काठमाडौं - आम नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यलेकाठमाडौं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले निःशुल्क ओपीडी (आउट–पेशेन्ट विभाग) सेवा सञ्चालनलाई निरन्तरता दिएको छ। अस्पताल प्रशासनका अनुसार फागुन महिनादेखि सुरु गरिएको उक्त सेवा अर्को सूचना नआउँदासम्म लागू रहनेछ।
अस्पतालले “गुणस्तरीय उपचार, ममतामयी व्यवहारः सुलभ स्वास्थ्य सेवा हाम्रो सरोकार” भन्ने मूल नारासहित सर्वसाधारणलाई लक्षित गरी निःशुल्क परामर्श सेवा उपलब्ध गराएको जनाएको छ। यस अन्तर्गत अस्पतालका सबै विभागमा चिकित्सकसँगको ओपीडी परामर्श पूर्ण रूपमा निःशुल्क रहने व्यवस्था गरिएको अस्पताल व्यवस्थापक दिलिप साहले बताए।
उनले भने, 'निःशुल्क परामर्शसँगै अस्पतालले प्रयोगशाला परीक्षण सेवामा पनि २० देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको जनाएको छ। यसले विशेषगरी आर्थिक रूपमा कमजोर तथा नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।'
अस्पतालमा नाक, कान, घाँटी, आँखा, बाल रोग, स्त्री तथा प्रसूति रोग, शल्यक्रिया, हाडजोर्नी, मुटु रोग, नशा रोग, मानसिक रोग, छाती तथा फोक्सो रोग, छाला रोग, जनरल मेडिसिन, दन्त सेवा तथा फिजियोथेरापी लगायतका विशेषज्ञ सेवा उपलब्ध रहने उनले जानकारी दिएका छन्।
निःशुल्क ओपीडी सेवा दैनिक बिहान ९:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म अस्पताल परिसर घट्टेकुलोमा उपलब्ध रहने अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले यस अवसरको लाभ उठाई समयमै स्वास्थ्य जाँच गराई स्वास्थ्य लाभ लिन सम्पूर्ण नागरिकलाई अनुरोध गरेको छ