विश्व स्वास्थ्य दिवस स्वास्थ्यमा के सुधार ल्याउन सकियो भनेर मनन गर्ने, स्वास्थ्यको क्षेत्रमा भएका प्रगतिहरुको समिक्षा गर्ने र स्वास्थ्यका सवालहरुमा ध्यानाकर्षण गर्ने अवसर पनि हो। यसवर्ष विश्व स्वास्थ्य दिवसको नारा ‘हेल्थ फर अल’ अर्थात् ‘सबैका लागि स्वास्थ्य’ भन्ने रहेको छ। यो नाराले ऐतिहासिक महत्व बोकेको छ। स्वास्थ्य मौलिक मानव अधिकार हो र स्वास्थ्यको उच्चतम स्तरको प्राप्ती सवैभन्दा महत्वपूर्ण विश्वव्यापी सामाजिक लक्ष्य हो भन्ने कुरा स्मरण गर्न गराउन यसले मदत गरेको छ।
‘हेल्थ फर अल’ विश्व स्वास्थ्य संगठनले सन् १९७८ मा विकास गरेको अवधारणा हो। सन् १९७८ मा रुसको आल्मा–आटामा प्राइमरी हेल्थ केयर सम्बन्धी विश्व सम्मेलन भएको थियो। आल्मा आटाको सम्मेलनले गरेको घोषणा पछि ‘सबैका लागि स्वास्थ्य’ को लक्ष्यले थेगो कै रुप लिएको थियो। त्यतिबेला प्राइमरी हेल्थ केयरको अवधारणालाई अगाडि ल्याइएको थियो अनि यसले गहन अर्थ बोकेको थियो। आल्मा–आटा घोषणाको एउटा मुख्य लक्ष्य भनेको सन् २००० सम्ममा विश्वभरका सवै मानिसहरुको स्वीकार्य स्तरको स्वास्थ्यमा पहुँच भएको सुनिश्चित गर्नु थियो।
‘हेल्थ फर अल’ को अर्थ मान्छेको उमेर, लिंग, जातजाति, सामाजिक तथा आर्थिक हैसियत जे जस्तो भएपनि स्वास्थ्य सेवामा सवै मानिसको पहुँच हुनु पर्छ भन्ने होे। ‘हेल्थ फर अल’ को अवधारणाले स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, आर्थिक, राजनीतिक तथा वातावरणीय कारकहरुलाई सम्बोधन गर्दै रोगलाग्न सक्ने कारणको रोकथाम र स्वास्थ्यको प्रबर्धन गर्ने कुरालाई जोड दिन्छ। यसमा सफा तथा स्वच्छ खानेपानी, सरसफाई, स्वस्थ र पोषिलो खाना, लुगाफाटो, शिक्षा, रोजगार तथा सुरक्षित काम गर्ने तथा बस्ने ठाउँको सुनिश्चितताको कुरा पर्दछन्। यो पुरानै अवधारणा हो तर यसको महत्व आज आएर झन् बढि देखिएको छ। हेल्थ फर अल सधैका लागि र सवैका लागि उत्तिकै महत्वपूर्ण छ।
‘सबैका लागि स्वास्थ्य’ सर्वोपरि महत्वको विषय हो। पहिलेको ‘सवैका लागि स्वास्थ्य’ अर्थात् ‘हेल्थ फर अल’ अहिलेको ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच’ अर्थात् ‘युनिभर्सल हेल्थ कभरेज’मा खुम्चिएको जस्तो छ। ‘युनिभर्सल हेल्थ कभरेज’ को अवधारणाले आर्थिक पाटोमा बढि जोड दिन्छ। हुनत युनिभर्सल हेल्थ कभरेजलाई सवै मानिसहरुले आर्थिक कठिनाईको सामना नगरी आफूलाई आवश्यक पर्ने गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेको अवस्था भनेर अथ्र्याइन्छ तर कभरेज भन्ने शव्दबाट बीमाको गन्ध आउँछ। अनि स्वास्थ्यमा नभएर स्वास्थ्य बीमामा जोड दिन खोजेको देखिन्छ। युनिभर्सल हेल्थ कभरेज भनेको स्वास्थ्य बीमाले सवैलाई समेट्ने हो र स्वास्थ्य सेवा चाहीं बीमा गरेकाले पाउने हो भनेर बुझ्ने जोखिम छ।
त्यसो त युनिभर्सल हेल्थ कभरेजले पनि स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने र स्वास्थ्यमा असमानता कम गर्ने लक्ष्य राखेको छ। तर ‘हेल्थ फर अल’ को अवधारणमा जुन किसिमको गुरुत्व र गहिराई छ, त्यो ‘युनिभर्सल हेल्थ कभरेज’मा छैन। हेल्थ फर अल करिव ४५ वर्ष अगाडि देखिएको एउटा सुन्दर सपना थियो। यस पटक स्वास्थ्य दिवसको नाराले त्यो सुन्दर सपनालाई पुनःस्मरण गराएको छ।
हाम्रो संबिधानले स्वास्थ्यलाई मौलिक अधिकार मानेको छ र स्वास्थ्य नीतिले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपभोग सुनिश्चित गर्ने लक्ष्य राखेको छ। एकातर्फ आधारभूत स्वास्थ्य सेवाकालागि पनि गोजिबाटै खर्च गर्नु पर्ने अवस्था विद्यमान छ भने अर्कोतर्फ २०७२ साल देखि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमले हालसम्म करिव २० प्रतिशत जनसंख्यालाई मात्र समेट्न सकेको अवस्था छ। २० प्रतिशत जनतालाई समेट्न ७ बर्ष लाग्ने हो अर्थात् यहीे हिंसावले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढ्ने हो भने सवै जनतालाई समेट्न अरु २८ वर्ष लाग्ने देखिन्छ।
चिकित्सक र अस्पत्ताल भनेको मानिसलाई विरामी परेपछि आवश्यक पर्ने हो। विरामी पर्न नदिन र मान्छेको स्वस्थता कायमै राख्न रोकथामका उपायहरुमा जोड दिनु आवश्वक छ। भन्न त ‘प्रिभेन्सन इज बेटर देन क्योर’ भनेर भनिन्छ तर व्यवहारमा चाहीं क्योरमा जोड दिइन्छ। स्वास्थ्य समस्या आउन नदिनु वा रोग नलाग्नु भनेको धेरै राम्रो कुरा हो। रोकथामका उपायहरु अपनाउन सजिलो पनि हुन्छ। रोग लागे पछि स्वास्थ्य जोखिममा त पर्छ नै, उपचारमा गए पनि पूर्णरुपले निको हुन्छ भन्न सकिन्न। समस्या परे पछि समाधान खोज्नु भन्दा समस्या नै हुनबाट रोक्नु धेरै बुद्धिमानी ठहर्छ। बिरामी पर्दा अस्पत्ताल र चिकित्सकको व्यवस्था हुनु राम्रो हो तर स्वास्थ्य राम्रो छ र अस्पत्ताल जानै पर्दैन भने त्यो धेरै राम्रो हो। त्यसैले रोकथाम र स्वास्थ्य प्रबर्धनका उपायहरुलाई जोड दिनु आवश्यक छ। हामीकहाँ मान्छे विरामी नपरे त अस्पत्तालको कमाइ नै हुदैन, त्यसैले विरामी पर्नुपर्छ भन्ने मानसिकताले काम गरेको जस्तो देखिन्छ।
मौलिक अधिकार भनेपछि स्वास्थ्य सेवा केहीलाई मात्र नभएर सवैलाई उपलब्ध हुनुपर्ने हो तर गोजिमा दाम हुनेहरुकालागि मात्र स्वास्थ्य सेवा उपलब्ध छ। नेपालमा स्वास्थ्योपचारका लागि लगभग ५८ प्रतिशत रकम व्यक्तिले आफ्नो गोजीबाट खर्च गर्ने गरेको तथ्याङ्क छ। यो भनेको ज्यादै बढि हो र यसलाई कम गर्न स्वास्थ्यमा सरकारी लगानी बढाउनु आवश्यक छ। सरकारी सेवा गुणस्तरीय नभएकोले पनि निजी सेवा लिनु पर्ने बाध्यता छ तर निजी क्षेत्र सेवामुखि भन्दा पनि नाफामुखि छ। यसलार्ई सेवामुखि बनाउने कुरा कागजमै सिमित छ।
मान्छे विरामी परेपछि या त उपचार नपाई मर्ने अवस्था छ या घरखेत बेचेर उपचार खोज्न जाने विकल्प छ। यो अवस्थामा परिवर्तन ल्याउन स्वास्थ्य बीमा सहायक हुन सक्थ्यो। तर स्वास्थ्य बीमाको गति हेर्दा उदेकलाग्दो अवस्था देखिन्छ। ‘हेल्थ फर अल’ त धेरै टाढाको कुरा भयो ‘हेल्थ इन्स्योरेन्स फर अल’ पनि नजिक देखिंदैन। सबैलाई स्वास्थ्य बीमाले समेट्न सकियो र संविधानले व्यवस्था गरेको आधारभूत स्वास्थ्य सेवा निःशूल्क दिन सकियो भनेमात्र ‘हेल्थ फर अल’को नजिक पुग्न सकिन्छ। विश्व स्वास्थ्य दिवसले ‘सबैका लागि स्वास्थ्य’ दिशामा अगाडि बढ्न मदत गरोस्। हार्दिक शुभकामना।
(सुवेदी चिकित्सा मानवशास्त्री हुन्।)