काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको विषयमा बहस सुरु भएको छ। प्रत्यक्षतर्फका १६५ वटै सिटको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको गणना पनि अब केही समयमै सकिने निर्वाचन आयोगले जनाएको छ।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गरेको छ। रास्वपाले प्रत्यक्षतर्फ मात्रै १२५ सिट जितेको छ भने समानुपातिकतर्फ हालसम्मको गणनामा ४८ प्रतिशत मत प्राप्त गरेको छ। यस आधारमा समानुपातिकबाट थप ५८ सिटसहित रास्वपाको संसदमा झण्डै दुईतिहाइ बहुमत पुग्ने देखिएको छ।
चैत दोस्रो साता प्रधानमन्त्रीको शपथ
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक मतगणना सकिएपछि दलहरूले पाएको सिट संख्या निर्धारण गरी उनीहरूबाट नाम मागिनेछ। 'दलहरूले बुझाएको बन्दसूचीबाट क्लस्टर (महिला, दलित, मधेसी, जनजाति, खसआर्य आदि) मिलाएर सांसद निर्वाचित भएको घोषणा गर्न र प्रमाणपत्र दिन केही समय लाग्छ,' प्रवक्ता भट्टराईले भने, 'सबै प्रक्रिया पूरा गरी चैत पहिलो सातासम्म हामीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचनको अन्तिम प्रतिवेदन बुझाउनेछौँ।'
राष्ट्रपतिलाई प्रतिवेदन बुझाएलगत्तै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु हुनेछ। संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेकाले उनी नै संसदीय दलको नेता चुनिएर चैत दोस्रो साता प्रधानमन्त्री बन्ने निश्चित देखिएको छ।
रास्वपाको 'वाचापत्र' मा स्वास्थ्यका मुख्य योजनाहरू
सरकारको नेतृत्व गर्न लागेको रास्वपाले आफ्नो चुनावी वाचापत्रमा स्वास्थ्य क्षेत्रको सुधारका लागि निम्न बुँदाहरू अघि सारेको छ:
एकीकृत स्वास्थ्य मोडेल: देशभरका आधारभूत स्वास्थ्य क्षेत्रमा न्यूनतम मापदण्ड कायम गरी पर्याप्त मानव संसाधन, औषधि आपूर्ति, उपकरण र पूर्वाधार सुनिश्चित गरिएको एकीकृत मोडेल लागू गरिने।
ग्रामीण पहुँच: भौगोलिक विकटता र जनसंख्याका आधारमा मापदण्ड तय गरी दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिइने।
स्वास्थ्यकर्मीका लागि सञ्जाल: देशभरका स्वास्थ्यकर्मीलाई जोड्न भर्चुअल शैक्षिक तथा सामाजिक सञ्जाल खडा गरिने, जसले दुर्गममा खटिएका स्वास्थ्यकर्मीको एक्लोपन हटाउन सहयोग गर्नेछ।
स्वास्थ्य बीमा सुदृढीकरण: स्वास्थ्य बीमालाई थप गुणस्तरीय र पहुँचयोग्य बनाइने। मानसिक स्वास्थ्यसहितका सबै सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकद्वार प्रणालीमार्फत बीमाभित्र समेटिने।
रोकथाममुखी रणनीति: क्यान्सर जस्ता नसर्ने रोगका हकमा उपचारभन्दा रोकथामलाई जोड दिइने। नियमित स्वास्थ्य परीक्षण र जीवनशैली सुधारका लागि जनचेतना जगाइने।
अपाङ्गता पुन:स्थापना केन्द्र: प्रत्येक प्रदेशमा कम्तीमा एक 'अत्याधुनिक अपाङ्गता पुन:स्थापना विशिष्टीकृत स्रोत केन्द्र' स्थापना गरिने, जहाँ प्रोस्थेटिक्स, फिजियोथेरापी, स्पीच थेरापी जस्ता सेवा एउटै छानामुनि उपलब्ध हुनेछन्।
शीघ्र पहिचान र हस्तक्षेप: वि.सं. २०८७ सम्ममा रोकथाम गर्न सकिने अपाङ्गताको भार न्यून गरिने। बालबालिकामा देखिने अटिजम, सुस्त श्रवण र दृष्टिसम्बन्धी समस्या पहिचानका लागि स्थानीय तहमा 'अर्ली स्क्रिनिङ' औजार र दक्ष जनशक्ति परिचालन गरिने।
योग र ध्यान: मानसिक स्वास्थ्य र जीवनशैली सुधारका लागि विद्यालय र समुदायमा योग तथा ध्यान कार्यक्रम सञ्चालन गरिने।
जलन उपचार: जलन पीडितहरूको निःशुल्क उपचारका लागि 'जलन उपचार कोष' स्थापना र एक विश्वस्तरीय विशेष जलन अस्पताल निर्माण गरिने।
मानसिक स्वास्थ्य महाशाखा: मानसिक स्वास्थ्यका लागि छुट्टै अधिकार सम्पन्न महाशाखा स्थापना गरिने। सबै जिल्ला अस्पतालमा विशेषज्ञसहित २४ सै घण्टा सञ्चालन हुने राष्ट्रिय हेल्पलाइनमार्फत सेवा दिइने।
हेरौं स्वास्थ्यका विषयमा रास्वपा वाचापत्रमा उल्लेख भएको विवरण जस्ताको तस्तै
- देशभरि आधारभूत स्वास्थ्य क्षेत्रमा 'न्युनतम मापदण्ड कायम गरी सेवा प्रवाह गर्न आवश्यक मानव संसाधन, पर्याप्त औषधि आपूर्ति, अत्यावश्यक उपकरण, सहज पहुँच तथा आधारभूत पूर्वाधारको सुनिश्चितता सहितको एकीकृत मोडेल तयार गरी लागू गर्नेछौं। भौगोलिक विकटता र जनसंख्या घनत्वका आधारमा सेवा विस्तारको स्पष्ट मापदण्ड तय गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकताका साथ विस्तार गर्नेछौं। साथै देशभरका स्वास्थ्यकर्मीहरुलाई जोड्न भर्चुअल शैक्षिक तथा सामाजिक सञ्जाल खडा गर्नेछौं, जसले गर्दा दुर्गम ठाऊमा खटेका स्वास्थ्यकर्मीहरुलाई एक्लो तथा पृथक महसुस हुनेछैन।
- स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय स्वास्थ्य सेवा तथा प्रत्येक नागरिकको पहुँच सुनिश्चित हुने गरी विस्तार गर्नेछौं। स्वास्थ्यसँग सम्बन्धित सबै सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणाली मार्फत व्यवस्थित गर्दै औषधी, उपचार तथा सेवाहरू, मानसिक स्वास्थ्य समेत स्वास्थ्य वीमा कार्यक्रम भित्र समेटिने गरी स्वास्थ्य क्षेत्रमा नेपाल सरकारको मुख्य प्राथमिकताको कार्यक्रमको रूपमा अघि बढाउनेछौं।
- क्यान्सर लगायत नसर्ने रोगका सन्दर्भमा उपचारमुखी भन्दा रोकथाममुखी रणनीतिलाई मुख्य लक्ष्यका रूपमा कार्यान्वयन गर्नेछौं। विविध प्रकारका अनुदान वा नगद हस्तान्तरणलाई दीर्घकालीन समाधानको सट्टा अस्थायी राहतका रूपमा बुझ्दै, रोग लागेपछि उपचार गर्ने भन्दा जोखिमहरूको पहिचान, जनचेतना अभिवृद्धि, नियमित स्वास्थ्य परीक्षण तथा जीवनशैली सुधारतर्फ उन्मुख गर्नेछौं।
प्रत्येक प्रदेशमा कम्तीमा एक 'अत्याधुनिक अपाङ्गता पुनर्स्थापना विशिष्टिकृत स्रोत केन्द्र' स्थापना गरी अपाङ्गता भएका नागरिकलाई गुणस्तरीय र एकीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौं। यी केन्द्रहरूमा 'प्रोस्थेटिक्स र अर्थोटिक्स' सेवा, सहायक सामाग्री, फिजियोथेरापी, अकुपेसनल थेरापी, र स्पीच थेरापी जस्ता विशेषज्ञ सेवाहरू एउटै छानोमुनि उपलब्ध गराइनेछ भने कृत्रिम अङ्गहरूको निर्माण र मर्मतका लागि आधुनिक प्रयोगशालाको व्यवस्था गर्नेछौं।
- वि.सं. २०८७ सम्ममा रोकथाम गर्न सकिने अपाङ्गताबाट हुने व्यक्तिगत, पारिवारिक राष्ट्रिय भारलाई न्यून बिन्दुमा झार्नेछौं। अपाङ्गता पुनर्स्थापनकालागि 'प्रारम्भिक पहिचान र शीघ्र हस्तक्षेप' प्रणालीलाई तल्लो तहका स्वास्थ्य संस्थासम्म विस्तार गरिनेछ। बालबालिकामा देखिने अटिजम, सुस्त श्रवण, दृष्टसम्बन्धि र अन्य न्युरो- डेभलपमेन्टल समस्याहरूको समयमै पहिचानका लागि स्थानीय तहका स्वास्थ्य डेस्कहरूलाई अत्याधुनिक 'अर्ली स्क्रिनिङ' औजार र दक्ष जनशक्तिसहित सक्रिय बनाइनेछ। जन्मनासाथ वा प्रारम्भिक बाल्यकालमै पहिचान गरी प्रभावकारी पुनर्स्थापना र थेरापी सेवा सुनिश्चित गरिनेछ, जसले गर्दा अपाङ्गतालाई जटिल हुनबाट रोकी व्यक्तिलाई। आत्मनिर्भर र उत्पादनशील नागरिकका रूपमा विकास गर्नेछौं।
- रोगको रोकथाम, मानसिक स्वास्थ्य सुदृढीकरण र समग्र जीवनशैली सुधारका लागि विद्यालय, समुदाय तथा स्वास्थ्य संस्थामार्फत योग र ध्यान कार्यक्रम सञ्चालन गर्नेछौं। साथै, वैज्ञानिक अध्ययनका आधारमा वैकल्पिक उपचार पद्धतिलाई संस्थागत ढङ्गले व्यवस्थित गर्नेछौं।
- जलन पीडितहरूको निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न 'जलन उपचार कोष' को स्थापना र एक विश्वस्तरीय विशेष जलन अस्पताल निर्माणको प्रक्रिया तत्काल सुरु गर्नेछौं।
- मानसिक स्वास्थ्य सेवालाई नागरिकको सहज पहुँचमा पुयाउन छुट्टै अधिकार सम्पन्न महाशाखा स्थापना गर्नेछौं र प्राथमिक स्वास्थ्य सेवा प्रवाहमा 'मानसिक प्राथमिक उपचार' सबै जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था सहित २४ सै घण्टा सञ्चालन हुने राष्ट्रिय हेल्पलाइन मार्फत सेवा प्रवाह गर्नेछौं।