काठमाडौं- नेपाल चिकित्सक संघका महासचिव डा सन्जिब तिवारीविरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा परेपछि नेपाली चिकित्सकहरुले उनको पक्षमा आवाज उठाउन थालेका छन्।
चिकित्सकहरुले उनको समर्थनमा सामाजिक सञ्जाल मार्फत 'म पनि सन्जिब तिवारी' भन्ने अभियान नै चलाएका छन्। डा तिवारीको तस्बिर राखेर म पनि सन्जिब तिवारी लेखिएको तस्बिर चिकित्सकहरुले समाजिक सञ्जालमा राखेर सेयर गरिरहेका छन्।
चिकित्सकहरुको उक्त अभियानमा स्वास्थ्यकर्मीहरुले समेत साथ दिएका छन्। स्वास्थ्यकर्मीहरुले पनि डा तिवारीको फोटो सहितको 'म पनि सन्जिब तिवारी' भन्ने तस्बिर राख्दै सेयर गर्न थालेका छन्।
डा तिवारीविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले अवहेलनाको मुद्दा हालेको छ। मञ्चले उपभोक्ता अदालतको फैसलाको पूर्णपाठ नआउँदै आदेशका विषयमा टिप्पणी गरेको, चिकित्सक संघको महासचिवका नाममा विज्ञप्ति जारी गर्दै अदालतको अवहेलना गरेको भन्दै एक वर्षसम्म कैद र १० हजार जरिवाना सजाय माग गर्दै मुद्दा हालेको थियो।
सोही मुद्दामा उच्च अदालतका न्यायाधिकद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको इजलासले ७ दिनभित्र लिखित जवाफ लिई आफैं अदालतमा उपस्थित हुन र सम्बन्धित निर्णय फायल समेत लिएर आउन आदेश दिएको छ।
उपभोक्ता अदालतबाट पछिल्लो समय अस्पताल र चिकित्सकहरुमाथि क्षतिपूर्ति तिराउने फैसला भएपछि चिकित्सक संघले संस्थागत रुपमा र अन्य संघसंस्थाहरुले र चिकित्सकहरुले त्यसलाई सच्याउन माग राख्दै आएका छन्।संघसहित चिकित्सकहरुले मेडिकल काउन्सिलको राय विपरित फैसलाहरु आएको भन्दै विरोध गर्दै आएका छन्।