काठमाडौं– नेकपा एमालेबाट विराटनगर महानगर पालिकाको उपमेयरकी उम्मेदवार शिल्पा निराला कार्की विरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुङ्गानाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। कार्कीले उम्मेदबारीको मनोनयन पत्र दर्ता गराउँदा सरकारी सुविधाको पदबाट राजीनामा दिइ आफ्नो जिम्मेबारीबाट हटेको देखिएको र यो विवादको निरुपण अन्तिम सुनुवाइ हुदाँ हुने भन्दै सर्वोच्चले अन्तरिम जारी गर्न अस्वीकार गरेको हो।
वुधबार पनि उक्त मुद्दाको पेसी तोकिएको थियो। तर, हेर्न नमिल्ने न्यायाधीशकोमा पेसी परेपछि सुनुवाइ सरेको थियो। न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा पेसी रहेको उक्त मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको थियो।
वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा उनको उम्मेदवारी रद्द हुनुपर्ने जिकिर रिटमा गरिएको छ। उपमेयरका अर्का प्रतिस्पर्धी अमरेन्द्र यादवले कोशी अस्पताल विकास समितिबाट राजीनामा नदिएरै उम्मेदवार बनेको भन्दै कार्कीविरुद्ध रिट दायर गरेका थिए। उक्त रिटमा दुबै पक्षको बहसका लागि निर्वाचनको अघिल्लो दिन मिति तोकिएको थियो।