काठमाडौं- नेकपा एकीकृत समाजवादीका चार जना मन्त्रीले सोमबार पदभार सम्हालेका छन्। सोमबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेपछि नवनियुक्त मन्त्रीहरूले पदाभार सम्हालेका हुन्।
सोमबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई सपथ खुवाएकी थिइन्।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार मेटमणि चौधरीलाई शहरी विकास, जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र भवानी खापुङलाई स्वास्थ्य मन्त्री नियुक्त गरेकी थिइन्।
को हुन् स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ?
नवनियुक्त स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ २०१९ साल असोज १९ गते तेह्रथुमको मेन्छ्यायेममा जन्मिएका हुन्। स्नातकसम्म अध्ययन गरेका उनी दुईपटक सांसदमा निर्वाचित भइसकेका छन्। ०६४ को संविधानसभा निर्वाचनमा पराजित खापुङ ०७० मा तेह्रथुमबाटै निर्वाचित भएका थिए।
०७४ मा उनी बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्दै तेह्रथुमवासीको जनप्रतिनिधिको रुपमा दोस्रो पटक निर्वाचित भएका हुन्। उनले तत्कालीन भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले पछि पार्दै विजयी भएका थिए। खापुङले २१ हजार ३ सय १५ मत प्राप्त गरेका थिए। गुरुङले १९ हजार ३ सय १४ मत पाएकी थिइन्।
बहुदल स्थापनापछि तेह्रथुमबाट निर्वाचित हुनेमध्येबाट राज्यको कार्यकारी पदमा पुग्ने खापुङ एक्ला व्यक्ति हुन्।
२०३६ सालमा विद्यार्थीकालबाटै राजनीतिमा आएका खापुङ शिक्षण छाडेर एमालेबाट गाविस अध्यक्ष जितेपछि सक्रिय राजनीतिमा आए। उनी पटक–पटक जिल्ला कमिटी सचिवमा सर्वसम्मत निर्वाचित भएर काम गरेका छन्। ०६६ को जिल्ला अधिवेशनबाट उनी एमालेको जिल्ला अध्यक्ष भए।
०६९ मा केन्द्रीय अनुशासन आयोगको सदस्य भएर काम गरे। एमालेमा माधवकुमार नेपालको पक्षमा खुलेर संगठन गरेका खापुङ अहिले एमाले विभाजित हुँदा पनि नेपालसँगै नेकपा (एकीकृत समाजवादी)मा लागेका छन् ।
स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई चिनौं
नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका दाङका हिराचन्द्र केसी २०३३ पुस ६ गते सल्यानमा जन्मिएका हुन्। दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसी देउवा नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्।
गत निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री दीपक गिरीलाई पराजित गरेपछि उनी चर्चामा आएका थिए। ६ हजार ५ सय बढी मतान्तरले उनी विजयी भएका थिए। केसी एमालेको जिल्ला सचिवसमेत भए।
युवा संघबाट राजनीतिमा आएका उनी दुई दशकयता निरन्तर एमालेमा रहेपनि एमाले विभाजनपछि नेकपा एसमा लागे। नेकपाभित्र विवाद बढ्दै जाँदा नेपाल पक्षमा रहेपनि उनले अन्तिम समयसम्म पार्टीभित्रै अन्तरसंघर्ष गर्नुपर्ने बताउँदै आएका थिए।
एमाले जिल्ला कमिटी सदस्य हुँदै विभाजनअघि जिल्ला सचिव बनेका उनी तुलसीपुरका सुन व्यवसायीसमेत हुन्। केसी प्ररायुसंघको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य, एमाले जिल्ला कमिटी सदस्य हुँदै विभाजनअघि जिल्ला सचिव बनेका हुन्।
हाल केसी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य छन्। विभिन्न आन्दोलनका क्रममा अग्रस्थानमा रहेर नेतृत्व गर्ने हिराचन्द्र केसी आन्दोलन र राजनीतिक यात्राको क्रममा धेरैपटक प्रहरी हिरासतमासमेत परेका थिए। उनले प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन्।