मोटोपन र अधिक तौल अहिले विश्वव्यापी जनस्वास्थ्य समस्याका रुपमा रहेका छन्। मोटोपनलाई मधुमेह, मुटु रोग, मिर्गौला रोग लगायत अन्य नसर्ने रोगहरुको कारक पनि मानिन्छ। सर्ने रोग भन्दा नसर्ने रोगका कारण अधिकांश मानिसहरुको मृत्यु हुने गरेको तथाङ्कले बताउँछ। अल्पविकसित र मध्यमविकसित राष्ट्रहरुमा दीर्घरोगका कारण मृत्यु हुनेहरुको संख्या विकसित देशहरुमा भन्दा बढी देखिन्छ। दीर्घरोगका विभिन्न कारणहरु जस्तै मध्यपान, सूर्तीजन्य पदार्थको सेवन, शारीरिक निस्क्रियता, आदिका साथै अस्वस्थकर खानपान पनि एक प्रमुख कारण हो। बढ्दो शहरीकरण, कार्यव्यस्तता र मनोरन्जनका निमित्त हामी नेपालीहरुको बाहिर खाने प्रचलन बढ्दो क्रममा छ। त्यस्तै बढ्दो बजारीकरण र विश्वव्यापारीकरणले गर्दा नेपाली बजारमा पनि थुप्रै प्याकेटका र बट्टा बन्द प्रशोधित खाद्य वस्तुहरु बिक्री वितरण भइरहेका देखिन्छन्। यी खानेकुराहरु तयार गर्न धेरै समय नलाग्ने र प्याकेट खोलेर सिधै खान मिल्ने भएकाले उपभोक्ताहरु यसप्रति बढी आकर्षित भएको पाइन्छ।
अति प्रशोधित खाद्य वस्तुको खपत बढाउन, स्वाद बढाउन र फेरी खाने तलतल बढाउन नुन, चिल्लो र चिनी प्रशस्त मात्रामा प्रयोग गरिएको हुन्छ। अर्कातिर, खाद्य वस्तुहरुलाई लामो समय संरक्षण गरेर राख्न विभिन्न खाद्य संरक्षकहरु (प्रिजरभेटिभहरु) प्रयोग भएका हुन्छन्। खाद्य संरक्षकहरु कति मात्रामा प्रयोग गर्न मिल्ने र दैनिक कति मात्रासम्म खान मिल्ने भन्ने मापदण्ड हुन्छ। यद्दपि कतिपय अवस्थामा उत्पादकहरुले तोकिएको मात्रा भन्दा बढी प्रयोग गरेका समाचारहरु पनि आइरहेका हुन्छन्। बजारमा पाइने खाद्य वस्तुमा के कस्ता कच्चा पदार्थ प्रयोग भएको छ र कुन पोषकतत्व कति मात्रामा पाइन्छ भन्ने राम्ररी अध्ययन नगरी अनियन्त्रित तरिकाले उपभोग गर्दा नसर्ने दीर्घ रोग हुने सम्भावना हुन्छ। विभिन्न खाद्य वस्तु स्वास्थ्यका हिसाबले ठीक हुन वा हैनन् वा कति खाँदा यिनले शरीरमा नकारात्मक असर गर्दैनन् भनेर बुझ्न हामीले प्याकेटमा जानकारी स्वरुप दिइएको लेबल पढ्न र त्यसको विश्लेषण गर्न जान्नु आवश्यक हुन्छ।
खानेकुराको प्याकेटमा के कस्ता जानकारी हुन्छन्?
हामीले कुनै खाद्य वस्तु राम्रोसंग हेर्यौ भने त्यसको प्याकेटमा धेरै जानकारी दिइएको पाइन्छ। प्याकेटमा दिइएको जानकारी खाद्य वस्तु, उत्पादक र उपभोक्ता बीच गरिने संचारको महत्वपूर्ण माध्यम हो। हामीमध्ये धेरैले प्याकेटको लेबलमा त्यस खाद्य वस्तुको उत्पादन मिति र म्याद गुज्रने मिति मात्रै हेर्ने गरेका हुन्छौँ। तर यसका अलावा उत्पादकले प्याकेटका माध्यबाट हामीलाई खाद्य वस्तुबारे अन्य धेरै जानकारीहरु दिएका हुन्छन्। जस्तै खाद्य वस्तु बनाउने कम्पनीको नाम, ठेगाना, उत्पादन भएको देश, वस्तुको औसत वा खुद तौल (प्याकेटबाहेकको वस्तुको तौल), सेल्फ लाइफ, पकाउने वा भण्डारण गर्न निर्देशन, वस्तुमा भएका केही एलर्जी गराउन सक्ने पदार्थ र खाद्य वस्तुमा प्रयोग भएका खाद्य पदार्थको सूची र तिनका परिमाण।
नट्स, गहुँ, भटमास आदिले केही व्यक्तिलाई एलर्जी गर्न सक्ने भएकाले खाद्य वस्तुमा यी पदार्थ प्रयोग भएमा एलर्जेनका रुपमा उल्लेखित गरिएको हुन्छ। खाद्य वस्तु साकाहारी हो भने हरियो गोलाकार चिह्नले र मांसाहारी हो भने रातो गोलाकार चिह्नले संकेत गरिएको हुन्छ। एउटै कम्पनीमा दुई फरक खाद्य वस्तु उत्पादन हुने भए सो जानकारी समेत प्याकेटमा दिइएको हुन्छ। जस्तै चाउचाउ बनाउने कम्पनी र समुन्द्री सेलफिस प्रशोधन गर्ने कम्पनी एउटै भए चाउचाउ उत्पादकले चाउचाउमा सेलफिसका अवशेषहरु हुन सक्ने सुचना दिएका हुन्छन्। त्यसरी जानकारी दिनाले सेलफिसको एलर्जी हुने उपभोक्ताले लेबल पढी खाद्य वस्तु उपभोग नगर्न सचेत हुन सक्छ।
खाद्य वस्तु बन्न प्रयोग गरिएको मुख्य वा सहायक पदार्थको मात्रा अनुसार नाम क्रमिक रुपमा लेखिएको हुन्छ। जस्तो पास्ता गहूँले बनेको हो भने शुरुमा गहुँ उल्लेख गरिएको हुन्छ र गहुँ भन्दा मैदा कम प्रयोग हुँदा मैदा दोस्रोमा, अण्डा मैदा भन्दा कम हुँदा तेस्रोमा, त्यस्तै मसला अण्डा भन्दा कम हुँदा चौथोमा र नुन वा खाद्य वस्तुमा प्रयोग भएका प्रिजरभेटिभहरु सबैभन्दा कम मात्रामा भएमा अन्त्यमा हुनसक्छ। खाद्य वस्तुमा दिइएका विभिन्न जानकारीका साथसाथै न्यूट्रिसन लेबल पढ्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
के हो न्यूट्रिसन लेबल ?
न्यूट्रिसन लेबलले प्रशोधित खाद्य वस्तुमा कति पौष्टिक तत्व छ भन्ने जानकारी दिन्छ। लेबल पढेपछि स्वास्थ्यका हिसाबले खाद्य वस्तु कति खपत गर्दा उचित हुन्छ भन्ने निर्णय गर्न उपभोक्तालाई सहज हुन्छ। हामीलाई स्वस्थ रहन विभिन्न पौष्टिक तत्वहरु चाहिन्छ र त्यी पौष्टिक तत्वको अनुपात नमिलाई खाएमा हामी विभिन्न रोगका सिकार हुनसक्छौँ। जस्तै अधिक बोसो वा क्यालोरी भएका खानेकुरा बढी खाए मोटोपना, मुटु रोग, मधुमेह हुनसक्छ, नुनको बढी मात्राले उच्च रक्तचापको जोखिम बढ्छ, आइरनको कमीले रक्तअल्पता र भिटामिनको कमीले पनि विभिन्न रोगका जोखिम हुन्छ। न्यूट्रिसन लेबल राम्ररी बुझ्न हामीले सर्भिङ्ग साइज र प्रतिशत डि. भि. भनेको बुझ्न आवश्यक हुन्छ।
सर्भिङ साइज भनेको के हो?
खाद्य वस्तुको खुद तौल प्याकेटमा उल्लेख गरिएको हुन्छ। खाद्यवस्तुको पोषणको विवरण प्याकेटको पछिल्लो भागमा एक तालिकामा दिइएको हुन्छ र त्यही तालिका माथि सो वस्तुको सर्भिङ्ग साइज उल्लेख गरिएको हुन्छ। कुनै पनि प्रशोधित खाद्यवस्तुको एक पटकमा खाइने मात्रालाई नै सर्भिङ्ग साइज भनिन्छ। सर्भिङ्ग साइजलाई खाद्यवस्तुको प्रकार अनुसार घरेलु मापन जस्तै चम्चा, पिस, स्लाईस आदिले प्रतीत गरिएको हुन्छ। जस्तै बिस्कुटको सर्भिङ्ग साइज पिसले जनाइएको हुन्छ, दूध वा जुसलाई कपले, ब्रेडलाई स्लाइसले र पिनट बटरलाई चम्चाले। सर्भिङ साइजकै आधारमा खाद्य वस्तुको पोषण विवरण पनि दिइएको हुन्छ। कतिपय खाद्य वस्तुले सर्भिङ्ग साइज उल्लेख नगरी १०० ग्रामका आधारमा पोषणको विवरण दिएका हुन्छन त कसैले सर्भिङ्ग साइज सहित १०० ग्रामका हिसाबको पोषणको विवरण पनि दिएका हुन्छन्। सर्भिङ साइज अनुसार पोषणको विवरण दिदाँ उपभोक्तालाई कति मात्रामा खाने भन्ने राम्रो मार्गदर्शन मिल्दछ। जस्तै पिनट बटरको सन्दर्भमा १ चम्चा वा १५ ग्राम पिनट बटरले कति शक्ति, फ्याट, प्रोटिन वा अन्य पोषकतत्व दिन्छ जानकारी भएमा उपभोक्तालाई अर्को १ चम्चा खाने कि नखाने बारे निर्णय गर्न सहज हुन्छ।
सर्भिङ साइजका आधारमा खाद्य वस्तु कति खाँदा स्वास्थकर हुन्छ?
खाद्यवस्तुमा पोषणको विवरण दिदाँ % डेल्ली भ्यालु (% डिभि) मा प्रस्तुत गरिएको हुन्छ। '% डिभि'ले खाद्य वस्तुमा के कस्ता पौष्टिक तत्व हुन्छ र ती कति मात्रामा हुँदा बढी वा कम हुन्छ भन्ने जानकारी दिन्छ। २००० किलोक्यालोरी आवश्यकता भएको वयस्क व्यक्तिको पोषकतत्वहरुको आवश्यकताअनुसार % डिभि निर्धारण गरिएको हुन्छ। बालबालिका वा वृद्धको पोषण आवश्यकता वयस्क भन्दा कम हुनाले ती वर्गका व्यक्तिले सोही वस्तु उपभोग गर्दा सर्भिङ्ग साइज विचार गरेर कम मात्रामा खानु फाइदाजनक हुन्छ। पोषणको विवरणमा कार्बोहाईड्रेट, प्रोटिन, फ्याट (स्याचुरेटेड फ्याट, मोनोअनस्याचुरेटेड फ्याट, पोलिअनस्याचुरेटेड फ्याट, ट्रान्स फ्याट) पोटासियम, सोडियम, आइरन, भिटामिन ए, डि, बी१, आदि उल्लेखित हुन्छन्।
लेबलमा भएका कुनै पोषक तत्वको '% डि भि' ५ प्रतिशत भन्दा कम हुँदा सो पोषक तत्व वस्तुमा कम भएको बुझिन्छ र '% डि भि' २० प्रतिशत भन्दा बढी भएमा सो पोषक तत्व वस्तुमा बढी भएको बुझ्न सकिन्छ । फ्याट, कार्बोहाईड्रेट, सोडियम जस्ता पोषक तत्व धेरै खपत गर्दा विभिन्न दीर्घ रोगहरुका जोखिम हुनाले खाद्यवस्तुमा यिनका लेबल पढी '% डि भि' २० प्रतिशत भन्दा कम हुँदाको मात्रा बिचारेर उपभोग गर्नुपर्छ। प्राय खाद्यवस्तुमा खनिज पदार्थ र भिटामिन ५ प्रतिशत भन्दा कम तर कार्बोहाइड्रेट, फ्याट, सोडियमको % डिभि २० प्रतिशत भन्दा बढी भएको देख्न पाइन्छ। खनिज पदार्थ, फाइबर र भिटामिनका हकमा पनि खाद्यवस्तुमा तिनले योगदान गर्ने '% डि भि' ५ प्रतिशत भन्दा कम हुँदा न्यून वा शून्य बराबर गनिन्छ र २० प्रतिशत भन्दा माथि हुँदा बढी वा राम्रो मानिन्छ। प्रोटिनको भने मात्राका साथै गुणस्तरलाई पनि प्राथमिकता दिइने हुनाले यसको % डि भि नराख्ने प्रचलन छ।
मानौ, हामीले एक प्याकेट चिप्स लियौँ। खाद्य वस्तुको खुद तौल ७५ ग्राम छ र १ सर्भिङ्ग बराबर (२८ ग्राम वा १० वटा) चिप्समा कति पौष्टिक तत्व उपलब्ध हुन्छ भनेर प्याकेटमा उल्लेखित हुन्छ। जस्तै कार्बोहाइड्रेट ५%, सोडियम ८%, टोटल फ्याट १३%, स्याचुरेटेड फ्याट ८% र आइरन २%। यी सबै पौष्टिक तत्व एक सर्भिङ खाँदा कार्बोहाइड्रेट, फ्याट, सोडियम, टोटल फ्याट, स्याचुरेटेड फ्याट २०% भन्दा कमै खाइने रैछ। त्यसका अत्तिरिक्त २ सर्भिङ (५६ ग्राम २० वटा) चिप्स खाँदा अन्य पौष्टिक तत्व कम खाइएनी टोटल फ्याट (बोसो र तेल) २६% पुग्ने रहेछ। प्राय चिप्समा बोसोले स्वाद बढाउने र तेलमा तार्दा चिप्सको स्वाद र बाह्य गुणस्तर राम्रो हुने हुनाले तिनको प्रयोग अन्य पौष्टिक तत्व भन्दा बढी मात्रामा हुने गर्दछ।
यदि व्यक्तिले एउटा पुरै प्याकेट चिप्स एकैपटक खान्छ भने, स्याच्युरेटेड फ्याट (बोसो), र सोडियमको पनि '% डिभि' २०% भन्दा बढी हुन पुग्छ र टोटल फ्याटको '% डिभि' त २ सर्भिङ्गमा भन्दा बढेर ३५% पुग्ने रहेछ। यसरी पुरै प्याकेट चिप्स खाँदा यो खाद्य वस्तु नुन, तेल र बोसोका आधारमा अस्वस्थकर हुने रहेछ। यसका साथसाथै कार्बोहाइड्रेट र क्यालोरी पनि एक सर्भिङ्ग खाँदा भन्दा बढ्ने रहेछ। सर्भिङ्ग बढाउँदा हामीलाई अत्यावश्यक पर्ने आइरन पनि बढ्ने रहेछ तर त्यस्का साथै अरु अतिरिक्त क्यालोरी , टोटल फ्याट, स्याच्युरेटेड फ्याट लगायत सोडियम पनि बढ्छ। त्यसैले यस खाद्य वस्तु खपत गर्दा एक सर्भिङ्गसम्म खाँदा ठीक हुन्छ। अथवा तीन अलग व्यक्तिले उत्तिकै मात्रामा खाँदा वा एउटै व्यक्तिले ३ अलग दिनमा उत्तिकै मात्रामा खाँदा ठीकै हुन्छ।
एक ७० ग्राम चिप्सले लगभग ५०० क्यालोरी वा बढी दिन सक्छ जुन एक पटकको खाना वा खाजा बराबर हुन आउँछ। घरमै बनेको खाना वा खाजा खाँदा हामीले तरकारी, दाल, गेडागुडी वा माछामासु, अण्डा समावेश गरेको हुन सक्छौँ जसले गर्दा कार्बोहाइड्रेट, प्रोटिन,चिल्लो लगायत भिटामिन र खनिज पदार्थ राम्रै मात्रामा उपलब्ध भइरहेका हुन्छन्। तर एउटा सिङ्गो चिप्स, बिस्कुट वा अन्य बजारिया वस्तु खाँदा कार्बोहाइड्रेट, चिल्लो र सोडियम पर्याप्त भन्दा बढी मात्रामा पाउँदा पनि भिटामिन, खनिज पदार्थ र फाइबरको मात्रा न्यून वा शुन्य बराबर हुन्छ।
के प्याकेटमा उल्लेखित सबै स्वास्थ्य दाबी सही हुन्छन्?
खाद्य वस्तुका विक्रेताले विभिन्न स्वास्थ्य दाबी गरिरहेका हुनसक्छन्। जस्तै, हड्डी बलियो बनाउने, प्रतिरक्षा प्रणाली सुदृढ गर्ने, सत प्रतिशत प्राकृतिक, उच्च मात्रामा एन्टिअक्सिडेन्ट, फाइबर, कम मात्रामा क्यालोरी, आदि। तर यी सबै दाबी पौष्टिक तत्वको मात्रा सम्बन्धी विभिन्न प्रावधान पुगेसी मात्रै गर्न पाइन्छ जुन राष्ट्र पिच्छे फरक फरक हुन सक्छ। फूड याण्ड ड्रग एडमिनिस्ट्रेसनका (एफ डि ए) अनुसार खाद्य वस्तुलाई लो सुगर भनी दाबी गर्न एक सर्भिङ्गमा ०.५ ग्राम वा सो भन्दा कम चिनी प्रयोग भएको हुनुपर्दछ। रिडिउस्ड सुगर पहिलेको खाद्य वस्तुका दाँजोमा २५ % भन्दा कम चिनी प्रयोग हुनुपर्छ। नो सुगर भन्न वस्तु बन्दा वा प्याकेजिङ्ग हुँदा कुनै पनि चिनीजन्य सामाग्री हालिएको हुनुहुन्न। नो सुगर भनिएका खाद्य वस्तुमा चिनी जस्तै स्वाद बढाउन विभिन्न चिनीको दाँजोमा कम क्यालोरी दिने कृतिम गुलियो पदार्थ मिसाइएको हुन्छ। कतिपय कम्पनीले कम वा रिडिउस्ड सुगर भनेर विज्ञापन गरेता पनि वास्तवमा दाबी गरिएको भन्दा बढी चिनी प्रयोग गरिरहेका हुन्छन्। अथवा खाद्य वस्तुमा चिनी रहेको लुकाउन चिनीका विभिन्न औधोगिक नाम दिएर लेबलिङ्ग गरिरहेका हुन्छन् जसबारे उपभोक्ता जानकार नहुन सक्छन्।
फाइबरयुक्त अन्न प्रयोग गरिएका कतिपय वस्तुले धेरै मात्रामा खाँदा कब्जियतको संभावना कम गर्ला भन्दै सम्भावनार्थमा स्वास्थ्य दाबीमा लेखेका हुन्छन्। यसरी कतिसम्म खाँदा स्वास्थ्य फाइदा गर्छ भनेर किटान गर्न नसक्ने यस्ता खाद्य वस्तुले उपभोक्तालाई अन्योलमा झुलाइरहेका हुन्छन्। त्यसैले कम्पनीले खाद्य वस्तुमा पौष्टिक तत्व वा स्वास्थ्यसम्बन्धी जस्तै दाबी गरेता पनि एक सचेत उपभोक्ताका जिम्मेवारी बोध गर्दै हामीले खाद्य वस्तुको प्याकेट पल्टाई एकपटक लेबल जाँच्नैपर्दछ। जस्तै, यदि खाद्य वस्तुले हड्डी बलियो बनाउँछ भन्ने दाबी गर्छ भने न्यूट्रिसन लेबलमा क्याल्सियमले % डिभिमा कति योगदान गरेको छ भन्ने हेर्नुपर्छ। त्यस्तै नो फ्याट, सुगर वा लो फ्याट, सुगर भन्दा पनि चिनी र फ्याटको लेबल पढ्नुपर्छ। % डिभिका आधारमा न्यूट्रिसन लेबल स्पष्ट रुपमा नदिएको वा झुटो दाबी गरिएको खाद्य वस्तु पहिचान गर्न सचेत रहनुपर्छ।
नेपालमा प्रशस्तै स्वदेशी वा विदेशी खाद्य वस्तु बजारिकरण गरिएता पनि ती वस्तुका लेबल राम्ररी पढेर उपभोग गर्नुपर्छ भन्ने सचेतना अझैँ जनमानसमा पुर्याउन सकिएको छैन। यस्ता कुरा पढेर खाने कि नखाने वा कति मात्रामा खाने भन्ने निर्णय गर्न आम उपभोक्तालाई निकै जटिल छ। त्यसैले सम्बद्ध सरोकारवालहरुले यस्ता लेबलहरुलाई कसरी आम उपभोक्ता मैत्री बनाउन सकिन्छ भन्ने अनुसन्धान गर्नु आवश्यक छ। जस्तै, प्याकेट हेर्ने बित्तिक्कै यो खाद्य वस्तु कस्तो हो र कति मात्रामा खान मिल्छ भन्ने जानकारी हुने प्रतिकात्मक चिन्ह वा लेबलको छोटो स्वरुप राख्न सकिन्छ। बजारिया प्याकेटका खानेकुरा प्राय बालबालिकामाँझ लोकप्रिय हुनाले पाठ्यक्रममा यससम्बन्धी शिक्षा समावेश गर्नुका साथै अभिभावकलाई सचेत गराउनु पनि उत्तिकै महत्वपूर्ण देखिन्छ। आयात भएका वा स्वदेशमै उत्पादन भएका खाद्य वस्तुको लेबल सम्बन्धी नियामवली सुदृढ गर्ने र अनुगमन कडाइका साथ निरन्तर लागू गरिरहनुपर्छ। खाद्य वस्तुको लेबलमा गलत जानकारी दिएर स्वास्थ्यसँग खेलबाड गर्ने कम्पनीलाई कडा निगरानी गर्नुका साथै अवस्था अनुसार खाद्य वस्तुलाई निषेधित गरिनुपर्छ। उत्पादकले प्याकेटमार्फत आम उपभोक्ताहरुलाई सही सुचना संचार गर्नुपर्छ र उपभोक्ता आफैँले पनि खाद्य वस्तुमा दिइएका जानकारी राम्ररी पढेर किन्ने वा किनेसी पनि बुद्धिमतापूर्ण तरिकाले खपत गर्न सचेत रहनुपर्छ। यसो भए मात्रै बजारिया खाद्य वस्तुको अनियन्त्रित खपतबाट हुन सक्ने स्वास्थ्य जोखिमलाई न्यूनिकरण गर्न सकिनेछ।