रामपुर- पाल्पाको रामपुर अस्पतालमा विशेषज्ञसहितको सरकारी दरबन्दी भए पनि जनशक्तिका अभावमा नागरिकले सेवा लिन पाएका छैनन्।
दरबन्दी भएर पनि जनशक्ति अभावमा विशेषज्ञसहितको सेवा सुविधा लिन कालीगण्डी बेंसीबासी अन्यत्र जानुपर्ने बाध्यता छ। ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात्’ भने झैँ ५० श्याको सरकारी अस्पताल छाडेर नागरिकलाई सदरमुकाम तानसेन, बुटवल, पोखरा र काठमाडौँमा जानुपर्ने बाध्यता छ। वर्षायाममा ती स्थानमा सेवा लिनका लागि यात्रा गर्न सडक समस्याले निकै कठिन पर्छ।
कतिपयले त अकालमा बाटामा नै तथा कतिपयले अर्थाभावका कारण घरमै उपचार नपाएर ज्यान गुमाउनुपरेको उदाहरण पनि छ। अस्पतालमा निर्माणाधीन भवन समयमा नै सम्पन्न नहुनु र अर्कातर्फ भूगोलका हिसाबले ग्रामीण भेग हुनाले विशेषज्ञ चिकित्सक आएर नागरिकलाई सेवा दिन झट्ट तत्पर हुँदैनन्। जिल्ला सदरमुकाम तानसेनदेखि रामपुर करिब ६५ किलोमिटर पूर्व ग्रामीण क्षेत्र रहेकाले पनि अस्पतालमा विशेषज्ञसहितको सेवा उपभोगमा भूगोल र भवन अभाव बाधक बनेको छ।
रामपुर नगरपालिकामा पन्ध्र शय्या क्षमतामा सञ्चालित रामपुर अस्पताललाई घरदैलामै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्षमता बढाएर ५० शय्याको सुविधासम्पन्न भवन निर्माण थालनी गरिएको हो। यसअघि प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा सञ्चालित हुँदै आएकामा औषधोपचार सेवाको दायरा बढाउन विसं २०७२ मा अस्पतालका रुपमा स्तरोन्नति भएको हो। अझै पनि भौतिक पूर्वाधारलगायत सेवा अभावका कारण विशेषज्ञ सेवा दिन समस्या परेको छ।
यहाँका नागरिकलाई अस्पतालको भवन निर्माणको काम कहिले सकिएला भन्ने चिन्ताको विषय बनेको छ।
अर्कातर्फ अस्पतालमा विशेषज्ञ दरबन्दी भएर पनि स्वास्थ्योपचार सेवा नपाउनु बिरामीका लागि अत्यन्तै दुखद रहेको सहिद बहुमुखी क्याम्पस रामपुरका अध्यक्ष देवराज ढकाल बताउँछन्। स्वास्थ्योपचार जस्तो संवेदनशील कुरामा सम्बन्धित निकायको बेवास्ताका कारण नागरिकले विशेषज्ञसहितको सेवासुविधा पाउनबाट वञ्चित हुनुपरेको उनको भनाइ छ।
भवन निर्माण कम्पनीको चरम लापरबाहीले गर्दा पटकपटक म्याद थप र निर्माणका काममा आलटाल गर्दा नागरिकले सहज रुपमा सेवा नपाई सास्ती खेप्नुपरेको अस्पताल विकास समितिका पूर्वउपाध्यक्ष फणेश्वर गौतमले गुनासो पोखे। रासस