काठमाडौं- 'कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने नारासहित आज ६९ औँ विश्व कुष्ठरोग दिवस मनाइदै छ। विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०१० मा कुष्ठरोग निवारण भएको मुलुक भनेर घोषणा भएको ११ वर्ष बितिसक्दा पनि नेपालमा अँझै धेरै बिरामीहरु फेला परिरहेका छन्।
कुष्ठरोग के हो, यो रोग लागेको कसरी थाहा पाउने, यो रोग लाग्न नदिन के गर्न सकिन्छ र बिरामीले कसरी सावधानी अपनाउने लगायतका विषयमा सही जानकारी नपाउदा र समयमै उपचार नगर्दा यसले अपांगता समेत गराउन सक्छ।
कुष्ठरोग के हाे?
कुष्ठरोग एक प्रकारको सानो आँखाले देख्न नसकिने माइक्रो ब्याकटोरिया लिप्रे नामको किटाणुबाट छाला तथा नशामा असर पार्ने एक किसिमको रोग हो । यसले मुख्यरुपमा छाला तथा नशामा असर गर्छ। समयमै उपचार गरिएन भने अरु अंगमा पनि असर पु¥याउन सक्छ। लामो समयसम्म उपचार भएन भने अंगभंग गराइ अपांगता समेत गराउन सक्छ।कुष्ठरोग श्वासप्रश्वासको माध्यमबाट सर्छ। उपचार नगरेको कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास–प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ। तर, यो निकै कम सरुवा रोग हो।
कुष्ठरोगका लक्षण ?
-शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु
-अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु
-आँखीभौं झरेर जानु
-हात खुट्टाहरू लगातार झम–झम गर्नु,दुख्नु,
-हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु आदि।
उपचार प्रक्रिया
साधारणतया यो रोग सरेको २ वर्षदेखि ५ वर्षभित्रमा यसका चिह्न र लक्षण देखा पर्न सक्छन्। बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीका साथै प्रेषण केन्द्रहरूमा कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ। यसको नियमित उपचार गरिसकेपछि एक हजार र अस्पतालमा गएर उपचार गरेका थप एक हजार नेपाल सरकारले यायातात खर्च उपलव्ध गराउँछ। नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपले निको हुन्छ र अपाङ्गता हुनबाट बच्न सकिन्छ।
श्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय