काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थपिएको छ। मंगलबार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू को संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको हो।
काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। मंगलबारको बैठकले जारी निषेधाज्ञालाई जेठ १३ गतेसम्म निरन्तरता दिने निर्णय गरेको काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए।
उनका अनुसार आजको बैठकले यसअघिको नियममा केही परिमार्जनसमेत गरेको छ। नयाँ व्यवस्था अनुसार अब दैनिक उपभोग्य सामग्रीको पसल बिहान १० बजेसम्म खोल्न पाइनेछ। यसअघि बिहान ९ बजेसम्म मात्रै पसल खोल्न पाउने व्यवस्था थियो।
अब निर्माण सामग्री राति १० देखि बिहान ४ बजेसम्म ढुवानी गर्न दिने निर्णय पनि भएको छ। अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्यूनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने भनिएको छ।
सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्वारा जारी गरेको सवारी पास र परिचय-पत्रका आधारमा आवातजावत गर्न दिने बैठकपछि जारी सूचनामा उल्लेख छ।
बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरिएको छ।