धर्तिका करिव आठ अर्व मानिसहरूको शरीरको बनोट कफ, पित्त र वात नामक त्रिद्वोषको संयोजनबाट बनेको हुन्छ। कसैका हातका चक्रहरू कसैका हातसँग नमिले जस्तै यी त्रिद्वेषको अनुपातिक संयोजन पनि फरक-फरक हुन्छ। महर्षि बाग्भटका अनुसार कफ असन्तुलित भएमा २८ प्रकारका, पित्त बिग्रिएमा ४० प्रकारका र वातको गडबडीले ८० प्रकारका रोगहरू मानवीय शरीरमा लाग्ने हुन्छ। यसप्रकार सामान्यतया आयुर्वेदिक दृष्टिकोणमा प्रकृतित: १४८ प्रकारका रोगहरू हामीलाई लाग्न सक्छन्।उहाँद्वारा रचित "अष्टाङ्ग हृदयम्" को गहन अध्ययन गरी त्यसका खाटी व्यहोराहरूलाई स्वर्गीय राजीव दिक्षितज्यूबाट प्रकट गरिएका प्रवचनहरू, सद्गुरुका भनाइहरू, खप्तड स्वामीको स्वास्थ्य विज्ञान, डा अजीत मेहताको स्वदेशी चिकित्सा सार, प्रात:स्मरणीय पिता तुलसीराम पौडेलज्यूले सङ्ग्रह गर्नुभएको हजुरबुवाको श्री वैदाङ डायरी र उहाँको आयुर्वेदिक उपचारहरूबाट प्रभावित भई स्वस्थ जीवनयापनका लागि आफ्नै आनीबानी, खानपान, भोजनालय, आहारबिहार आदिमा सुधार गर्न सकिँदो रहेछ भन्ने केही अनुभव/अनुभूतिहरू यहाँहरू समक्ष सेयर गर्ने सदासयले यो आलेख तयार पारेको छु। यो मानेमा उहाँहरूप्रति प्रथमत: नतमस्तकतापूर्वक हार्दिक आभार प्रकट गर्दै दिवङ्गत आत्माहरूको बैकुण्ठवास होस् भन्ने कामना गर्दछु। विभिन्न विद्वान् अग्रजहरूले प्रकट गरेका प्राय:जसो व्यहोराहरूलाई मिसमास गरी नयाँ प्रयोगहरू पनि यहाँ प्रस्तुत भएकाछन्, जसप्रति प्रयोग गरी प्राप्त सुझावहरूले थप परिमार्जन गर्न सक्नेछु भन्ने पूर्णाशा राखेको छु।
पानी पिउने तरिका
बिहान उठ्ने बित्तिकै पानी पिऊँ :
हामीले सायमकालीन भोजन जे खान्छौँ, बिहानको मुखमा पनि त्यस्तै 'लेठ' लागेको हुन्छ। वास्तवमा हामीले खाने खाना त्रिअग्निबाट पाकेको हुन्छ। उदाहरणका लागि सूर्य अग्निबाट पाकेका फलफूलहरू हामी त्यत्तिकै खान्छौँ। त्यस्तै शौर्याग्निबाट पाकेका भएपनि खाद्यान्न (दलहन, तेलहन, अन्नादि) लाई स्थूल अग्नि (आगो) मा पकाएर खान्छौँ। प्रकृतिले पति राम्रो व्यवस्था मिलाएको छ कि ती दुवै अग्निबाट पाक पुग्नुपर्नेमा काँचो रहेमा पनि नजाति नहोस् भनेर अर्को अग्नि - जठर अग्नि (जठराग्नि) को व्यवस्ता मिलाएकोछ, जसको परिणाम खाएका भोजनहरूको जठराग्निबाट निर्मित भष्मको स्वरूप मुखमा लेठ बस्ने हो। यो लेठ त्यही खाएको खानाको कुफतको औषधि हो, तसर्थ यसलाई सफा गरी बाहिर नफाली पानीको घुट्कीसँगै पेटमै पठाऊँ - अति राम्रो हुन्छ, प्रयोगसिद्ध व्यहोरा !
पानी पिउँदा बसेर (सके उड्किले आसन नसके सुखासनमा) पिऊँ :
यसोगर्दा आमाशय र भोजननलीको सङ्गमको भल्भमा ठूलो धक्का पर्न पाउँदैन र आमाशयको अग्नि - जठराग्नि (Hydrochloric Acid) ले मुटुपोल्न पाउँदैन। यदि उठेर घट्घट पानी पियो भने पानीको ठाडो छहराको निरन्तरताले उक्त भल्भलाई 'लुज' बनाइदिने हुनाले त्यहाँबाट अम्ल 'एसिड' भोजननलीतिर आउन थाल्नाले मुटुपोल्ने रोग लाग्दछ। तसर्थ पानी पिउँदा सकेसम्म टुक्रुक्क बसेर नत्र सुखासनमा बसेर पिउने गर्नु उपयुक्त हुन्छ। अझ केही अनुभवीहरूले त यसरी पानी पिउँदा 'युरिक एसिड' समेत पखालिँदो रहेछ, मेरा घूँडा दुखेर बस्नै नहुने भएकोमा बिहानै निख्लापेटमा पानी बसेर खान थालेपछि सञ्चो भयो समेत भन्नुभएको पाइन्छ।
पानी पिउँदा घुट्घुट गरेर अर्थात् चिया पिएजस्तै गरेर पिऊँ :
संरचनागत हिसाबले हाम्रो शरीरको पेटमा अम्ल (Hydrochloric Acid) र मुखमा र्यालमा क्षार (Antacid) हुन्छ। यदि पानी घट्घट पियो भने मुखमा रहेको क्षारीय तत्त्व 'र्याल' एकपटक मात्र पेटमा पुग्छ तर घुट्कि-घुट्की गरेर पिउने र अझ पानी मुखमा हालेपछि एकछिन कुल-कुल गरेर अर्थात् चराचुरुङ्गीहरूले जस्तै मुखको र्याल मिसाएर निलेमा पटक-पटकको पानीको घुट्कासँग क्षारीय तत्त्व पेटमा जाने हुँदा अम्लीयता बढेर ग्याष्ट्रिकजन्य रोगहरू लाग्न पाउँदैन।
पानी धेरै चिसो वा धेरै तातो नपिऊँ :
पानी पिउँदा आफ्नो शरीरको तापक्रम अनुकूलको मनतातो पानी पिउने गरौँ। किनभने, हाम्रो पेटमा पहिलो काम भनेको हामीले त्यहाँ पठाएको अर्थात् निलेको वस्तुको तापक्रम मिलाउने हुन्छ। त्यही भएर हामीले मुख पोल्ने दूध, चिया आदिले पेट पोल्न पाउँदैन। चिस्यान यन्त्र - फ्रिजको चिसो पानी पियौँ भने यात पानीलाई तताउनु पर्यो, जसका लागि इन्धन खर्चिनु पर्ने भयो नत्र पेटै चिस्याउनु पर्यो। त्यसो भयो भने पेट हुँदै हाम्रा सबै अङ्गहरू चिसा हुँदै जाने भए। यो भनेको सबै शरीर चिसो बन्नु हो, जुन भनेको 'राम नाम सत्य' हो। त्यस्तै धेरै तातो पिउँदा पनि त्यसलाई शरीर अनुकूलको तापमान कायम गराउनु शरीरले अतिरिक्त शक्ति खर्चनु पर्ने हुन्छ। त्यसैले आफ्नो शरीरको तापमान अनुकूलको पानी पिउने गरौँ। रपनि तामाको भाँडामा राखिएको पानी भएमा मनतातो बनाइरहनु पर्दैन, चिसै पिए हुन्छ।
खाना खाई सक्ने बित्तिकै पानी नपिऊँ :
यदि हामी स्वस्थ छौँ भने हामीले कुनैपनि खाना मुखमा हाल्ने बित्तिकै जिब्रोले स्वादको पारख गर्दछ र मस्तिष्कले परिभाषा गरी पेटका त्यही स्वाद पचाउने तन्तुलाई तयार हुन खबर गरिदिन्छ। अनि ती तन्तुले त्यस्तो स्वाद पचाउन चाहिने आगो बाल्दछन् अर्थात् ठीक्क मात्रामा Hydrochloric Acid निकाली राख्छन्। भनिन्छ - जीब्रोमा झण्डै ... प्रकारका स्वाद थाहा पाउने तन्तुहरू छन् भने पेटमा ... प्रकारका स्वाद पचाउन सक्ने 'भिलस' (पेटभित्रका भुवादारी जस्तै) हुन्छन् रे ! यदि खाना खाने बित्तिकै पानी पियौँ भने त्यो पचाउन बलेको अग्निमा पानी पर्ने भो अर्थात् निभ्ने भयो एकातर्फ भने अर्कोतर्फ आवश्यक मात्रामा निस्केको (Hydrochloric Acid) पातलो हुने भयो। मानौँ १ गिलास चियालाई ठीक्क पारेको चिनी ३/४ गिलासमा प्रयोग गर्दा गुलियो स्वादै रहने भएन। यसबाट खाना राम्रोसँग पच्न नसक्दा अजीर्ण रोग उत्पन्न हुन जान्छ।
चाणक्य नीतिमा पनि भनिएकोछ -
अजीर्णे भेषजम् वारी, जिर्णे वारी बलप्रदम्।
भोजनम् चामृतं वारी, भोजनान्ते विष प्रदम्।।
भावार्थमा अपच रोगका बेलामा समय-समयमा सफा पानी पिई राख्यौँ भने त्यो औषधि हो। खाना पच्ने/पचाउने कार्य (खाना पेटमा पुगेपछि माथि भनिएझैँ पहिला तापक्रम मिलाई आवश्यक मात्रामा पाचनरस निकालेर सम्बन्धित तन्तुहरूले जिम्मा लिन्छन्, खाई सकेपछि सबै खाना पचाउन उपयुक्त मात्रामा पुगअपुग पाचनरस मिसाई सबै तन्तुहरू मिलेर पेल्दै लेदो 'पेष्ट' बनाउने काम हुन्छ र यति कार्य सम्पादन हुनलाई कम्तीमा ४८ मिनेट लाग्दछ भन्छन् - महर्षी बागभट !) भएपछि पिएको पानीले लेदोलाई पातलो बनाई शोषतन्तु 'भिलस'लाई सोस्न सजिलो पारिदिन्छ र खानाको तत्त्व ठीक तरिकाले शोषिएपछि शरीरमा शक्ति प्राप्त हुने भएकाले खाना पचाउने कार्य (जीर्ण) पछिको पानीले बल प्रदान गर्छ। खानसँगै पिएको पानीले खानालाई पेटमा खस्न र सम्बन्धित तन्तुहरूको जिम्मा लगाउन सहयोग गर्दछ। यदि त्यसो नहुने हो भने मुखको र्यालबाट मात्रै सुक्का 'अट्टो' भएर गल लाग्ने वा आमाशयबाट सरोकारी तन्तुसम्म पुग्न अवरोध हुन सक्ने र यसो हुँदा मृत्युसम्म हुन सक्ने भएकाले भोजनसँगैको पानी अमृत सरह हो भने माथि उल्लेख गरिएबमोजिम भोजनको पछि पिएको पानीले सुपाचनको क्रमलाई बिथोल्ने हुँदा शरीरले पाउनुपर्ने शक्ति प्राप्त गर्न नसक्नु भनेको विष प्राप्त गरे सरह हुने भयो।
कतिपय हामीलाई यो प्रक्रिया बारेमा जानकारी नहुँदा खानापछि पानी पिइरहेकाछौँ र त्यसैमा बानी परेकाले भोजन सुपाच्य हुँदाको अनुभवै हुन पाएका छैनौँ। मानौँ धुमपान नगर्नेहरूले मीठो भोजनपछि गरिने धुमपानले पनि खासै फरक पार्दैन भन्ने व्यहोराले अनुभवी नहुँदा कदाचित् खाएमा वाक्ने, घुमाउने हुन सक्दछ। यो व्यहोरा धुमपानीहरूलाई जानकारी नहुनु अनौठो रहेन।
खाना खाने तरिका :
वास्तवमा खाना भनेको जन्मसिद्ध/जात महारोग - खन्चुवा रोगको औषधि हो।- राजु अधिकारी।
हामी जीवनको अन्तरालमा लाग्ने रोगहरूको सम्बन्धित चिकित्सकको परामर्शमा निदान गरी सिफारिस गरेको औषधिलाई बहुत इमान्दारिपूर्वक खाएर सो रोगबाट मुक्ति पाउँछौँ। हुनपनि मान्छे इमान्दार हुने भनेकै डाक्टरको अगाडि र औषधि सेवन गर्दा त हो। फिलाको उच्चारण गर्न नसक्नेले उपचारको क्रममा फिलामा सुई लगाउनुपर्ने भो भनेर डाक्टरले भने खुरुक्क सुरवाल/पाइन्ट खोल्छन्। फेरि लोग्नेमान्छे भने प्रेम विवाहको प्रेमीको रूपमा अनि हजामका अगाडि पनि इमान्दार हुन्छन् भनिन्छ। एकपटक सुकेनाश रोगबाट पीडित बच्चा लिएर डाक्टरकहाँ गएकी युवतीको डाक्टरले स्तन परीक्षण गरेछन् र तपाइँको त दूधै आउँदो रहेनछ त ?! भन्दा 'डाक्टरसाहेब ! यो बाबु त दाइ/भाउजूको हो, मेरो त बिहे नै भा'छैन' भन्थिन् रे ! जेहोस्, डाक्टर/औषधिको अगाडि इमान्दाररूपमा प्रस्तुत हुने हामीहरू जन्मँदा बित्तिकै (करिब १५ मिनेटपछि नवजात शिशुले आमाको स्तनपानको खोजी गर्दछ रे !) सुरु भएको खन्चुवा रोगको औषधि 'खाना' मिलाएर खानुपर्ने हैन त ? तर सबैभन्दा हेलचक्र्याइँ छ हामीमा भने - खानपान मै छ। समयमा खानुपर्ने, मात्रा मिलाएर खानुपर्ने, अनुपान (खाना पहिला) र परपान (खानापछि) के पिउने बारेमा पूर्ण जानकारी जरुरी हुन्छ।
भनिन्छ, सूर्य र हाम्रो जठराग्निको अनुक्रमानुपातिक सम्बन्ध हुन्छ अर्थात् सूर्यको प्रकाश हुँदासम्म हाम्रो जठराग्नि पनि बलिरहेको हुन्छ। महर्षि बागभटका अनुसार दिनलाई त्रिदोषमा विभाजन गर्दा सूर्योदयपछिको ४ घण्टा कफप्रधान हुन्छ, त्यससमयमा जति र जे खान मन लाग्छ, खाऊँ - पाचनशक्ति बलवान् हुन्छ। त्यसपछिको ४ घण्टा पित्तप्रधान हुन्छ, त्यससमयमा यथाशक्य सुपाच्य भोजन गर्ने गरौँ अनि दिनको उत्तरार्ध अर्थात् सूर्यास्त पहिलेका ४ घण्टा वातप्रधान हुन्छ, जुनबेला सूर्यसँगसँगै हाम्रो पेटको अन्गि पनि अस्ताउने हुँदा सकेसम्म बहुत हलुका फलफूल, सादा खाना सूर्यास्त हुन अगावै खानु राम्रो मानिन्छ। तर हामीले भने बानी परिसकेकाले र पाश्चात्य जीवनशेली - जहाँ सूर्योदय देख्न नपाउने हाँदा खानाको अनुपानका रूपमा अल्कोहलिक रस - दारुपान गरेर हठराग।निका रूपमा पेट तताउनै पर्छ र बिजुलिखो उज्ज्यालोमा मध्यरातमै भएपनि भोजन गरे भयो, लाई अन्धानुकरण गर्दा राती अबेरसम्म बसेर खँदिलो/गरिष्ट खाना खाने गर्दछौँ; जुन हाम्रो लागि सर्वथा गलत हो। आयुर्वेदको हुलियासँगै भनिएकोछ -
अभुक्त्या बदरी पथ्यं, भुक्ता पथ्यंच कर्कटे।
इक्षुदण्ड सदा पथ्यं, कदली न कदाचन।।
अर्थात् हामीलाई भोजनपूर्व 'एपिटाइजर'का रूपमा रक्सी हैन बयर खानु उपयुक्त हुन्छ; भोजनपछि काँक्रो खाँदा तैलीय पदार्थादि खाएपनि पछि डकार आउँदा काँक्राको आउने हुँदा मुटुपोल्ने भएन; उखु खाना पहिले, खाना खाँदैगर्दा र खान पछि जतिबेला खाएपनि पथ्य हुन्छ भने केरा खानाको अघि-पछि बा सँगै नखानु; खाना खाएको १/२ घण्टापछि खानु राम्रो हुन्छ। तर हामीले यी सबै चिज खाएपनि सात्म्य (आपसमा मिल्ने) र बैरोद्ध (आपसमा मिसिँदा विषतुल्य हुने) भोजनको ख्यालै नगरी खाएका हुन्छौँ; जसले शरीरउपी वाहनको इन्धन बन्न सकिरहेको हुँदैन। जसरी बेट्री 'ड्राइसेल' बाट बज्ने रेडियोमा बेट्री हालेर 'अन' गरिदियो भने 'स्याँ...' आवाज आउँछ, जुनबेलामा पनि बेट्री खपत भैरहेको हुन्छ। तर यदि रेडियोको स्टेशन मिलाइदियो भने 'यो रेडियो नेपाल हो ...' सुन्न सकिन्छ; त्यतिखेर पनि बेट्री बढी खर्च भएको भने हुँदैन। त्यसैले हामीले पनि खाना खाइरहेकै छौँ अर्थात् बेट्री हालेर रेडियो खोलेकै छौँ, अलिकति मिलाएमा पञ्चतत्त्वको आपूर्ति राम्रो हुँदा शरीरिक सुसञ्चालन सहज र सलर ढङ्गले हुन्छ अर्थात् रेडियोबाट कार्यक्रम सुन्न सकिन्छ। तसर्थ हामीले खानाको समय तालिका र संयोजन मिलाउनु जरुरी हुन्छ।
एउटा अनुभव गरिएको प्रसङ्ग - पुष, माघको पाहारिलो घाममा बसेर पाकेर पहेँला भएका निउवा ल्याएर बोक्रा छोडाई केस्रा-केस्रा पारी नुन, खुर्सानी, मरहट्टी, बेसार, दही, चिनी मिसाएर औंलाको काप-कापबाट रस निस्कने गरी साँधेर खाँदा ... हेनुहोस् त नखाएपनि सुन्दैखेरि हाम्रो मुख रसाइसक्यो; भन्नाले हाम्रो कल्पना शक्ति विचार कति बलवान् रहेछ भन्ने प्रमाणित भयो। अब समयमा तयार पारिएको खानालाई नबोलीकन मुखमा राख्ने र जे खाइँदै छ त्यसैको तृणमूलतर्फको कल्पना गर्दै खायो भने हामीले खाएको खानाले हाम्रो शरीरलाई अति राम्रो ऊर्जाको काम गर्दछ। त्यसको विपरीत खाँदा गफिँदै खायो भने माथिका अनुच्छेदमा भनिएको 'मुखमा खाना पर्दा बित्तिकैको शरीरिक सञ्चार अबरुद्ध हुन्छ र बितलपरे पेट 'डम्पिङ् साइट' जस्तो 'स्काइभेञ्जर'ले नबिनेको फोहोर जस्तै बन्न जान्छ हाम्रो पेट। तसर्थ खाना नबोलीकन खाएकै वस्तु जस्तै भात चपाउँदा छान काटेको, कुन्यु लगाएको, दाइँ हालेको, बिटा लगाएको रोपाइँ गरेको, बीउ राखेको, बाउसे गरेको, धान सुकाएको, मीलमा लगेको, चामल थन्क्याएको, भात पकाएको ... जस्ता हरेक चरणहरूलाई सोच्दै भात चपाउँदा अघि निउवा नखाएरै पनि र्याल आएको थियो भने यसो गर्दा त भआत पचाउने पाचनरस यथायोग्य मात्रामा प्राप्त हुँदा सुपाच्य बनी शरीरलाई इन्धनको आपूर्ति सही हिसाबले हुने भयो।
पञ्चमहाभूत - पृथ्वी, जल, वायु, तेज, आकाशबाट बनेको हाम्रो शरीरका पञ्च ज्ञानेन्द्रीय र पञ्च कर्मेन्द्रीको सुसञ्चालनका लागि पञ्च तत्त्व - कार्बोहाइड्रेड, प्रोटिन, खनिज पदार्थ, बोसो/चिल्लो पदार्थ, भिटमीन मिसिएको खाना खानु पर्दछ। अर्को प्रसङ्ग 'हामी प्रकृतित: मांसाहारी होइनौँ' किनभने -
तीक्ष्ण दन्त बक नखा, जिह्वाया जलपाइन।
जन्मैते मिलिताक्षस्य प्राणीनो मांस भोजिन।।
भनिएको छ। भन्नाले तीखा दाँत = दाह्रा, बाङ्गा नङ् = नङ्ग्रा भएका, जिब्रोले चाटेर जलपान गर्ने र जन्मँदा आँखा बन्द हुने प्राणीहरू मांसभोजी हुन् रे ! हाम्रा त दाह्रा हैन दाँत छन्, नङ्ग्रा हैन नङ् छन्, ओठ जोडेर जल पिउँछौँ अनि जन्मँदा बित्तिकै आँखा हेर्दछौँ भनेपछि हामी मासु पनि खाने प्राणीका रूपमा = उभयहारी मानेपनि मांसाहारी नभएकोले पञ्चतत्त्व मिसिएको शाकाहारी भोजन गर्नु उत्तम मानिन्छ।
खाना खाँदा सकारात्मक ऊर्जा प्राप्तिका लागि पूर्व फर्केर, भूइँमा सम्भवभएसम्म उड्किले आसनमा नभएपनि सुखासनमा बसेर खानुलाई राम्रो मानिन्छ। अचेल त पश्चिमा शैलीको अन्धानुकरणले डाइनिङ् टेबलमा वरिपरि कुर्चीमा बसेर खाने, भोज भतेरमा स्वेचछिक भोजन 'बुफेट' विधिमा हातमा रिकापी लिइर उभिई-उभिई समसोचाइका 'लाइकमाइन्डेड' सैंसाथीहरू बिच हँसिमजाक गर्दै खाने प्रचलनलाई आधुनिक, सभ्य, स्तरीयताको पगरी लगाई प्रतिष्ठाको विषय 'स्टाटस सिम्बल' बनाउने गरिएकोछ। वास्तवमा उभिएर खाने त केबल पशुहरूले मात्र हो। बरु उग्राउने काम बसेर पनि गर्दछन् - यदि ती पशुको स्वास्थ्य अवस्था ठीक छ भने।
खाना खाइसकेपछि पानी खान अनुपयुक्त भनिएपनि बिहानको भोजनपश्चात् यथासम्भव फलफूलको रस, दिवाकालीन भोजनपछि मोही र सायमकालीन भोजन गरेपछि दूधपान गर्नुलाई उपयुक्त मानिएको छ। भनिन्छ -
दिनान्त्ये च पिवेत् दुग्धम्, नीशान्त्ये च पिवेत् पय।
भोजनान्त्ये पिवेत् तक्रम्, वेद्यस्य किं प्रयोजनम्।।
अर्थात् दिन सकिएर रात परेपछि झोल वस्तु पिउनुपर्दा दूध पिउनु, रात बितेर बिहान भइपछि पहिला पानी पिउनु (माथिका अनुच्छेदमा भनिएजस्तै) अनि भोजन ग्रहण गरेपछि (खाना खाएपछि) मोही पिउने गर्यौँ बने हामीलाई वैद्यको के काम ? तसर्थ खानापछि सम्भवभएसम्म त पूर्व अनुच्छेद बमोजिम बिहान, दिउसो र बेलुका क्रमश: फलफूलको रस, मोही र दूध पिउनु यदि सम्भव नभएमा भुटेको जीरा, जुवानु, बीरेनुन मिसाएको मोही पिउने गर्दा स्वास्थ्य अनुकूल हुन्छ भन्नुहुन्छ - राजीव दीक्षित !
सुत्ने र उठ्ने तरिका
निद्रा नै आराम हो भनिन्छ। निद्राका लागि निदाउन विस्तारा हुनुपर्छ, सुत्नु पर्दछ। तर सद्गुरुका भनाइमा दौडेर थाकेका बेलामा बिसाइमार्नु पर्नि शरीरलाई आराम दिलाउनु हो; बोलेर थकित भएको बेलामा मौन बस्नु परनि आराम हो। रपनि समग्र शरीरको थकानलाई मेटाउन निदाउनु अति उत्तम मानिन्छ। महर्षि बाग्भटले सूर्यास्तपछि सूर्योदयसम्मको समयलाई पनि त्रिद्वोषमा विभक्त गरी सूर्यास्तपछिको पहिलो ४ घण्टालाई कफप्रधान समयका रूपमा परिभाषा गरी यो समयमा हामी सुग्यौँ भने १ घण्टा सुते बराबर हाम्रो शरीरले २ घण्टा बराबरको आराम पाउँछ। त्यसैगरी दोस्रो ४ घण्टालाई पितप्रधान समय भन्दै सो समयमा सतेमा १ घण्टा सुत्दा १ घण्टा बराबरकै आराम शरीरले महसुस गर्दछ बने अन्ति ४ घण्टा अर्थात् सूर्योदय हुनुभन्दा पहिलेका ४ घण्टाको समय भनेको बातप्रधान समय हो र यो समयमा सुत्नु भनेको २ घण्टा सुतेबापत हाम्रो शरीरले १ घण्टा बराबरको आराम प्राप्त गर्दछ भन्नुभएको पाइन्छ। यो मानेमा सूर्यास्त पहिले नै सायमकालीन हलुका भोजन गरी २/३ घण्टापछि सुतिहाल्नु स्वास्थ्यका दृष्टिले अत्युत्तम मानिन्छ। अङ्ग्रेजीमा पनि भनाइ छ कि Early to Bed, Early to rise, Make the life - healthy and wise. अर्थात् चाँडै सुतेर चाँडै उठ्नु भनेको जीवनलाई स्वस्थ र बुद्धिमान बनाउनु हो। हुनपनि हाम्रा पुर्खाहरू साँझ चाँडै सुतेर बिहानीपख ४ प्रहर रात छँदै किर्किटा, तीनतारे, सप्तर्षि, ध्रुवतारा आदिको हेका राखी समयको पारख गर्दै उठ्ने र नित्यकर्ममा संलग्न हुने गर्नुहुन्थ्यो र वहाँहरू वास्तवमा स्वस्थ पनि हुनुहुन्थ्यो।
वास्तवमा सुत्न विस्तारामा गएपछि आफ्नो आस्था अनुकूलका परमात्माप्रति 'लौ प्रभू ! आजको दिन सकुशल बिताएर अब हजुरको शरणमा सुत्न आएको छु। मैले सके सपार्ने, नसके नबिगार्ने शोचले काम गर्ने कोसिस गरेको थिएँ; तापनि कतै गल्ती भएको भए क्षमा चाहन्छु; अक्षम्य गल्ती भएको भए हजुरको निर्देशानुसारको सजाँयभागी हुन चाहन्छु; अन्यथा भोलिको दिन आजभन्दा थप सिर्जनशील, क्रियशील, सक्रिय, फलदायी, स्वस्थ एवम् मनचिन्ते हवोस् भन्ने चाहना राखेको छु। त्यसका लागि सम्पूर्ण अङ्गप्रत्याङ्गहरूलाई प्रेरित गरिदिनुहुन र वरिपरिको वारावरणलाई अभिप्रेरित गरिदिनुहुन हजुरको पाउमा सभक्ति बन्दना गर्दछु, अभिवादन टक्र्याउँछु, प्रार्थना गर्दछु, नमन गर्दछु, भक्ति गर्दछु।
अचिन्त्य व्यक्त रूपाय, निर्गुणाय गुणात्मने,
समस्त जगताधार, मूर्तए ब्रह्मणे नम:।
ब्रम्हा मुरारि स्त्रिपुरान्तकारी, भानुः शशि, भूमिसुतो बुधश्च।
गुरुश्च शुक्रः शनि राहु केतवः, सर्वे ग्रहाः शान्तिकरा भवन्तु।।
अहिल्या, तारा, कुन्ती, द्रौपदी, मन्दोदरी पञ्चमाकन्ये समरे नित्य महापतक नासिनी। (पिताजीबाट श्रुतिको आधारमा)
त्र्याम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय मामृतात्।। ३ पटक र
अयम् मे हस्त भगवा नयंमे भगवत्तेर,
अयम् मे विश्व भेषजयंमे शिवाभिमर्सन।
लाई ११ पटक स्मरण गरी हजुरकै शरणमा आराम गर्दैछु प्रभु ! मार्ने/पाल्ने हजुरकै जिम्मा भनी परमपदमा शरणागत हुँदा मानसकि तनावले पनि विश्रान्ति पाएको महसुस हुनेछ।
त्यसैगरी बिहानीपख बिउँझिएपछि पनि स्थूल शरीरलले विस्तारा छाड्ने मन नगर्न सक्छ। तसर्थ, ओढेको सिरकलाई पञ्छाई -
हे आलस्य तँ कप्टि झट्ट पर जा, लौ निस्की जा मुन्टी जा।
ठ्याक्कै दिन्न म टिक्न यो शरीरमा, जो काट्नु काटिस् मजा।।
मैले बल्ल बुझेँ तँलाई तँ बडो, लेध्रो रछस् दुर्जन।
तैँले गर्नु गरिस् सबै बल हरिस्, सारा बिगारिस् मन।।
भन्दै दुबै हातका औँलाहरू, हत्केलालाई तातो हुने गरी १११ पटक रगडी नखुलेका दुबै नेत्रहरूलाई ढाकी 'लौ प्रभू ! सकुशल बिउँझाइदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु र प्रार्थना गर्दछु कि आजको दिन हजुरलाई समर्पण गर्दै कसैसँग नराम्रो बोल्न नपरोस्, नराम्रो सुन्न नपरोस्, नराम्रो भन्न नपरोस्, नराम्रो गर्न नपरोस् भन्ने चाहना राखेको छु; हिजोको दिनभन्दा आज थप सक्रिय, सिर्जनशील, फलदायी, स्वस्थ र मनचिन्ते बनोस् भन्ने चाहना राखेकोछु। सो पूरा गरिदिनुहुन सम्पूर्ण अङ्गप्रत्याङ्गहरूलाई प्रेरित गरिदिनुहुन, वरिपरिको वातावरणलाई अभिप्रेरित गरिदिँदै अनवरत आशीष प्रदान गरिदिनुहुन म हजुरको पाउँमा सभक्ति बन्दना गर्छु, नमन गर्छु, प्रार्थना गर्छु, अभिवादन गर्छु, भक्ति गर्छु भन्दै हातलाई गाला मुसार्दै मुखमा हातको चुम्बन गरेर आँखा हेरी हत्केलालाई आँखासामु खोलेर -
कराग्रे वसते लक्ष्मीः करमध्ये सरस्वती।
करमूले स्थित गोविन्द प्रभाते करदर्शनम्।।
करमूले स्थितो ब्रम्हा प्रभाते करदर्शनम्।।।
भनी ३/३ पटक हत्केला जोडी नमस्कार गर्नु आध्यात्मिक एकाग्रताका लागि उत्तम महसुस गरिएको छ।
तदुपरान्त, दायाँ कोल्टो सुतेरै भएपनि वायाँ नाकको प्वालबाट श्वासप्रश्वास गराई चन्द्र नाडी सक्रिय गराएर उठी पहिले वायाँ पाउले भूइँ टेकी धर्तीमाताको दर्शन गरेर सीधा उठी सबै सरीरलाई श्वासको गतिमा तनक्क तन्काई श्वास रोकेर कतै पीडा महसुस गरेका अङ्गमा श्वास टिकाई विस्तारै श्वास छड्दै सबै पीडाहरूलाई कार्वनडाइअक्साइडसँगै बाहिरिएको सन्देश दिँदा शरीरले भरदिन ऊर्जावान् महसुस गर्दछ (यो विधि सयनयोग गर्नेहरूका लागि सुरुमै गरी दायाँ कोल्टो सुतेरै भएपनि वायाँ नाकको प्वालबाट श्वासप्रश्वास गराई चन्द्र नाडी सक्रिय गराएर उठी पहिले वायाँ पाउले भूइँ टेकी धर्तीमाताको दर्शन गर्न सकिन्छ)। त्यसपछि ताँवाको भाँडाको पानी भए नतताई अन्यथा शरीरको तापक्रम अनुकूलको पानी माथिका अनुच्छेदमा उल्लेख गरिएबमोजिम उषापानका रूपमा कम्तीमा २ गिलास पिउनु र सुताइबाट उठाइसम्मको क्रम टुङ्ग्याउनु स्वास्थ्य अनुकूल रहेको र अनुभव गरिएको प्रसङ्ग हो।
सूचीनिची र योग, ध्यान अनि प्राणायाम गर्ने तरिका
प्रात:कालको उषापानले कब्जियतलाई निवारण गर्ने व्यहोरा अनुभवसिद्ध हो। रपनि बानी नपरुञ्जेल सहज नहुन सक्छ। तसर्थ पानी पिएपछि दिसा जान मन लागेन भने हामीले आफूलाई मनपर्ने धून बजाएर नृत्य चिकित्सा गर्न सकिन्छ, जसमा पेटलाई नचाउनु अनिवार्य हुन्छ। त्यसपछि नि:सन्देह शौच गर्ने रहर उत्पन्न हुन्छ। डा. अजीत मेहताले "स्वदेशी चिकित्सा सार" मा त हरियो पानी (हरियो शिशाको बोत्तलमा पिउने पानी भरेर ६-८ घण्टा घाममा सूर्यपाक गरिएको) लाई कब्जियतको राम्रो औषधि हो, भन्नुभएको छ। मनतातो पानीमा कागती र वीरेनुन मिलाएर पउनु पनि स्वास्थ्यप्रद हुन्छ। शौचालयमा गएपछि यथासम्भव प्यानमै टुक्रुक्क बसेर अन्यथा कमोटमै भएपनि बल नगरी सहज हिसाबले दिसा पिसाप हुन दिनुपर्छ। यतिबेला हतार गर्नु उपयुक्त मानिँदैन। बरू लामै समय लाग्ने भयो भने कुनै पठनीय व्यहोरा पाठ गर्नु (Bathroom Reading) राम्रै हुनेछ। भनिन्छ - पिसाप मात्र गर्दा पाद आयो भने आफ्नो पाचन प्रणाली ठीक छ भनेर जान्नु। फेरि दिसा, पिसाप गर्दा बङ्गारा/दाँतलाई जोडसँग जोड्ने गर्यो भने दाँतहरूको छिद्रोपन पनि क्रमश: ठीक हुँदै जाँदो रहेछ - यो पनि अनुभव गरिएको प्रसङ्ग हो।
दिसा गरिसकेपछि पञ्चस्नान (मुख, हात, पाउ) गरी योग, ध्यान, प्राणायाम गर्नु राम्रो हुन्छ। महर्षि पतञ्जलीले निर्देश गरे बमोजिम शरीरलाई सबै आसनमा ढालेर गुरु रामदेवले 'रामदेव योग' नै प्रचलित हुँदै आएको सर्वविदितै छ। सबै प्रकारका योगासन गर्नु आफैँमा उत्तम हुन्छ नै तर, उमेर अनुसार सबै हठयोग गर्न सम्भव नभएमा निम्नानुसार गर्दा पनि शरीर सक्रिय नै रहँदो रहेछ - पूर्व सिरान गरेर पातलो सिरानी वा खाली हिसाबले म्याट वा दरीमा सिधा सुत्ने र हातको बुढीऔँलालाई कान्छी औँलादेखि चोर औँलासम्म टुप्पहरू संक्षिप्त घर्षण गर्दै श्वासको तालमा कम्तीमा ५१ पटक चलाउने र सँगै खुट्टाका औँलाहरू पनि चलाउने; दुबै खुट्टाका घुँडाका भागहरू आलोपालो तल-माथि गरी ५१ पटक हल्लाउने, डेडफुट जतिको दुरीमा पैताला राखी दुबै खुट्टाका बुढीऔँलाहरू छुँदै-छोड्दै पनि ५१ पटकसम्म गर्ने; खुट्टा जोडेर घुँडाको भागबाट सँगै तल-माथि ५१ पटकसम्म गर्ने; खुट्टाका पैतालालाई सास लिँदै घुँडातिर तान्ने र सास छाड्दै विपरीत दिशामा तन्काउने कार्य पनि कम्तीमा ३१ पटक गर्ने।
यी कार्यहरू गर्दा हातलाई अपानवायु मुद्रा (चोर औँलाले बुढी औँलाको फेदमा थिची माझी र साहिँली औंलाका टुप्पालाई बुढी औँलाको टुप्पामा जोड्ने) मा वा ज्ञान मुद्रा (चोर र बुढी औँलाका टुप्पा जोडी अरू औँलाहरू सिधा राख्ने) मा रहनु राम्रो हुन्छ।
चारवटा औँलाहरू पट्याएर बुढी औँला बाहिर पारी कसक्क कस्सिएको मुठी पारेका बेलामा दायाँ हातको चोर औँलाले एड्रिनल ग्लाण्ड, माझी औँलाले मृगौला, साहिँली औँलाले पेङ्क्रियाज र कान्छी औँलाले कलेजोका अक्युप्रेशरका बिन्दुहरूमा दबाब परिरहेको हुन्छ भने वायाँ हातको चोर औँलाले एड्रिनल ग्लाण्ड, माझी औँलाले रक्तचाप, साहिँली औँलाले पेङ्क्रियाज र कान्छी औँलाले मुटुका अक्युप्रेशरका बिन्दुमा दबाब परिरहेको हुन्छ र २४ घण्टामा कम्तीमा २ मिनेट बराबर यो दबाब दिन सकेमा तत्तत् अङ्गहरू सुचारु हुन सहज हुन्छ भनिएको छ। यो मानेमा साम्यवादीहरूले लाल सलाम भन्दै मुठी कसेर हात उठाउनु आफैँमा स्वास्थ्यप्रद रहेछ।
उल्लिखित चरणपछि हातमा मुठी कसेर भुइँमै राखी स्वच्छ अक्सिजन (प्राणवायु) भित्र लिएर - पूरक, भित्रै रोकेर - कुम्भक गर्दै देब्रे कान्छी औँलालाई अरूभन्दा जोडले दबाई मुटु रहेको स्थानमा अक्सिजन पुगेको कल्पनासँगै टाउकोलाई दायाँबायाँ कम्तीमा ५१ पटक हल्लाई कार्वनडाईअक्साइड बाहिर छाड्ने - रेचक गर्दा मुटुमा रहेको फोहोर बाहिरिएको कल्पना गर्ने; त्यस्तै दायाँहातको कान्छी औँलालाई जोडले थिच्दै आमाशयको माथि रहेको कलेजोमा स्वच्छ अक्सिजन भरिएको कल्पनासँगै पेटको कलेजो रहेको भागलाई दायाँबायाँ ५१ पटक हल्लाई सास छाड्दै कलेजोमा रहेको विकार बाहिरिएको कल्पना गर्ने; एवम् रीतले साहिँली औँलाहरू थिचेर आमाशयको तल रहेको पेङ्क्रियाजलाई, दायाँ माझी औँला थिचेर किड्नी (मृगौला) मा रहेको विकार बाहिरिएको कल्पना गर्ने; त्यस्तै बायाँ माझी औँला थिचेर रक्तचापको कल्पनामा शरीरको दायाँबायाँ हरलाई ५१ पटक तलमाथि सर्काउने र दुबै हातका चोर औँलाहरू थिचेर मृगौलामाथि टोपी जस्तै हुने एड्रिनल ग्लाण्डलाई सफा गर्ने र अन्त्यमा सबै औँलाहरू जोडले थिच्दै अर्थात् मुठी कस्तै प्रणवायु फोक्सोमा भरेर शिरलाई कम्तीमा ५१ पटकसम्म दायाँबायाँ हल्लाई फोक्सो सफा भएको कल्पनाले मनलाई महत्त्वपूर्ण सबै अङ्गहरूसँग साक्षात्कार गराउँदा छुट्टै ऊर्जा प्राप्तिको अनुभव हुन्छ - गरी हेरौँ !
त्यसपछि मुठी कसिएकै अवस्थामा फोक्सोभरि प्राणवायु भरेर असजिलो नहोउञ्जेलसम्म रोक्ने र आफूलाई पीडा भएको ठाउँमा केन्द्रित गर्दै सम्पूर्ण अङ्गहरूमा मन दौडाई श्वास छाड्ने अनि सम्पूर्ण पीडाहरू कार्वनडाइअक्साइडसँग बाहिरिएको कल्पना गर्दा आनन्द अनुभव हुन्छ। श्वास छाड्दै गर्दा कसिएको मुठीलाई पनि फुकाउँदै औँलाहरू तनक्क तन्काउने र श्वासको तालसँगै कान्छी औँलादेखि बुढी औँलासम्म कल्पना गरेको औँलालाई बढी जोडले तन्काई कुहिनाको आलम्बनमा कम्तीमा ११/११ पटकसम्म तलमाथि गर्ने, यसमा पनि श्वासको लय मिलाउँदा थप प्रभावकारी अनुभव भएको छ। यसरी नेपाली काँग्रेसका दिवङ्गत नेता विश्वेश्वरप्रसाद कोइरालाले जस्तै सबै औँलाहरूलाई फिँजाएर तन्काउँदा पनि शरीरले ऊर्जा प्राप्त गर्दोरहेछ। यो मानेमा नेपालका कम्युनिष्टको मुठी कसाइ र नेपाली काँग्रेसको औँला फिँजाइ पनि स्वास्थ्य अनुकूल देखिए।
हातहरूलाई शरीरको बगलमै भूइँमा राखी श्वासको लयसँग औँलाहरूलाई अर्धमुठीका रूपमा जोडले पट्याउने र सोही तालमा गुदद्वारलाई पनि मुज्याउने अनि दाँतहरूलाई पनि जोडसँग थिच्ने (दाह्रा किट्ने) क्रमलाई कम्तीमा ५१ पटक गर्दा औँलाका जोर्नीहरू खुकुला हुने, पायल्स जस्तो बिमारमा पनि राहत हुने र दाँत पनि बलिया हुने महसुस भएको छ। त्यसपछि समयाभाव भएमा सुतेकै अवस्थामा कम्तीमा १११ पटक सयन कपालभँती गर्ने र भ्रामरी, ॐ कार पनि गरेर उठेर शयनयोगलाई समापन गर्ने; जसमा कम्तीमा ३० मिनेट लाग्दछ। अन्यथा शयनासन सकाएर उठी कम्तीमा १५१ पटक पुतली आसन - यो पनि श्वासको लयमा एकाग्र चित्तले ढाड, गर्धन सिधा राखेर गर्नुपर्दछ। खुट्टा सिधा राखेर ढाडबाट शरीरलाई दायाँबायाँ कम्तीमा ११ पटक फर्काउने र हातले भूइँ छुने। सुखासनमा बसी हातका पञ्जा/औँला हल्लाउने, औँलाले कुम छुने, कुममा पञ्जा/औँला राखी वृत्तकारमा अघिपछि घुमाउने, हातलाई घुँडामा राखि कुम अगिपछि घुमाउने, श्वस लिँदै दाहिने हात दायाँ कन्सिरीमा राखी बायाँ धकेल्ने र टाउकाले दायाँ धकेल्ने - यो क्रम बायाँतर्फ, शिरतर्फ, चिउँडोतर्फ, निधारबाट पछाडितर्फ र पछाडिबाट अघितर्फ जोड गर्ने र श्वास रोक्न सकुञ्जेल र क्रमलाई अन्त्य गरी सम्भव भएसम्म कम्तीमा तीन पटक सूर्य नमस्कार गर्ने र योगासनलाई पूर्ण बिराम गरियो भने हाम्रा मुख्य-मुख्य अङ्गहरूमा मनको संयोग भई सक्रिय रहने सन्देश सञ्चार भई शरीरमा हलुकापन महसुस हुनेछ। समयले भ्याएमा पतञ्जलीले सिफारिस गरेका रामदेवले सम्पादन गर्ने योगाभ्यासलाई कुनै गुरुबाट सुरुवात गरी आफूले निरन्तरता दिँदा राम्रो हुनेछ।
अब सुखासनमै बसी भस्त्रिका - श्वास भित्र लिने पूरक, रोक्ने कुम्भक र विस्तारै बाहिर छाड्ने रेचक यथासम्भव १:२:१ मा कम्तीमा ११ पटक गर्ने। यसो गर्दा आफूलाई मनपर्ने श्लोकका चार लाइनमध्ये पहिलो कल्पना गर्दै पूरक, दोस्रो र तेस्रो लाइन कल्पना गरुञ्जेल कुम्भक र चौथो लाइन कल्पना गर्दै रेचक गरेमा श्लोकलाई कण्ठाग्र गर्न सहज भएको अनुभव छ। तदुपरान्त अनुलोम-विलोम (वायाँ नाकको प्वालबाट श्वास लिने, दायाँ नाकको प्वालमा बुढीऔँला राखी बन्द गर्ने अनि वायाँ प्वाललाई माझी र साहिँली औँलाले बन्द गरी बुढीऔँला हटाई दायाँ प्वालबाट श्वास बाहिर छाड्ने) पनि कम्तीमा ११ पटक गर्नुपर्दछ। त्यसपछि कपालभाँती (श्वास बाहिर पेट भित्र) कुमलाई नहल्लाई कम्तीमा १५१ पटक गरेपछि शरीरमा प्राणवायु (अक्सिजन) ले ऊर्जा प्रदान गर्दछ। दुबै हातका चोरऔँला जोडिने गरी दुई आँखीभौँका बिचमा (तेस्रो नेत्रमा), बुढीऔँलाहरू दुबै कानमा र माझीदेखि कान्छीऔँलाहरूले आँखा छोपी नाकबाट श्वास भित्र्याई भ्रमराको जस्तो आवाज निकालेर भ्रमरी प्राणायाम गरिन्छ। यसो गर्दा पहिलो पटकमा मस्तिष्कमा, दोस्रो पटक श्वासनलीबाट फोक्सो-मुटु-कलेजो-फियोसम्म, तेस्रो पटकमा पेन्क्रियाज-एड्रिनल-मृगौला-मुत्राशय-मुत्रनलीको बाह्य बिन्दु - मुत्राङ्गसम्म, चौथो पटक आहारनली (ओसोफेगस) हुँदै स्प्लिन-आमाशय-ड्युडोनमसम्म र पाँचौँपटकमा (ड्युडोन-जेजुनम-ईलियम) सानो आन्द्रा-ठूलो आन्द्रा-रेक्टम हुँदै गुदद्वारसम्म भ्रमराको आवाजमा 'भ्याकुम क्लिनर' को आवाज सम्झँदै तत्तत् अङ्गमा जम्मा भएको फोहोर सफा गरेको कल्पना गर्दा अत्यानन्द महसुस भैरहेकोछ भने यिनै अङ्गहरूमा उल्लिखितै क्रममा आफूलाई मनपर्दो तेलीय पदार्थ 'लुब्रीकेन्टस्' लिई ज्ञानमुद्रामा हात राखी नाकबाट श्वास भित्र्याई ओठलाई गोलाकार बनाएर ॐ कारको उच्चारण गर्दै हल्का मालिस गरी थप्थप्याउँदै 'हिजोभन्दा आज अझ राम्रोसँग काम गर्नु है !' भन्ने सन्देश छाड्दै क्रम सक्दा साच्चैको प्रसन्नानुभूति अनुभव गरिएको छ।
त्यसपछि सके बुद्धासनमा नभएपनि सुखासनमा बसेर घूँडामा हत्केला माथि पारेर ज्ञानमुद्रामा राखी आँखालाई नाकको टुप्पोमा केन्द्रित गर्ने र श्वासप्रश्वासमा मनलाई केन्द्रित गरेर आफूलाई ध्यानस्थ राखेर कम्तीमा १५ मिनेट बिताएर सामान्य ध्यानको रूप लिन सकिन्छ भने समयले साथ दिँदाको हकमा मनमाफिकको ध्यान गर्न सकिन्छ।
यसरी योगासन, ध्यान, प्राणायाम सकाएपछि हातलाई रगडेर तताई अनुहारमा हल्का फिराउँदा, तालुलाई मालिस गर्दा, कानलाई माड्दा, गर्दन, छाती, कम्मर, हात हुँदै खुट्टपसारेर दुबै खुट्टाहरूमा ११/११ पटक मालिस गरी सुतेर सवासनमा बसी खुट्टाको बुढीऔँलादेखि टुप्पीसम्म मन डुलाउँदै सबै अङ्गहरूलाई सु-सन्देश दिँदा छुट्टै आनन्द महसुस हुन्छ। सवाशनपछि गायत्री गणनाको क्रममा परमात्मामा सम्पूर्ण निष्ठा, आत्मामा दृढता, विचारमा परिपूर्णता, मनमा सन्तुष्टता, बुद्धिमा दिव्यता, संस्कारमा श्रेष्ठता, दृष्टिमा पवित्रता, वाणीमा मधुरता, चलनमा उदारता, कलामा निपूर्णता, कर्ममा प्रवीणता, सेवामा नम्रता, व्यवहारमा सरलता, स्नेहमा शुद्धता, सम्बन्धमा निर्लिप्तता, आहारमा सात्विकता, जीवनमा सत्यता, व्यक्तित्त्वमा रमणिकता, निद्रामा निश्चिन्तता ! जस्ता व्यहोरालाई मनन गर्दै कल्पना गर्दा सबै अङ्गहरू पनि सोही बमोजिम कार्याग्रसर हुँदै गरेको अनुभव हुन्छ - आत्मासुझाव !
स्नान गर्ने तरिका :
वास्तवमा प्राकृतिक संरचनासँग मानव शरीरको निर्माण पनि बहुत विवेक पुर्याएर गरेको प्रतीत हुन्छ। स्नायु प्रणालीले मगज जस्तो महत्त्वपूर्ण अङ्गलाई समेटेको हुँदा झट्ट चोट पटक नलागोस् भनेर खप्परले (हाडैहाडले) ढाकेको पाइन्छ। अनुहार र निधारका हड्डीहरूले आँखालाई कुनै तीखो वस्तुले नघोच्दासम्म जतन गरेका छन्। त्यसैगरी आमाशय खुला रहेपनि त्यसको माथिपट्टि मुटु, फोक्सो, कलेजो, फियो हस्ता महत्त्वपूर्ण अङ्गहरूको सुरक्षा कवचका रूपमा करङ्गहरूले काम गरिरहेका छन्। अझ मृगौलालाई पनि पेटको पछाडि मेरुदण्डसँगै राखेर सुरक्षित गरेको पाइन्छ। भनिन्छ - कोही व्यक्ति क्रोधावेगले पीडित भयो भने 'ठण्डा दिमागले सोच त ! कुल डाउन, कुल डाउन !' यसको अर्थ दिमागलाई हति सक्यो तताउने कुरा रहेनछ। तसर्थ राती सुत्दा पनि यथासम्भव टाउकोलाई नढाक्नु राम्रो मानिन्च। तर हाम्रा प्रचलनहरूको दुस्प्रभावहरूलाई मस्तिष्कमा ठाउँ दिँदा टाउकोबाट चिसो घुस्छ भन्ने भ्रमबाट अधिकांशत: ग्रसित छौँ। परिणाम टाउकोलाई न्यानो पारेर शयन गर्ने गर्दछौँ। त्यस्तै गरी मायाको उपमा दिनु पर्यो भने 'मुटुभरिको न्यानो माया' भनिन्छ। यो मानेमा हाम्रा छातीभित्रका अङ्गहरूलाई न्यानो वातावरण अनुकूल हुन्छ।
प्रस्तुत सन्दर्भमा टाउकोलाई कहिल्यै पनि तातोपानीले धुनु सर्वथा अनुचित हुन्छ। त्यसैले जतिसुकै जाडो किन नहोस् शरीरलाई चिसोपानीले नै पखाल्नु राम्रो हुन्छ, भला चिसोले किन नअन्नियोस्। पुर्खाहरूले चिसोलाई भगाउन अर्थात् न्यूनीकरण गर्न 'गंगे च यमुने चैव गोदावरी सरस्वती, नर्वदे सिन्धु कावेरीजलेस्मीन सन्धिधात् कुरु ...' भन्ने मन्त्रोच्चारण गरी समस्त नदीहरूलाई पुकार्नु हुन्थ्यो एकातिर भने अर्कोतिर मन्त्रोच्चारणले शरीरमा ताप सिर्जना गर्ने हुँदा चिसो लाग्ने/गड्ने हुँदैनथ्यो। बरु उल्लिखित नदीहरूको मुहान हाम्रै हिमालय पर्वत भएकाले जति तलतिर बग्दै जान्छन्, प्रदूषण पनि बढ्दै जाने हुँदा वरिष्ठ साहित्यकार डा. महेश्वर शर्माले निम्नानुसरका हाम्रै नदीहरूको नामोच्चारण गर्दै नुहाउनु उपयुक्त हुने बताउनु हुन्छ। वहाँका अनुसार –
कर्णाली सप्तसंख्याकाः सप्तकोश्यस्तथैव च।
आयान्तु सप्तगण्डक्यः स्नानकाले सदा मम ॥
स्वर्णा-ताम्रवती-तमोर-वरुणा दुग्धाऽरुणा वाग्वती।
वृद्धा-विष्णुवती-हिमा-तिलयबा कृष्णा च इन्द्रावती ॥
ज्याग्दीवेत्ररुहा - बबै च कमला-मर्स्याङ्दिका मोदिका।
कर्णाली च सुविश्रुता हिमसुता तादी-त्रिशूली-सिता।।
भेरी-रापति-आँधि-मादि सरिता कोका च कावेलिका।
कल्याणाय वहन्तु नः प्रतिपलं मेची-महाकालिका ॥
यिनी हाम्रै नदीहरूका नाम लिँदै पहिले दायाँ पाखुरा अनि वायाँ पाखुरा, दायाँ खुट्टा, वायाँ खुट्टा, शिर हुँदै सारा शरीरलाई ओभानो नरहने गरी नुहाउनुलाई उपयुक्त मानिन्छ। भनिन्छ - 'मानवीय त्वाचा (छाला)बाट अति गर्मी वातावरणमा काम गर्दा शरीरबाट स्खलित हुने (निस्कने) पसिनाले सोसेको धुलो मैलोलाई २४ घण्टाभित्रै सफा पानीले शरीर माड्दै स्नान गर्ने हो भने सम्पूर्ण रोमकुपहरू खुल्दछन् र कुनै पनि प्रकारको चर्मरोग (छालाको रोग) बाट पीडित हुनु पर्दैन।हुन त अचेल 'कास्टिक सोडा' मिसाइएका साबुनहरूको प्रचलन छ, जसले हाम्रो स्वस्थ तन (शरीर) लाई चाहिने तेलिया पदार्थलाई पनि पखाली दिन्छ र नुहाई सकेपछि शरीर फुस्रो हुन जान्छ। यसका लागि हामी बाह्य तेल, क्रिमहरूको प्रयोगलाई अनिवार्य गराएकोछ। तर यदि हामीले सफा दुध लिएर शरीरमा तेल जस्तै घस्ने (आधा चिया गिलास पनि पर्याप्त हुन्छ) र ५-१० मिनेटपछि शरीर माडेर मनतातो पानीले पखाल्ने हो भने रौँका जरासम्म पसेको मयाल/फोहोर पनि लुँढा बनेर निस्कन्छ, जसले शरीरका कर्मठ पहरेदारहरू (अङ्गप्रत्याङ्गहरू) ले छालालाई मुलायम राख्न आवश्यक ठानेको मात्रामा तेलिया पदार्थ त्वाचामै रहने/नपखालिने हुनाले कुनै प्रकारको क्रिमादि लगाउन जरुरी हुँदैन।
वास्तवमा १०० ग्रामको नुहाउने साबुनलाई ५० रुपैयाँ तिर्नु पर्दछ। जसले हफ्तामा २ पटक सघन नुहाइ नुहाउने हो भने मुस्किले महिनादिन पुग्ला। जबकि त्यही पैसाबाट आधा लिटर दुधले दैनिक नुहाउँदा पनि हफ्तादिन पुग्छ। तर आधुनिकताको नाममा हामीले दुधस्नानलाई छाडेर साबुनको प्रयोग गर्न थालेका त छैनौँ ?! - सोचनीय प्रसङ्ग ! हुनपनि पैते, कण्टकारी, रिठा, पिनादिले कपाल नुहाउन छाडेर तिनैबाट तयार पारिएका सैम्पुहरूले कपाल नुहाएर नरम (तथाकथित) पार्ने गरेका त छैनौँ ?! - विडम्बना ! हात पाखुरामा मात्रै भएपनि र पाउडर मिसएकै भएपनि प्रयोग गरी हेरौँ त दुधस्नान कति फाइदाजनक रहेछ – स्वयं अनुभव गर्न सकिन्छ। प्राकृतिक चिसो पानी आफैँमा हाम्रो शरीर अनुकूल हुन्छ। अचेल त हामीले रूफ ट्याङ्कमा भररातको चिसो वातावरणमा रहेको पानीलाई चिसो पानीको परिभाषा गरेर यो 'हट वाटर/सावर' जरुरी भएको हो। भनिएको छ –
कुपोदकम् बटच्छाया, श्यामास्त्री यस्टिका गृहम्।
शीतकाले भवतुष्णम्, उष्णकाले च शीतलम्।।
मूल चाहे ईनार होस् वा जरुवाको पानी वास्तवमा चिसो पानी हो, जुन बाहिरी वारावरणको वास्ता नगरी सदा एकनासको तापक्रममा हुन्छ।उल्लिखित श्लोकमा पनि मूल/कुवा/इनारको पानी, बरको रुखको छायाँ, १३-१९ वर्षकी केटी 'टिनएजर', ढुङ्गा-माटोको जडाइमा खरको छाना भएको घर ठण्डी मौसममा न्याना र गर्मी मौसममा शीतला हुन्छन् रे ! हुनपनि भूत्वक (पृथ्वीसतह) को १० मीटरको गहिराइमा एकनासको (१५/२० डिग्री सेल्सियस) तापक्रम हुन्छ। त्यहाँबाट बहेको पानी बाहिर आउँदा पनि त्यही तातोपनसँग बाहिरिन्छ। अब बाहिरको तापक्रम गर्मी मौसममा ३०/३२ डिग्री सेल्सियस हुँदा १५ डिग्री सेल्सियसको पानी भनेको शीतलो हुने भयो अनि ठण्डी मौसममा बाहिरको तापक्रम ४/५ डिग्री सेल्सियस हुँदा १५ डिग्री सेल्सियस भनेको तातो अर्थात् न्यानो हुने भयो। तसर्थ, शरीरलाई सदा एकनासको तापक्रममको चिसो जलस्नानलाई शरीरोपयुक्त मानिन्छ।