मानव शरीरमा एक जोडी सिमि आकारका मिर्गौला रहेका हुन्छन्। मिर्गौलाले शरीरमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्नेदेखि पानीको मात्रालाई सन्तुलन गर्ने काम गर्दछ।
विश्वमा नसर्ने रोगको जटिलता दिन प्रतिदिन बढ्दै गइरहेको छ। हाम्रो देशको कानुनले मिर्गौला फेल भएका बिरामीलाई तीन तरिकाले लिन/दिन सक्ने व्यवस्था गरेको छ।
पहिलो नियममा आफ्नो नजिकका ५२ जना नातेदार, दोस्रो नियममा दुवै तर्फबाट लिन/दिन नमिल्ने अवस्थामा आपसी साटासाट गर्न सकिन्छ। तेस्रोमा मस्तिष्क मृत्युबाट दानमा आएका मिर्गोलाबाट अंगदान गर्न सकिन्छ।
विभिन्न कारणबाट बिरामीको मस्तिष्क मृत्यु भइरहेको हुन्छ। मस्तिष्क मृत्यु भनेको मस्तिष्कमा अप्रत्यावर्तनीय अवस्था, स्नायु अनुसन्धानबाट बेहोसको अवस्था प्रमाणित भएको अवस्था, बिरामीलाई बेहोस बनाउने औषधिको असर नरहेको, मांशपेसी लठ्ठ पार्ने औषधिको प्रमाण नभएको, अम्ल क्षारको समस्या नभएको, शरीरको न्युनतम तापक्रम ३५ डिग्री भन्दा कम नभएको, रक्तचाप सामान्य रहेको र प्राकृतिक रुपमा श्वासप्रश्वास नभएको आदि तथ्य तथा स्नायु विश्लेषणको माध्यमबाट मात्र पुष्टि गर्न सकिन्छ।
परिवारको स्विकृती बिना यस्तो अवस्थामा मिर्गोला लिन/दिन मिल्दैन। मस्तिष्क मृत्यु भइसकेपछि कृतिम श्वासप्रश्वासको माध्यमबाटबाहेक अन्य प्राकृतिक रुपमा मानिसको जीवन रहन सक्दैन।
आखिर जलेर खरानी भएर जाने अंग नै हुन्। कसैको जीवनलाई बचाएर आफ्नो अंग जिवन्त बनाउने एक माध्यम हो मस्तिष्क मृत्युपछिको अंगदान।
जीवित रहँदा मस्तिष्क मृत्युपछिको अंगदानका लागि घोषणा गरेको र मञ्जुरीनामामा हस्ताक्षर नै गरेको भएपनि भवितब्य परेर दिन मिल्ने भएपनि परिवारको स्विकृती बिना यस्तो अंगदानले खासै मान्यता पाउँदैन। हाम्रो जस्तो देश जहाँ पौराणीक मुल्य मान्यताहरु, मृत्युपछिको जीवनको विश्वास अनि अन्य कुराहरुले पनि आफ्नै स्थान ओगटेको छ।
हामीमा अंगदान गर्दा अर्को जुनिमा समस्या पर्ला भन्ने गलत धारणा छ। आफ्नो मूल्य मान्यतामा विश्वास राख्नुपर्दछ तर मृत्युपछिको नदेखेको जीवनको लोभमा यहि जुनिमा गर्न सकिने पुण्य गर्न सके धेरै मिर्गोला तथा कलेजो पिडितले राहत पाउने थिए।
आफ्नो भौतिक शरीरले काम गर्न नसक्ने तर अरुको शरीरमा आफ्नो अंगले काम गर्न सक्छ भने हामी यो काम गर्न किन पछि हट्ने। व्यक्ति, संस्था भन्दा माथि उठेर सम्पुर्ण सरोकारवाला निकायले हातेमालो गर्न सके सयौं बिरामीहरु यसबाट बच्न सक्ने थिए।
फूल फुल्छ झर्छ, फुल्ने र झर्ने क्रम चलिरहन्छ। मानव जीवन पनि यस्तै हो। जन्म मृत्युको प्राकृतिक नियममा हामी बाँधिनुनै पर्छ। ढिलो चाँडोको कुरा मात्रै हो। त्यसैले आफू मरेर गएपनि आफ्ना अंग कसैको शरीरमा पुर्णरुपमा कार्य गर्ने बनाएर हामी अमर बनौँ। मस्तिष्क मृत्युपछिको अंगदानलाई सबै मिलेर अभियानको रुपमा अगाडि लैजाउँ। आफू मरेर गएपनि आफ्ना अंगले अरुलाई बचाऔँ। यो भन्दा ठूलो धर्म अरु केहि पनि छैन।
आफ्नो मान्छेको मस्तिष्क मृत्यु हुँदाको क्षण अवश्यनै पिडादायक छ तर फर्केर नआउने जीवनमा अंगदानबाट अरुलाई बचाएर आफ्नो मान्छेलाई जिवन्त राख्ने अवसर पनि त हो। त्यसैले मस्तिष्क मृत्युपछिको अंगदान महादान हो। सबै मिलेर यस पुण्य कार्यलाई अगाडि बढाऔँ।
-(बगाले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी ट्रान्सप्लान्ट कोअर्डिनेटर हुन्।)