काठमाडौं- नेपाल मेडिसिटी अस्पतालले डा अमित तोमरलाई प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ। उनको नेतृत्वमा अस्पतालले अझ नयाँ उचाइ हासिल गर्ने विश्वास अस्पताल प्रशासनले लिएको छ।
अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार डा तोमरले युनिभरसिटी अफ लिड्स युकेबाट हस्पिटल म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् भने उनको विकसित तथा विकासोन्मुख देशहरुको विभिन्न अस्पताल र स्वास्थ क्षेत्रमा काम गरिसकेको अनुभव छ।
डा तोमरको नियुक्तिले नेपाल मेडिसिटी अस्पतालको स्वास्थ्य सेवालाई अझ गुणस्तरीय र पहुँचयोग्य बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ। 'उनको कार्य अनुभव र नेतृत्व क्षमताले अस्पताललाई आगामी दिनमा थप सफलताको मार्गमा डोर्याउनेछ, जसले बिरामीहरूलाई अत्याधुनिक उपचार र उत्कृष्ट हेरचाह प्रदान गर्न मद्दत पुग्नेछ,' विज्ञप्तिमा भनिएको छ।
स्वास्थ्य सेवालाई अझ प्रभावकारी र गुणस्तरी सेवा प्रदान गर्न अस्पतालले मेडिकल बोर्ड स्थापना गरेको छ। उक्त बोर्डमा विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरू समावेश छन्, जसमा जेनेरल तथा डाइजेस्टिभ डिजिज युनिट १ का प्रमुख प्राडा सुनिल कुमार शर्मा, इएनटी–हेड एण्ड नेक सर्जरीका प्रमुख प्राडा तोरण केसी, रेडियोलोजी र इमेजिङ विभागका प्रमुख प्राडा राम कुमार घिमिरे र अर्थोपेडिक सर्जरी विभागका प्रमुख प्राडा शिशिर लाखे रहेका छन्।
यस बोर्डले अस्पतालको चिकित्सा उत्कृष्टता र नवीनतामा महत्वपूर्ण योगदान गर्ने विज्ञप्तिमा उल्लेख छ।