काभ्रेपलाञ्चोक- फागुन दोस्रो साता बनेपाको एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै मिर्गौला मिलाइदिन आग्रह गरे। युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले मिर्गौला दिने व्यक्तिसँग सम्पर्क गराइदिए मात्र पनि लाखौँ रुपैयाँ दिने आश्वासन दिए। युवाले ‘सोचौँला’ भनिदए।
मोटरसाइकलमा आउने गरेका केही पुरुषले मिर्गौलाकै विषयमा बारम्बार कुरा गर्ने गरेको पाँचखाल नगरपालिका ७, लामीडाँडा-पलाञ्चोक सडकखण्ड छेउ बस्ने एक महिला बताउँछिन्।
अहिले यस्तो कुरा नगर्नुस्, मिर्गौलाको कुरा गर्नेबारे यहाँका नेतालाई भनेर सबै मिलेर लखेट्ने गरेको छौँ भनेपछि भाग्छन् ती महिलाले भनिन्। उनका अनुसार स्थानीय जनप्रतिनिधिले त्यस्ता शङ्कास्पद व्यक्ति बस्तीमा आए तत्कालै खबर गर्न भनेका छन्।
पाँचखालको होक्से तथा मण्डनदेउपुरको ज्याम्दी आसपासका बस्तीमा गोप्यरूपमा कतिपय मान्छे अझै मिर्गौला बेचबिखनबारे कुराकानी गर्न जाने गरेको स्थानीयवासी बताउँछन्। 'मिर्गौलाको विषयमा कुरा गर्न कोही आए हामीले तुरुन्तै खबर गर्न स्थानीयवासीलाई भनेका छौँ', पाँचखाल-८ का वडाध्यक्ष पुष्कार ढकालले भने।
फोन आएमा फोन नम्बर र व्यक्ति आफैँ आएमा गाडी नम्बर उपलब्ध गराउन अनुरोध गरिएको उनले बताए। मिर्गौला आवश्यक पर्ने परिवार तथा तस्करी गर्नेले काभ्रे नै सम्झने गरेको घटना विवरणहरूले देखाउँछन्।
काभ्रेका होक्से र ज्याम्दी दुई दशकदेखि ‘बैंक अफ किड्नी’को नामले देश-विदेशमा बदनाम भएका क्षेत्र हुन्। पछिल्लो वर्ष मिर्गौला बेच्नेहरू नै यसबारे चेतनामूलक अभियानमा लागेपछि तस्करीमा केही आएको देखिन्थ्यो। तर, यही वर्ष मिर्गौला तस्करीका दुई घटना सार्वजनिक भएका छन्।
गत साउन अन्तिम साता बनेपा प्रहरीले बनेपा नपा ५ का २८ वर्षीय एक युवाको मिर्गौला बिक्री गरेको आरोपमा काभ्रेपलाञ्चोककै तीन जनालाई पक्राउ गर्यो। उनीहरूले दाजुको मिर्गौला तस्करी गर्न खोजेका युवालाई नै झुक्याएर उनको एउटा मिर्गौला भारतमा लगेर बेचेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
घटनाक्रमले काभ्रेमा मिर्गौला तस्करहरू पुनः सक्रिय भएको देखाउँछ। त्यो घटनामा भुम्लु गाउँपालिकाका ३५ वर्षीय कुमार परियार, उनका भाइ ३३ वर्षीय देवराज र पाँचखालका ३१ वर्षीय कुमार परियार समातिए।
आरोपितले ती युवाको एउटा मिर्गौला भारतको कोलकातास्थित एमआरआई अस्पतालमा शल्यक्रिया गरी बिक्री गरेको अनुसन्धानबाट खुलेको थियो। दाजुको मिर्गौला बिक्री गर्ने तस्कर खोज्दाखोज्दै तस्करले निशानामा पारेका उनै युवाको जाहेरीपछि प्रहरीले तस्करीको खोजबिन थालेको थियो।
काभ्रेबाट केही वर्षयता मिर्गौला तस्करी रोकिएको अनुमान गरिए पनि १० जेठ २०७५ मा तस्करीले काभ्रेको बनेपा(२, टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय पुरुषलाई झुक्याएर उनको एउटा मिर्गौला ५१ वर्षे एक पुरुषलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराएका थिए ।
तर त्यो घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको स्थानीयवासी बताउँछन् । प्रहरीले ज्याम्दी र होक्सेमा मिर्गौला तस्करी गर्ने सात जनालाई वैशाख २०७० मा कानुनी कारबाही गरेको थियो । जानेर-नजानेर आफ्नो शरीरको महत्त्वपूर्ण अङ्ग मिर्गौला बेचेका उनीहरूको जीवनशैली दिनानुदिन कारूणिक बन्दै गएको देखिन्छ ।
विशेषगरी, शारीरिक र आर्थिक अवस्था निकै कमजोर भइसकेकाले आयआर्जनका वैकल्पिक काम गर्नसमेत सकेका छैनन् । घटना विवरणअनुसार काभ्रेका तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २४ वर्षअघिदेखि मिर्गौला तस्करी हुने गरेको थियो ।
तत्कालीन होक्से गाविस १ स्थित एक ठकुरी परिवारका सात जनाले मिर्गौला बेचेर २०६८ सालमा गाउँ छोडी हिँडेका थिए।
मण्डनदेउपुर नगरपालिका १२ ज्याम्दीका नवराज मिजार १९ वर्षअघि आफ्नो एक मिर्गौला बेचेका थिए। आफूले मिर्गौला बेचेपछि दुखाई कम गर्न रक्सी खाने गरेको र मिृर्गौला बेचेर आएको पैसा, भएको जमिन पनि सकेको उनी बताउँछन्।
केही वर्षअघि होक्से र ज्याम्दीमा चेतनामूलक कार्यक्रम गरेको जनाधिकार संरक्षण मञ्च पीपीआर नामक संस्थाको प्रतिवेदनमा पाँचखाल नगरको होक्से तथा जोरपिपलका ११२, पाँचखालका १०२ तथा ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गौला बेचेको उल्लेख छ।
उसको प्रतिवेदनमा मिर्गौला बेच्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बर देखिन्छ। मिर्गौला तस्करीमा संलग्नलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गत १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना सजाय हुनेछ।
जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानुनी व्यवस्था छ। नेपालमा मानव शरीरको अङ्ग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ को संशोधन २०७२ मा नाता पर्ने प्रायः सबैले अङ्गदान गर्न सक्ने व्यवस्था गरिएको छ। उक्त ऐनले दुई वा दुईभन्दा बढी परिवारमा अङ्ग साटासाट गर्न सकिने व्यवस्था पनि गरेको छ।रासस