'प्रत्येक छालाको नवप्रवर्तन निमित्त एआईको प्रयोग' भन्ने मूल नाराका साथ आजका दिन यो वर्षको 'विश्व सेतो दुबी दिवस' मनाइँदै छ। सेतो दुबीको बारेमा चिकित्सा क्षेत्रमा थुप्रै खोज, अनुसन्धान र उपचार पद्धति विकसित हुँदै गइरहेको छ। तथापि हाम्रो जस्तो भूभागमा सेतो दुबीको बारेमा अझै पनि जनचेतनाको अभावले गर्दा रोग लुकाउने प्रवृतिले व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ। अझ कतिपय त समाजबाटै बहिस्कृत हुनु परेको उदाहरण पनि छन्।
सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ। विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय मानिस मध्ये एक वा दुइ व्यक्तिमा सेतो दुबीको समस्या भएको पाइएको छ। सेतो दुबीको प्रमुख कारण भनेको छालालाई रंग प्रदान गर्ने तत्व ( मेलानिन)लाई उत्पादन गर्ने कोषिका ( मेलानोसाइट ) नष्ट भएर हो।
नष्ट हुनुको कारण शरीरमा भएको रोग प्रतिरोधात्मक कोषिका अस्वाभाविक रुपमा सक्रिय भएर हो। त्यस्तै बंशाणुगत रुपमा पुस्तान्तरण हुनु पनि एउटा पक्ष हो भने विभिन्न अध्ययनहरुले थाइराइड या मधुमेह जस्ता रोग संग पनि सेतो दुबीको सम्बन्ध पुष्टि गरेका छन्। यद्दपि सेतो दुबी भनेको पूर्व जन्मको पाप हो भन्ने अन्धविस्वास र रुढिबादी सोच हाम्रो देशको केहि भागमा छ जुन नितान्त गलत र भ्रम हो। अझ कतिपय व्यक्तिमा त माछा र दूध एकै साथ सेवन गर्दा सेतो दुबी उत्पन्न हुन्छ भन्ने भ्रम छ जसलाई चिकित्सा विज्ञानले अहिले सम्म प्रमाणित गरेको छैन। त्यस्तै अमिलो खानाले सेतो दुबी गराउँछ भन्ने कुरा पनि अहिले सम्म बहसकै बिषय हो । यद्दपि पछिलो समयमा भने केहि अध्ययन र अनुसन्धानले यो कुरालाई गलत प्रमाणित गरेको छ।
सेतो दुबीको समस्या जुनसुकै वर्ग वा उमेरमा देखिन सक्छ। शरीरको अनुहार लगायत जुनसुकै भागमा नचिलाउने, नदुख्ने अनि दूध जस्तै सेतो रंगका दाग या धब्बा देखिनु नै सेतो दुबीका प्रमुख लक्षण हुन्। कुनै दाग एउटा अनि नबढ्ने मात्र पनि हुन सक्छ भने केही दागहरु धेरै अनि आकारमा बढ्दै जाने हुन्छन्। चोटपटक लागेको ठाउँमा नयाँ सेतो दागहरु पनि देखिन सक्छन्। यदि आफ्ना शरीरमा यस्ता सेता दाग देखिएका छन् र भएका सेतो दाग पनि बढ्दै गएका छन् भने स्वास्थ्य संस्थामा चिकित्सकको परामर्श लिनुपर्छ। यस्ता व्यक्तिले सके सम्म प्लास्टिकका चप्पल प्रयोग गर्नु हुँदैन। छालालाई अनावश्यक चोटबाट जोगाउनु पर्छ र चिकित्सकको उचित सल्लाह लिनु पर्छ । आँफै अनावश्यक औषधी लगाउने र खाने गर्नाले समस्या झन् जटिल बन्न सक्छ।
सेतो दुबीको उपचार चुनौतीपूर्ण छ र विभिन्न कुरामा निर्भर गर्दछ। दाग कति छ, कुन भागमा छ,दाग बढेको छ छैन जस्ता कुराहरु चिकित्सकले निर्धारण गरिसकेपछि मात्र थप व्यवस्थापन सहज हुन्छ । तसर्थ, सेतो दुबी भएको व्यक्तिले आफ्नो समस्या चिकित्सकसंग नहिच्किचाई भन्नु पर्छ र सोहि अनुसार नियमित सल्लाह सुझाब लिनु पर्छ। सेतो दुबी कुनै प्राण घातक रोग होइन। छुँदैमा यो दाग सर्दैन। तसर्थ, यी व्यक्तिहरुलाई हाम्रो माया अनि हौसलाको अत्यन्त खाँचो छ। छालाको रंग खोजिरहेका उनीहरुलाई खुसियाली को रंग भरिदिने जमर्को हामी सबैले गर्नुपर्छ।