसरी गुणस्तर कायम गरिन्छ भन्ने जानकारी पाउन सक्ने उनी बताउँछिन्। नेपालमा औषधि उत्पादनका लागि प्रयोग भइरहेका प्रविधिहरूको स्तरबारे जानकारी पाउन पनि एक्स्पो महत्वपूर्ण भएको उनको भनाइ छ। हाल उक्त कम्पनीका ३०० भन्दा बढी उत्पादन बजारमा रहेका छन्।
नेपाल फार्मा एक्स्पोमा धेरै विद्यार्थीहरू आउने र उनीहरूले औषधिबारे ज्ञान लिन सक्ने एशियन फर्मास्यूटिकलका मार्केटिङ प्लानिङ विभागमा कार्यरत परिवर्तन ढकाल बताउँछन्। औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, मेसिन तथा प्रविधिबारे जानकारी लिनका लागि एक्स्पो महत्वपूर्ण भएको उनले बताए।
उत्पादक, सप्लायर्स तथा प्रयोगकर्तालाई एउटै स्थानमा भेट्न सकिने भएकाले नेपाल फार्मा एक्स्पो महत्वपूर्ण भएको उनको धारणा छ। एशियन फर्मास्यूटिकलले ३०० भन्दा बढी उत्पादन बजारमा ल्याएको उनले जानकारी दिए।
औषधि उत्पादक संघको आयोजनामा भइरहेको नेपाल फार्मा एक्स्पोले औषधि क्षेत्रमा नवीनता ल्याउन सहयोग गर्ने आरोग्य भवन वर्क्स प्रालिका सुमनप्रसाद पाण्डे बताउँछन्। औषधि क्षेत्रसँग सम्बन्धित विभिन्न विषयहरू जनमानसमा लैजान एक्स्पो महत्वपूर्ण माध्यम भएको उनको भनाइ छ।
आधुनिक चिकित्सामा एलोपेथिक औषधिको जस्तै आयुर्वेदिक औषधिको पनि महत्वपूर्ण भूमिका रहेको जानकारी दिन आफ्नो कम्पनी एक्स्पोमा सहभागी भएको उनले बताए।
नेपालको पुरातन चिकित्सा प्रणालीलाई जनतासमक्ष पुर्याउने माध्यम पनि एक्स्पो भएको उनको जिकिर छ। आयुर्वेद क्षेत्रलाई थप विकसित बनाउन आफ्नो सहभागिता रहेको उनले बताए।
नेपालमा औषधि कसरी उत्पादन भइरहेको छ र यसको प्रयोग कसरी भइरहेको छ भन्ने जानकारी लिनका लागि फार्मा एक्स्पोमा सहभागी हुन उनले आग्रह गरे।
आयुर्वेद औषधि प्रकृतिसँग सम्बन्धित विधा भएकाले नसर्ने रोग न्यूनीकरणमा पछिल्लो समय यसको चर्चा बढेको उनले बताए। यसको उत्पादन, बिक्री–वितरण तथा प्रयोगबारे जानकारी लिन एक्स्पो अझै महत्वपूर्ण भएको उनको भनाइ छ।
नेपाल फार्मा एक्स्पोमा औषधि क्षेत्रसम्बन्धी ज्ञान आदान–प्रदानका लागि आफ्नो कम्पनीको स्टल राखेको पर्सा साइन्स इम्मोरिज्मका निर्देशक शशीकुमार श्रीवास्तव बताउँछन्। पछिल्लो समय विकास भएका मेसिन तथा प्रविधिबारे एउटै प्लेटफर्मबाट जानकारी लिन नेपाल फार्मा एक्स्पो महत्वपूर्ण भएको उनको धारणा छ।
फार्मा एक्स्पोका लागि उपयोगी उपकरण तथा प्रविधि लिएर आफूहरू आएको जानकारी आगन्तुकहरूलाई दिन चाहेको उनले बताए।
विदेशी कम्पनी प्रतिनिधिहरूको प्रतिक्रिया
नेपाल फार्मा एक्स्पोमा विदेशी कम्पनीका प्रतिनिधिहरूले पनि नेपाली औषधि उद्योगको सम्भावना तथा सहकार्यका अवसरबारे आफ्ना धारणा व्यक्त गरेका छन्।
थर्मोल्याब कम्पनीका प्रतिनिधिका अनुसार भारतमा धेरै प्रदर्शनीहरू हुने भए पनि नेपालमा सहभागी हुनाको मुख्य उद्देश्य ग्राहकहरूसँग नजिकबाट भेटघाट गरी दीर्घकालीन सम्बन्ध विस्तार गर्नु हो।
उनका अनुसार कम्पनीका ग्राहक भारतका साथै श्रीलंका, बंगलादेश, यूएई, मध्यपूर्व तथा ल्याटिन अमेरिकामा रहेका छन्। कम्पनी विशेषगरी एसियाली बजारमा केन्द्रित भएर काम गरिरहेको उनले बताए।
हाल नयाँ–नयाँ मोलेक्युलहरू विकास भइरहेका र तिनको बजार विस्तार गर्ने ठूलो सम्भावना रहेको उनको भनाइ छ। नेपालमा पनि नयाँ फार्मास्युटिकल प्लान्टहरू स्थापना हुने क्रम बढिरहेकाले त्यहाँ प्रयोग हुने प्रयोगशाला उपकरणहरू उपलब्ध गराउन कम्पनी तयार रहेको उनले जानकारी दिए।
उनका अनुसार कम्पनीले ग्राहकको प्लान्टको लेआउट हेरेर स्टेबिलिटी चेम्बर, फार्मा कोल्ड रूम तथा अन्य प्रयोगशाला उपकरणहरूको आवश्यकता अनुसार डिजाइन र आपूर्ति गर्ने गर्दछ। फार्मास्युटिकल क्षेत्रमा स्टेबिलिटी स्टडीका लागि प्रयोग हुने उपकरणहरू २४ घण्टा निरन्तर सञ्चालनमा रहने भएकाले कम मर्मत खर्च र स्थिर कार्यक्षमता अत्यन्त महत्वपूर्ण हुने उनले बताए।
नेपालका धेरै कम्पनीहरूमा थर्मोल्याबका उपकरणहरू पहिले नै जडान भइसकेका र यस प्रदर्शनीबाट नयाँ माग तथा विस्तारका अवसरहरू देखिएको उनले उल्लेख गरे।
नेपाल फार्मा उद्योग अवलोकन गर्न आएका एक भारतीय प्रतिनिधिले नेपालमा फार्मा उद्योगमा ठूलो परिवर्तन आएको बताएका छन्। उनका अनुसार करिब १०–१२ वर्षअघि बहुराष्ट्रिय कम्पनीहरूले बजारमा प्रभुत्व जमाएका थिए भने अहिले नेपाली कम्पनीहरू आफैं बजारको नेतृत्व गर्ने अवस्थामा पुगेका छन्। यसले नेपाली कम्पनीप्रति उपभोक्ताको विश्वास बढेको देखाउने उनले बताए।
उनका अनुसार नेपालको फार्मा उद्योग वार्षिक रूपमा करिब १० प्रतिशतभन्दा बढी दरले वृद्धि भइरहेको छ र बजारको आकार हाल करिब ७ हजार करोड रुपैयाँ पुगेको छ। नेपाली कम्पनीसँगै भारतीय कम्पनीहरूको उपस्थिति भए पनि बजारको विश्वास अहिले नेपाली कम्पनीतर्फ बढ्दै गएको उनले उल्लेख गरे।
नयाँ फार्मास्युटिकल प्लान्टहरू स्थापना भइरहेकाले विश्लेषणात्मक उपकरणहरूको माग पनि बढ्दै जाने उनको धारणा छ। भारतको मुम्बई क्षेत्रमा मात्रै ५०० भन्दा बढी फार्मा कम्पनी रहेको उदाहरण दिँदै नेपालमा पनि औषधि उद्योग विस्तारको राम्रो सम्भावना रहेको उनले बताए।
प्रदर्शनीमा सहभागी अर्को कम्पनीका प्रतिनिधिले यो आफ्नो नेपालमा दोस्रो सहभागिता भएको बताउँदै यहाँका मानिसहरू मित्रवत् र सहयोगी भएको अनुभव सुनाए। उनका अनुसार प्रदर्शनी कम्पनी तथा उत्पादनको प्रचार–प्रसार गर्ने प्रभावकारी माध्यम हो।
उनले आफ्नो कम्पनीले फार्मास्युटिकल प्राइमरी प्याकेजिङ सामग्री आपूर्ति गर्ने भएकाले जहाँ फार्मास्युटिकल उत्पादन हुन्छ त्यहाँ आफ्नो व्यवसाय विस्तारको सम्भावना रहने बताए।
नेपालको फार्मा उद्योगबारे विश्लेषण गर्दै अर्का प्रतिनिधिले नेपालमा उद्योगको आकार सानो भए पनि उद्योगका सरोकारवालाबीच राम्रो समन्वय रहेको बताए। उनका अनुसार यहाँका कम्पनीहरूले गुणस्तरलाई धेरै महत्व दिने र खरिद गर्दा प्राविधिक पक्षहरू राम्रोसँग मूल्याङ्कन गरेर निर्णय गर्ने गर्छन्, जुन विकसित देशहरूमा पनि सधैं देख्न नपाइने सकारात्मक पक्ष हो।
उनले नेपालले अब अन्तर्राष्ट्रिय बजारका लागि उत्पादन गर्ने क्षमता विकास गर्नुपर्ने सुझाव दिएका छन्। त्यसका लागि रेगुलेटेड मार्केट, स्टेराइल उत्पादन तथा जटिल औषधि निर्माणतर्फ ध्यान दिन आवश्यक रहेको उनले बताए।
फार्मा उद्योगसम्बन्धी एक विशेषज्ञका अनुसार फार्मास्युटिकल उद्योग विश्वभर निरन्तर विस्तार भइरहेको क्षेत्र हो। तर यसको नियम, प्रविधि तथा मापदण्डहरू लगातार परिवर्तन भइरहने भएकाले यो निरन्तर सिकाइ आवश्यक पर्ने क्षेत्र पनि हो।
उनका अनुसार नेपालमा करिब ६–७ वर्षअघि ३५–४० वटा कम्पनी मात्र थिए भने अहिले ७० भन्दा बढी पुगेका छन्। पहिले धेरैजसो कम्पनीहरूले जनरिक औषधि उत्पादन गर्थे तर अहिले हर्मोन, एन्टी–क्यान्सर औषधि तथा कन्टेनमेन्ट सुविधासहितका उन्नत उत्पादनहरूबारे छलफल भइरहेको उनले बताए।
नेपालले यदि रेगुलेटेड अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न सकेमा यसले देशको वैश्विक पहिचान, राजस्व तथा समग्र अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।