नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएको पनि केहि हप्ता भैसकेको छ। अस्पतालहरुमा बेड भरिएको संकेत देखा परेको छ। पूर्वदेखि सुदुरपश्चिमसम्म अस्पतालहरु संक्रमितहरुले भरिन थालेको छन्। दोस्रो लहर शुरु हुँदा युवा र बालबालिकामा असर बढी देखा परिरहेको छ। मृत्यु दर झन् बढेर गएको छ।
दिन प्रतिदिन कोरोना संक्रमितको संख्या उकालो लागी रहेको छ। अघिल्लो बर्षभन्दा मृत्यु दर पनि बढेर गएको छ। कोरोना भाइरसले रुप फेरेर नयाँ भेरियन्ट बनेको छ। के कोरोनालाई जति सक्दो छिटो पूर्ण नियन्त्रणमा लिन सकिन्छ? यो प्रश्नको उत्तर भने धेरै जटिल बन्दै गएको छ। कोरोना महामारीलाई पूर्ण नियन्त्रणमा लिन कम्तिमा दुई चरणका तयारी आवश्यक छ।
एक महिनाको समयमा पूर्ण तयारी गर्ने: संघ र प्रदेश सरकार मिलेर स्थानीय तहलाई कोरोना नियन्त्रणको बजेट विनियोजन गरि अति आवश्यक बस्तुको कम्तिमा २ महिनाको लागी उपलब्धता सुरक्षित गर्ने। यो पहिलो चरणको तयारी दोस्रो चरण भन्दा महत्वपुर्ण हुनेछ। किनकी यहि तयारीले अर्को महिनाको कार्यान्वनको बाटो तय गर्नेछ।
१. संघ, प्रदेश र स्थानीय तहका निश्चित अस्पतालहरु तोकी कोभिड –१९ को उपचारको लागि तयारी गर्ने।
२. कोभिड – १९ अस्पतालहरुको लागी फास्ट ट्रयाकबाट बजेट विनियोजन गर्ने।
३. कोभिड – १९ मा काम गर्ने सम्पूर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको लागी जोखिम भत्ता सुनिश्चित गर्ने।
४. कोभिड – १९ का संक्रमितहरुको उपचारका लागी संघ, प्रदेश र स्थानीय तह मिली कोभिड – १९ अस्पताल र नन् कोभिड – १९ अस्पताल फरक फरक निर्धारण गर्ने।
५. धेरै संक्रमण भएको शहरहरुमा होटेलहरुलाई आइसोलेशन केन्द्रमा परिणत गर्न तयारी गर्ने। खर्चको सोधभर्ना नेपाल सरकारले गर्ने। प्रत्येक होटेलमा कम्तिमा दुईजना स्टाफ नर्स र एक जना मेडिकल अधिकृत राखी सामान्य लक्षण वा लक्षण नभएकाहरुलाई राखी निगनारी गर्ने र आवश्यक परे कोभिड – १९ अस्पतालमा पठाउने।
६. सक्रिय संक्रमितहरुलाई पूर्ण रुपमा आइसोलेशन केन्द्र तथा अस्पतालहरुमा राख्ने व्यवस्था मिलाउने।
७. दुई महिनासम्म के-के गरिदैछ भनि विभिन्न संचार माध्यम, सरकारी कार्यालयहरु, निजी संस्थाहरु, संघ प्रदेश र स्थानीय तहहरु मिलि टोल टोलसम्म जानकारी गर्ने।
८. संक्रामक रोग एन २०२० अन्तर्गत महामारीमा नीति नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्ने।
९. कोभिड – १९ महामारी नियन्त्रणमा अनुभव भएका चिकित्सक र जनस्वास्थ्य विज्ञहरु सम्मिलित प्राविधिक विज्ञ समिति बनाई कोभिड – १९ क्राईसीस व्यवस्थापन केन्द्र (CCMC) लाई सिधै सल्लाह तथा सुझाब दिने गरि काम, कर्तब्य र अधिकार तोक्ने।
१०. जिल्ला प्रशासन कार्यालयहरु, जिल्ला प्रहरी कार्यालय, सशस्त्र र नेपाली सेना परिचालन गर्न आवश्यक निर्देशिका जारी गर्ने।
११. नेपालको अन्तरास्ट्रिय सिमा अर्को महिना पूर्ण बन्द गर्न आवश्यक तयारी गर्ने। विदेश जानु पर्नेलाई यहि महिना भित्र पठाउने। विदेशबाट आउनु पर्नेलाई पनि यहि महिना भित्र नेपाल आएर क्वारेन्टिनमा बस्न उचित व्यवस्था गर्ने।
१२. कोभिड – १९ को उपचार तथा नियन्त्रणमा अनुभव प्राप्त चिकित्सकहरु र जनस्वास्थ्य विज्ञहरुको समूह बनाई दैनिक प्रगति समिक्षा गर्ने र सरकारलाई सुझाब दिने।
अर्को एक महिना पूर्ण लक्डाउन गर्ने: यो समयमा आकस्मिक कामहरु जस्तै अत्यावश्यक आकस्मिक स्वास्थ्य सेवा बाहेक अरु सबै गतिविधि पूर्ण निषेध गर्ने। कोरोना भाइरस मानिसको शरीरमा कम्तिमा एक हप्ता जीवित रहन सक्ने विभिन्न अध्ययनले देखाई रहेको छ। कसै कसैले यो भाइरस १० दिन देखि १४ दिनसम्म पनि सार्न सक्ने देखिएको छ। एक हप्ता वा दुई हप्ताको तयारी बिनाको लकडाउनले कोरोना महामारी रोक्न सफल हुँदैन। यो दोस्रो महिनामा तपशिलमा कार्यहरु गर्ने।
१. लक्षण भएका संक्रमितहरुको पूर्ण उपचार तोकिएको अस्पतालहरुमा निशुल्क गर्ने।
२. लक्षण नभएका संक्रमितहरुले कोरोना सार्न तथा फैलाउन सक्ने भएको हुनाले, आईसोलेशन अबधि पुरा गर्न सहज बाताबरण बनाउने र आइसोलेशन केन्द्रमा (होटेल लगायत) राख्ने।
३. पूर्ण लक्डाउनको समयमा अन्तरास्ट्रिय नाका, यातायात, हवाईजहाजबाट यात्रामा पूर्ण निषेध गर्ने।
४. अत्याबश्यक काम बाहेक घर बाहिर र सार्बजनिक स्थलमा ननिस्कन आब्हान गर्ने।
५. प्रत्येक नागरिकले घर बाहिर निस्कनु पर्ने अत्याबश्यक काम भएमा स्तरीय मास्कको अनिबार्य प्रयोग गर्ने। घर बाहिर मास्क प्रयोग नगरेमा दण्ड जरिवाना गर्न गराउन स्थानीय प्रशासनलाई अधिकार प्रत्यायोजन गर्ने।
६. स्कूल, कलेज, विश्वबिद्यालय, पाठशाला, होटेल, रेस्टुरेन्ट, सभा सम्मेलन, गोष्ठी, तथा अधिबेशन पूर्ण बन्द गर्ने।
७. संक्रमितहरुको उपचार र आईसोलेशनको जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा प्रदेशको सामाजिक विकास मन्त्रालय र स्थानीय तहहरु मिलि गर्ने।
८. पूर्ण लक्डाउनको कार्यान्वन गृह, रक्षा र सामान्य प्रशासन मन्त्रालयहरु मिलेर गर्ने।
९. दोस्रो महिनाको प्रगतिको आधारमा लक्डडाऊन खुकुलो पार्ने वा अन्य रणनीति अख्तियार गर्ने बारे निर्णय लिने।
यो दुई चरणको प्रगति अनुसार व्यक्तिगत सुरक्षाका मापदण्ड अपनाएर मात्र लक् डाऊन खुकुलो पार्दै जाने र बाँकि रहेको संक्रमितको उपचार सुनिस्चित गर्दै जाने।
(डा गौचन गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालमा कार्यकारी निर्देशक हुन्)