विभिन्न देशका मुलत: सरकारी स्वास्थ्य निकायहरुले हरेक वर्ष अप्रिल ७ तारिकका दिन विभिन्न कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाउने चलन छ। सन १९४८ मा विश्व स्वास्थ्य सम्मेलन पछिका स्वास्थ्य गतिविधिहरुमध्ये सन १९५० देखि विश्वभरि हरेक वर्ष विश्व स्वास्थ्य दिवस मनाउने कार्यको सुरुवात गरिएको थियो। पहिलो विश्व स्वास्थ्य दिवसको नारा स्वास्थ्य भनेको तपाई र तपाईको शरीरको अन्तरसम्बन्ध हो भन्ने थियो।
यसै क्रममा त्यसको करिब २० वर्षपछि सन २०१० मा विश्व स्वास्थ्य दिवसको अवसरमा शहरीकरण र स्वास्थ्य: स्वस्थ बनाउँ शहर भन्ने नाराका साथ विश्वभरी मनाईयो जुन सन् १९८६ मा क्यानडाको ओटावा चार्टरमा विश्वका करिब १९१ राष्टहरुको सहभागितामा सम्पन्न स्वास्थ्य प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भएको स्वास्थ्य प्रवर्द्धनको क्षेत्रलाई फराकिलो बनाउने काम गरियो।
त्यस्तै त्यसको पनि १० वर्षपछि सन २०२० मा विश्व स्वास्थ्य दिवसको नारा नर्स तथा मिडवाईफ्रीलाई सहयोग गरौ (भन्ने थियो। यसै क्रममा यस वर्ष २०२३ को विश्व स्वास्थ्य दिवसको नारा सबैका लागि स्वास्थ्य (Health For All) भन्ने रहेको छ। स्वास्थ्य सेवामा भएको विकास र कार्यशैली सँगसँगै यस वर्षको नाराले आज सम्म निर्धारण गरेका जति पनि विश्व स्वास्थ्य दिवसका नाराहरु थिए ति सबैलाई एक ठाउँमा एकिकृत गर्ने र विश्लेषण गरि स्वास्थ्यको महत्वलाई अझै फराकिलो बनाएको देखिन्छ।
यस वर्षको विश्व स्वास्थ्य दिवसको नाराले सन १९७७ मा विश्व स्वास्थ्य संगठनले घोषणा गरि सन १९७८ को २० औ सम्मेलनले सन २००० सम्म सबैका लागि स्वास्थ्य भन्ने नारा लिएर रसियाको अल्माआटा सम्मेलनबाट पारित भएको प्राथमिक स्वास्थ्य स्याहारको सिद्धान्त लाई प्रतिबिम्ब गरेको छ। प्राथमिक स्वास्थ्य स्याहारका सिद्धान्तहरु जस्तै सामुदायिक सहभागिता, अन्तर संस्थान समन्वय, उपर्युक्त प्रविधिको विकास र प्रयोग, सहयोगी बातावरणको निर्माण गर्नु थिए। यी सबै स्वास्थ्य सेवाका स्तम्भको रुपमा खडा भए र यसैको आडमा बहु पक्षीय सहभागितामा प्राथमिक स्वास्थ्य स्याहार प्राप्तिका लागि सबैको लागि स्वास्थ्यको अवधारणा घोषणा गरियो र यो अधिकांश देशहरुमा पुरा हुन सकेन।
नेपालले पनि सन २००० सम्म सबैका लागि स्वास्थ्य प्राप्तिका लागि प्राथमिक स्वास्थ्य स्याहारको अधारणा अनुसार निर्धारण गरिएका सबै लक्ष्यहरु हासिल गर्न सकेन र आज करिब ४५ वर्षपछि पनि हामी त्यहि सबैका लागि स्वास्थ्यको नारा तयगरि यसमा काम गर्ने योजना र नीतिगत छलफल गर्दैछौ। त्यसो हुनका पछाडी व्यक्तिगत, पारिवारिक, सामाजिक, सास्कृतिक, वातावरणीय, स्वास्थ्य सेवा र नीतिगत तत्वहरु हुन सक्छन।
सबैका लागि स्वास्थ्यको औचित्य
हरेक नागरिकको घरघर सम्म स्वास्थ्य नपुगेसम्म यो विषयले विश्राम लिने वाला छैन। त्यसैले यो विषयले यसवर्षको विश्व स्वास्थ्य दिवसको नाराको रुपमा प्राथमिकता पाएको हुन सक्छ। नेपालको संविधानले स्वास्थ्य सेवालाई हरेक नागरिकको एक मौलिक अधिकारको रुपमा लिएको छ तर व्यवहारमा नीतिगत तहमा वा राजनैतिक तहमा तथा कार्यान्वयन तहमा समेत यसको महत्वलाई गौण रुपमा हेर्ने गरिएको छ। जबसम्म स्वास्थ्यलाई एक प्राथमिक र जीवनको मुख्य पक्षको रुपमा ग्रहण गर्न सकिदैन तबसम्म यो नाराको औचित्य रहिरहने छ। स्वास्थ्यमा गरेका लगानीहरु र प्रयासहरुले केहि राम्रा उपलब्धिहरु भएपनि ब्यबहारिक रुपमा हेर्दा सन्तोषजनक रुपमा हेर्न सकिने अवस्था छैन।त्यसैले पनि स्वास्थ्यमा सबैको पहुच हुनुपर्छ भन्ने संदेशका लागि सबैका लागि स्वास्थ्य भन्ने नारा बनाई यसको बारेमा सचेतना दिने काम गरिदै छ। यो भनेको सबैका लागि स्वास्थ्य सत्य वा भ्रम के हो छुट्याउन गाह्रो छ।
सबैका लागि स्वास्थ्य प्राप्तिका लागि बहुपक्षीय सहभागिता
सबैका लागि स्वास्थ्य एक सत्य वा भ्रम के हो भन्ने कुरा निर्क्यौल नभई सकेको अवस्थामा यस बिषयलाई एक सकारात्मक दृस्टीका हिसाबले परिभाषित गर्दै सबैको सक्रिय सहभागितामा स्वास्थयको योजना, कार्यान्वयन तथा यसको अनुसन्धान गर्दै बढी भन्दा बढी आम नागरिकहरु सम्म स्वास्थ्य पुर्याउनु आजको आवस्यकता देखिन्छ। विभिन्न अनुसन्धान तथा प्रतिवेदन र स्थलगत अध्यनहरुबाट के कुरा भन्न सकिन्छ भने नेपालमा स्वास्थ्य भनेको बिरामी भै सके पछि गरिने उपचारलाई बुझिन्छ। रोग लागि सके पछि कुनै पनि ढिला नगरी तुरुन्त चिकित्सकको परामर्शमा उपचार गराउनु बुद्दिमता नै हुन्छ तर यसो भनि रहंदा कुनै पनि सर्ने वा नसर्ने रोगहरु लाग्न बाट बच्ने उपायहरुको सबै नागरिकहरुले ज्ञान पाई, त्यसबाट बच्न के के गर्नु पर्छ भनि रोग प्रतिरोधात्मक सेवामा ध्यान दिएर रोग लाग्नबाट बच्नु ठुलो बुद्धिमता हुन्छ।
जन स्वास्थ्यको मुख्य सेवाहरु प्राथमिक तहमा गरिने रोकथाम जस्तै स्वास्थ्य शिक्षा र विशिष्ट किसिमको रोकथाम तथा सम्वर्द्धन गर्नु मुख्य ध्येय हो। यो काम स्वास्थ्य निकायमा काम गर्ने स्वास्थ्यकर्मीहरुको मात्र हो भनेर बुझ्ने अनि सेवा प्रवाह गर्ने आभ्यास गर्दै आएको कुरा सत्य हो। समयको गति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, आवश्यकता र उपर्युक्त र उच्चतम अभ्यासहरुको आधारमा नया जनस्वास्थ्यको अवधारणा अनुसार रोगको रोकथाम तथा न्युनिकरण गर्नु आवश्यक छ। यसको अर्थ २१औ सताब्दिको जनस्वास्थ्य भनेको स्वास्थ्य प्रवर्द्धन नै हो। अत: सबैका लागि स्वास्थ्य प्राप्तिका लागि स्वास्थ्य प्रवर्द्धनका तपशिलका स्तम्भहरुको सुनिस्चितता हुनुपर्छ। जस्तैः (१) असल शासन: जसमा सबैका लागि सुशासन र नीतिगत रुपमा स्वस्थकर छनौटको शुनिस्चितता गरी दिगो विकास गर्न सबैको समन्वयात्मक भूमिका रहन्छ।
(२) स्वास्थ्य सचेतना: हरेक नागरिकको स्वास्थ्यमा ज्ञान र सामाजिक शिपको विकास गर्री उनीहरुलाई सक्षम बनाई स्वस्थकर छनौट र निर्णय गर्ने क्षमतामा वृद्धि गर्ने। र (३)
स्वस्थकर शहर: हरेक व्यक्तिको लागि उपर्युक्त बातावरण सिर्जना गरि उनीहरुलाई स्वस्थकर हिसाबले बस्न,कार्य गर्न र खेल्न एक सुन्दर र स्वस्थकर शहरको निर्माण गर्नुपर्छ।
यी सबै कुराहरुको माध्यमबाट सबैका लागि स्वास्थ्य प्राप्त गर्न स्वास्थ्य र स्वास्थ्य भन्दा बाहिरका निकायहरुको सक्रिय सहभागिता हुनु आवस्यक छ। यस्तो सहभागिता बहुतहमा हुनुपर्छ र यसले बहुपक्षीय सरोकारवाला सबैलाई समेट्नु पर्छ। अत: सबैका लागि स्वास्थ्य प्राप्तिका लागि बजेट तथा कार्यक्रम तयार गर्ने बेला देखि, यसको कार्यान्यन र अनुगामा तथा मुल्यांकन सम्म होसियार पुर्वक सबैको सामुहिक सहभागितामा गर्न आवस्यक छ। यदि त्यसो गरिएन भने अबको २० वर्ष पछि पनि सबैका लागि स्वास्थ्य भन्ने नाराको प्रचार प्रसारण गर्नु पर्ने हुन सक्छ। त्यसैले स्वास्थ्य सेवालाई उपचारात्मक सेवा भित्र मात्र सिमित नराखी यसको बृहत बुझाईकासाथ स्वास्थ्य प्रवर्द्धन, रोगको रोकथाम र तिनीहरुका जोखिम तत्व वा प्रभाव पार्ने तत्वहरुको बारेमा ध्यान राखेर योजना निर्माण गर्ने, मितब्ययितारुपी स्वास्थ्य कार्यक्रमको कार्यान्वयन गर्ने र सबैको पहुँचमा गुणस्तर आधारभूत स्वास्थ्य सेवा व्यक्तिको घर देखि ३० मिनेटको पैदल यात्रामा प्राप्त गर्ने गरि व्यवस्था गर्नु अति आवश्यक छ।
अबको हाम्रो स्वास्थ्य योजना अस्पतालको संख्यामा कमि गर्दै रोक लाग्नबाट बच्ने उपायहरुमा जोड दिने र सबै भन्दा महत्वपूर्ण कुरा आम नागरिकको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु नै हो। यसो गर्याैँ भने सहश्राब्धी लक्ष्य २०१६-३० को लक्ष्य न. ३ (स्वास्थ्य र कल्याण) भित्र समेटिएका सूचकहरु प्राप्ति गर्न सकिन्छ तब मात्र सबैको लागि स्वास्थ्य केहि मात्रामा भएपनि रहेछ भन्ने कुराको अनुमान गर्न सकिन्छ कि?
उपलब्ध श्रोत र साधनको परिधिभित्र रही नविनतम प्रविधिको प्रयोग गरि स्वास्थ्य सेवा दिने र लिने कुरामा साझा प्रतिवद्धता, बुझाई, सहभागिता र कार्यान्वयन जो स्वास्थ्य एक्लैले भन्दा पनि गैह्रस्वास्थ्य निकायहरु तथा अन्य सरोकारवालाहरु “सबैको लागि स्वास्थ्य” को अभियानमा जुटी नविनतम जनस्वास्थ्यका मापदण्डको विकास गरी फरक कार्यशैली र उल्लेखित स्वास्थ्य प्रवर्द्धन स्तम्भहरुको पालना व्यवहारिक रुपमा गर्न आजैबाट जुटौँ।
(लेखक स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालका अध्यक्ष हुन्।)