शिशु–बालबालिकादेखि गर्भवती, आमाकासाथै सबै उमेरमा उत्पन्न हुने कुपोषणलगायतका विभिन्न जटिल समस्यालाई समाधान गर्न आयोडिनयुक्त खाद्यपदार्थ उपभोग गर्नुपर्दछ। त्यसैले नेपाल सरकारले मुलुकभरीका नागरिकको स्वास्थ्य सुरक्षा, शारीरिक तथा मानसिक बृद्धि–विकासका लागि आयोडिन उपभोगमा जोड दिन वर्षेनी फेबु्रअरी महिनाभरी आयोडिन प्रवर्द्धन महिनाको रुपमा मनाउने गरेको छ।
आयोडिनको परिचयः आयोडिन प्याजी–कालो रङ्गको धातुरहित ठोस, पोटासियम आयोडाइडसंग मिसिएको पोषिलो शुक्ष्म खनिज तत्व हो। यो थाइरोइड हर्मोनलाई टुक्र्याउन अत्यन्त आवश्यक पर्दछ। यसलाई ‘पोभिडोन’, “लुगोल्स” नामले पनि चिनिन्छ, र हानिकारक जीवको संक्रमण रोकथाममा प्रयोग गरिन्छ।
पृष्ठभूमिः सन् १८११ मा फ्रान्सेली बैज्ञानिक बर्नाड क्वारटाइजले एक किसिमको अत्यावश्यक पौष्टिक रासायनिक पदार्थ पत्ता लगाएका हुन्। जसलाई दुई वर्षपछि अर्थात् सन् २०१३ मा लुइस गे लुसेले ‘आयोडिन’को नामाकरण गरेका हुन्। विश्वका कम विकसित मुलुकका जनसंख्यामा आवश्यक मात्रामा आयोडिनको उपभोग गर्न नसकि यसको कमीवाट विभिन्न स्वास्थ्य समस्याद्वारा पिडित हुने गरेका छन् भने विकसित मुलुकमा खाद्यपदार्थ तयारीका क्रममा नष्ट गरी बनाइएका खाना मात्र खाने गर्नाले आयोडिनको कमी पाइन्छ। विंश्वका २ अर्बभन्दा बढी जनसंख्यामा आयोडिनको कमीबाट उत्पन्न शारीरिक, मानसिक तथा अन्य समस्याबाट अशक्तता भएका छन्। आयोडिनको कमीबाट कुपोषित बालबालिका मध्ये दुइ तिहाइ जति एशियाका छन्, जहाँ वर्षेनी ११ लाखभन्दा बढी शिश ुजन्मदै कम तौल (२५००ं ग्राम भन्दाकम)का जन्मन्छन्। दक्षिण एशियाका झण्डै ८० हजार वाल–वालिकाहरुमध्ये ५० प्रतिशत जति आयोडिन लगायतका पोषकतत्वको कमीबाट कुपोषित पाइएका छन्।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ तथा स्वास्थ्य सेवा विभागको २०७८÷७९ को वार्षिक प्रतिवेदन अनुसार नेपालको मातृ मृत्यु दर प्रति एकलाख जिवितजन्ममा १५१ जना, एक वर्षमुनिका शिशुमध्ये २१ जनाको मृत्यु हुने गर्छ भने १२ % जति कम तौल भएका जन्मने गर्छन्। पाँच वर्ष मुनिका बालबालिकामध्ये उमेर अनुसार तौल नपुगेका २७ % र बामपुड्केको संख्या ३२ % भन्दा बढी छ। नेपालमा वर्षेनी ५० हजार भन्दा बढी वालवालिका मर्ने गर्दछन् जसमध्ये ६०% भन्दा बढी आयोडिनको कमीबाट उत्पन्न कुपोषणका कारणले शारीरिक तथा मानसिक समस्यामा अनुत्पादक र दीर्घ असक्षम जीवन विताउने गरेका छन्। त्यसकारण नेपाल सरकारले पनि २०५४÷५५ देखि फेब्रुअरी महिनालाई आयोडिन प्रवद्र्धन महिनाको रुपमा मनाउन आव्हान गरेको हो। हालसम्म ९४.५% घरपरिवारले मात्र आयोडिनयुक्त नुन प्रयोग गर्दछन्, तर सही किसिमले खरिद, भण्डारण र प्रयोग भने कमैले गरेका छन्।
थाइरोइड ग्रन्थीको परिचयः यो घाँटीभित्र हुने झण्डै स्याउ आकारको इन्डोक्रिन ग्रन्थी हो। थाइरोईडले थाइरोईड, थाइरोक्सिन÷ टी४, र ट्राइआईडो थाइराक्सिन÷टी३ नामक ३ किसिमका हर्मोन उत्पादन गर्दछ। थाइरोईडले ठीक तरीकाले काम गर्न सकेन भने पूरा शरीरलेनै राम्ररी काम गर्न सक्दैन।
आयोडिनको महत्वः शुक्ष्म पोषक तत्व आयोडिन थाइराईड ग्रन्थीलाई सही किसिमले काम गर्न, खानालाई शक्तिमा रुपान्तरण गर्न र शारीरिक तथा मानसिक विकास, विकिरणको उपचार गर्न, लिड, मर्करी जस्ता विषालु पदार्थलाई शरीर वाहिर निकाल्न, खुट्टाको छाला उप्किएर हुने घाउको उपचार र पाचन प्रणालीलाई प्रभावकारी वनाउनका लागि अत्यन्त आवश्यक शुक्ष्म पौष्टिक खनिज पदार्थ हो। दिनहुँ अति आवश्यक, कम्तीमा १५० माईक्रोग्राम (एउटा सियोको टुप्पो जति) उपभोग गरेमा यसको कमीवाट हुने स्वास्थ्य समस्या आउदैन भने आमा, शिशु तथा बालबालिकाको चौतर्फी स्वास्थ्य विकास गराउँछ। आयोडिनको कमी हुँदा थाइरोईड ग्रन्थीमा उत्पन्न हुने समस्याका कारणले प्रत्यक्ष वा परोक्षरुपमा महिलामा स्तन क्यान्सरको संभावना हुन्छ। गर्भावस्थामा आयोडिनको कमी भएमा भ्रुणको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुन सक्ने, कमतौल (२५०० ग्राम भन्दाकम) भएका शिशु जन्मने, शिशुको स्नायु, शारीरिक तथा मानसिक बृद्घि÷विकास अत्यन्त कम हुने हुनाले बालबालिकाहरु गलगाँड, लाटा, लठेब्रा तथा सुस्त मनस्थितिका हुन्छन्। फलस्वरुप बालबालिका तथा युवाहरुको जीवननै अनुत्पादक बन्दछ। आयोडिन हानिकारक शुक्ष्म जिवाणुलाई नष्ट गर्नसमेत प्रयोग गरिन्छ साथै यसले छाला, नङ्ग र कपाललाई स्वस्थ्य राख्दछ।
आयोडिन कमी भएमा देखिने चिन्ह-लक्षण: आयोडिनको कमी भएमा थाइरोइडले काम गर्न नसक्नु, थाइरोइड ग्रन्थीको असाधारण किसिमले वृद्धि हुनु, बाँझोपन हुनु, दोधारमा पर्नु, कपाल झर्नु, आवाज धोद्रो हुनु, छालामा कत्ला तथा सुख्खापन आउनु, चिसो सहन नसक्नु, घाँटीको थाइरोइड ग्रन्थी सुन्निनु, तौल बढ्नु, थकाई लाग्नु र गलगाँण देखिन्छ।
आयोडिनका श्रोतहरुः आयोडिन समुन्द्रमा पाइने पदार्थ हो। सामुन्द्रिक खाद्यपदार्थ (सेलफिस, टुना फिस, कर्डफिस), समुन्द्रको नजिकको माटोमा उम्रेका वनस्पति तथा तरकारीजन्य हरिया खाद्यपदार्थ, हरियो र गाढारङ्गका सागपातजन्य खाद्यपदार्थ, फलफूल (स्ट्राबेरी), दूध तथा दुग्धजन्य पदार्थ, अण्डा, भटमास,लसुन र आयोडिनयुक्त नुनमा सवैभन्दा बढी आयोडिन पाइन्छ।
रोकथाम÷नियन्त्रणः
१. प्राकृतिक रुपमा आयोडिनयुक्त माटो भएको खेत, बारीमा फल्ने हरिया तरकारी, फलफूल तथा समुन्द्रमा पाइने माछा, वनस्पतिको सेवन गर्नसके आयोडिनको कमीले हुने समस्याको रोकथाम र नियन्त्रण हुनसक्छ।
२. नेपालमा भने सम्पूर्ण जनसमुदायले खाने नुनमा आयोडिन मिसाई (आयोडाइजेशन) उपभोग गर्नु नै आयोडिनको कमीबाट हुने समस्याको सर्वोत्तम उपाय हो। त्यसैले सरकारले बिक्री वितरण गर्ने आयोडिनयुक्त नुन सेवन गरेमा आयोडिन प्राप्त हुन्छ, फलस्वरुप यसको कमीबाट उत्पन्न हुने समस्याको सहजै रोकथाम र नियन्त्रण गर्न सकिन्छ।
आयोडिन उपभोगमा समस्याः शिक्षा र चेतनाकोस्तर साह्रै कम छ, भूपरिवेष्ठित देश भएकाले चाहेर पनि सामुन्द्रिक्र मत्स्यजन्य, खाद्यपदार्थ र यसको नजिकको माटोमा उब्जने वनस्पति तथा फलफूल जस्ता खाद्यपदार्थ खान पाइन्न। अन्य मुलुकमा जस्तो पीठो, दूधजस्ता खाद्यपदार्थमा आयोडिन मिसाए पनि सवैले खरीद गर्न सक्दैनन्। अर्कोतिर वर्षा मौषममा बाढी र पहिरोले माटोमा भएको आयोडिन पनि वगाएर लान्छ, उच्च पहाडी क्षेत्रमा खेती योग्य जमीन र उत्पादित खाद्यपदार्थमा आयोडिन कम पाइन्छ भने त्यहाँका वासिन्दाले आयोडिनयुक्त नुनको महत्वबारे जानकारी नपाउँदा सेवन गर्न पाउँदैनन्। त्यसकारण सवै उमेरकालाई धेरै स्वास्थ्य समस्या उत्पन्न हुने गरेका छन्।
आयोडिन प्रवर्द्धनः नेपालमा सरकारी संयन्त्र मार्फत नुनमा आवश्यक मात्रामा आयोडिन (आयोडाईजेशन) गरी बन्द गरिएको नुनलाई सही किसिमले खरीद, ढुवानी, भण्डारण र उपभोग गरेमामात्र आवश्यक मात्रामा आयोडिन प्राप्त गर्न सकिन्छ। नुनमा आवश्यक (५० पि.पि.एम.) आयोडिन मिलाइएको भएपनि वजारमा भण्डारण गर्दा घाम पानी, घरमा तातो ठाउँमा राख्ने र नुन राख्ने भाँडोको विर्को राम्ररी बन्द नगरी राखेमा आयोडिन नष्ट हुन्छ,। सही तरिकाले उपभोग गरेमा सकेसम्म पूरै वा विभिन्न कारणबाट नष्ट भएपनि कम्तीमा पनि १५ पि.पि.एमसम्म. आयोडिन बाँकी रहन्छ र यसबाट आवश्यक मात्रा पुग्दछः
१.सरकारले दुई बालबालिकाको लोगो भएको आयोडिनयुक्त नुनको प्याकेट (आयोनुन, शक्ति, तेजनुन र भानु) मात्र उपभोग गर्न आम जनतालाई स्वास्थ्य शिक्षा प्रदान गर्नुपर्छ।
२. बजारमा बिक्री वितरणकालागि राखिएको आयोडिनयुक्त नुन घाम, पानी र अधिक तामक्रमले सजिलै विगार्ने हुँदा खुला ठाउँमा भण्डार नगर्न व्यापारीलाई चेतना दिनु पर्छ।
३. खरीद गरिएको आयोडिनयुक्त नुनलाई घरमा चुलो वरीपरी तातो ठाउँमा, खुला भाँडामा राख्नु हुन्न, बिर्को राम्ररी बन्द हुने बट्टामा राख्ने, नुन झिकेपछि तुरुन्तै बिर्को बन्द गर्नु पर्छ र ओसिएको नुन उपभोग गर्नु हुदैन।
४. सकेसम्म खाना खाने वेलामा मात्र नुन छर्केर खानु निकै वाञ्छनीय हुन्छ।
५. वर्षामा बाढी, पहिरो र भूस्खलनबाट माटोमा पाइने आयोडिन वचाउन रुख विरुवा रोप्ने अभियान चलाउनु पर्छ।
६.भारतीय सिमानामा सस्तो मूल्यमा बिक्री वितरण गरिने आयोडिनरहित नुन उपभोग गर्नु हुँदैन।
७. सरकारले आयोडिनयुक्त नुनमात्र उपभोगका लागि जनचेतना जगाउन वर्षेनी फेबु्रअरीलाई आयोडिन प्रवर्द्धन महिनाकोरुपमा मनाउने निर्णय गरेको १६ वर्षभन्दा बढी वितिसकेपनि चेतनाको कमीले अधिकांश नागरिकले आयोडिनयुक्त नुन उपभोग गरेको पाईदैन। त्यसकारण आयोडिन प्रवर्द्धनमा नागरिक समुदाय, शिक्षालय, विभिन्न मन्त्रालय÷ निकाय मार्फत संघदेखि स्थानीय स्तर (उपभोक्ता) सम्म आयोडिनयुक्त नुन मात्र र सही किसिमले उपभोग गर्ने तरिकाबारे सूचना, शिक्षा तथा सञ्चार सामग्रीसहित विभिन्न चेतनामूलक कार्यक्रम मार्फत् आयोडिन प्रवर्द्धन गरिनु पर्दछ।
(लेखक स्वास्थ्य सेवामा ४० वर्ष सरकारी सेवा गरी निर्देशक पदवाट सेवा निबृत कर्मचारी हुन्।)