भरतबहादुर केसी/एसपी कलौनी
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र न्याय हेल्थ नेपालबीच २०७२ साल माघ ५ गते (१९ जनवरी २०१६) मा अस्पताल व्यवस्थापनको सम्झौता भएर नेपाल सरकारको सरकारी-गैरसरकारी साझेदारी अवधारणा अन्तर्गत न्याय हेल्थ नेपालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको चरिकोट अस्पतालको सेवा निरन्तरताको सुनिश्चितता सहित व्यवस्थापकीय जिम्मेवारी २०७७ साल कात्तिक १५ गते (३१ अक्टोबर, २०२०) देखि स्थानीय सरकार भीमेश्वर नगरपालिकालाई हस्तान्तरण गरिएको छ।
२०७२ सालको महाभूकम्पपछि न्याय हेल्थ नेपालले अछामपछि दोलखा जिल्लामा सेवा विस्तार गरेको थियो। भूकम्पले थिलथिलो भएको स्वास्थ्य सेवालाई पुनर्जीवित र सुदृढ गर्न दोलखा जिल्लामा सहकार्य सुरु भएको थियो भने डिजाइन, निर्माण, सञ्चालन र हस्तान्तरण मोडल अनुरुप अहिले अस्पतालको व्यवस्थापन हस्तान्तरण भएको हो।
नेपालमा स्वास्थ्य सेवा प्रवाह, विशेषगरी स्वास्थ्य सामग्री वितरणमा केही महत्वपूर्ण साझेदारीहरु भए तापनि स्वास्थ्य संस्थाको पूर्ण व्यवस्थापनको साझेदारीका उदाहरण नगन्य छन्। साझेदारीको माध्यमबाट स्थापित नवीनताहरूलाई सरकारले ग्रहण गर्ने कुरा त झन् विश्वव्यापी रुपमा नै असहज रहेको र नेपालको सन्दर्भमा त सम्भवत: नजिर नै नभएको विषयभन्दा अत्युक्ति नहोला।
यस परिप्रेक्षमा भीमेश्वर नगरपालिकाले भने न्याय हेल्थ नेपालका तर्फबाट अस्पतालमा कार्यरत ४० जना कर्मचारीको कार्य निरन्तर गरेको छ। यसका साथै स्वास्थ्य तथ्यांक व्यवस्थापनका लागि लागू गरिएको विद्युतीय प्रणाली लगायतका स्वास्थ्य सेवा सुधारमा प्रणाली निर्माणका लागि लागू गरिएका आन्तरिक व्यवस्थापन र निरन्तर गुणस्तर सुधारका कार्यहरुले निरन्तरता पाउने छन्। यो एक ऐतिहासिक निर्णय बनेको छ।
साझेदारीका उपलब्धि
साझेदारीको यस अवधिमा हामीले ३ लाख ३५ हजारभन्दा बढी मानिसले प्रत्यक्ष निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्। १९ वटा स्वास्थ्य चौकीहरू पुनर्निर्माण गरेर स्वास्थ्य सेवा प्रवाहको सुनिश्चितताका साथ न्याय हेल्थ नेपालले स्थानीय सरकारहरूलाई हस्तान्तरण गरिसकेको छ। यसका साथै अस्पतालमा आधुनिक विद्युतीय प्रविधिको सञ्चालन, कार्य सम्पादनमा आधारित आन्तरिक प्रणालीको विकास, तालिम र प्रशिक्षणको व्यवस्था, सामुदायिक स्वास्थ्य सेवाको विस्तार, मानसिक स्वास्थ्य सेवा, अस्पतालको पूर्वाधार निर्माण, उपकरण र सेवाहरूको विस्तार, कोभिड-१९ प्रतिकार्य र सेवाको गुणस्तर सुधार जस्ता महत्वपूर्ण कार्य भएका छन्। यसबाट समग्र रुपमा कार्यक्रम सञ्चालित क्षेत्रको स्वास्थ्य सूचकांक (जस्तै संस्थागत सुत्केरी, नवजात शिशु मृत्युदर ) मा सुधार आएको छ।
साझेदारीको यस अवधिमा नेपाल सरकारले सामुदायिक अस्पताल अनुदान, औषधि र उपकरण आपूर्ति, मानव संसाधन आपूर्ति गर्नुका साथै बागमती प्रदेश सरकारले हालै चरिकोट अस्पताललाई प्रादेशिक अस्पताल घोषणा गरेको छ भने न्याय हेल्थ नेपालले दोलखा जिल्लामा सेवा सञ्चालन व्यवस्थापनका लागि थप रू ७८ करोड लगानी गरेको छ। प्रादेशिक अस्पताल घोषणाबाट हाल सञ्चालित सेवाहरुको निरन्तरताका लागि प्रदेश सरकारबाट थप लगानी हुने वाटो खुलेको छ। कोभिड-१९ का कारण पनि स्वास्थ्य क्षेत्रमा सरकारी लगानी थप भएको छ। संघीयताले हरेक पालिकालाई स्रोतहरू सहित स्वास्थ्य प्रणालीमा सुधार गर्ने अवसर प्रदान गरेको छ। आम गागरिकको स्वास्थ्य सेवामा पहुँच बढेको छ भने जिल्लाको स्वास्थ्य अवस्थामा सुधार भएको छ। यसरी भूकम्पपछि स्वास्थ्य प्रणाली अर्थपूर्ण रुपमा पुनर्निर्माण भएको छ।
हस्तान्तरण र भविष्य
हस्तान्तरणको क्रममा न्याय हेल्थ नेपालले रु६ करोड २६ लाख ७७ हजार १५० बराबरको स्थिर सम्पत्ति, औषधि तथा अन्य उपभोग्य सामग्रीहरु, विद्युतीय प्रणाली, सेवा व्यवस्थापन र गुणस्तर सुधारका लागि संकलन गरिएका बिरामीका सम्पूर्ण विवरण र तथ्याङ्कको स्वामित्व भीमेश्वर नगरपालिकालाई हस्तान्तरण गरेको छ। तत्कालीन अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता भए तापनि राज्यको विकेन्द्रीकरणसँगै स्वास्थ्य सेवा पनि तहगत रुपमा केन्द्र, प्रदेश, र स्थानीय सरकार अन्तरगत सञ्चालन हुने व्यवस्था भए बमोजिम प्रस्तावित चरिकोट अस्पताल पालिका सरकारको मातहत रहेको र प्रादेशिक अस्पतालका रुपमा विकास गर्ने निर्णय भइसकेको भए तापनि त्यसको कार्यान्वयनको प्रक्रियामै रहेको सन्दर्भमा न्याय हेल्थ नेपाल र भीमेश्वर नगरपालिकाबीच हस्तान्तरण र ग्रहण कार्य सम्पन्न भएको हो। यसको जानकारी भने प्रदेश र केन्द्र सरकारलाई पनि दिइएको छ। यस सन्दर्भमा स्थानीय सकारहरूले २०७७ असोज ३० गते एक समारोह आयोजना गरी साझेदारीको सफलताको चर्चा गर्नुका साथै न्याय हेल्थ नेपाललाई हालसम्म पुर्या एको योगदानको कदर गर्दै विशेष धन्यवाद ज्ञापन गरेका छन्।
हस्तान्तरणपश्चात् पनि न्याय हेल्थ नेपालले केही सहकार्य भने जारी राख्नेछ। यस अन्तर्गत विद्युतीय प्रणाली व्यवस्थापन, गुणस्तर मूल्यांकन तथा सुधारका लागि आवश्यकता अनुसार सहयोग प्रदान गर्नेछ। यसका लागि कम्तीमा आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म र त्यसपछि आवश्यकता अनुसार न्याय हेल्थ नेपालले प्राविधिक सहयोग प्रदान गर्नेछ। साथै हाल सञ्चालित पूरा हुन बाँकी लगायतका स्वास्थ्य अनुसन्धान परियोजनाहरुको लागि आवश्यक तथ्याङ्क प्रयोग गर्न भीमेश्वर नगरपालिकाले न्याय हेल्थ नेपाललाई अनुमति प्रदान गर्नेछ।
सेवा निरन्तरताका लागि भीमेश्वर नगरपालिकाले प्रतिवद्धता सहित कार्य सुरु गरिसकेको छ। बिरामीहरुको आवश्यकतालाई मध्यनजर गर्दै कन्सल्ट्यान्ट सहितको विशेषज्ञ सेवाको समेत व्यवस्था गरिएको छ। पालिकाको स्रोतबाट व्यस्वस्थापन गर्न अपेक्षित आधारभूत स्वास्थ्य सेवाभन्दा थप यस प्रकारको विशेषज्ञ सेवाका लागि आवश्यक खर्च (मासिक करिब २५ लाख) को व्यवस्थापन संघीय वा प्रदेश सरकारले गर्नु आवश्यक छ। सोको अभावमा पालिकाका लागि मात्रै विशेषज्ञ सेवाको समेत व्यवस्थापन गर्न असम्भव हुनसक्छ। यसो हुँदाहुँदै पनि भीमेश्वर नगरले तत्कालका लागि सेवा व्यवस्थापन सुरु गरेको छ भने दीर्घकालीन योजना सहित अस्पतालका लागि थप बजेट व्यवस्थापन गर्नु अत्यावश्यक छ। वरिपरिका पालिका र जिल्लाहरूका लागि समेत रेफरल अस्पतालका रुपमा सेवा प्रवाह गरिरहेको चरिकोट अस्पतालमा विपन्न परिवारलाई आर्थिक अवस्थाका कारण सेवाबाट वन्चित हुनु नपरोस् भनी अन्तरपालिका कोष समेत स्थापना गरिएको छ।
अन्त्यमा
स्वास्थ्य सेवाको सुदृढीकरण बहुआयामिक दृष्टिकोणबाट मात्र हुनसक्छ। यसका लागि अल्पकालीन सहयोग, स्वास्थ्य सेवा प्रवाह र व्यवस्थापनमा नवीनता, दीर्घकालीन योजना र स्रोतको व्यवस्थापन आवश्यक पर्छ। यस दिशामा सहयोग पुर्याउने हेतुले गरिने सरकारी-गैरसरकारी साझेदारी फलदायी हुन सक्छन्।
आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारको संवैधानिक व्यवस्था समेत गरेर हामीले नेपाललाई स्वास्थ्यका दृष्टिकोणले आधुनिक प्रगतिशील एवं कल्याणकारी राज्यको रुपमा स्थापित गरेका छौं। यसको कार्यान्वयनको जग बसाउनका लागि हामीले साझेदारीको एउटा मार्ग लियौं र सोको निरन्तरताका लागि स्थानीय सरकारले नेतृत्व गरेको छ। यसबाट हामीले उल्लेख्य उपलब्धि हासिल गरेका छौं। स्वास्थ्य सेवालाई सुदृढीकरण गर्न प्रयासरत एवं उपायहरूको खोजीमा रहनु भएका अन्य पालिका तथा प्रदेश सरकारहरुका लागि यो एक उदाहरण बन्न सक्छ भन्ने आशा गरेका छौं।
(केसी भीमेश्वर नगरपालिकाका प्रमुख र कलौनी न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक हुन्।)